निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् स्थानीय विकासमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिक का केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार र नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संयुक्तरुपमा शिलान्यास गरका थिए । शिलान्यास भएको एक वर्ष हुँदासम्म पनि बाढी तर्काउन नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्ग बनाउने बाहेक अरु नयाँ काम हुन नसकेकोे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए । उनले अब केही दिनपछि विमानस्थल निर्माणको नयाँ काम सुरुवात हुने विश्वास दिलाए । सन् २०२० को जुलाईसम्ममा विमानस्थलको काम सम्पन्न गर्नेगरी चीनको सिएमसिइ इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले करिब २१ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ ।
यसैबीच, अब शुल्क तिरेर मात्रै पोखरा रङ्गशालामा प्रवेश गर्न पाइने भएको छ । जिल्ला खेलकुद विकास समितिको बुधबार बसेको सर्वपक्षीय बैठकले रङ्गशालामा जोसुकै पनि रङ्गशालामा प्रवेश गर्ने र फोहरमैला गर्न थालेकाले प्रवेशका लागि पासको व्यवस्था गर्ने र केही शुल्क लिने निर्णय गरिएको समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । उनका अनुसार बिहान घुमफिर गर्न आउने व्यक्तिका लागि वार्षिक रु ५०० शुल्क र अन्य व्यक्तिका लागि पनि केही निश्चित रकम लिएर मात्रै प्रवेश गराउन बैठकका सहभागीले सुझाव दिएका थिए । समितिले रङ्गशालाको गेटमा सुरक्षाकर्मी राख्ने र यात्रु पास लिएर मात्रै रङ्गशाला प्रवेश गर्न पाउने र बाहिर निस्कँदा पास बुझाएर जान सकिने व्यवस्था गरिनेछ । सबै खेलाडीलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । बैठकको अध्यक्षता समितिका अध्यक्ष यमबहादुर गुरुङले गरेका थिए ।
Post a Comment