0
राजाराम पौडेल÷गोल्डेन
विशेषगरी गुरुङ फिल्मलाई गुरुङ समुदायले चलाएको छ । व्यवसाय वा पेशा नै भनेर लाग्नेको संख्या कमी छ । गुरुङ फिल्मलाई आफ्नो संस्कार र संस्कृति मात्रै हो भन्ने बुझाई बढी छ। त्यसैलेपनि व्यवसायिक रुपमा अगाडि बढ्न केही कठिनाई भएको हो । विगतमा कल्चरल फिल्म मात्र खेलेर जीवन धान्न मुस्किल थियो । किनकी वर्षमा एकाध फिल्म बन्थे । व्यवसायको अवधारण नै थिएन । अहिलेको जस्तो कथा बुनेर ल्याउने काम कम हुन्थ्यो । अर्को कुरा उमेरको कारण पनि पलायन हुनुपथ्र्यो । फिल्ममा खेल्न राम्री हुनुपर्ने । तर सधैंभरि त्यो रुप रंग नरहने कारण समेत केहि पलायन भए । अहिले भने गुरुङ फिल्म व्यवसायिकतातर्फ उन्मुख हुँदै गएको छ । यो क्षेत्रमा सक्रिय मध्येकी अनुता गूरुङले एक दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । ‘चोखोमाया’ बाट ‘जिउँदो लास’ सम्ममा आइपुग्दा आफ्नो परिचय गुरुङ फिल्ममा बनाइन् । उनलाई पनि लामो समय यो क्षेत्रमा टिकिराख्छु भन्नेमा विश्वास भने छैन । ‘यो क्षेत्रमा राम्रो छ, तरपनि लामो समय त टिक्दैन, विवाह नभए सम्म मात्र हो ।’ उनले भनिन् । बुझ्नी परिवार भयो भने विवाह पछि पनि निरन्तरता दिने सोच बनाएको बताउने उनले विवाह गरिहाल्ने सोच भने बनाएकी छैनन् । उनले एक दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । फिल्मको सुटिङ गर्न हिमाली ठाउँमा जानुपर्छ, बस्ने ठाउँ राम्रो हुदैन, विरामी हुदाँ सहनुपर्ने हुदाँ पुरुषको तुलनामा महिला कलाकारलाई गाह्रो हुन्छ । तर पनि संर्घष गर्नसक्ने सम्भावना बोकेका कलाकारको भविष्य उज्ववल बन्न थालेको छ । इच्छा र रहरले मात्र नभइ
क्यारियर बनाउने र केहि गर्ने सोच लिएर आउने कलाकारलाई अगाडि बढ्न सहज देखिन्छ ।
त्यसैले त केहि कलाकार दर्शक तथा फिल्म मेकरको डिमान्डमा पर्न थालेका छन् । उनीहरुलाई खोजी–खोजी फिल्ममा अभिनय गराइन्छ। केहि भने लगानी गरेर आएका छन् । प्रतिभा, इच्छा र पैसा भएका यसरी आउँछन् । तर यसरी आउने थोरै मात्र टिकिराखेको देखिन्छ ।
गुरुङ फिल्म ‘धिँ’ बाट उदाएकी नायिका रजनी गुरुङले ‘प्रे–सोना’ सम्म अभिनय गर्दा अभिनय गरेका फिल्मको संख्या एक दर्जन पुग्यो । पहिला भन्दा गुरुङ फिल्मको दायरा बढ्दै गएको उनको अनुभव छ । ‘पारिवारिक फिल्म भएकोले गुरुङ फिल्ममा सजिलो हुन्छ, कति कुरा त आफूमा डिपेन्ड हुने हो’ उनले भनिन् । यो क्षेत्रमा लागेर आर्थिक अवस्था अहिले ठिकै भएपनि फ्युचर भने उनले पनि देखेकी छैनन् । ‘अहिलेसम्म ठिकै छ पछि के हुन्छ समयले बताउला’ उनले भनिन् । एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा उनले काम गरिसकेकी छन् ।
