0
नेपाल औंलामै गन्न सकिने प्राचीन देशहरुमध्येको एक भाग्यशाली देश हो । विश्वका धेरै जसो र दक्षिण एसियाका अरु सबै देशले कुनै न कुनै कालमा आफ्नो सार्वभौमसत्ता विदेशीलाई सुम्पन बाध्य हुनु परेको थियो । विशाल र शक्तिशाली चीन र भारतका बीचमा हुँदाहुँदै पनि नेपालीहरुले भने आफ्ना उत्कृष्ट पराक्रम र सुझबुझपूर्ण कूटनीति मार्फत यो देशलाई शताब्दीयौंदेखि नै अनवरत स्वतन्त्र राखे । राष्ट्र र संस्कृति प्रतिको असाधारण प्रेमले उनीहरुलाई मुलुक रक्षा गर्न सदा उर्जा दिइरहेको इतिहासले देखाउँछ । समय समयमा मुलुक माथि ठूल्ठूला संकटहरु आइनपरेका भने होइनन । एउटा महासंकट उन्नाइसौं शताब्दीको मध्य तिर चीन र तिब्बतको संयुक्त फौजले आक्रमण गर्दा आइलागेको थियो । बि. सं. १८४९ बर्खा याममा गरिएको त्यो आक्रमण यस्तो भीषण थियो कि नेपालको स्वाधिनता र अखण्डता नै झण्डैझण्डै तहस नहस बन्न पुगेको थियो । इतिहासकार भद्ररत्न बज्राचार्यले उक्त युद्धलाई नेपालले सिंहसँग लडे जस्तो हो भन्नु भएको छ । आखिर नेपाल किन सिंहसँग पैठेजोरी खेल्न बाध्य भयो ? किन चीन दूरदराजमा रहेको नेपालमाथि कठोर सैनिक कार्यवाही गर्न पुग्यो ? यसबारे चर्चा गरौं ।
तात्कालिक नेपाल
लगभग अढाई सय वर्ष अघिसम्म नेपाल कम्तिमा ५३ वटा छुट्टा छुट्टै राज्यहरुमा विभाजीत थियो । ती राज्यहरु विजयपुर, चौदण्डी, मकवानपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, गोर्खा, चौबीसे र बाइसे कहलिन्थे । तिनको भूगोल सालाखाला तल तालिका र नक्सा अनुसार रहेको थियो । चौबीसे र बाइसे राज्यहरु ठ्याक्कै चौबीस र बाइसको संख्यामा नभएर घटबढ भैरहन्थे भनेर इतिहासकारहरु मान्दछन् । त्यति धेरै राज्यहरु भएता पनि तिनीहरु बीचको सांस्कृतिक र सामाजिक परिवेशमा भने निकै समानता थियो । लगभग वर्तमानमा जस्तै हरेक राज्य वा समाज भित्र विभिन्न जातजाति, संस्कृति र भाषाहरु विद्यमान थिए । तर, मानिसहरु बीच शताब्दीऔंदेखि नै सहिष्णुता र मेलजोल रहिआएको थियो । चाहे एउटै राज्यका नागरिक हुन वा अलग अलगका, उनीहरु धर्म, संस्कृति, बिहाबारी, तीर्थ, मेला, हाट, ब्यापार आदिद्वारा जोडिइ नै रहेका थिए ।
प्रायःजसो राज्यहरु कुनै एक खाले भूगोलमा मात्र सीमित थिएनन । जस्तो कान्तिपुर पहाड, उपत्यका र हिमालमा फैलिएको थियो । बिजयपुर, चौदण्डी आदि राज्यहरुले हिमाल, महाभारत, चुरे, भित्री मधेश र तराईका भूभागहरु ओगटेका थिए । राज्यहरुको फैलिने, टुक्रिने र विलय हुने क्रम पनि चलिरहन्थ्यो । प्राचीन कालमा नेपाल पूर्वमा आसामदेखि पश्चिममा कुमाउसम्म र अनादिकालमा वर्मादेखि काश्मिरसम्म फैलिएको थियो भनेर इतिहासकारहरु सप्रमाण बताउँछन् । लिच्छवी कालमा नेपाल कोशीदेखि कर्णाली प्रदेशसम्म फैलिएको थियो । पन्ध्रौं शताब्दीमा गण्डकीदेखि गढवाल र तराईदेखि कैलाससम्मको विस्तृत भूभाग खश राज्य थियो । बिजयपुर, चौदण्डी, मकवानपुर र केही चौबीसे राज्यहरु सोर्हौं शताब्दीसम्म एउटै बिशाल राज्य पाल्पामा पर्दथे ।
प्रताप मल्ल (अठारौँ शताब्दी) का पालामा हाल तिब्बतमा पर्ने केरुंग, कुती र लासा नेपाल अन्तर्गत रहेका थिए । अठारौँ शताब्दी तिर आइपुग्दा भने नेपाल घटिमा ५३ वटा राज्यमा विखण्डित भैसकेको थियो । जब जब नेपाल विखण्डित अवस्थामा पुग्थ्यो तब तब यहाँको प्रगति पनि अबरुद्ध हुन्थ्यो । राज्य राज्य बीच लडाई र झगडा चलिरहन्थे । मुलुकको शान घटथ्यो । बाह्य आक्रमण र लुटपाटले जनता आक्रान्त हुन्थे ।
बृहत नेपाल पुनःएकीकरण
विखण्डित नेपाललाई पुनः जोडने अभियानको शुरुवात पछिल्लो समयमा गोर्खाका राजा पृथ्वीनारायण शाहले लिएको देखिन्छ । त्यो अभियानमा उनी निकै हदसम्म सफल पनि भएका थिए । पृथ्वीनारायण शाहले चाहेको नेपाल पनि सिक्किमदेखि काश्मिर र गङ्गादेखि हिमालयसम्मको भूभाग थियो । आफ्नो ३२ बर्षे शासनकालमा उनले गोर्खा, मकवानपुर, विजयपुर, चौदण्डी, कान्तिपुर, भक्तपुर र ललितपुरलाई पुनर्एकीकरण गर्न सफल भएका थिए । पृथ्वीनारायणपछि पुनःएकीकरणको रफ्तार उनका छोरा बहादुर शाहको नायबीकालमा निकै बढ्यो । बिक्रम सम्बत १८४२ देखि १८५१ सम्मको त्यही नायबीकाल मै हो नेपालको सीमा पूर्वमा टिष्टा नदी र पश्चिममा गढवालसम्म पुगेको । टिष्टा बर्तमान सीमा मेचीबाट लगभग ६५ किलोमिटर पूर्वमा र गढवाल महाकाली नदीभन्दा लगभग ५०० किलोमिटर पश्चिममा पर्दछ । यहाँ पुनःएकीकरण चलिरहेको समयमा हिन्दुस्तान तिर अंग्रेजहरुको उपनिवेश चलिरहेको थियो, उनीहरु दक्षिण एसियामा धमाधम राज्य विस्तार गर्ने कार्यमा लागेका थिए । चीनमा मंचु राजवंश थियो । तिब्बतमा चाही दलाई लामा शासन गर्दथे । तर तिब्बत परापूर्व कालदेखि नै चीन आश्रित थियो । मंचु राजवंशका पालामा भने चीनले तिब्बतलाई खासै नियन्त्रणमा राख्न सकेको थिएन, तर दुई जना प्रतिनिधिहरु भने राजधानी लासामा खटाइएका हुन्थे । चीनका त्यस्ता प्रतिनिधिलाई ‘अम्बान’भनिन्थ्यो ।
तिब्बतसँग लफडा
