0
गोल्डेन न्यूज संवाददाता
आर्थिक अभावमा उपचार गराउन नसकेका जनकपुर–१७ का मिर्गौला बिरामी पवनकुमार मण्डललाई तत्काल उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्री गगन थापाले मानव अंग प्रत्यारोपण केन्द्रलाई निर्देशन दिएका छन्।   सेतोपाटीमा प्रकाशित मण्डलको खुलापत्रप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै मन्त्री थापाले केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई निर्देशन दिएका हुन्। ‘स्वास्थ्यमन्त्री निःशुल्क भन्नुहुन्छ, अस्पतालले पैसा छैन भनेपछि बेडबाटै निकाल्छ’ शीर्षकमा प्रकाशित उक्त खुलापत्रमा दुवै मिर्गौला फेल बिरामी मण्डलले उपचार क्रममा वीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रमा भोग्नुपरेका समस्या वर्णन गरेका छन्। स्वास्थ्यमन्त्री थापाले मण्डलले भोग्नुपरेका सबै विषयमा छानबिन गर्न र त्यस्ता अवाञ्छित क्रियाकलाप रोक्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन्। 
उक्त समितिले अस्पतालहरूमा भइरहेका अप्ठ्यारा हटाउने उपायबारे सुझाव दिनेछ।   मण्डलले स्वास्थ्य मन्त्री थापालाई सम्बोधन गर्दै लेखेको खुलापत्रमा ‘आफू गरिब रहेको र उपचार खर्च बेहोर्न नसक्नेबारे पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको’ उल्लेख गरेका छन्। कतिसम्म भने, अस्पतालको पैसा तिर्न नसकेपछि ‘डोरीले बाँधेर बेडबाट निकाल्ने’ धम्कीसमेत दिइएको उनको गुनासो छ। सरकारद्वारा घोषित निःशुल्क उपचार सुविधाबारे सुनेका मण्डलले अस्पतालसँग सोधपुछ गर्दा ‘कसैले प्रचारको निम्ति गरेको कुराको भरमा कहाँ निःशुल्क सेवा पाइन्छ’ भन्ने जवाफ सुन्नुपरेको थियो।
  चिकित्सकहरूबाट डाइलासिस गर्नुपर्ने भनि सिफारिस गरिएका बिरामीका लागि दुईपटक निःशुल्क डाइलासिस सेवाको व्यवस्था यसअघि नै भइरहेकोमा स्वास्थ्य मन्त्रालयले कात्तिकदेखि आवश्यकता अनुसार सम्पूर्ण डाइलासिस निःशुल्क गरेको छ। डाइलासिस गर्दा लाग्ने औषधि तथा सर्जिकल सेवा पनि निःशुल्क गरिएको मन्त्रालयले जनाएको छ। ‘डाइलासिस गर्नु छ साताअघि नै फिस्टोला गर्नुपर्छ वा तत्काल डाइलासिस गर्नुपर्ने हो भने घाँटी वा काखीमा प्वाल पारेर पाइप हाल्नुपर्छ। कहिलेकाहीँ डाइलासिस गर्ने बेला रगत बढाउनुपर्ने हुनसक्छ। एन्टिबायोटिक औषधि दिनुपर्न हुनसक्छ। 
त्यसका लागि केही रकम लाग्छ। तर, डाइलासिस सेवा पूरै निःशुल्क हो,’ स्वास्थ्य मन्त्रालयले भनेको छ। यसका लागि सरकारले हरेकपटकको डाइलासिसबापत अस्पताललाई २ हजार ५ सय रुपैयाँ तिरिदिने गरेको मन्त्रालयले जनाएको छ। डाइलासिका लागि औषधि, पाइप, डाइलासिस सेवा यही २ हजार ५ सयअन्तर्गत पर्छ। यो सेवा लिन बिरामीले अस्पतालमा गरिब तथा विपन्नसम्बन्धी कागजपत्रसहित सम्पर्क गर्नुपर्छ। डाइलासिसपछि अरू औषधी प्रयोग गर्नुपर्ने हुन्छ, जसका लागि छुट्टै पैसा लाग्छ। त्यो डाइलासिस सेवाअन्तर्गत पर्दैन।    ‘त्यो रकम पनि तिर्न नसक्ने मण्डलजस्ता बिरामीका लागि हरेक अस्पतालमा सामाजिक सेवा इकाई बनाइएको छ। त्यसमार्फत् उपचार सेवा लिन सकिन्छ,’ मन्त्रालयले भनेको छ, ‘गरिब तथा विपन्नका लागि सेवा दिन हालै गठन गरिएको यस्तो इकाईबारे धेरैलाई थाहा नहुन सक्छ।’    मन्त्रालयले विपन्न सेवाग्राहीलाई उक्त इकाईमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।   मन्त्रालयका अनुसार डाइलासिस सेवा देशभरका ३९ अस्पतालमा उपलब्ध छन्। डाइलासिस सेवाका लागि काठमाडौं धाउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न सबै अञ्चल अस्पताललाई कम्तीमा दुईवटा डाइलासिस मेसिन किन्न पुग्ने गरी रकम पठाइएको र थप ६० भन्दा बढी मेसिन मन्त्रालयले नै किनेर बढी चाप हुने ठाउँमा पठाउने तयारी गरेको पनि जनाइएको छ।   मन्त्रालयका अनुसार डाइलासिस सेवा दिइरहेका अस्पताल निम्न छन्ः   
