विश्व स्वास्थ्य संगठनले हरेक वर्ष ७ अप्रिलमा विश्व स्वास्थ्य दिवस मनाउने गर्छ । यो वर्ष डिप्रेसन अर्थात् उदासीनतालाई प्रमुख विषय बनाएको छ । ‘डिप्रेसनबारे जानौं र खूलेर कूरा गरौं’ नाराका साथ संगठनले आफ्ना १ सय ७४ सदस्य राष्ट्रमा चेतनामूलक तथा निरोधात्मक उपाय अवलम्बन गराउँदैछ । यसको उद्देश्य डिप्रेसन सम्बन्धी परम्परागत धारणा र भ्रम हटाउने र रोगबारे सकारात्मक चेतना अभिवृद्धि गर्नु हो ।
विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार, डिप्रेसनले विश्वका ३० करोडभन्दा बढी व्यक्ति अर्थात् विश्व जनसंख्याको करिब ४ प्रतिशत सताइएको देखिन्छ । अमेरिकामा मात्रै हरेक वर्ष २ करोड व्यक्ति उदासीनताबाट पीडित हुन्छन् । पुरुषको दाँजोमा महिला दोब्बर बढी प्रभावित छन् । संगठनकै अध्ययन अनुसार, सन् २०३० सम्म विश्वब्यापी रूपमा मानिसलाई अशक्ततामा पुर्रुयाउने पहिलो कारण एचआईभी एड्स र डिप्रेसन दोस्रो हुन्छ भनी भविष्यवाणी गरिएको छ । पछिल्लो दशक विश्वभर डिप्रेसनबाट प्रभावितको संख्या करिब १५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
विश्वमा हरेक ४० सेकेन्डमा एकजनाको ज्यान आत्महत्याबाट जान्छ । १५ देखि २९ वर्ष उमेरकाहरूको अकाल मृत्यु हुने कारणमा आत्महत्या दोस्रो प्रमुख कारणमा पर्छ । डिप्रेसन एक प्रकारको मानसिक रोग हो । मानसिक रोगबारे जनमानसमा मिथ्या धारणा छन् । यसलाई नहटाएसम्म यसको पहिचान, तथा उपचार गर्न सकिँदैन ।
बेलाबखत दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटनाहरू जसको जिन्दगीमा पनि हुन सक्छन् । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुँदैन । तर सीमा जे कुराको पनि हुनसक्छ । कुनै घटना विशेष वा टेन्सन वा विना कारण निरन्तर दुई साता वा त्यसभन्दा बढी समयसम्म दुस्खी वा उदास महसुस भइरहन्छ, शरीरमा ताकत नभएको लाग्ने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जीउ भारी भइरहने, निद्रा खराब हुने, खान मन नलाग्ने आदि विभिन्न लक्षणमध्ये कमसेकम ३–४ वटा लक्षण हुन्छन् । जब यी लक्षणले व्यक्तिको दिनचर्यामा समेत खलल पु¥याउन थाल्छ, त्यस अवस्थामा ती व्यक्ति डिप्रेसनबाट पीडित भएको शंका गर्नुपर्ने हुन्छ । कडा खालको डिप्रेसनमा यी लक्षणबाहेक हीनताबोध तथा आत्मग्लानि हुने वा आफैंलाई हानि पुर्रुयाउने वा आत्महत्या गर्ने सोच आउने हुनसक्छ ।
डिप्रेसनबाट पीडित मानिसमा लक्षणको एकरूपता नहुन सक्छ । हाम्रो मुलुकमा अझै मानसिक रोग भन्ने बित्तिकै गलत सोंच जोडिएकाले रोग समयमै उपचार नहुने, पहिचान भए पनि सही उपचार र उचित समय अवधिसम्म उपचार नहुनाले यसको जटितलता झन् बढेको पाइएको छ ।
हाम्रो मुलुकमा प्राकृतिक विपत्ति, राजनीतिक अस्तव्यस्तता, आर्थिक अनिश्चितता, सामाजिक असुरक्षा, बेरोजगार, गरिबी, कुषोषण, पारिवारिक कलह, अव्यवस्थित सहरीकरण, सामाजिक विभेद आदिका कारण प्रशस्त तनाव उत्पन्न भइराखेको देखिन्छ । तनावले हाम्रो शरीरमा स्ट्रेस हार्मोन जस्तै–कार्टिसोल, एड्रिनालिनको स्तर बढाउँदैछ, जसका कारण ब्लड प्रेसर, सुगर, थाइराइडको समस्या आउनुका साथै निरन्तर तनावले डिप्रेसनका लक्षण देखापर्न सक्छ । यसबखत मस्तिष्कबाट निस्कने सेरोटोनिनको कमी हुन जान्छ । एकातिर स्ट्रेस हार्मोन बढ्ने र अर्को्तिर सेरोटोनिनको कमी भयो भने डिप्रेसनका लक्षण बढ्न सक्छन् ।
डिप्रेसन कडा मानसिक रोग होइन, तथापि यसलाई समयमै उपचार नगरे काम गर्नसक्ने क्षमता तथा स्मरणशक्ति कमी हुन्छ, पढाइ प्रभावित हुनसक्छ । आर्थिक नोक्सानी हुनसक्छ । करिब १५ प्रतिशत बिरामीको मृत्यु अकालमा हुनसक्छ । जसरी हामी ब्लड प्रेसर, सुगर, क्यान्सरजस्ता अन्य शारीरिक रोगबारे चर्चा गर्छौं, आपसमा कुराकानी गर्छौं, त्यसैगरी डिप्रेसन र अन्य मानसिक रोगबारे पनि सर्वसाधारणमा जानकारी हुनु, कुराकानी हुनु जरुरी छ । डिप्रेसन भएको भान भए आफ्नो मनको कुरा आफूले विश्वास गर्ने व्यक्तिसँग भन्नुपर्छ । यसो गर्दा मन हलुका हुनसक्छ । कुनै स्वास्थ्यकर्मी वा मनोसामाजिक कार्यकर्ता जो नजिक छ, सम्पर्क गर्नुपर्छ । सही सल्लाह, सही ठाउँ या विशेषज्ञकहाँ जानुपर्छ । आफूलाई मन लाग्ने वा गरिरहेको कामकुरा गरिरहनुपर्छ । आफन्त वा साथीहरूको संसर्गमा रहनुपर्छ । नियमित रूपमा थोरै भए पनि व्यायाम र हिँडडुल गर्न आवश्यक छ । नियमित खानपान र सुत्ने बानी कायम राख्नुपर्छ । जाँड–रक्सी वा कुनै लागुपदार्थ सेवन नगरौं, यसो गर्दा डिप्रेसनले झन् च्याप्न सक्छ । आफ्नो जिन्दगी नै बेकार भएको महसुस भएर आत्महत्या सम्बन्धी सोच आइरहे वरपर कसैसँग सहयोग लिनुपर्छ । त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग अन्तर्गत हटलाइन फोनमा कुरा गर्न सकिन्छ । सही सहयोग पाए डिप्रेसन निको हुन्छ । आधुनिक औषधीको सेवन तथा मनोविमर्श डिप्रेसन उपचारको अभिन्न अंग हो । जसको प्रयोगले केही सातामा आराम महुसस गराउँछ, काम गर्न जाँगर पलाउँछ, निद्रा, भोक जागेर आउँछ तथा जीवनप्रति सकारात्मक सोच उत्पन्न गराउँछ ।
मानसिक तथा मनोसामाजिक समस्याबाट पीडित बालबालिका, किशोर–किशोरी, प्रजनन उमेर समूहका महिला, गृहिणी, पिछडा व्यक्ति बढी जोखिममा रहेकाले राष्ट्रले त्यस्ता व्यक्ति वा समुदायलाई केन्द्रविन्दुमा राखी प्रबद्र्धनात्मक तथा निरोधात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यस्तै डिप्रेसनबाट पीडितलाई सर्वसुलभ रूपमा देशको प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला तथा अञ्चल अस्पतालमा सेवा उपलब्ध गराउन उचित कार्यक्रम बनाई लागु गर्नुपर्छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा राष्ट्रिय बजेट वृद्धि गरी समस्या रोकथाम, उपचार र पुनस्स्थापनाको काम गर्न सकियो भने व्यक्ति, परिवार र राष्ट्रको उत्पादकत्व बढ्छ । डिप्रेसन पनि मानसिक स्वास्थ्य समस्यामध्ये एक प्रमुख रोग हो । यसको उपचार नगरे घातक हुनसक्छ भने सही उपचारले धेरैको मुहारमा मुस्कान फर्काउन सकिन्छ ।
डा. ओझा त्रिवि शिक्षण अस्पताल महाराजगन्जका विभागीय प्रमुख तथा मनोचिकित्सक हुन् ।
Post a Comment