बहादुर शाहको नायबीकालको उत्तरार्ध्तिर जब नेपाल एकीकरण लगभग उत्कर्षमा पुग्न लागेको थियो,त्यही बेलै चीनसँग मनोमालिन्य हुन गयो । मनोमालिन्य बढनुको कारण तिब्बत थियो । खासमा तिब्बत र नेपालका बीच प्राचीन कालदेखि नै प्रघाढ ब्यापारिक सम्बन्ध रही आएको हो । यहाँसम्म कि सत्रौं शताब्दीदेखि त तिब्बतले आफ्नो सम्पूर्ण ब्यापार नै नेपाली सिक्काहरु मार्फत गर्दथ्यो । सिक्काहरु नेपालमा बनाइन्थे र शुद्ध चाँदीका हुन्थे । तर बि. सं. १८२० को दशक तिर कान्तिपुरका अन्तिम मल्ल राजा जय प्रकाश मल्लका पालामा भने अन्य धातु पनि मिसाउन थालिएछ । पृथ्वीनारायण शाहले कान्तिपुर एकीकरण गरिसकेपछि नेपालले फेरि शुद्ध चाँदीका सिक्का मात्र तिब्बत पठाउने तर जय प्रकाश मल्ल कालमा पठाइएका मिसाहा सिक्काहरुको दर भने घटाउने प्रस्ताव गरेछ । आफ्नो ब्यापारमा प्रतिकूल असर पर्ने भएकाले तिब्बत दर घटाउन किन मान्थ्यो र? यता नेपालले पनि मिसाहा र शुद्ध सिक्काको एउटै दर राख्न मन्जुर हुने कुरै भएन । यसरी पृथ्वी नारायणले कान्तिपुर एकीकरण गरे ताकाबाट शुरु भएको मिसाहा सिक्काको समस्या त्यसको दश पन्ध्र बर्षपछि बहादुर शाहका पालासम्म पनि सल्टिन सकेको थिएन ।
त्यो ताका तिब्बतमा आन्तरिक कलह चलिरहेको थियो । बुद्ध धर्ममार्गीमध्येको ‘रातो टोपी’ समुदायका प्रमुख स्यामार्पा लामाको सिगात्से (डिगर्चा) मा अवस्थित मठ प्रमुख (पंचेन लामा) कसलाई नियुक्त गर्ने सम्बन्धमा दलाई लामा (पहेंलो टोपी समुदाय) सँग बिबाद पर्न गएछ ।
तिब्बतको राजनीतिमा आफ्नो प्रभाव बढाउन स्यामार्पा लामा आफ्नै समर्थकलाई पंचेन लामा बनाउन चाहन्थे । तर, दलाई लामाले अरुलाई नै नियुक्ति गरिदिँदा स्यामार्पा लामा क्रुद्ध भएछन् । उनमा मठको संपत्ति हिनामिना गरेको पनि आरोप थियो । तिब्बतमा आफ्नो गिर्दो प्रभाव र असुरक्षा देखेर आवश्यक सहयोग पाइएला कि भन्ने उद्देश्यले उनी नेपालको शरणमा आएछन । नेपालले पनि  ‘शरणमा आएकालाई मरण गर्नुहुन्न’ भन्ने नीति अनुरुप र लामाबाट हुनसक्ने रणनैतिक फाइदालाई पनि ध्यानमा राखेर काठमाण्डौ मै उनको बस्ने ब्यबस्था गरिदिएछ । तर यसबाट तिब्बत नेपालसँग अप्रसन्न भएको रहेछ । सम्बन्ध बिग्रिनुको अर्को कारणमा एउटा पुरानो सन्धि पनि थियो । बिक्रम सम्बत १८३२ मा भएको त्यो सन्धि अनुसार तिब्बतले हिन्दुस्तानसँग गर्नुपर्ने व्यापार नेपालको बाटो भएर मात्र गर्नु पर्ने थियो । तर सन्धि उल्लंघन गर्दै उसले सिक्किम तिरबाट व्यापार गर्न थालेछ ।
तिब्बतसँग युद्ध र नेपालको बिजय