१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, महाबौद्ध, काठमाडौं 
२) त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं 
३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुर 
४) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी 
५) मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर 
६) पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा, कास्की 
७) नारायणी उप–क्षेत्रीय अस्पताल, वीरगन्ज, पर्सा 
८) कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ्ग 
९) जनकपुर अञ्चल अस्पताल, जनकपुर, धनुषा 
१०) सेती अञ्चल अस्पताल, धनगढी, कैलाली 
११) नेपाल मेडिकल कलेज, जोरपाटी,  काठमाडौं 
१२) गण्डकी मेडिकल कलेज, पोखरा, कास्की 
१३) युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा, रुपन्देही 
१४) चितवन मेडिकल कलेज, भरतपुर,  चितवन 
१५) कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, चितवन 
१६) मणिपाल मेडिकल कलेज, टिचिङ हस्पिटल, पोखरा, कास्की 
१७) नेपालगन्ज मेडिकल कलेज, बाँके 
१८) राष्ट्रिय मृगौला रोग उपचार केन्द्र, बनस्थली, काठमाडौं 
१९) विराटनगर अस्पताल प्रालि, विराटनगर, मोरङ 
२०) धुलिखेल अस्पताल, धुलिखेल, काभ्रे 
२१) गोल्डेन अस्पताल, प्रालि, विराटनगर, मोरङ 
२२) बिएण्डबी अस्पताल प्रालि, ग्वार्को, ललितपुर 
२३) आरोग्य स्वास्थ्य प्रतिष्ठान, कुपण्डोल, ललितपुर 
२४) वीरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं 
२५) सुमेरु सामुदायिक अस्पताल, धापाखेल, ललितपुर 
२६) अल्का अस्पताल प्रालि, जावलाखेल, ललितपुर 
२७) चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा, कास्की 
२८) हिमाल अस्पताल प्रालि, ज्ञानेश्वर, काठमाडौं 
२९) ग्राण्डी इन्टरनेसनल हस्पिटल प्रालि, धापासी, काठमाडौं 
३०) बयोदा अस्पताल, प्रालि, बल्खु, काठमाडौं 
३१) नेशनल डाइलासिस सेन्टर, एकान्तकुला, ललितपुर 
३२) गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, बुटवल, रुपन्देही 
३३) सिद्धार्थ सिटी अस्पताल प्रालि, बुटवल, रुपन्देही 
३४) नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी संस्था लि, विराटनगर, मोरङ 
३५) क्रिमसन अस्पताल, मणिग्राम, रुपन्देही 
३६) नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, विराटनगर, मोरङ 
३७) ओम अस्पताल एण्ड रिसर्च प्रालि, चाबहिल, काठमाडौं 
३८) भेनस अस्पताल प्रालि, मध्यबानेश्वर, काठमाडौं 
३९) जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रालि, जनकपुर, धनुषा 
मिर्गौला बिग्रिएका बिरामीका लागि डाइलासिस दीर्घकालीन उपचार भने होइन। दीर्घकालीन उपचार भनेको मिर्गौला प्रत्यारोपण नै हो। यसका लागि स्वास्थ्य मन्त्रालयले वैशाख १ देखि निःशुल्क सेवा गरेको छ। यस्तो निःशुल्क सेवा मानव अंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा सुरु भइसकेको मन्त्रालयले जनाएको छ। त्यसका लागि आवश्यक कार्य्विधि र बजेट व्यवस्था गरेर अस्पतालहरूमा पठाइसकेको जनाइएको छ। कार्यविधिअनुसार प्रत्यारोपण गर्ने बिरामीका लागि शल्यक्रिया, त्यसका लागि आवश्यक औषधि, शैया शुल्क लगायत निःशुल्क छ। 
