जीवनको चार दशकको दौरानमा मैले संसारका प्रायः सबैखाले शैक्षिक मूल्यांकन पद्दतिहरु बारे (सुनेर, देखेर वा आफैले भोगेर) धेर–थोर साक्षात्कार हुने मौका पाएको छु । प्रारम्भमा म मेरो वाल्यकालको स्कुले जीवनको केही अनुभव शेयर गर्न चाहन्छु । सँगैका दौंतरीहरु गोठालो बनेर बनपाखा चाहार्दै गर्दा आफु चाहिँ किताबकापी च्यापेर स्कुल जान पाउने थोरै भाग्यमानीमध्ये पर्दथें म । हुन त सानैदेखि भलिबलमा अत्यन्तै रुचि भएकाले ठूलो भएपछि राम्रो खेलाडी बन्ने मेरा रहर थियो । सधैं पढ्नमै मात्र प्रेरित गरिरहने मेरो परिवारलाई मैले मेरो मनको चाहना व्यक्त गर्न सक्ने कुरै भएन । उनीहरुको चाहना मलाई डाक्टर वा इञ्जिनियर बनाउनु थियो भन्ने मैले सानै उमेरदेखि बुझिसकेको थिएँ । त्यसैले त उनीहरुले मलाई कक्षामा सधैं प्रथम हुन र विज्ञान तथा गणित विषयहरुमा राम्रो अंक ल्याउन उत्प्रेरित गर्दथे । समय क्रममा परिवारको चाहनालाई मैले आफ्नै चाहाना बनाउँदै जान थालेछु । विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरुको नतिजा प्रकाशित गर्ने कार्यक्रम हुने गर्थ्यो । भव्य समारोहवीच स्कुलभरिको सर्वप्रथम, अनि कक्षागत प्रथम, द्वीतीय र तृतीय हुनेहरुलाई पालै पालो फूलमाला, अवीर र पुरस्कारद्वारा विशेष सम्मान गरिन्थ्यो । हरेक वर्ष सम्मान पाउने थोरै भाग्यमानीहरु मध्ये म पनि पर्थें । त्यो दिन मेरा लागि विशेष खुशीको दिन हुन्थ्यो । तर, विद्यार्थीको मूल्याङ्कनको आधार भने मात्रै यौटा हुने गथ्र्याे–त्यो हो त्रैमासिक र अन्तिम परीक्षाहरुमा उनीहरुले पाएको कुल प्राप्ताङ्क ।
प्राप्ताङ्कका आधारमा सम्मान गरिनुको उद्देश्य समग्रमा सकारात्मक नै थियो, जस्तो कि विद्यार्थीहरुले राम्ररी पढुन्, सिकुन् र विषय बस्तुमा राम्रो दक्षता हासिल गरुन् । अनि राम्रो गर्नेहरुलाई सधैं राम्रो गरिरहन र कमजोरहरुलाई पनि राम्रो गर्न प्रेरित गरोस् भन्ने नै थियो ।
अफसोच, प्रत्येक वर्ष समारोह सकेपछि थोरै विद्यार्थीहरु मात्र खुशी हुँदै घर फर्कन्थे भने धेरैजसो दुखित र खिन्न हुँदै । सफल हुनेहरुले त गुरु, घरपरिवार र साथीभाइ सबैबाट प्रशंसै प्रशंसा पाउँथे, तर असफल हुनेहरुले चाहीँ सबैबाट तिरस्कार पाउँथे । यतिसम्म कि फेल भएकै कारण कतिपयले त परिवारबाट भौतिक तथा मानसिक सजायँसमेत भोग्नुपथ्र्याे भने कतिपयलाई स्कुलबाट छुटाइन्थ्यो र पढ्नबाटै वञ्चित गराइन्थ्यो। त्यसैले कमजोर विद्यार्थीहरुमा पढाइप्रति सदैव वितृष्णा हुने गर्थ्यो । उनीहरुलाई जीवनमा कहिल्यै सफल हुन सकिन्न कि भन्ने त्रासले सताउँंथ्यो । कतिपयले त जीवनप्रति नै निराश बन्दै आत्महत्या समेत गर्दथे । यी तथ्यहरुले हाम्रो परम्परागत वा विद्यमान मूल्याङ्कन पद्दति थोरैलाई मात्रै उपयोगी हुने तर औसतलाई खासै प्रभावकारी नहुनेखालको पो हो कि भन्ने पुष्टि गर्छ ।
