पृष्ठभूमि ः
उत्तरआधुनिकतावाद एक्काइसौँ शताब्दीको एउटा महत्वपूर्ण परिचायक अभिलक्षण हो । एक्काइसौँ शताब्दी भनेको नवीन दृष्टिकोणयुक्त पछिल्लो वा वर्तमान समयको महत्वपूर्ण कालखण्ड मानिन्छ । पश्चिममा मोटामोटी रुपमा प्रथम विश्वयुद्धदेखि दोस्रो विश्वयुद्धभन्दा पछिसम्मको आधुनिक युग भन्ने गरिएको छ । आधुनिकता फ्रान्सेली राज्य क्रान्तिको उपलब्धि मान्ने गरिएको छ । तर्क, बुद्धिको भरमा बौद्धिक एवम् दार्श्निक समस्याको समाधान गर्न सकिन्छ भन्ने मान्यतालाई राज्य क्रान्तिले अगाडि बढाएको हो । उत्तरआधुनिकतावाद आधुनिकतासँग सम्बन्धित यिनै मान्यताको प्रतिध्रुवमा उदाएको मान्यता देखिन्छ । नयाँ विश्व व्यवस्था भन्दै उदारवाद, बहुलवाद, सांस्कृतिक सिद्धान्त र सांस्कृतिक नीतिका नाममा उत्तरआधुनिकतावादले पृष्ठपोषणका नयाँ–नयाँ विधिहरुको सृजना गरी बाँकी विश्वका जनतालाई उत्पीडनमा पार्ने कार्य गरिएको छ । तिनले सिर्जना गर्ने भ्रमलाई निवारण गर्नुपर्ने देखिन्छ ।
शब्द व्युत्पत्ति ः
उत्तरआधुनिकतावाद पोस्ट मोडर्निज्म र उत्तरआधुनिक पोस्ट मोडर्न शब्दको विशेषण जनाउने हो । अङ्ग्रेजी भाषाको यो शब्द ‘पोस्ट’ आफ्टर र ‘मोडो’ अहिले भर्खरै मिलेर बनेको शब्द हो । यसलाई ऐतिहासिक सन्दर्भमा समसामयिक वा वर्तमान युग भनिन्छ । वर्तमान भन्नुको तात्पर्य आधुनिक युगभन्दा पछिको ऐतिहासिक समय हो । यसै धारणाअनुसार आधुनिक युग र त्यसपछिको विचार, चिन्तन र संस्कृतिलाई उत्तरआधुनिकतावाद नामकरण गरिएको छ । हाल आएर उत्तरआधुनिकतालाई बुझाउनका लागि सूचना युग, उच्च आधुनिक, अत्याधुनिक, सूचना समाज, दोस्रो मिडिया युगजस्ता शब्दको पनि प्रयोग भएको देखिन्छ ।
शब्दको प्रयोग ः
उत्तरआधुनिक सन्दर्भमा प्रायःजसो उत्तरआधुनिकता र उत्तरआधुनिकतावाद शब्दको प्रयोग भएको पाइन्छ । उत्तरआधुनिकताले आधुनिकतापछिको युग र अवस्था बुझाउँछ । आधुनिक युगमा निर्माण भएका सामाजिक र आर्थिक सम्बन्धको अन्त्य भएर नयाँ अवस्थाको रुपमा उत्तरआधुनिकता शब्दको प्रयोग भएको हो । उत्तरआधुनिकतावाद मुख्यतया कला क्षेत्रको विषय भएकाले यस युगको कलावादी धारणा, विचार र चिन्तनको समग्रता नै उत्तरआधुनिकतावाद हो । उत्तरआधुनिक बहुलवादी समाजको राजनीतिका रुपमा माक्र्सवाद लगायतको प्रबोधन परियोजनाका विरूद्धको वैचारिक रुपमा उत्तरआधुनिकता, उत्तरऔद्योगिक युगका विविध दर्शन र आन्दोलनसँग सम्बन्ध रहेको छ । त्यसैले, उत्तरआधुनिकता उत्तरपुँजीवादी युगकै विचार, दर्शन र सामाजिक अवस्थाको एकत्रित रुप हो ।
अर्थ ः
उत्तरआधुनिकतावादको अर्थ र सन्दर्भ एउटै नभएकाले यसलाई अथ्र्याउने कार्य चुनौतीपूर्ण भएको छ । ती अर्थहरु निम्नानुसार प्रस्तुत गर्न सकिन्छ–
–उत्तरआधुनिकतावाद कुनै पनि विषयको गहिराइ र तत्वको विरोधी छ ।
–उत्तरआधुनिकताका दृष्टिमा वर्तमान समाजका सबै चीज र विचार सतही र अस्थायी हुन् ।
–समाज विभिन्न संस्कृति, जाति र बहुलतामा वितरित छ। यसले ज्ञानको द्वन्द्ववादी अवस्थालाई प्रस्तुत गर्ने हुनाले मान्छेको यात्रामा एउटै महान् परिवारको परिकल्पना सम्भव छैन ।
–समाज विज्ञानले सत्य वा यथार्थको वर्णन गर्दैन । बौद्रिलार्दका अनुसार यसले सधैँ दिन्छ र झुक्याउँछ । यसले संकेत र बिम्बहरु मात्र प्रस्तुत गर्दछ ।
यसरी उत्तरआधुनिकता बहुलवादी र विविधताको दर्शन हो। यसले समाजलाई नहेरी पुँजी उपभोक्ता भ्रमका आधारमा जीवनको व्याख्या गर्दछ । यसले ज्ञान र शक्तिका सम्बन्धको आधारमा विश्वलाई हेर्दछ ।
प्रयोग ः
चिन्तन र दर्शनलाई उत्तरआधुनिकतावादको मूल क्षेत्र समालोचना र साहित्य नै हो । उत्तरआधुनिकतावाद समालोचना मुख्य गरी डेरिडा र फुकोको दर्शन, लकालको मनोविश्लेषण, जुलिया फ्रिस्तेभाको नारीवाद, जेम्सन र इगलटनको उत्तरमाक्र्सवादी अवधारणा, पल डे म्यानको प्रतिरोध सिद्धान्त, निस्सेको महामानवको अवधारणा र निराशावादी दर्शन, हाइडेगरको भाषिक खेल, आल्थसर, एडोनो आदिको नवमाक्र्सवादी सिद्धान्त आदिमा आधारित छ । उत्तरआधुनिकतावाद समालोचनाका क्षेत्रमा मूलतः उत्तरसंरचनाका रुपमा रहेको छ । उत्तरआधुनिकताका रुपमा विधा भञ्जन, विधा मिश्रणका रुपमा रहेको छ । यो शैली वा रुपमा रमाउने भएकाले खण्ड–खण्डमा कृतिको विश्लेषण रहन्छ । यसैमा कृति बाँच्दछ । भाषा, अर्थ, अनिश्चितता, अर्थ भिन्नताजस्ता शब्दावलीमा कृतिको विश्लेषण हुन्छ ।
कृतिको एकत्व र एकान्वितिको विरोध, उच्च कलाको विरोध, टेलिभिजन, संगीत, कार्टुनजस्ता माध्यमलाई कलात्मक अभिव्यक्तिको माध्यम मानेको छ । अकथा, अउपन्यास र अकविताजस्ता प्रकृति भत्काएर साहित्यमा अराजकता निम्त्याउने कार्य गरेको पाइन्छ । कृतिको केन्द्र भत्काउने, साहित्यलाई उपभोक्तावादको सन्दर्भबाट हेर्ने प्रकृति उत्तरआधुनिकतावादमा रहन्छ । पाठको विषयवस्तुभन्दा अर्को अर्थ नखोज्ने, कृतिको केन्द्र भत्काउने साहित्यलाई उपभोक्ताको सन्दर्भबाट हेर्ने प्रकृति उत्तरआधुनिकतावादमा छ ।
लेखकीय दृष्टिकोणको विरोध र पाठकीय दृष्टिकोणको समर्थन, कृतिको कलात्मक गरिमालाई भाँचभुँच गर्ने प्रकृति उत्तरआधुनिकतावादी समालोचनाको विशेषता रहेको छ । रोलो बार्थले लेखकीय मृत्युको धारणा प्रस्तुत गरी लेखकको सामाजिकतालाई निषेध पार्ने कार्य गरे । उनको निबन्ध ‘आइफेल धरहरा’ भन्नेबाट कृतिको अर्थ नरहने धारणा प्रस्तुत गरे । उनले यो खालि रुपगत, ध्वनिगत, वाक्यगत अभिव्यक्तिका रुपमा कृति विश्लेषण गर्न सकिने धारणा बताए । फ्रान्समा देखा परेको ध्वंसात्मक प्रकृतिका समालोचनाका अगुवा रोला बार्थ हुन् । यो विस्तारित हुँदै अमेरिकासम्म पुग्यो । लेखक, कृति र समालोचक सबैलाई उपेक्षा गर्ने प्रकृतिको विकाससँगै अतियथार्थलाई प्रस्तुत गर्न थालियो । ध्वनि केन्द्रवाद, शब्दकेन्द्रवाद, भाषिक खेलजस्ता शब्दहरुको प्रयोगले अर्थहीनता, विखण्डन, शब्दक्रीडाका सन्दर्भबाट साहित्यलाई हेर्ने दृष्टिकोण उत्तरसंरचनावादी दृष्टिकोण हो भने उत्तरआधुनिकतावादले यही मान्यतामा आधारित भएर साहित्यको समीक्षा गर्छ । साहित्यलाई विखण्डनका सन्दर्भबाट हेर्ने, यसले उल्टो क्रमलाई समर्थन गर्ने, कार्यकारण शृंखलाको विरोध गर्ने, अनुउपस्थितिको खोजी गर्ने नाउँमा कृतिलाई थिलथिल्याउने, कुनै पनि सत्यलाई नकार्ने, पाठभन्दा परको अर्थको विरोध गर्ने, पाठकलाई अधुरो वा गलतमाथि हरेक पटक नयाँ अर्थको खोजी गर्ने, पाठलाई उल्ट्याउने, दोहो¥याउने प्रवृत्ति यसमा छ । उत्तर आधुनिकतावादको समालोचना सिद्धान्तमा फ्रान्सेली प्रभाव रहे तापनि साहित्य सिर्जनामा अङ्ग्रेजी साहित्य प्रबल रहेको छ । उत्तरआधुनिकतावादले साहित्यमा विध्वंस र विखण्डन मात्र ल्याएको होइन, यसले त केही प्रश्नहरु उठान गरी दलित, जनजाति, महिलाको क्षेत्रमा पुँजीवादीहरुको सांस्कृतिक प्रभुत्व रहेको विभेदलाई भत्काउने कार्य गर्न सकेको देखिन्छ ।
Post a Comment