पोखरा २४ असार
बगालेटोल मिसाः पुचःको आयोजना तथा मिडसन पोखराको प्राविधिक सहयोगमा शनिबार महिलाको पाठेघर र स्तन क्यान्सर सम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै नेवाः पुचः कास्कीकी उपाध्यक्ष संगीता बज्राचार्यले घरका लागि जीवन त्याग गर्ने नेवारी समुदायका महिलाहरु सामाजिक कार्यमा अग्रसर हुन थालेकोमा खुशी प्रकट गरिन् । उनले आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपनर्नेमा जोड दिंदै कत्तिपनि शंकोच नमानी आफ्नो समस्या श्रीमान, परिवार र चिकित्सकसंग राख्नुपर्ने बताइन । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बज्राचार्यले महिनावारी शुरु भएका युवतीहरुलाई पनि यसबारेमा जानकारी गराउनुपर्नेमा जोड दिंदै शुरुवाती देखि नै सतर्क भए भविष्यमा कुनै समस्या नआउने बताइन ।
मिडसनका संयोजक निलम महर्जनले महिलाको पाठेघर र स्तन क्यान्सर रोग एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको बताइन । कार्यक्रममा क्यानसरबारे जानकारी गराउँदै उनले महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्स प्रमुख एक हो । पाठेघर महिलाको प्रजनन् सम्वन्धी एक प्रमुख अंग हो । जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठीक अगाडि र मलद्वार पछाडि रहेको हुन्छ । पाठेघरलाई तिन भागमा बाँडेर हेर्न सकिने भन्दै उनले । एक सबैभन्दा माथिको फराकिलो भाग जसलाई फण्डस, अर्को बीचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस र तेस्रो पाठेघरको मुखलाई सर्भिक्स भनिने बताइन ।
महर्जनका अनुसार सानो उमेरमा विवाह गर्ने, कलिलै उमेरमा यौन सम्पर्क गर्ने, धेरै जनासँग यौन सम्पर्क राख्ने, धेरै सन्तान जन्माउने, खानपिनमा ध्यान नदिने, पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यीे क्यान्सरहरु बढी देखिने गरेको छ । क्यान्सरको सुरुवातमा कुनैपनि लक्षण नदेखिने भन्दै उनले यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने बताइन ।
योनीबाट गन्हाउने फोहर पानी बग्ने, यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि गर्दा रगत देखिनु, महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु, तल्लो पेट बढी दुख्नु, दिशा वा पिसाब गर्दा अप्ठेरो महसूस हुनु, वजन घट्दै जानु, थकाई बढी लाग्ने र महिनावारीको नभएको बेला पनि रगत बग्ने पाठेघरको मुखको क्यान्सरको लक्षण भएको महर्जनले बताइन ।
उनले स्तन क्यान्सर सम्बन्धी पनि जानकारी गराएकी थिइन । स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु, स्तन वा स्तनको मुन्टोको आकार–प्रकार परिवर्तन हुनु स्तन क्यान्सरको लक्षण हुने भन्दै उनले यसबाट पनि वशेष सतर्क हुन आग्रह गरेकी थिइन । उनका अनुसार स्तनबाट दूधबाहेक रातो, सफा वा पहेलो, हरियो अथवा पिप जस्तो आउनु पनि स्तनको क्यान्सर हुने सक्नेछ ।

बगालेटोल मिसाः पुचःकी अध्यक्ष शान्ता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक ललिता श्रेष्ठले गरेकी थिइन भने संचालन सचिव देविका श्रेष्ठले गरेकी थिइन ।


सन् २०१२ को तथ्याङ्कअनुसार संसारभरमा त्यस वर्ष पाँच लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको निदान भएको थियो । सो वर्ष दुई लाख ६६ हजार महिलाको मृत्यु यस रोगका कारण भएको थियो । पाठेघरको मुखको क्यान्सर ३५ देखि ६४ वर्षसम्मका महिलामा धेरै हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा यो रोग हुने अनुमान गरिएको छ जसमध्ये ५० प्रतिशतको मृत्यु हुने गर्छ । प्रारम्भिक अवस्थामै निदान गरी उपचार गर्न सकिएमा यो रोगबाट बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सरबाट बच्न १० वर्ष उमेरसम्मका बालिकालाई खोप लगाउन सकिन्छ । यो खोप सरकारले निःशुल्क लगाउने अभियान सुरु गरेको छ ।
Post a Comment