निरन्तर राजनीतिक संघर्ष र सरकारी विभेदका कारण मधेशीको जीवन जर्जर बन्दैछ । सैनिकीकरण, मरूभूमिकरण, राजनीतिक आतंक र युवा विदेशिनुको पीडाबाट मधेश दिन प्रतिदिन आक्रान्त हुँदैछ । समाज युवाविहीन, जिल्ला सरकारविहीन र जनता विकासविही बन्दै गएको छ । देशप्रतिको ममत्व, सरकार प्रतिको विश्वास र नेतृत्वप्रति आस्था घट्दो क्रममा छ । राज्यका अंगहरू साहुकार र ग्राहकझैं सम्बन्ध स्थापित हुन थाल्नु चिन्ताको विषय हो । समावेशिताको नाममा टिके प्रथा, सद्भावको नाममा दया र अधिकारको नाममा कृपाको पात्र भएर आफ्नो मुलुकभित्र बस्नुपर्दाको पीडा मधेशीलाई थाहा नै छ । नागरिक नै प्रहरीबाटै लुटिनुको पीडा जनकपुरवासीलाई थाहा नै छ । सम्मान बिनाको प्रतिनिधित्वको पीडा अधिकांश मधेशीलाई थाहा नै छ । जनतालाई असमान जीवन आफ्नै नेतृत्वको जालझेलबाट प्राप्त पीडाको अनुभूति व्याख्या गर्ने समताको शब्द भेटाउन नै कठिन छ । सरकारले रंगभेद गर्ने, संचारकर्मीले समर्थन गर्ने, नेताले द्वन्द्व गर्ने र लाभान्वित समुदायले दीपावली मनाउने मुलुकमा समानता, समृद्धि, सहकार्य र साझा नेपाल निर्माणमा थुप्रै चुनौतीहरू हाम्रा सामु छन् । समानतामा आधारित मुलुकको संरचना, सम्मानसहितको प्रतिनिधित्व, सहकार्यतासहित विकास र अपनत्वसहितको साझा नेपाल निर्माण गर्नुको विकल्प छैन । मिलेर विभेदमुक्त राष्ट्र निर्माण गर्नका लागि सबै नेपाली बुद्धिजीबीहरू अभियानमा सक्रिय हुन ढिलो गर्नु हुन्न । विभाजित सोच र विभेदित समाज र विखण्डनकारी बुद्धिजीबीहरूका कारण हाम्रो नेपाल थप पीडितमा पुगेको छ । मधेशका समस्यालाई सबै जना मिलेर चाँडो समाधान गर्न सके मुलुकलाई विकास र सम्पन्नतातर्फ डो¥याउन सकिन्छ । मधेशको समस्या सिंगो देशको समस्या हो भन्ने बुझाई राख्ने हो भने रंगभेदमुक्त नेपाल बनाउन सकिन्छ । ‘नेपाल’ अविकसितभन्दा पनि अव्यवस्थित मुलुक हो । अल्पज्ञान र विषात्त ज्ञानका केही द्वन्द्व उद्यमीले निरन्तर फैलाउँदै आएको वैचारिक प्रदुषणका कारण आज नेपाली–नेपालीबीच मन भिन्नता बढेको छ । विभेदलाई समर्थन र साझा नेपालप्रति ध्यान नै मन भिन्नताको प्रमुख कारण हो । पक्षीय पाज्ञिक चिन्तन, दलीय बौद्धिकता र दृष्टि दोषको कारण नेपालका ज्ञानी समुदायले देश, मधेश र विदेशमध्ये कसैसँग न्याय गर्न सकेको छैन । सम्मान र गुलामीबीच अन्तर नबुझ्नु, सत्य र वास्तविकतालाई चिन्न नसक्नु, राष्ट्रियता र देशभक्तिलाई एउटै मान्नु, आफ्नो ज्ञानलाई ऐना जस्तो बनाउन नसक्नु हाम्रो कमजोरी हो । बृद्धिजीबी त जात, वर्ग, धर्म, नश्ल, समुदायभन्दा माथि उठेर देश र ब्रह्माण्डको हित चिताउने जीव हो । सत्यलाई सत्य र असत्यलाई असत्य भन्न नसक्ने ज्ञानीलाई बुद्धिजीबीको संज्ञा दिइराख्नु उचित होइन । साँधभित्र समाधान खोज्न हामीसँग यथेष्ठ जनशक्ति छ । हाम्रा बृद्धिजीबीहरू पर्याप्त छन् – हाम्रो देशलाई साझा र समृद्ध बनाउन । जम्मा पाँच वर्ष हामी देशकेन्द्रित काममा जुटौं । विभेद, रंगभेद, गरिबी, अन्याय, असमानता, अपव्याख्या र भ्रमका विरूद्ध एकजुट हुन सक्यौं भने ‘‘नेपाल’’ संसारको लोभलाग्दो देश बन्नसक्छ । अझै पनि अराजकतालाई प्रजातन्त्र, भ्रमलाई ज्ञान र जन्मेको जातलाई अवसर ठानी बस्ने हो भने यो मुलुक संसारकै ‘दया’ को पात्र बन्दै जाने सम्भावना छ । सामाजिक लेखा परीक्षकको नैतिक जिम्मेवारी लिएका विद्वत्वर्गले खेल्नुपर्ने भूमिका इमान्दारीपूर्वक निर्वाह नगरिदिएका कारण गणतन्त्र जनताको घर–आँगनमा पुग्न सकेन ।
जिम्मेवार नेतृत्व स्थापित गर्न सकिएन, जमिन्दार नेताहरू जन्मे । भूमिपुत्रलाई न्याय गर्न नसक्दा राजनीतिक आवरणका नापी अधिकृतहरू जन्मे । अधिकारको आन्दोलन प्रतिशोधमा परिणत हुनु राम्रो संकेत होइन । रंगभेदको अनूभूति र साझापना एकै साथ अघि बढ्दैन भन्ने कुरा बुझिराख्दा राम्रो । मत पाएपछि मात्तिने र चुनाव सुन्दा आत्तिने पनि नेता हुन्छ ? दमन, हिरासत, हत्या, डर, आत्मसमर्पण वा लोभ समस्याको दीर्घकालीन समाधान होइन । न्यायको अनुभूति, विश्वास, सन्तुष्टि र समृद्धि नै चीरकालीन समाधान हो । त्यसका निमित्त सबै पक्ष अब विभेदका विरूद्ध र विकासको पक्षमा उभिनुको विकल्प छैन । मधेशी मोर्चाले अब आफ्ना नेता र कार्यकर्तालाई मात्र नेतृत्व दिने होइन, अन्य दलहरूलाई समेत मार्ग निर्देशन दिँदै आफूसँगै ‘‘राष्ट्र विकास, राष्ट्रिय एकता र साझा नेपाल’’ को यात्रामा डो¥याउन सक्नुपर्छ ।
आफ्नो सत्ता यात्रामा गरेका कार्यहरू, मोर्चाबाट लाभान्वित व्यक्तिहरूबाट भएका सहकार्यहरू र उपलब्धिहरूलाई विधागत÷ क्षेत्रगत र समुदायगत रूपमै छुट्याएर प्रकाशन÷प्रशारण वा अन्य माध्यमबाट जन–जनमा सम्प्रेषण गर्न सक्नुपर्छ । नेपाल नेपालीहरूकै हातमा हुनुपर्छ । दलीय, पक्षीय, सामुदायिक र बुझाईको द्वन्द्वलाई न्यून गर्दै साँध भित्र एकता र साँध बाहिर हैसियत बढाउँदै जानुपर्छ । अधिकांश नेतृत्वमा दम्भ छ, गल्ती स्वीकार्दैनन् । अधिकांश बृद्धिजीबीमा पक्षीयता छ, गल्ती औंल्याइदिँदैनन् । मधेशको समस्याको केन्द्रमा प्रतिनिधित्व मात्र छैन, सम्मान पनि छ । सम्मान बिनाको प्रतिनिधित्वले के नै अर्थ राख्छ र ? प्रत्येक दिन करिब २ हजार नेपाली विदेशिँदैछन् । प्रत्येक पल नेपालीत्व माथि प्रहार हुँँदैछ । नागरिकहरूको विश्वास, राज्य, सरकार, नेतृत्व, अधिकारकर्मी र न्यायकर्मीप्रति ह्रास हुँदैछ । प्रष्ट हुनुस्, नेपाललाई हामीले धबभि ाबचभ कतबतभ बनाउने कि
ँबचभधभिि क्तबतभ ?
मधेशी मोर्चाले अन्य सरोकारवालासँग सम्पर्क, मधेशी जनतासँगको सम्बन्ध अझ प्रष्ट र प्रगाढ बनाउँदै जानुपर्छ । देशभित्रको राजनीतिक शक्तिसँग सहकार्य नगरे, आन्तरिक एकता नगरे बाहिरिया सामु कसरी उभिएला ? नेपाली र नेपालभित्रको शक्तिहरूबीच अधिकतम् समझदारी, सहकार्य र सहयोजनाको पक्षमा कार्य गर्न सके मधेशी मोर्चाको उचाई बढ्न सक्छ । राजनीति र अपराधबीचको फरक छुट्टिनु पर्छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुन दिनु भएन । सहयोग, सद्भाव र हस्तक्षेप बीचको अन्तर बुझ्न र सोही बमोजिम तयार रहन जरूरी छ ।नेपालीलाई नेपालीले पराजित गरेर नेपालको जित हुन सक्दैन । देशलाई द्वन्द्वरत् राखेर कोही पनि सच्चा नेपाली निदाउन सक्दैन । निषेध र बहिष्करण दुवै गलत हो ।
नेपाल भित्रका प्रत्येक समस्या साझा र राष्ट्रिय समस्या हो । पीडितलाई अग्राधिकार दिँदै साझा शासन सहितको स्वशासन तर्फ लम्कौं । भाषा र लिपिमा मात्रै साझा नेपाल भएर हुन्न । संरचना, कार्यशैली, परिणाम र बुझाई समेतमा साझापन कसरी आउँछ, त्यतातिर कार्य थालौं । अन्त्यमा, जोडिनुको विकल्प छैन । नेपालीलाई नेपालीसँग जोडिनुको विकल्प छैन । नेपालीलाई विकाससँग जोडिनुको विकल्प छैन । सहानुभूति हैन, समान अनूभूतिका निमित्त जोडिनुको विकल्प छैन । साझा, शान्त र समुद्ध नेपालका निमित्त शीर ठाडो पारेर बाँच्न प्रत्येक नेपालीले एक–अर्काको हात समाएर डो¥याउनुको विकल्प छैन । विभेदमुक्त समाज नै विकासको आधार हो । विश्वास र सहकार्यता बिना समृद्धि सम्भव छैन । शोक र सन्ताप हटाउँदै समृद्ध राष्ट्रिय अर्थतन्त्र एवं उन्नत समाज निर्माणका निमित्त संकल्प जरूरी छ । संविधानको कार्यान्वयनमा देखिएका त्रृटिहरूमा वर्तमानमा मौन बस्नेप्रति–भविष्यमा केही गर्ला भनी आमजनता कसरी विश्वस्त हुने । त्यसका निमित्त आजैबाट असमानताका विरूद्ध र समृद्धिको पक्षमा एक श्वर गरौं ।
(मधेश दर्पण फिचर सेवा)
Post a Comment