प्रत्यारोपणभन्दा अगाडि दिने र लिनेको मिर्गौला ‘क्रस–म्याचिङ’ गर्न ५० हजार र प्रत्यारोपण गरिसकेपछि औषधिका लागि एक लाख रुपैयाँ गरी कुल १ लाख ५० हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार मिर्गौला प्रत्यारोपण गर्ने हरेक बिरामीका लागि सरकारले साढे पाँच लाख रुपैयाँ खर्च गर्ने गरेको छ। त्यसबाहेकका अन्य खर्च बिरामी आफैंले गर्नुपर्छ।   यसबीच मानव अंग प्रत्यारोपण केन्द्रले पनि बिरामी मण्डलको खुलापत्रबारे प्रतिक्रिया दिँदै घाँटी वा काखीमा पाइप हालेर डाइलासिस गराउनुपर्ने भएकाले त्यसका लागि पाइप ल्याउन अनुरोध गरेको जनाएको छ। केन्द्रद्वारा जारी विज्ञप्तिमा दिनको सय जनादेखि १ सय २० जनाको डाइलासिस गराइएको र प्रत्यारोपण भइरहेको उल्लेख गरेको छ।   ‘सरकारको निःशुल्क डाइलासिस र प्रत्यारोपण कार्यक्रममा हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अत्यधिक बिरामीको चापले सबै बिरामीले तत्काल भर्ना हुन सम्भव नहुने र केही समय लाग्ने हुँदा सेवा विस्तारका लागि पहल भइरहेको छ।’

जोर्नी दुखाइ चिकन गुनियाले पनि हुन सक्छ’
अतुल मिश्र÷इकान्तिपुर
अत्यधिक जोर्नी दुखाइबाट पीडित व्यक्तिको उपचार गर्दा चिकनगुनियालाई समेत सम्भावित रोगको सूचीमा राख्नुपर्ने विशेषज्ञले औंल्याएका छन् । मुलुकमा ‘चिकनगुनिया’ को संक्रमण देखिन थालेकाले विशेषज्ञले त्यस्तो सुझाव दिएका हुन् । ती विशेषज्ञका अनुसार जोर्नी दुखेर अस्पताल पुगेका ‘चिकनगुनिया’ प्रभावित धेरैजसोमाथि बाथ रोग, युरिक एसिड वृद्घिजस्ता आशंकामा उपचार थालिन्छ ।
‘जोर्नी दुखाइको लक्षण महसुस गरेर अस्पताल आउनेहरूसँग पूर्वइतिहास सोधेर चिकित्सकले डिफरेन्सियल डायग्नोसिस (सम्भावित रोगको सूची) मा चिकनगुनियालाई समेत राख्निुपर्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुनले कान्तिपुरसँग भने, ‘चिकनगुनियाकै कारण कडा जोर्नी दुखाइ, ज्वरो, बिमिरा आउनेलगायत समस्यासहित उपचारमा आएकाको पनि रोगको सही पहिचान हुन सकेको छैन ।’
डा. पुनका अनुसार टेकु अस्पतालमा शंकास्पद चिकनगुनिया परीक्षणका लागि आएकामध्ये करिब २२ प्रतिशतमा यो रोगको संक्रमण देखिएको छ । अहिले पनि यसको संक्रमण देखिँदै आएको छ । मुलुकमा फाट्टफुट्ट रूपमा हरेक महिनाजसो चिकनगुनिया संक्रमण देखिए पनि वर्षायामपछि भने अझ बढी देखिन्छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माका अनुसार सन् २०१३ मा डा. वासुदेव पाण्डेले गरेको अध्ययनबाट मुलुकमा सबभन्दा पहिले चिकन गुनियासमेत रहेको प्रमाणित भएको हो । 
अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनमा डा. वासुदेव पाण्डे, डा. विश्वास न्यौपाने, डा. किशोर पाँडे, डा. नियात र प्रा.डा. मोरिताले सन् २०१३ मा गरेको अध्ययन रिपोर्टअनुसार ज्वरो, टाउको–मांसपेसी–जोर्नी दुखाइ, थकाइलगायत समस्या देखिएका करिब ५ प्रतिशत चिकनगुनिया प्रभावित छन् ।
 उक्त अध्ययन कञ्चनपुर, पर्सा र चितवन जिल्लामा १ सय ६९ जनाको रगतको नमुना लिएर गरिएको थियो । सोही अध्ययनको थप प्रक्रियाअन्तर्गत गत वर्ष चितवनबाट ज्वरो, जीउ, मांसपेसी, जोर्नी दुखाइलगायत समस्या भएकामध्ये ६९ जनाबाट संकलन गरिएको रगत नमुनामा समेत ७ प्रतिशतमा चिकनगुनिया देखिएको डा. पाण्डे बताउँछन् । उनका अनुसार मुलुकमा हुने गरेको परीक्षणमा यो रोगको सटीक पहिचान भइरहेको छैन । 
इपिडिमियोलजीका अनुसार भारतमा यही संक्रमणले ११ जनाको मृत्यु भएको देखिए पनि नेपालमा हालसम्म मृत्युको तथ्यांक रेकर्ड गरिएको छैन । डा. शर्माका अनुसार भाइरसबाट हुने संक्रमण चिकनगुनिया सार्ने लामुखुट्टे काठमाडौंलगायत धेरैजसो पहाडी र तराईका जिल्लामा पाइन्छ । 
सामान्यतया यो रोग आफैं नियन्त्रित हुन्छ । संक्रमितमा जोर्नी दुखाइसँगै ज्वरो सामान्यतया तीन दिनसम्म रहन्छ । तर ज्वरो निको भएपछि पनि जोर्नी सुन्निने र दुखाइ कायम रहन सक्छ । यस्तो लक्षण रोगीको उमेरको आधारमा एक, दुई वा तीन सातादेखि महिनौंसम्म रहन सक्ने डा. पुन औंल्याउँछन् । चिकनगुनियाको ज्वरो निको हुनुमा बिरामीको उमेर र रोग प्रतिरोधक क्षमतामा निर्भर गर्छ ।









Post a Comment

 
Top