अमेरिकाको अनुभव
यता, अमेरिकामा मैले देखेको र अवलम्वन गरेको मूल्याङन पद्दतिबारे केही कुराहरु उल्लेख गर्न चाहन्छु । हुन त विद्यालय पिच्छे यहाँ पनि मूल्याङ्कन तरिकाहरु केही फरक त पर्लान् नै तथापि सबैमा आधारभूत प्रकृयाहरु उस्तै नै हुन्छन् । यहाँ स्कुलहरुमा हरेक शैक्षिक वर्षको अन्त्यमा दिक्षान्त समारोह हुने गर्दछ । त्यतिबेला कक्षा शिक्षकले आफ्नो कक्षाका विध्यार्थीहरुको अभिभावकहरुलाई विद्यालयमा आमन्त्रण गर्दछन् ।
अभिभावकहरुको उपस्थितिमा बालबालिकाहरुले बिभिन्न कलाहरु प्रस्तुत गर्दछन् । त्यसपछि कक्षा शिक्षकले विद्यार्थीहरुको प्रगति विवरण प्रस्तुत गर्दछन् । विद्यार्थीहरुलाई प्राप्तांकका आधारमा मात्र नभई विभिन्न विधामा मूल्यांकन र पुरस्कृत गरिन्छ ।
कक्षामा सबैभन्दा बढी अंक ल्याउने, सबैभन्दा बढी उपस्थित हुने, सबैभन्दा छिटो र राम्रो लेख्न र पढ्न सक्ने, सबैभन्दा राम्रो गाउने, बजाउने र नाच्ने, खेलकुदमा उत्कृष्ट हुने, कक्षा कोठा र शौचालय सफा राख्न सबैभन्दा बढी तत्परता देखाउने, सबैभन्दा बढी मिलनसार र सहयोगी, सदैव सफासुग्घर रहने आदि आदि विधाहरुमा हरेकलाई पालैपालो सम्मान गरिन्छ । यसरी फरक(फरक विधामा मूल्यांकन गरिँदा कक्षाका प्राय सबै बालबालिकहरु कुनै न कुनै विधामा पुरस्कृत र सम्मानित हुने अवस्था हुनेरहेछ ।
त्यसैले होला, समारोहपछि घर फर्किंदा सबै केटाकेटी र तिनका अभिभावकहरु खुशी र उमंग देखिन्छन् । यस प्रकारको मूल्यांकन पद्दतिले हरेक व्यक्तिमा फरक(फरक प्रतिभा हुन्छ भन्ने कुरा प्रष्ट देखिन्छ । एउटाको क्षमता अर्कोसँग तुलना हुँदै हुँदैन । अनि यस्तो सम्मानले हरेकलाई रुची अनुसारको काममा हौसला दिनुको साथै पढाइप्रति उनीहरुको चाखलाई पनि बढाउँदोरहेछ । यसर्थ यहाँको विद्यालयको मूल्यांकन पद्दति अलि बढी व्यवहारिक हो कि भन्ने लागेको छ मलाई ।
मानिसको रुची र मूल्यांकनको आधार
मेरो विचारमा मानिसहरु यस धर्तिमा फरक रुची र क्षमतासहित, फरक–फरक उद्देश्यका लागि जन्मिएका हुन्छन् । हरेक व्यक्ति यस श्रृष्टिरुपी बगैंचाका पृथक–पृथक फूलहरु हुन् । हरेकको उद्देश्य फूलबारीलाई सजाउनु र सुभास दिनु हो । सबै फूलहरु एउटै रंगका हुने र सबैले एउटै सुभाष दिने भए त फूलबारीको महत्व पनि त पक्कै घट्ने थियो होला । हामीहरु सबै फरक–फरक कामहरु गर्न जन्मिएका हौं, न कि प्रतिस्पर्धा गर्न । तर, हाम्रो समाजले हामीलाई बाल्यकालदेखि नै आफ्नो रुची अनुसारका सिर्जनाहरुमा तल्लीन हुन र जीवनभर समर्पित हुन भन्दा अरुसँग प्रतिस्पर्धी हुन बढी