0
राजाराम पौडेल÷गोल्डेन
एल्बम विक्री ठप्प हुँदा पोखराको साँगीतिक माहोल विगतको तुलनामा सक्रिय हुन सकिरहेको छैन । साठीको दशकको शुरुवातदेखि नै पातलिंदै गएको एल्बम अनि गीत रेकर्डिङको संख्या अझै उस्तै छ। दुःख गरेर एल्बम निकाल्यो । आफ्नो कृति प्रकाशन ग¥यो । बिक्री प्रायः ठप्प नै हुने गरेको कारण चाहना हुँदाहुँदै यस क्षेत्रमा निरन्तरता दिन नसक्नेको संख्या लामो छ । यसरी नयाँ गीत रेर्कड गर्ने र एल्बम निकाल्नेको संख्या बढ्न नसकेको पोखरामा संगीत सिक्नेको संख्यामा भएको वृद्धिले साँगीतिक क्षेत्रमा क्रियाशिलता बढ्ने आशा जागेको छ । शुल्क लिएर पोखरामा संगीत सिकाउने कामको शुरुवात लाक्पा लामाले गरेका हुन् । उनले वि.स.२०४३ सालबाट पोखरामा संगीत सिकाउन थाले । लामो समय पोखरामा संगीत सिकाइ हुनाहार प्रतिभा जन्माइसकेका लामा हाल भने पोखरामा छैनन् ।
वि.स. २०४६ सालदेखि संगीत प्रशिक्षण केन्द्र विन्ध्यवासिनीबाट संगीत सिकाउन थालिएको थियो । हुनत भोला राईको पोखरा बसाईको क्रममा समेत संगीत सिकाउने कामले व्यापकता पाएको थियो । प्रजातन्त्र आउनुभन्दा अगाडि धन शमशेरका छोरा हरिराजाले शुल्क नलिई संगीत सिकाए । सर्वज्ञमान प्रधानाङ्ग, ललित कुमार बाटाजु, हिक बहादुर शाक्य, चन्द्र बहादुर बाटाजु, राम गोपाल लिगल लगायतले उनीसँग सिके । विचमा केहि सयम पोखराको साँगीतिक माहोल सेलायो । गोपाल योञ्जनको छोटो समयको पोखरा बसाईले साँगीतिक माहोलले गति लियो । स्वरसम्राट नारायण गोपाल पेमला गुरुवाचार्यलाई भगाएर पोखरा आए । तीन महिना पोखरा बसाईका क्रममा पोखराको संगीतको माहोललाई उनले जगाए । पोखराको साँगीतिक माहोललाई जगाउन डाँफे कला मन्दिरको योगदान ठूलो छ । 
यसैगरी पोखरेली युवा साँस्कृतिक परिवार पोखरा निरन्तर यसमा लागिरह्यो । सरोज गोपाल बर्जाचार्य, सोम बजाचार्य, अरुण थापा, अजुर्न नेपालीको योगदान यो क्षेत्रमा भुल्न सकिंदैन । त्यसो त अर्जुन नेपाली संगीत सिकाएपनि । अहिले संगीतमा लाग्ने भविष्य राम्रो बन्दै गएको छ । पोखरामा हाल त्रिवेणी संगीतालय, जोजिजु म्युजिक सेन्टर, रानीपौवा र चिप्लेढुङ्गा, संगीत प्रशिक्षण केन्द्र विध्यवासीनी, जेइ म्युजिक सेन्टर, गुरुकुल संगीत पाठशाला, तराना म्युजिक सेन्टर, पोखरा म्युजिकल हाउस लगायतले संगीतका नवप्रतिभालाई ज्ञान दिइरहेका छन् । संगीत सिक्नेको संख्या बढेसँगै संगीत सिकाएर जीवन धान्न केही संगीतकर्मीलाई सहज बनेको छ ।
महिनाको एक हजारदेखि पच्चिस सयसम्म शुल्क लिएर सिकाउने गरिन्छ । विद्यालयमा म्युजिक टिचर राख्न थालिएकोले अझै म्युजिक सिकाउने टिचरको अभाव छ । व्यवस्थित तरिकाले सिकाउने हो भने सिक्ने सिकाउनेको भविष्य छ । कास्की  आसपासका बाहिरी जिल्लाबाट पनि संगीत सिक्न आउँछन् । संगीत सिके रोजगारी पाइन्छ भन्ने मान्यतामा समेत वृद्धि भएको छ ।
पोखरामा नवराज बराल र सुनिल बरालले त्रिवेणी संगीतालय मा, विनित जोजिजु र करण तामाङले जोजिजु म्युजिक सेन्टरमा, रामभक्त जोजिजु र इतु जोजिुजुले जेइ म्युजिक सेन्टर, तिर्थराज पोखरेलले गुरुकुल संगीत पाठशाला, श्रीमान थुलुङले तराना म्युजिक सेन्टरमा, काजिमान तामाङले पोखरा म्युजिकल हाउसमा, रोम तामाङ, धनबहादुर गायक, राजा मुखियाँले संगीत प्रशिक्षण केन्द्रमा संगीतका विभिन्न विधाको ज्ञान दिइरहेका छन् । डा.मितु पाल र विष्णु प्रसाद आचार्यले समेत धेरैलाई संगीतको सुर ताल सिकाए । नयाँ प्रतिभालाई सजिलो होस् भन्ने उद्देश्यले २०६० सालमा जोजिजू म्यूजिक सेन्टर÷म्यूजिक स्कूलको स्थापना गरी नवप्रतिभालाई अगाडि बढ्न हौसला प्रदान गरिरहेका संगीतकर्मी विनित जोजिजु संगीत सिक्नेको संख्या बढेको बताउँछन् । खिम गुरुङ्ग, जि–नाइन गुप्र, दुर्गा परियार, सत्यराज गुरुङ्ग, करण तामाङ, मन सारथी, जगन थापा, अनिल वि.क., रिदम व्याण्ड, दुर्गाप्रसाद पौडेल लगायत थुप्रै प्रतिभाको आगमन नेपाली साँगीतिक फाँटमा गराइसकेको उनले संगीत सिक्नेको चाप पहिलाभन्दा अहिले धेरै राम्रो भएको दावी गर्छन् । उनी भन्छन् ‘पहिला–पहिला संगीत सिक्यो भने बिगार्छ भन्ने सोंच राख्ने चलन थियो त्यसले गर्दा ढाँटेर घरमा थाहा नदिई संगीत सिक्न आउँथे । आजकाल अभिभावक आफै लिएर छोरा–छोरीलाई भर्ना गर्छन् ।’
शास्त्रीय संगीतअन्तर्गत गायन, तवला, बाँसुरी पश्चिमेली संगीतअन्र्तगत ड्रम गीतार की–बोर्ड भ्वाइलेन्ट, नेपाली संगीतको सारङ्गी मादल प्रशिक्षण भइरहेको उनले जनाए । केही अघिसम्म लोकगीत, दोहोरीगीत, पपगीत सिक्नेको संख्या बढी भएको तर हाल क्लासिकल अनि सुगम संगीततर्फको आर्कषण बढेको उनी सुनाउँछन् । हाल मासिक रुपमा एक सय भन्दा बढीलाई संगीत सिकाउने गरेको उनले बताए ।
सयपत्री संगीत प्रशिक्षण केन्द्रमा ९ वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरीसकेका र विगत चार वर्षदेखि तराना म्युजिक सेन्टर संगीत सिकाइरहेका श्रीमान थुलुङ्ग विगतको तुलनामा संगीत सिक्नेको संख्या बढेको बताउँछन् । दैनिकरुपमा गायन प्रशिक्षण, तबला बाँसुरी, गीतार, मादल, ढोलकका नयाँ प्रतिभा उत्पादन उनले गरेका छन् । 
हालसम्म दुई हजार भन्दा बढीलाई संगीत सिकाइसकेको बताउने उनले महिनामा झण्डै ७० को हारहारीमा विद्यार्थी भर्ना भैरहेको बताए । ‘विगतको तुलनामा संगीत सिक्नेको चाप बढेको छ, यहिबाट हुने आम्दानीले ७ जनाको परिवारको दैनिक गुजारा सजिलै चलाउन सकेको छु’ उनी गर्व गर्छन । त्यसैलेत उनी संगीतक्षेत्रमा लागेर बाँच्न सक्ने अवस्था भएको दावी गर्न पछि पर्दैनन् । उनले संगीत सिकाएका दिनेश न्यौपाने, आशिसदास दियाली, कल्पना गौतम, उमेश राइ, प्रकाश गौतम, तमन्ना गुरुङ्ग, अनुज कुलुङ, प्रकाश नेपाली लगायतका प्रतिभाले यात्रा अगाडि बढाइरहेका छन् ।

