जिल्ला, नगर एवं ग्रामीणस्तरमा मेला, महोत्सव आयोजना गरेर स्थानीय विकास निर्माण, कला संस्कृतिको प्रबद्र्धन एवं आर्थिक गतिविधि बढाउने काम विगतदेखि नै हँुदै आएका छन्। पोखराकै कुरा गर्ने हो भने हरेक वर्ष विभिन्न मेला एवं महोत्सव आयोजना गरिन्छ र यो क्रम बढ्दै जान थालेको छ। पोखरामा भर्खरै रेवानको सडक महोत्सव र त्यसअघि पोखरा उद्योग वाणिज्य संघको राष्ट्रिय औद्योगिक व्यापार मेला र सिटी रेवानको सिटी रेवान महोत्सव सकिएको छ। आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा यी महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसैगरी पोखरा युनाइटेड क्लवको पोखरा महोत्सव, लेखनाथ उद्योग वाणिज्य संघको लेखनाथ महोत्सव र इक्यान कास्कीको शैक्षिक मेलाको मिति तय भइसकेका छन् । यस्तै पश्चिमाञ्चल होटल संघ पोखराले गर्ने महोत्सवको पनि तयारी हुँदैछ । यी सबै महोत्सवका आ–आफ्ना लक्ष्य उद्देश्य हुँदाहुँदै पनि केही साझा लक्ष्य र परिकल्पनाहरु हुन्छन्। ती लक्ष्य र परिकल्पनालाई साकार पार्ने आयोजकहरुको सोच, प्रतिबद्धता र इमानदार प्रयत्न नै प्रमुख कुरा हो। त्यसले नै मेला महोत्सवको सफलता वा असफलता निर्धारण गर्दछ। विगतमा आयोजना गरिएका यसखालका मेलाबाट केही महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् भने केही विवादित बन्न पुगेका छन्। पोखरामा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण प्रक्रिया बढ्नु, बालश्रम न्युनिकरणमा केही पहल गर्नु, पोखरा उद्योग वाणिज्य संघले व्यापार मेलामा विक्री भएको टिकटबाट केही रकम छुट्याएर पोखरामा आउने खानेपानीको मुख्य स्रोत मर्दी खोलाका स्थानीयका लागि व्यवस्थित शवदाहस्थल र शौचालन निर्माण गर्ने भएको छ । यी सबै मेलाबाट प्राप्त उपलब्धिहरु निसन्देह, सकारात्मक उदाहरण हुन्। मेला महोत्सवबाट पोखराको विकास, निर्माण र आर्थिक उन्नतिमा कुनै न कुनै रुपमा टेवा पुग्न गएको छ। कतिपय मेला महोत्सवप्रति भने जनस्तरमा गुनासो सुनिदै आएको छ। मेला र महोत्सवमा भएको आर्थिक अपारदर्शिता, फजुल खर्च गर्ने प्रवृत्ति र खातामा जम्मा भएको रकममाथि नेतृत्वमा बस्नेहरुको चलखेल एवं दुरुपयोगका कारण यस्तो सुनिएको हो। जनताबाट उठेको पैसामा टाठाबाठा एवं नेतृत्वमा बस्नेहरुको मोेजमस्ती र फजुल खर्च निसन्देह दुःखद् कुरा हो। यसमा आयोजकहरुले सचेतता अपनाउनुका साथै जनतालाई विश्वस्त पार्न सक्नुपर्छ। यसो गर्न सकिएन भने ठगी खाने प्रवृत्तिको विकास भएर जानेछ र यसले जनतालाई लामो समयसम्म डसिरहनेछ। त्यसैले आयोजकहरुले पारदर्शिता अपनाउनुका साथै फजुल खर्च रोक्ने गरी बलियो संयन्त्र नियन्त्रण गर्न सक्नुपर्छ। कम्तिमा लक्ष्य र उद्देश्यअनुरुप खर्च गर्ने प्रवृत्तिको विकास गर्न सकियो भने जनस्तरमा सुनिएको गुनासा र आलोचना स्वतः कम भएर जानेछन्। पोखरामा आयोजना गरिदै आएका मेला महोत्सवबाट यस क्षेत्रको आर्थिक विकास, पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षणमा केही काम भएको यथार्थलाई हामीले स्वीकार्नैपर्ने हुन्छ। नकारात्मक पक्षको मात्रै चर्चा गरेर सकारात्मक उपलब्धिहरुलाई ओझेलमा पार्ने गल्ती गर्नुहुँदैन। आयोजकहरुले आफ्नो छवि जनतामा विश्वसनीयरुपमा प्रस्तुत गर्दै तदनुरुपको व्यवहार देखाउन सक्ने हो भने पोखरामा जनस्तरबाट ठूला–ठूला कामहरु सम्पन्न हुन सक्छन्। इतिहासले पनि त्यही देखाउँछ र भविष्यमा त्यसलाई पुष्टि गर्ने गरी अगाडि बढ्न सक्नुपर्छ। अब हामीले विकासको परम्परागत रैथाने मोडेल हैन नयाँ मोडेल प्रस्तुत गर्न सक्नुपर्छ। सबै पक्ष एउटै थलोमा बसेर विकासका साझा मोडेल निर्माण गर्नुपर्छ। यी मेला महोत्सवलाई अवसरका रुपमा उपयोग गर्न सबै पक्षको एकताबद्ध सकारात्मक प्रयासको खाँचो छ। साझा र सामूहिक हितमा आम जनतालाई गोलबन्द गर्न सकियो भने हिजो असम्भव लाग्ने कुरा आज सम्भव हुन्छ। पोखरामा धेरै सम्भावना छ। तर इच्छाशक्ति र सामूहिकताको अभाव छ। यी मेला महोत्सवबाट त्यसलाई जागृत गर्न सकियो भने ठोस उपलब्धि हासिल गर्न सक्ने सम्भावना बढ्दै जानेछ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment