चीनका सुरक्षाकर्मीको हानेको गोलीबाट २०१७ असार (जुन, १९६०) मा मुस्ताङमा सीमा सुरक्षामा बसेका नेपाली सिपाहीको मृत्यु भयो । नेपाली भूमिमा चिनियाँ सेना प्रवेश गरेको र नेपाली सैनिक मारिएको घटनालाई नेपाल सरकारले चीनका सामु उठायो । प्रधानमन्त्री चाउ एनलाईले चीनका तर्पmबाट माफी माग्दै क्षतिपूर्ति दिए । घटना मैत्रीपूर्ण रुपमा सुल्झाइयो । फेरि यस्तै प्रकृतिको घटना भएको छ । भारतीय सीमा सुरक्षा बलका अधिकृतले हानेको गोलीले एक जना निहत्था नेपालीको ज्यान गएको छ । घटनाको विरोधमा नेपाल बन्दसमेत गरियो । यद्यपि, त्यस हत्याको विरोध गर्न नेपाल बन्द गराउनु उचित होइन । जे गर्दा पनि बन्द गर्ने संस्कृतिले कुनै पनि दृष्टिबाट मुलुकलाई फाइदा गर्दैन । बरु यसो गर्दा हस्तक्षेपविरुद्ध बलियो एकता निर्माणको प्रयास कमजोर हुन्छ । यति बेला प्रधानमन्त्रीले सिधै भारतीय प्रधानमन्त्रीसँग कुरा गर्नुपर्ने हो । गल्ती स्वीकार गर्न लगाउनुपर्ने हो । क्षमा माग्न लगाउनुपर्ने हो । क्षतिपूर्ति भर्न लगाउनुपर्ने हो । संसद्बाट घटनाका सम्बन्धमा देशको धारणा सार्वजनिक गर्नुपर्ने हो । चोक चोकमा कोणसभा आयोजना गरी घाटी सुकाएर दिएको भाषण दिल्लीमा सुनिदैन । त्यसका लागि संसद् बोल्नुपर्छ, सरकार बोल्नुपर्छ । नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार सँग फोन वार्ता गरेको खबर सार्वजनिक भएको छ । देश रुवाउने यस्तो घटना हुँदा नेपालका प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सिधा वार्ता गरेर क्षमायाचना गर्न लगाउनुपर्ने हो । इतिहासमा त्यस्तो भएको छ । माथी उल्लेख गरिएको सन्दर्भ नै यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहालको आत्मबल बढाउने आधार हुनसक्छ । इतिहास सम्झ, देशको स्वाभिमान कसरी जोगाउँदै आएका थिए नेताले भन्ने मुल्याङ्कन गर । अनि कदम चाल । कञ्चनपुरको पुनर्वास क्षेत्रमा मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गरी क्षतिपूर्ति स्वरुप केही रकम दिएर आफ्नो दायित्व पूरा भएको ठानियो भने त्यसभन्दा महाभूल केही हुनेछैन ।
त्यतिले मात्र नेपालीको स्वाभिमान उच्च हुनसत्तैmन । भारतलाई माफी माग्न लगाउनै पर्छ । नेतृत्वको आत्मबल र उच्च नैतिक क्षमताको परीक्षा यस्तै बेला हुने हो । त्यस्तो परीक्षामा प्रधानमन्त्री उत्तीर्ण हुनै पर्छ । उनलाई उत्तीर्ण बनाउन सबै दलहरु एक ठाउँमा उभिएर सघाउन पनि पर्छ । यस्तो बेला खुचिङ गर्ने प्रवृत्तिलाई बढावा दिइयो भने त्यसले राष्ट्रियतामा समस्या थप्दै जानेछ । यस विषयमा तत्काल संसद्को विशेष बैठक बोलाउन उचित हुनेछ । संसदमार्फत सरकारले भारतीय सरकारलाई सन्देश पनि दिनुपर्छ । यसका लागि लोकतन्त्रको लामो अभ्यास गरेको संसदीय पद्धतिको बलियो पक्षधरका रुपमा उभिँदै आएको नेपाली कांग्रेसले अग्रसरता लिनु आवश्यक छ । देश संकटमा पर्दा, देशको स्वाभिमानमा प्रश्न उठ्दा र प्रत्यक्ष हमला हुँदा त्यसको कुशलतापूर्वक प्रतिवाद गर्दै हरेक नेपालीले स्वाभिमान उचो भएको महसुस गर्नसक्ने परिस्थिति निर्माण गर्नु कांग्रेसको विशिष्ट चरित्र हो भन्ने सन्देश फेरि एकपटक दिन कांग्रेस अग्रसर हुनै पर्छ । यस्तो बेला नबोल्ने सरकार, बलियो राष्ट्रिय एकता प्रदर्शन गरी विदेशी हमलाको प्रतिवाद गर्न नसके संसद् केका लागि ? सरकार बनाउनमात्र संसद् र दिनदिनका प्रशासनिक काम गर्नका लागि मात्र सरकार हो भने त्यो असली रुपमा लोकतान्त्रिक व्यवस्था हुनसत्तैmन । लोकतन्त्रलाई जीवन्त बनाउनु भनेको त नागरिकको साथमा सरकार र संसद् हरसमय रहेको अनुभूति दिलाउनु हो । त्यसो भएन भने त्यो प्राविधिक लोकतन्त्र हुन्छ । प्राविधिक लोकतन्त्रले नागरिकलाई कुनै अपनत्वभाव दिन सक्तैन ।
लोकतन्त्रका हिमायती ठान्ने नेताहरुले पनि यो चरित्रलाई जोगाउन सक्नुपर्छ ।
आज देश भारतीय पक्षले गरेको हत्याको विरुद्धमा उभिएको छ । भारत रक्षात्मक अवस्थामा छ । परिस्थितिको विश्लेषण गरी सरकार प्रमुखले भारतलाई गल्ती स्वीकारी क्षमा माग्न र क्षतिपूर्ति दिलाउन सक्नुपर्छ । यो बेला पनि त्यति गर्न नसक्ने नेतृत्वले विवादित र सत्ता स्वार्थ मिश्रित बिषयमा नेपाली स्वाभिमानको पक्षमा आफूलाई कसरी उभ्याउन सक्ला र ?
गोविन्द गौतमको हत्यापछि प्रकट भएका नेपाली अभिव्यक्तिले यहाँका नागरिकमा रहेको सच्चा राष्ट्रियताको भाव झल्किरहेको छ । सप्तरीमा मारिएका नेपालीले पनि त्यस्तै भाव झल्काइदिएको छ । नेपाली मारिनु हुँदैन भन्ने भावना एक स्वरमा प्रकट भइरहेको छ । विदेशी सेनाले हत्या गरेको हुँदा यो घटनाअलि फरक हो भनिएला ।
तर, भखरै भएका ती दुई घटना र जाजरकोटको दूर्घटनापछिका नागरिक अभिव्यक्ति सुन्दा हत्याको विरोधमा, नेपाली राष्ट्रियताको पक्षमा बलियो जनमत यहाँ उपस्थित छ भन्ने स्पष्ट सन्देश प्रवाहित भइरहेको छ । राष्ट्रियता भनेको वास्तवमा राष्ट्र अथवा देशको प्राण हो । शरीर र प्राणको जस्तो सम्बन्ध हुन्छ, देश र राष्ट्रियताको सम्बन्ध पनि त्यस्तै हुन्छ । यस उदाहरणबाट राष्ट्रियता भनेको भौतिक पक्षभन्दा पनि भावनात्मक पक्ष हो भन्ने बुझ्न सकिन्छ । अझ स्पष्टसँग भन्ने हो भने देशभित्रका नागरिकको सामूहिक चासो र चिन्ता नै राष्ट्रियता हो । मेची दुख्दा काली रुनु र काली दुख्दा मेची रुनु नै राष्ट्रियता हो । देश वा राष्ट्र भनेको माटो र भूगोल होइन, त्यो यथार्थमा जनता तथा जनताको भावना र विश्वास हो । त्यसैले राष्ट्रियता भनेको जनताको सामूहिक भावना हो । अहिले नेपाली राष्ट्रिय भावना एकपटक पुनः प्रमुखरुपमा प्रकट भएको छ ।
राष्ट्रियताको सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । समय समयमा प्रकट हुने समस्यालाई सामूहिकरुपमा समाधान गर्नुपर्दा सहजरुपमा उत्पन्न हुने एकताको जनभावना नै खास अर्थमा राष्ट्रियता हो । त्यसैले अहिलेको सरकारको नेतृत्वले पनि नेपाली जनतावाट व्यक्त सामूहिक भावलाई केन्द्रमा राखेर भारतसंग ‘डिल’ गर्नुपर्छ । ‘सत्ताको भविष्य’ अथवा ‘राजनीतिक सुरक्षा’को आधारमा ‘डिल’ गर्ने गलत सोच नेतृत्वले राख्यो भने नेपाली स्वाभिमानमा अर्को बज्रपात हुनेछ ।
Post a Comment