सिक्काको विवाद त छँदै थियो, सन्धिको समेत उल्लंघन भए पछि क्रुद्ध हुँदै नेपालले तिब्बत माथि बिक्रम सम्बत १८४५ को बर्खामा सैनिक आक्रमण गर्यो । राष्ट्र पुनर्निर्माणको स्पिरिटबाट प्रेरित र अनगिन्ति लडाईहरु जितेर उच्च मनोवलमा रहेका नेपालीहरुलाई आन्तरिक कलह र खिचातानीले ग्रसित तिब्बतीहरुले लामो समय प्रतिरोध गर्नै सकेनन । असारको दोश्रो साताबाट तिब्बतका भूभागहरु कब्जा गर्न थालेको नेपालले साउनको निगल्दोसम्ममा दक्षिणी भागमा पर्ने  कुती, केरुङ्ग, झोङ्गा र सिकार्जोङ्गलाई आफ्नो अधिनमा ल्याउन सफल भयो ।
केरुङ्ग सम्झौता
यसरी आफ्ना भूभागहरु एकपछि अर्को गर्दै कब्जामा परेपछि तिब्बतीहरुलाई राजधानी लासा मै पो आक्रमण हुने हो कि भन्ने डर भयो र उनीहरुले वार्ताका लागि प्रस्ताव राखे । झण्डै एक वर्ष पछि बि. सं. १८४६ साउनमा पहिलो किस्तामा र त्यसको नौ महिना पछि बि. सं. १८४७ वैसाखमा दोश्रो किस्तामा दुई मुलुक बीच सम्झौताहरु पनि भए  । पहिलो सम्झौतालाई केरुङ्ग सम्झौताका नामले जानिन्छ । यी सम्झौताका मूख्य बुँदाहरुमध्ये तिब्बतले नेपाललाई प्रति बर्ष ५०,००० रुपैयाँ बुझाउने, उसले नेपालको मात्र बाटो भएर हिन्दुस्तानसँग ब्यापार गर्ने, एक शुद्ध सिक्का बराबर दुई मिसाहा सिक्का दर कायम रहने र नेपालले तिब्बतमा आवाशीय दूत राख्ने थिए । इतिहासकारहरुले तिब्बत नेपालको उपनिवेसै थियो भनेर कतै उल्लेख गरेको त पाइदैन तर सम्झौताका बुँदाहरुले भने उसलाई कम्तिमा पनि नेपालको अर्ध उपनिवेसको हैसियतमा राख्न खोजेको जस्तो देखिन्छ ।
तिब्बतसँग पुनः युद्ध
तिब्बतले सम्झौता अनुसार पहिलो बर्ष रुपैयाँ तिरे पनि दोश्रो बर्ष आनाकानी गर्दै तेश्रो बर्ष त लौ अब हामी तिर्नै सक्दैनौं भन्ने खबर पठायो । बिबाद सुल्झाउन प्रतिनिधि मण्डलहरु आदान(प्रदान भने भै नै रहेका थिए । त्यसै क्रममा कुतीमा गर्ने भनिएको एउटा बार्तामा तिब्बतीहरुले स्यामार्पा लामालाई पक्रन खोजेछन (नेपालले द्विपक्षीय वार्ताहरुमा उनलाई सहभागी गराउँदो रहेछ) । तिब्बतको नजरमा दुई मुलुक बीच सम्बन्ध बिग्रनुको एउटा प्रमुख कारणमा ती लामा भन्ने थियो । तर नेपालीहरुले उल्टै तीन जना तिब्बती काजीहरुलाई बन्दि बनाएछन । नेपालले स्यामार्पा लामालाई नागरिकतासमेत दिएर ठूलो खातिरदारीसाथ राखेको थियो । रुपैंयाँ नतिरेको झोंक त छदै थियो, लामालाई पक्रन पनि खोजे पछि तिब्बतमाथि फेरी अर्को आक्रमण गर्यो । युद्ध वि.