पोखरा १७ असार
पोखरामा रहेका धादिङवासीहरुको साझा एवं छाता संस्था धादिङ–पोखरा सम्पर्क समाजको १४औं खुल्ला रक्तदान कार्यक्रममा ११८ युनिट रगत संकलन भएको छ। समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । पहिलो रक्तदाता धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ का रेशम सडौलालाई व्लडव्याग हस्तान्तरण गर्दै पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले कार्यक्रमको उद्घाटन गरेकी गरेकी थिइन ।

उक्त अवसर बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी गुरङले धादिङ समाजको सामाजिक गतिविधि निकै प्रशंसायोग्य रहेको बताइन । उनले धादिङ समाज पोखरामा रहेका संघ–संस्थाहरुमध्ये उत्कृष्टमा गनिने भन्दै समाजले रचनात्मक काम गर्न योजना बनाएर आएमा महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाइन । उनले रक्तदान जत्तिको पुण्य मिल्ने काम मन्दिरमा गएर पूजा गर्दा पनि नमिल्ने भन्दै रक्तदान गरेर अस्पतालको शैयामा रहेका विरामीलाई पुनःजीवन दिन सबै नगरवासी आग्रसर बन्नुपर्नेमा जोड दिइन । महानगरका उपप्रमुख गुरुङले पोखरामा रहेका सामाजिक संघ–संस्थाहरुको नामावली र गतिविधि संकलन गरि नगरपालिका गर्न सक्ने सहकार्यका लागि मापदण्ड बनाएर अघि बढ्ने बताइन ।

समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद सदस्य कृष्ण कुमार श्रेष्ठले धादिङवासीहरु एकता कायम गर्नका लागि रक्तदान कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

समाजका अध्यक्ष युवराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौला, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सरस्वती श्रेष्ठ सरु र संचालन महासचिव हरि पन्तले गरेका थिए । क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त अवसरमा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि उत्कृष्ट सहयोग पुर्याउने धादिङ–पोखरा सम्पर्क समाज सिद्धलेक गाउँपालिका इकाइ, विष्णु भण्डारी र कुमारी भण्डारीका साथै रेशम सडौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका लागि समाजद्वारा गठिन रक्तदान उपसमितिमा कार्यसमिति सदस्य सरस्वती श्रेष्ठ सरुको संयोजक, रामप्रसाद पाण्डे सह–संयोजकका साथै यादुप्रसाद ढकाल, टीकाबहादुर लम्साल र बलराम नेपाली सदस्य रहेका थिए ।
Post a Comment