प्रेरित गरिराखेको हुन्छ । ‘आफुजस्तो हुन होइन ‘अरु’ जस्तो हुन जबरजस्त दबाब दिइराखेको हुन्छ । हरेक सीप, कला र सिर्जनालाई सिधै पैसासँग दांजिन्छ र भनिन्छ यी(यी पेशा र कामहरु ठूला र राम्रा हुन्, अनि तीती चाँहि निकृष्ठ र तुच्छ । यस्तो संस्कारले व्यक्तिमा अन्तरनिहित प्रतिभाहरुलाई फूल्न र फल्न नदिई कोपिलामै निस्कृय र हत्या–प्रायः गरिदिएको हुन्छ ।
मेरो बुझाइमा विद्यालयको औपचारिक शिक्षा हरेकका लागि आधारभूत कुरा हो, न कि विशिष्ट कुरा । व्यक्तिको जीवन सफल र सम्पन्न बन्न विद्यालयको पढाइ उत्कृष्ट हुनैपर्छ भन्ने छैन । यो त केवल व्यक्तिको ज्ञान, शिप, प्रतिभा र क्षमतालाई सुदृढ र परिष्कृत बनाउन उपयोग हुने साधन मात्रै हो र हुनुपर्छ । कलेज वा विश्वविद्यालयको कुरा गर्नुपर्दा यहाँ शिक्षकले आफूले सेमेष्टरभरि पढाउनुपर्ने कोर्षको योजना तालिका पाठ्यक्रम शुरुमै विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसमा सेमेष्टरभरि पढाइने विषय वस्तुहरु, मूल्यांकन प्रकृया, परीक्षण पद्दति, परीक्षाका मितिहरु, सार्वजनिक विदाका दिनहरु र विद्यार्थीहरुले कक्षा कोठा र परीक्षाहरुमा पालना गर्नुपर्ने नियम र अनुशासनका कुराहरु सबै स्पष्ट उल्लेख गरिएको हुन्छ ।
विद्यार्थीहरुले सामान्यतया प्रतेक हप्ताजसो गृहकार्य गर्ने र कक्षामा दिइने लघु परीक्षाहरु दिनुपर्ने हुन्छ । विद्यार्थीको अन्तिम नतिजा उसले सेमेष्टरभरि विभिन्न विधाहरुमा प्राप्त गरेको कुल अंकहरुको आधारमा तयार गरिन्छ र अन्तिम ग्रेड दिइन्छ । यहाँ परीक्षालाई कहिल्यै हाउगुजी बनाइन्न, यसलाई मात्र शिक्षण र सिकाइको यौटा सामान्य र नियमित प्रकृयाका रुपमा लिइन्छ ।
फेरि परीक्षाका लागि भनेर यहाँ विद्यार्थीहरुले कहिल्यै बेग्लै फारम भर्ने र शुल्क तिर्ने पनि गर्नुपर्दैन । विद्यार्थीको कार्य सम्पादनका आधारमा उसलाई पास वा फेल गराउने सम्पूर्ण अधिकार सम्बन्धित विषय शिक्षकलाई नै दिइएको हुन्छ, यद्यपि विद्यार्थीले शिक्षकको निर्णयप्रति चित्त नबुझेमा पुनरावेदन गर्न भने सक्छ । अन्तिम परीक्षा सकिएको हप्ता दिनभित्रै नतिजा प्रकाशन गरिन्छ र गर्नैपर्ने हुन्छ । विद्यार्थीको नतिजा सम्बन्धित विद्यार्थी बाहेक अरु कसैलाई जानकारी दिइँदैन अर्थात प्रचार गरिँदैन र गर्न पाइन्न पनि ।
नेपालका कलेज वा विश्वविद्यालयहरुले अपनाएका प्रकृयालाई सूक्ष्म रुपमा नियाल्दा के देखिन्छ भने एउटा विषय शिक्षकलाई कक्षा(हरु)मा पढाउने अधिकार दिइन्छ, वा ऊप्रति अध्यापनमा विश्वास गरिन्छ । तर, उसलाई उसले पढाएको विद्यार्थी पास वा फेल गराउने अन्तिम अधिकार दिइन्न अर्थात् उसको मूल्यांकन क्षमताप्रति विश्वास गरिन्न ।
त्यसैले त परीक्षालाई ‘नियन्त्रण’ गर्नका लागि भनेर परीक्षा सञ्चालन र नियन्त्रण गर्ने, (त्यो पनि देशैभरिको ठेक्का लिने गरी) छुट्टै परीक्षा अड्डाको स्थापना गरिन्छ । अनि त्यो अड्डामा परीक्षा नियन्त्रक, उपनियन्त्रक लगायतका विभिन्न तहका हाकिम र कर्मचारीहरु नियुक्ति गरिन्छ । परीक्षाका तालिकाहरु प्रकाशित गर्ने, प्रश्नपत्र निर्माण गर्ने, देशैभरि परीक्षा केन्द्रहरु निर्धारण गर्ने, हरेक केन्द्रहरुमा केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष र निरीक्षकहरुको बन्दोबस्त गर्ने अनि वरपरका विद्यालय वा कलेजका विद्यार्थीहरु लाई केन्द्रमा भेला गरी प्रहरी प्रशासनको कडा सुरक्षा घेराभित्र परीक्षा लिने, परीक्षकहरु नियुक्त गरी उत्तर(पुस्तिकाहरु परीक्षण गराउने अनि महिनौं लगाएर नतिजा प्रकाशन गर्ने सम्पूर्ण अख्तियारी त्यै अड्डालाई दिइन्छ ।
परीक्षा अड्डालाई वर्षैभरि भ्याई नभ्याई हुन्छ । प्रश्नपत्रहरु छपाउने, तिनलाई देशका कुना–कुनासम्म पु¥याउने अनि उत्तरपुस्तिकाहरु बटुल्दै पुनः केन्द्रमै ल्याउनुपर्ने र तिनको परीक्षण गराउनुपर्ने । उफ, कस्तो जटिल, झन्झटिलो, खर्चिलो र अव्यवहारिक मूल्याङन प्रकृया ! पढाउने एउटा, प्रश्न पत्र बनाउने अर्को, परीक्षा लिने निकाय अर्कै अनि मूल्याङ्कन गर्ने फेरि अर्कै । साँच्चै विचित्रकै परिपाटी अँगाल्दै आएका रहेछौं हामीले ।
जुन शिक्षकलाई जुन विद्यालय र कलेजमा जुन बिषय पढाउने जिम्मा दिइएको हुन्छ, त्यही शिक्षकलाई प्रश्नपत्र बनाउने, परीक्षा लिने र उत्तर पुस्तिकाहरु परीक्षण गर्ने सबै अधिकारहरु दिए त माथि उल्लेखित बेकारका झन्झटहरु र खर्च व्यहोर्नु पर्ने हुन्थेन होला नि ! कुन विद्यार्थीको क्षमता कति छ र पास हुन योग्य छ छैन भन्ने कुरा सम्बन्धित शिक्षक भन्दा बढी अरु कसलाई पो थाहा हुन सक्छ र ? अनि विद्यार्थीहरुको सही मूल्यांकन हुन सक्ला र !
अन्त्यमा,
यी तर्कहरु गरिरहँदा एउटा स्वाभाविक प्रश्न भने उठ्न सक्छ के शिक्षकहरुले निश्पक्ष रुपमा मूल्याङ्कनको भूमिका निर्वाह गर्न सक्लान र ? सबै शिक्षकहरु निष्पक्ष नै होलान् भन्ने मेरो पनि बुझाइ होइन, तर अधिकांश शिक्षकहरु इमान्दार र निश्पक्ष नै हुन्छन् र हुनुपर्छ भन्ने चाँहि मेरो ठोकुवा हो । थोरै सम्भावित कमी–कमजोरीहरुलाई औँल्याउँदै धेरै राम्रा पक्षहरुलाई ओझेलमा पारिनुहुँदैन भन्ने मात्रै मेरो मान्यता हो । सम्भावित भनिएका र ठानिएका त्रुटी वा कैफियतहरुलाई सामान्य किसिमले विनाखर्च मै नियन्त्रण गर्न अवश्य सकिन्छ । त्यसको लागि परीक्षालाई ‘नियन्त्रण’ गर्ने छुट्टै अड्डा नै खडा गर्नुपर्ने जरुरत चाँहि नपर्ला !
(हाल युनिभर्सिटी अफ नेभाडा रिनो, अमेरिका)
Post a Comment