वि.स.२०५० सालबाट पेशाको रुपमा संगीत सिकाउने सुर गरेका संगीतकर्मी नवराज बरालको अनुभवमा पनि संगीत सिक्नेको संख्यामा वृद्धि भएको छ । सयपत्री संगीत प्रशिक्षण केन्द्र तथा जोजिजू म्युजिक सेन्टर रानीपौवामा लामो समयसम्म संगीत सिकाएका उनले २०६१ मा आफैले त्रिवेणी संगीतालयको स्थापना गरेका हुन् । उनका संगीतका चेलाहरु अहिले राष्ट्रियस्तरमा ख्यातिप्राप्त छन् उनीसँग संगीत सिक्नेको चाप पहिलाभन्दा अहिले अझै बढी छ  । जसमा आधुनिक गीत सिक्ने बढी छन् । करिब सात हजार जनालाई संगीत सिकाएका उनले मासीक ८० जनालाई प्रशिक्षण दिदै आइरहेका छन् । विवि अनुरागी, बसन्त सापकोटा, दुर्गा परियार, सिडि विजय अधिकारी, नरजंग गुरुङ, भाष्कर ध्वज श्रेष्ठ, उज्वल भण्डारी, राम्जी पौडेल, सविना सुनाम, ज्योती लोहनी लगायतका लाई उनले यो क्षेत्रमा स्थापित गर्न सघाय । प्रायः दोहोरी साँझमा गाउने, बजाउने, एरेन्जर, संगीतकार उनले सकिाएका चेलाहरु छन् । क्वालिटिलाई ध्यान दिनसके भविष्य राम्रो हुनेछ । भारतको वनारसमा संगीतको अध्ययन गरी पोखरामा व्यवसायीक रुपमा संगीत सिकाइरहेका संगीतकर्मी तीर्थराज पोखरेल संगीत सिक्नेको चाम पहिलेभन्दा बढेको बताउँछन् । पाँच वर्ष अगाडि पोखरामा गुरुकुल संगीत पाठशालाको स्थापना गरेर संगीत सिकाउन थालेका उनले मासीक ६० जनालाई संगीत सिकाइरहेको सुनाए । यो संस्था स्थापना पुर्व तीन वर्ष जोजिजु म्युजिक सेन्टर मार्फत संगीत सिकाएका उनले क्लासीकल, शास्त्रीय संगीत साथै ताल सुरको ज्ञान सिक्नेको संख्या बढी भएको उनले बताए ।  एल्बम निकालेर निरन्तरता दिने भन्दा विभिन्न संघ–संस्था तथा मेला महोत्सवममा विभिन्न नाउँमा आयोजना गरिने साँगीतिक प्रतियोगितालाई लक्षित गरेर संगीत सिक्नेको संख्या बढेको देखिन्छ । यसरी संगीत सिक्नेमा स्कुल पढ्ने बालबालिका र कलेज पढ्ने युवा–युवतिको संख्या बढि छ । केहि कलाकारलाई भने मेला महोत्सव तथा दोहोरी साँझमा पाएको अवसरले दैनिक गुजारा टार्न सहज बनेको छ । मेला महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिनसके अझै यसको माहोल बन्ने देखिन्छ । यो क्षेत्रमा लागेर बाच्न सक्ने भएपछि यो क्षेत्रमा लाग्नेको संख्या बढ्दै छ । साथमा उनीहरुलाई पारिवारिक सपोर्ट पनि छ । संगीतलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आएकोले यो सम्भव भएको हो ।








Post a Comment

 
Top