सामान्यतः लैंगिक हिंसा भन्नासाथ महिलामाथि हुने कुटपिट, दमन, शोषणजस्ता क्रियाकलापलाई बुझाउँछ । सूचना प्रविधि र आधुनिकतासँगै पछिल्लो समय लैंगिक हिंसाका स्वरुपहरु पनि परिवर्तन हुँदै आएका छन् । नेपालमा महिला तथा बालिकामाथि बलात्कारका घटना अत्यधिक ढंगले बढिरहेका छन् । बालिका बलात्कारका अधिकांश घटनामा परिवार, आफन्त, छिमेकीहरुकै संलग्नता पाइएको छ । ‘रक्षक नै भक्षक’ हुँदा ऐन÷कानुन नै निरीहजस्तो बन्न पुगेको छ । महिला र बालिकामाथि हुने गरेका अनेकन यौनहिंसा रोक्न सरकार, महिला आयोग, अधिकारकर्मी, प्रहरी तथा विभिन्न संस्थाहरुले जे जति पहल गरे पनि अपेक्षाकृतरुपमा महिला हिंसाका घटनामा कमी आउन सकेको पाइँदैन । महिला हिंसाका घटना न्यूनीकरण हुनुको सट्टा झनै बढेको विभिन्न तथ्यांकहरुले देखाएका छन् । नेपालमा लैंगिक हिंसाविरुद्धको अभियान, नारी दिवसलगायतका कार्यक्रम हरेक वर्ष सप्ताहव्यापी रुपमा गरिँदै आएका छन् । गत वर्ष घर शान्ति नै विश्व शान्तिको आधार ः दिगो विकासका लागि लैंगिक हिंसारहित समाज भन्ने नारासहित हिंसाविरुद्धको अभियान सञ्चालन भए पनि हिंसाका घटना भने बर्से्नि बढेको बढ्यै छन् । केही वर्षयता गरिबी र अशिक्षाका कारण महिला हिंसाका घटनाहरु देखिँदै आएका छन् । शिक्षित समाजका अगुवा मानिने विभिन्न पेशाकर्मी, बुद्धिजीवि, तथा समाजले सम्मान गर्दै आएका प्रतिष्ठित व्यक्तिहरुबाटै हिंसाको शिकार बनेका घटनाहरु बाहिर आउने गरेका छन् । फरकचाहिँ यत्तिमात्र हो कि हिंसाका स्वरुप परिवर्तन भए पनि सारमा कुनै न कुनै हिंसाबाट महिलाहरु पीडित बनिरहेका छन् । गरिबी र अशिक्षा नै हिंसाका कारक तत्व होइनन् भन्ने पुष्टि विभिन्न घटनाले गरिसकेका छन् । मानसिक दरिद्रताका कारण आफ्नै परिवारबाट, आफन्तजनबाट, छरछिमेकीबाट नै महिला तथा बालिका असुरक्षित भएका छन् । प्रमाणपत्र प्राप्त गरेरमात्र मानिस शिक्षित, विवेकी, बुद्धिजीवी हुन सक्दैन । शिक्षा प्राप्त गरेर जबसम्म चेतना आउँदैन, त्यस्तो मानिस पढेर पनि मुर्खबराबरै हुन्छन् । सकारात्मक सोच, चिन्तन र दृष्टि नभएको मानिसबाट सधैँ हिंसा जारी रहन्छ । एकदसक अघिसम्म महिला हिंसाका घटनाहरुमा कुटपिट, गालीगलौज, घरनिकाला, दाइजो, छोरीछोरीमा भेदभाव, अन्धविश्वासजस्ता प्रकृतिका हुने भए पनि पछिल्लो समय महिला हिंसाका स्वरुपहरु परिवर्तन हुँदै आएका छन् । इच्छाविपरीतका शारीरिक सम्पर्क हुनु, अप्राकृतिक यौनसम्पर्क, चरित्रहीनको आरोप लगाउने, अनावश्यक शंका उपशंका गर्ने, घरपरिवारलाई बेवास्ता गर्ने, श्रीमतीलाई खोट देखाउँदै हेलाँ गर्नेजस्ता घटनाहरु नयाँ स्वरुपमा देखा परेका छन् । यतिसम्म कि बलात्कारजस्तो जघन्य अपराधका घटनालाई पनि मिलापत्रमै टुङ्ग्याउने प्रवृत्तिले अपराधले प्रश्रय पाइरहेको छ । महिला हिंसाका घटना वृद्धि हुनुको कारण दोषीलाई अभियोगअनुसार कार्बाही नहुनु हो । पीडकहरू अधिकांश आफ्नै घरपरिवारभित्र वा आफन्त भइदिँदा पीडकले उन्मुक्ति पाइरहने अवस्था आएको हो । आफ्नै श्रीमान्बाट पीडित भएका अधिकांश महिलाले उजुरी गर्ने नै साहस गर्दैनन् । घरपरिवारसँग आश्रित हुनुपर्ने र भविष्यमा अलपत्र परिने त्रासले महिलाहरु मनोवैज्ञानिक रुपले पराजित भएका कारण हिंसाका घटनामा कमी आउन सकेको छैन । घरेलु हिंसा न्यूनीकरणका लागि राज्यले घरेलु हिंसा कसुर तथा सजाय ऐन, २०६६ को व्यवस्था गरेको छ । तर, व्यवहारमा त्यसको प्रभावकारिता देखिएको छैन । पीडितले प्रहरी प्रशासन, स्थानीय निकाय, महिला आयोग वा सीधै अदालतमा पीडकविरुद्ध मौखिक वा लिखित उजुरी दिन सक्ने कानुनी व्यवस्था ऐनमा छ । प्रहरी प्रशासनसम्म पुगेका उजुरीहरु मेलमिलापमै टुङ्ग्याउने कोसिस गरिन्छन्। यसले पीडितलाई थप आहत बनाउँछ । हिंसाका घटना न्यूनीकरण गर्न पीडकलाई कसुरबमोजिम सजाय हुनु जरूरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment