0
नेपालले बडो महत्वका साथ मनाउनुपर्ने दिन हो सहिद दिवस। राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राजनीतिक दिवस अन्तर्गतको सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात् मनाइँदै आएको छ। त्यसैको निरन्तरताले यसपटक पनि यो दिवस निम्तेको हो। इतिहासमा सबैभन्दा तिख्खर, स्वादिलो र गौरवका साथ यो वर्ष सहिद दिवस मनाइनुपर्ने हो। तर झण्डै–झण्डै इतिहासकै खल्लो र अर्थहीन सहिद दिवस भएको छ। इतिहासदेखि आजसम्म राणा शासनविरुद्धको आन्दोलनदेखि २०६२÷२०६३ को जनआन्दोलन, जनयुद्ध, विभिन्न जातीय, मधेस, लैङ्गिक, पिछडावर्ग आदि तमाम आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुको ‘रूप’ जे–जस्तो भए तापनि ‘सार’ एउटै हो। ती महान् सहिदका भावनाको सार भनेको सदियौंदेखि वञ्चित भएका अधिकार सुनिश्चित गर्ने, सम्पूर्ण नेपाली जनताको मर्म र भावना समेट्ने लोकतान्त्रिक संविधान निर्माणपछि समुन्नत,समृद्धि र समावेशीसहित सुशासन तथा शान्ति र अमनचयन नै हो। ढिलै भए पनि संविधान प्राप्त गरेपछि नयाँ जोश, जाँगर, उत्साह र उमङ्गका साथ सहिद सप्ताह मनाइएको हुनुपथ्र्याे। नौलो आयामको सहिद दिवस हुनुपर्थ्यो। तर दुर्भाग्यवस सहिद दिवसको रौनक छैन, तुक छैन। केवल समय घुमफिरको कर्मकाण्डी सहिद दिवस बनेको छ। संविधान सबै पक्षको चित्त नबुझेको वा मधेसीको माग समावेश नभएको नाममा मुलुक झन् भयाबह भिडन्तले बर्बाद छ। जसले गर्दा सम्पूर्ण सहिदको भावनामाथि खेलवाड र कुठाराघात भएको छ। देश र जनताले नयाँ संविधान प्राप्त गरेको दीपावलीसहितको यो वर्षको ऐतिहासिक सहिद दिवसको सम्भावनालाई राजनीतिक दलहरुले नै निरर्थक तुल्याए। झन् संविधानकोे नाममा असोज ३ स्वर्णिम ऐतिहासिक दिन वा असफल कालो दिनका रूपमा विवादित हुने ढंगले काम गरे। सबै दलले आजसम्म निकास दिन नसकेपछि लाज छोप्न र असफलताको आलोचनामय परिस्थितिको ध्यान अन्यत्र मोड्न आरोप–प्रत्यारोपको पराकाष्ठामा पुगेका छन्। उल्टै द्वन्द्वको शृंखलामा लाग्दै गर्दा राजनीतिक दलहरु, राज्य र सरकारलाई यो दिवस मनाउन कुनै जाँगर र उत्साह छैन। साँच्चै भन्ने हो भने नैतिकता पनि छैन। यदि सधैँं सहिदको सपना र भावनामाथि खेलवाड गरेर मुलुकलाई द्वन्द्वमा नै जाकिराख्ने हो र यो वा त्यो बखेडामा देशलाई अराजकताको बन्दी बनाइराख्ने हो भने त्यस्ता दलहरुलाई सहिद दिवस मनाउने अधिकार पनि छैन। उनले मनाए पनि पवित्र सहिदको अपमान हुन्छ, बिटुलो हुन्छ। राणा शासनविरुद्धको बेलादेखि पछिल्लो जनआन्दोलनसम्मले उब्जाएका सहिदहरु सबैको भावना साझा थियो।   कुनै पनि सहिदले अर्थात् उनका भावनाले सीमा छुट्याएको थिएन, जात तोकेको थिएन, पहिचानमा साँघुर्या एको थिएन। पहाड, हिमाल, तराई वा मधेस जस्ता सीमा छुट्याएर भौगोलिक विखण्डनमा लागेका थिएनन्। आपसी विभाजनको सन्देश पनि दिएको थिएन। न त दलहरुलाई सत्ताको नाफा बाँडफाँट गरी खाऊन् भनी सहादत भएका थिए्। सहिदहरुका भावना साँध राष्ट्रियता, एकता, अखण्डता र सम्पूर्ण नेपालीजनको जय–विजय हुने लोकतान्त्रिक मूल्य, मान्यता र जनताको शासन हुने गणतन्त्र हो। सहिदको सहादतको अभिप्राय झगडा गर, लडाइँ गर, शासक बन, पक्षपाती बन र उनको मृत्युलाई फोकटिया प्रमाण्ति गरिदेऊ भन्ने थिएन। सहिदको आसय अझै असभ्य बन, संविधान सभाहलमै जनावरीय स्वभाव प्रदर्शन गर, माइक, कुर्सी भाँच, बहुमत र अल्पमतको नाममा दमन गर भन्ने अवश्य थिएन। त्यसो त केवल भौतिक मात्र होइन, आध्यात्मिकरूपमा सहिदको पुकार हुनुपर्ने हो। सहिदका बलिदानले स्थापना भएको लोकतन्त्रमा केवल वाक स्वतन्त्रता र झगडा गर्ने स्वतन्त्रताबाहेक जनताका जनजीविकाका सवाल झन् नाजुक बेहोर्नु परिरहेको छ। भूकम्प र नाकाबन्दीको उपहारसहित अनुचित ढङ्गले महँगीको मार र भ्रष्टाचारको चपेटा जनताले खेप्नु परिरहेको छ। न्यानो बस्त्र, स्थान र खानपानको अभावमा मर्नेहरुको लास उठाउने चटारोको अवस्था छ। हरेक उत्पीडितसँगको सम्झौता कार्यान्वयनका लागि पुनः आवाज उठाउनु परिरहेको छ। यो वा त्यो अनगिन्ती समस्याले जनता झन् थिचिनु परिरहेको छ। अनि कसरी मनाउने जनताले सहिद दिवस ? अर्कोतर्फ वास्तविक सहिद नै राज्यले पहिचान गर्न सकिरहेको छैन। कुनै न कुनै राजनीतिक सदस्यता प्राप्त मान्छे रोग, व्याध, हिँडडुल, घरायसी झगडा, दुर्घटना अथवा कुनै दलका निजी स्वार्थका क्रममा भएका मुठभेड जस्तै कुनै पनि क्रममा मर्नेबित्तिकै सहिद घोषणाको दबाब हुने गरेको छ। यही ढङ्गले जाने हो भने हरेक मरेको मान्छे सहिद हुने देश हुनेवाला छ नेपाल। जसले वास्तविक सहिदलाई अपहेलना र खिसी गरिएको प्रमाणित हुन्छ।


Post a Comment

 
Top