सं. १८४८ साउनको तेश्रो हप्ताबाट शुरु भएको थियो । लगभग तीन महिना पछि सीमाबाट झण्डै ३०० किलोमीटर पर रहेको  सिगात्सेलाई नेपालले आफ्नो नियन्त्रणमा लियो । पंचेन लामा र तिब्बती अधिकारीहरु भने बोक्न सक्ने धन(दौलत लिएर त्यहाँबाट भागा रे भाग गर्दै सुरक्षित स्थान तिर गएछन । युद्धमा एकपछि अर्को सफलता हात पार्दै सिगात्से समेत कब्जामा लिएपछि नेपालले सन्धि उल्लंघन गरेबापत १२०० किलो सुन र दुई बर्षको तिर्न बाँकी रकम माग गर्यो । तर तिब्बतले उक्त माग पूरा गर्न नसक्ने जनाउँदा नेपाली फौजले सिगात्सेको मठ
(टासि–ल्हुन्पो गुम्बा) मा रहेका धनमाल कब्जामा लिए । त्यसमा चीनका बादशाहले पंचेन लामाको सम्मानमा पठाएका उपहारहरु पनि परेका थिए । तिब्बतीहरुले गुम्बा लुटेको भन्ने आरोप लगाएको भए पनि नेपाली पक्षको स्पष्टिकरण चाही तिब्बतले बेइमान गरेर संधि अनुसारको रकम नतिरेकाले त्यस बापतको धनमाल मात्र लिइएको हो भन्ने थियो । यसरी नेपालले ठूलो भूभाग कब्जा गरेर गुम्बाका धनमाल समेत लगेपछि लासामा रहेका दलाई लामालाई आच्छु आच्छु पर्यो । तर नेपालीहरुसँग सामना गर्ने सामर्थ्य उनीसँग थिएन । दलाई लामा र अम्बानहरुले चीनका बादशाह समक्ष सैनिक सहयोगका लागि अनुरोध गरे । नेपाल बिरुद्ध चीनलाई उक्साउन उनीहरुका लागि यो भन्दा सुनौलो अवसर अरु के नै हुन्थ्यो र?
नेपाललाई गतिलै पाठ सिकाउने चीनको प्रयास
गुम्बा लुटिएको खबर पेकिंग नपुग्दै बि. सं. १८४८ को मंसिरमा चीनका बादशाहले नेपालमाथि आक्रमण गर्ने निधो गरे । आफु आश्रित देश तिब्बतमा नेपालको प्रभाव बढ्दै जानु चीनलाई मन परिरहेको थिएन । बादशाहले आक्रमण गर्ने जिम्मा त्यस बखतका आफ्ना शक्तिशाली सेनापति फुकांग आनलाई दिए । चीनको भित्रि उद्देश्य के थियो त प्रष्ट छैन । तर उसले युद्धका लागि गरेका तयारीहरु हेर्दा नेपाललाई गतिलै पाठ सिकाउने वा कम्तिमा पनि आश्रित देशको रुपमा ल्याउने रणनीति थियो होला कि भनेर अडकल काटन सकिन्छ । त्यस बखत चीनले लडेका दश महत्वपूर्ण युद्धहरुमा छ वटाको सफलतापूर्वक नेतृत्व सम्हालेकाले फुकांग बादशाहका प्रिय पात्र थिए । बादशाह उनका फुपाजु पनि पर्दथे । जसरी पनि नेपाललाई जित्ने भनेर ठूलो तयारी साथ उनी १८४८ को फागुनतिर लासामा आइपुगे ।
फुकांगले कत्रो फौज लिएर नेपाल आक्रमण गरे भन्नेमा फरक फरक श्रोतहरूले फरक फरक आँकडा दिएका छन । कतै दश हजार त कतै सत्तरी हजार रहेको भनेर उल्लेख छ । तर इतिहासकार भद्ररत्न बज्राचार्यले बिभिन्न श्रोतहरुका आधारमा चीनको बीस हजार र तिब्बतको सात हजार गरेर जम्मा सत्ताईस हजार फौज रहेको निष्कर्ष निकाल्नु भएको छ ।
चीनको आक्रमण र नेपालको पराजय
लासामा आएर फुकांगले गुम्बाको धनमाल बापत बाउन्न करोड रुपैयाँ, स्यामार्पा लामाको हस्तान्तरण र बन्दी बनाएर राखेका तिब्बती काजीहरुको मुक्ति गरि तीन वटा सर्त तेर्स्याए । नेपालको भनाइ गुम्बा लुटेको भन्ने थिएन । लामा हस्तान्तरण गर्ने पनि उसको नीति विपरीत थियो । नेपालले शर्तहरु पूरा गर्न नसक्ने जनाए पछि बि. सं. १८४९ असारमा चीन र तिब्बतको संयुक्त फौजले आक्रमण छेड्यो र नेपालीहरुले कब्जामा लिइराखेका भूभागहरुबाट धमाधम नेपाली फौजलाई हटाउन पनि थाल्यो । कुतीबाट नेपाली फौजलाई लखेट्न शुरु गरेको चीनियाँ फौज लिस्ती, कुकुरघाट, केरुंग, रसुवागढ़ी, स्याफ्रु हुँदै बि. सं. १८४९ साउनको अन्तिम तिर रसुवाको धुंचेमा आइ मोर्चा खडा गरेर बस्यो । नेपाली फौज भने हार्दै पछि हटदै धैबुंगमा खडा हुन बाध्य भयो । धैबुंग काठमाण्डौबाट लगभग पैतीस किलोमीटर मात्र उत्तरमा पर्दछ ।
चीनले आक्रमण गरे ताका बहादुर शाहको पश्चिम एकीकरण कार्य चलिरहेको थियो । गढवालमा त्यही बेला नेपाली फौजले नराम्रो हार बेहोरेको थियो भने जुम्ला, अछाम र डोटीका रजौटाहरुले बिद्रोह गरिरहेका थिए । उता पूर्व तिर पनि सिक्किमले फुकांगको उक्साहटमा लागेर नेपाल माथि आक्रमण गरेको थियो । त्यसैले चीनियाँसँग सामना गर्न न्यून संख्यामा मात्र नेपाली फौज उपलब्ध थियो । राज्यको ढुकुटी घट्दै गएर युद्ध गर्न आवश्यक धनमाल पनि थिएन । न छिमेकी (बेलायत) बाट नै कुनै सहयोगको सम्भावना थियो ।
यत्तिकैमा फुकांगले नेपाल समक्ष बार्ताको प्रस्ताव पठाएछन । उनले अघि सारेका शर्तहरुमा फौजलाई धुंचेबाट अझै अघि बढेर धैबुंगमा बस्न दिनु पर्ने र बार्ताका लागि स्वयं बहादुर शाह वा महाराजा रण बहादुर शाह आउनु पर्ने भन्ने थिए । बहादुर शाहले पनि चतुर कूटनीति प्रयोग गर्दै उनीहरुलाई धैबुंगमा बस्ने अनुमति दिएर आफ्ना सैनिकलाई बेत्रावती वारी सर्न निर्देशन दिए । तर फुकांग कुनै चाल रचिरहेका होलान भनेर भित्र भित्र युद्धको तैयारी भने गर्दै रहे । नेपाल हार्दै गएको भए पनि अहिलेसम्म फुकांगलाई नेपालीहरुको अद्वितीय युद्द कौशलको पक्कै पनि आभास भएको हुनु पर्छ । सम्भवतः सोझो युद्धले मात्र नेपाल कब्जा गर्न कठिन देखेर उनले नायब वा महाराजालाई पक्रि रक्तपात बिनै काठमाण्डौलाई कब्जा गर्ने चाल चालेका थिए होलान ।
बेत्रावतीको महासंग्राम
बार्ताको चाल असफल हुने देखेपछि काठमाण्डौ हान्न अधिर फुकांगले १८४९ भदौ ८ गते बिहान आफ्नो फौजलाई आक्रमण गर्न निर्देशन दिए । तर यता नेपाली पक्षका लागि अब हुने हारको जोखिम काठमाडांैमा चीनियाँ सेना ओर्लनु र देशको सार्वभौमिकता सदाका लागि मेटिनु थियो । त्यसैले उनीहरु शत्रुबाट हुन सक्ने आक्रमणको राम्रैसँग लेखा जोखा गरेर अनुभवी सेनापति दामोदर पाँण्डेको नेतृत्वमा वेत्रावती वार चोकदे,गेर्खु र दुधे थुम्कोमा सतर्कताका साथ तैनाथ थिए ।
निकै ठूलो संख्यामा चीनियाँ सेनाले नदी पार गरेपछि दामोदर पाँण्डेले उनीहरु माथि तीनै ठाउँबाट एकै साथ प्रहार गर्न आदेश दिए । दुई पक्ष बीच घनघोर युद्ध भयो । तर नेपाली फौजले गोली, तरबार, तीर,ढुङ्गा र रुखका मुढाहरु यस्तो सशक्तसँग बर्षाए कि चीनियाँ र तिब्बती सेनाहरुको केही जोर चलेन । कैयौं ढले, कैयौं बेत्रावतीमा डुबे भने बाँकि सेनानायकहरुको नियन्त्रण बाहिर गएर तितर बितर भए ।
आफ्नो हार भएको देखेर क्रोधित फुकांग ज्यान बचाएर भाग्दै गरेका आफ्नै दुई सरदारको नाक काटन पुगेछन । ती सरदारहरुले आफु माथि गरिएको अपमानको पीड़ा सहन नसकि बेत्रवतीमा हाम फालेर आत्मदाह गरेछन । त्यस्तै अर्का सरदार भाग्दा भाग्दै खुट्टा भाँचिएर मर्ल्यान्त भइ लडेछन  । आफू तिर यस्तो अकल्पनीय क्षति भए पछि सांझमा फुकांगले आफ्ना बाँचेका सैनिकहरुलाई पछि हटन आदेश दिए  । त्यस पछि अरु आक्रमण गर्ने सोचलाई पनि सदाको लागि त्यागिदिए । नेपालको जीत सहित युद्धको समापन भयो  ।
नेपाल चीन युद्धका बिशेषताहरु
चाहे जे सुकै प्रयोजनका लागि गरिएको होस, युद्ध खराब नै हुन्छ  । मानिसको ज्यान जाने, बालबालिका टुहुरा हुने, नारीहरु बिधवा हुने र देशको श्रोत(साधन नष्ट हुने कार्यको औचित्य कदापि पनि सावित हुन सक्दैन  । तर, पनि त्यो बेला भनेको राष्ट्र पुनर्निर्माणको बेला थियो । अझ मुलुकको अस्तित्व तहस नहस हुने गरि बाह्य शक्तिबाट हस्तक्षेप हुँदा त्यसको सामना गर्नु नागरिकको कर्तब्य नै हो  । युद्ध बीभत्स हुँदाहुँदै पनि देशको अस्तित्व रक्षाका लागि नेपाल–चीन युद्धमा पुर्खाहरुले जुन वीरता र कूटनैतिक परिपक्वता देखाए त्यो आजसम्म मनन गर्न योग्य छ । चीन र तिब्बतले आक्रमण गरेको समयमा नेपालसँग पर्याप्त सैनिक र धनमाल थिएनन । जीत अन्तिममा नेपालको पक्षमा हुनुको पछाडि निसंदेह बहादुर शाह र दामोदर पाँण्डेको राष्ट्र उत्थानको आकांक्षा र दामोदर पाँण्डे र अन्य कैयौं सेनानायक र योद्धाहरुका रणकौशलता थिए  । तर इतिहासले के पनि देखाउँछ भने त्यो युद्धमा नेपाली सेना र राज्य संचालकहरु मात्र नभएर पूरा जनता नै लागेका थिए । त्यसैले चीनलाई प्रतिरोध गर्ने जस्तो असंभव कार्य संभव हुन पुग्यो ।
युद्धमा अस्थाई प्रकारका र बंदोबस्तिका लागि पश्चिममा गोर्खा देखि पूर्वमा टिष्टासम्मका सबै जात र बर्गका नागरिकहरु संलग्न थिए । मुसलमान समुदायका धनुर्धरहरु अग्रपंतिमा रहेर लडेका थिए । शिकारी जातिको एक डफ्फा पनि युद्धमा संलग्न थियो । अरुण पारी पल्लो किराँतका जनतालाई नेपाल बिरुद्ध आक्रमण गर्न चीनियाँ सेनापतिले उक्साउंदा उनीहरुले देशद्रोह नगर्ने निर्णय गरेका थिए । बहादुर शाहले खर्चको जोहो गर्न काठमाण्डौ उपत्यका र बाहिरका जग्गाहरुबाट कर उठाएका थिए । बिशेष गरि मोरंग र बिजयपुर (पूर्वी तराई) क्षेत्र हराभरा र उर्बर रहेकाले त्यहाँबाट उल्लेखनीय मात्रामा कर उठ्थ्यो । यस अर्थमा यहाँ खेतबारी उब्जाउने राजबंशी, गनगाई, धिमाल, थारू आदि समुदायका जनताको पनि युद्धमा योगदान रहेको थियो । त्यस बखत नेपालले आफ्नै हातहतियार बनाउने कारखाना खोलेको थियो । यूरोप र हिंदुस्तानबाट निकै ठूलो तलब दिएर हातहतियार विशेषज्ञ झिकाइएका थिए । उनीहरु अन्तर्गत बिभिन्न जात र समुदायका कालिगडहरु काम गर्दथे । जस्तो अहोरात्र खटेर विश्वकर्मा, चर्मकार, सूचिकार र मुसलमान कालिगडहरु युद्धका लागि आवश्यक तरबार, खुंडा, भाला, बन्दुक आदि हतियारहरु बनाउँथे । तोप र बारुद समेत नेपाल आफैं बनाउँथ्यो ।
हिमालजस्तो अटल सम्बन्ध
नेपालको चीनसँग राम्रो सम्बन्ध राख्ने नीति प्राचीन कालदेखि नै रहेको पाइन्छ । तिब्बतका कारणले गलतफेमीमा परेर मात्र नेपाल चीन त्यसरी आमने सामने हुनु परेको थियो । तर अहोभाग्य नै मान्नु पर्छ त्यो युद्धपछि सम्बन्ध सदा सुमधुर रहिआएको छ । एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरेर यी दुई देशले पंचशीलका सिद्धान्तको अक्षरस पालना गरेका छन् । सगरमाथामा किचकिच नपर्नु,सीमा बिबादलाई सहज साथ सुल्झाउनु, नेपालले एक चीन नीतिमा चट्टानी अडान राख्नु असल सम्बन्धकै उपज हुन । अझ पछिल्लो समयमा चीनले ‘वान बेल्ट वान रोड’ र एसियाली पूर्वाधार लगानी बैंकमा नेपाललाई संलग्न गराउनु र पारवहन सम्झौता गर्नु भनेको परस्पर आर्थिक हितका असीमित सम्भावनाहरुको ढोका खोल्नु सरह हो ।
स्रोत ः अनलाइन खबर



Post a Comment

 
Top