केहि नायिकाहरु यहि पेशामा लागेर बाँचेका छन् । अनुता गुरुङ, रजनी गुरुङ, जसु गुरुङ, उर्मिला गुरुङ, रसिला गुरुङ, निसा गुरुङ लगायत यसको उदारहण हुन् । केहि कलाकारले भने गुरुङ फिल्मलाई भ¥याङ बनाउदै नेपाली फिल्म सम्म पुगेका छन् । रजनी गुरुङले टलक जंग भर्सेज टुल्केमा अभिनय गरिन् । रिस्मा गुरुङले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘झुम्की’मा काम गर्ने अवसर पाइन् । हुन त सुरुमा रिस्मा गुरुङले रामबाबु गुरुङलाई भेटाउदा खेल्दिन भनिन् । यसको कारण नेपाली फिल्ममा घुलमिल हुन सकिदैन भन्ने उनको मनमा थियो । तर पछि कन्भिस भइन् । एक पछि अर्को गर्दै अवसर समेत पाइन् । ‘घलेक’बाट उदाएकी राष्ट्रिय भलिवल खेलाडी समेत रहेकी नायिका सिपोरा गुरुङले ‘भुई मान्छे’मा चान्स पाइन् । यता रञ्जिता गुरुङल भने नेपाली फिल्म ‘गोर्खा पल्टन’ खेलेर गुरुङ फिल्म तर्फ आइन् । उनले गोरखा पल्टन फिल्ममा अभिनय गरेर गुरुङ फिल्म ‘सर्वेता’ मा  अभिनय गरेकी हुन् ।
जसु गुरुङ कोरसको रुपमा फिल्ममा छिरेर विस्तारै साइड डान्सरबाट कलाकार रुपमा ढाल्दै कोरीयोग्राफर नायिका, निर्देशन हुदै यसै क्षेत्र सँग सम्बन्धित व्यवसायमा सम्लग्न बनेकी छन् । यो क्षेत्रमा लागेर आम्दानी पनि रामै्र भएको उनले सुनाइन् ‘आम्दानी राम्रो छ घरमा माग्नु पर्दैन ।’ यहि फिल्डमा निरन्तर लाग्ने बताउने जसुले स्टार स्टुडियो सञ्चालन गरेर यो क्षेत्रलाई व्यवसायको रुपमानै अगाडि बढाएकी छन्। उनी जिफान कास्कीको संयोजक समेत हुन् ।
गाउँ तथा पर्यटन सम्बन्धी गीतको म्युजिक भिडियोमा मोडलको रुपमा काम गर्ने गुरुङ फिल्मका नायिकाहरु समेत छन् । यसमा रजनी, अनुता, रसिला, इन्दु, उर्मिला, सविना, झरना वर्षा बढी व्यस्त छन् । गुरुङ फिल्म एशोसियशन नोपल (जिफान) का अध्यक्ष वेद बहादुर गुरुङ श्याम गुरुङ फिल्ममा महिला कलाकार लामो समय टिक्न नसकेको बताउँछन् । ‘एक दुई फिल्ममा देखिने, अनि जाने तथा अधिकांश नायिका विवाह पछि पलायन हुन्छन्’ उनले भने । विना पारिश्रमिक काम नगरेपनि खान लाउन पुग्ने र आफ्नो स्टाटसलाई मेन्टन गर्न गाह्रो हुने भएकोले निरन्तरतामा समस्या आएको उनको बुझाइ छ । म्युजिक भिडियोमा अभिनय गर्दा सरदर १० हजार देखि २५ हजारसम्म र गुरुङ फिल्ममा नायिकाको रुपमा ५० हजारदेखि बढीमा १ लाखसम्म लिने गरेका छन् । सिपोराले ‘याम्फावती दि प्रिन्सेस’ मा भने छ लाख रुपैयाँ लिएको बताइन्छ । 
यसरी हेर्दा गुरुङ फिल्ममा काम गर्ने महिला कलाकारको भविष्य सुधार उन्मुख छ । केहि प्रतिभावान् कलाकार अविभावकले स्वीकृत नदिँदा आफ्नो प्रतिभा देखाउनबाट वञ्चित समेत भएका छन् । सुटिङ स्र्पोटमा पुगी सकेका कलाकार परिवारले स्विकृत नदिदाँ फिर्तासम्म हुनु परेको घटना गुरुङ फिल्ममा छ ।
निर्माता तथा निर्देशकले महिला कलाकारमा निखारता प्रदान गर्ने अभ्यास गराउने गरेको भएपनि लामो समय निरन्तरता दिन नसक्दा समस्या हुने गरेको जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउँछन् । ‘अझपनि निरन्तरता दिने मल्टिटाइपको अभिनय गर्ने कलाकारको अभाव खड्एिको छ ।’ उनले बताए । रहरले एउटा दुईवटा फिल्म खेलेर पलायन हुनुभन्दा निरन्तरता दिन सक्ने कलाकारलाई स्थान दिन सके उसको भविष्य बन्ने थियो निर्माता निर्देशक र कलाकार समेत रहेका माओत्सेको तर्क छ । पहिलो गुरुङ फिल्म पातेका नायिका अनु गुरुङ र विनिता गुरुङ निस्क्रिय छन् । 

यसैगरी शुक्ला गुरुङ, शोभा गुरुङ, पार्वती गुरुङ, तारा गुरुङ, कल्पना गुरुङ, सुनिता गुरुङ, सोनाली गुरुङ, लक्ष्मी गुरुङ, विनिता गुरुङ, कमला गुरुङ, मिना गुरुङ, मिरा गुरुङ, शान्ति गुरुङ, अनिता गुरुङ, नविना गुरुङ, दुर्गा गुरुङ, मनिषा गुरुङ, वसन्ती गुरुङयो क्षेत्रबाट पलायन भए । सनम गुरुङ, रुविना गुरुङ, प्रतिक्षा गुरुङ, दीप्ति गुरुङ, प्रमिला गुरुङ, सोविन गुरुङ, सीता गुरुङ, डिना गुरुङ, रुपा गुरुङ, रत्ना गुरुङ, झरना गुरुङ, विन्दु गुरुङ, अन्जना गुरुङ, रोशनी गुरुङ, काजल गुरुङ, एलिना गुरुङ लगायत निस्क्रिय बने । निस्क्रिय मध्ये अधिकांश विदेश पलायन भएका छन् । केहि स्वदेशमानै वैकल्पिक पेशा गरेका छन् । केहि गृहणीमानै सीमित बने ।
कति कलाकार माझिने बेलामा यो लाइन छोड्छन् । फिल्म खेलेर के हुन्छ भन्ने सोचको विकास अर्को कारण हो । सक्रिय रुपमा लाग्नेहरुमा जसु गुरुङ, रजनी गुरुङ, अनुता गुरुङ, निस्ता गुरुङ, सविना गुरुङ, धनमाया गुरुङ, अस्मि गुरुङ, रन्जिता गुरुङ, रिश्मा गुरुङ, सिपोरा गुरुङ, सपना गुरुङ, माया गुरुङ, सविना गुरुङ, छायाँ गुरुङ, कुन्ती सुब्बा, प्रेमा गुरुङ, उर्मिला गुरुङ, सपना गुरुङ, धनु गुरुङ, माया गुरुङ, रिया गुरुङ, इन्दु गुरुङ, वविता गुरुङ, सवु गुरुङ लगायत छन् ।
गुरुङ फिल्मको मुख्य बजार कास्की जिल्लानै रहेको छ भने यस्का अलावा काठमाडौँ, लम्जुङ्ग, तनहुँ, स्याङ्गजा, गोर्खा, पर्वत, चितवन, रुपन्देही, नवलपरासीमा समेत गुरुङ फिल्मको बजार राम्रै रहेको छ । पछिल्ला दिनमा भारतको सिक्किम, दार्जीलिङ लगायतका ठाउँमा समेत गुरुङ फिल्मको प्रर्दशन गरी राम्रै आम्दानी हुन थालेको फिल्मकर्मी बताउँछन् । त्यसो त गुरुङ फिल्म हङकङ, जापान, कोरिया, युके, खाडी मुलुकमा रहेका नेपाली माझ प्रदर्शन गरी आम्दानी गर्ने गरिन्छ ।
गुरुङ फिल्मको इतिहास भने त्यती लामो छैन २०५२ सालमा ‘पाते’ फिल्मबाट गुरुङ फिल्मको निर्माण आरम्भ भएको थियो । मगर भाषाको पहिलो फिल्म निर्देशन गरेका युवराज मास्के मगरले यो फिल्म निर्माण गरेका थिए । अहिलेसम्म हेर्दा आदिवासी फिल्ममा बढी संख्यामा बनेको फिल्म गुरुङ भाषाकै हो ।






Post a Comment

 
Top