0
सरगम भट्टराई
मेरो जन्म ब्राह्मण कुलमा भएछ । यो मैले कसैसँग अनुनय–विनय गरेर, कसैको चाकरी गरेर, कसैलाई घुस ख्वाएर, कसैको भाग खोसेर या कसैको सर्वनाश गरेर भएको होइन । आध्यात्मिक आँखाले हेर्दा यो मेरो पूर्वजन्मको कर्मले प्राप्त हो भने भौतिकवादी आँखाले हेर्दा यो महिला–पुरुषबीच मिलनपछिको प्रतिफल हो । अरुले पहिचानको मुद्दाको रटान लगाइरहँदा मैले कसैको डरले मेरो जनै फाल्नु धर्म्निरपेक्षताभित्र पर्दैन भन्ने मेरो ठहर हो ।युरोप, अमेरिका गएर जनजाति, दलित र मधेसीको कोटामा दीक्षित भएर आएका अहिलेका टाईवाला दाइहरुले मलाई ‘एलिट‘भने पनि केही छैन । किनकि मेरो नामको पछाडि शासक वर्गको थर जोडिएको छ । यस वापत मेरो बैंक खातामा मनग्गे पेन्सन आइरहन्छ भनेर उहाँहरुले प्रचार गर्नु भए पनि मलाई फरक पर्दैन ।मेरा बा(आमाले मलाई दुस्खजिलो गरेर पढाउनुभो । मैले र मेरा बा–आमाले जानाजान कसैको भाग खोसेको मलाई याद छैन । तर, म जब हलो जोत्ने, अरुको भाँडा माझ्नेदेखि घर पोत्ने गर्दै पढेर योग्यतावाल हुने बेलासम्म मेरो थरको पछाडि एउटा टाइटल झुन्डिएको थियो, ‘एलिट वर्ग‘ ।मेरो योग्यतालाई ओभरटेक गरेर काठमाडौंमै घर भएको कुनै अर्को, गतिलो पेशा भएको र राजनीतिक पहुँच भएको, कथित उत्पीडित, मधेसी जनजातिको छोराले त्यो भाग ओगटिसकेको थियो, मैलेभन्दा झन्डै ३० नम्बर कम ल्याएर । मैले हठात् चित्त बुझाउनैपर्ने भयो । भएको अस्थायी जागिर कहिले छुट्ने हो, टुङ्गो थिएन । विकल्पको रुपमा परराष्ट्र मन्त्रालयमा गई पासपोर्ट बनाएँ र म विदेश हान्निएँ ।

अहिलेको तातो बहस ः मेरो छिमेकमा अचेल गाई काटेर खान पाउनुपर्छ भनेर ठूलो भुइँचालो आइरहेको छ मेरी आमाले बिहान सबैभन्दा पहिले त्यही गाईकै गोबरले दैलो नपोतेसम्म केही काम गर्नुहुन्न । मेरा बाले गाईकै पूजा गरेर गहुँत नखाई जुठो(सूतक जाँदैन भन्नुहुन्छ । म त्यही गाईको दूध खान्छु र संस्कार निर्वाह गर्दै गहुँत पनि खान्छु । जन्मेदेखि मर्ने बेलासम्म त्यही गाईलाई बाले बेलाबेलामा पुज्नुहुन्छ । बहुसंख्यक मान्छेले पूजा गर्ने गाईलाई राज्यले राष्ट्रिय जनावर बनाएको छ । तर, गाई–गोरु काट्न नपाएर आफ्नो पहिचान गुमेको देख्नेहरुलाई मैले बुझ्न सकेको छैन । छिमेकीले पुज्ने गाई काटेर खान नपाउँदैमा पहिचान कसरी गुम्यो ? हामीले आमा मान्ने गाई काट्दा हाम्रै छिमेकीलाई यतिविघ्न खुसी मिल्छ ? के राष्ट्रिय जनावर गाई खान नपाउँदैमा भोकमरी नै लाग्छ र ? त्यसै पनि गाईको दूध र मूत्र वैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त छ । मैले गाईको गहुँत खाँदा कोही हाँसेर उडाउँछ भने मलाई केही फरक पर्दैन । मैले गोबरले लिप्दा कसैले छ्या भन्छ भने त्यसले पनि असर गर्दैन । तर, म सुँगुर खाँदिनँ र खानेलाई घृणा पनि गर्दिनँ । गाई खानैपर्छ भनेर कसैको धर्मग्रन्थमा लेखिएको छैन । गोरुको मासु चढाउनैपर्छ भनेर कुनै धार्मिक किताबमा उल्लेख छैन । यदि कतै छ भने त्यो कुप्रथा हो, धर्म होइन । हिन्दु धर्मका अनुयायीले देवीदेवताको नाममा चढाउने बली पनि धर्म होइन,यो त कुप्रथा हो । यस्ता कुप्रथाको जरैसहित अन्त्य हुनुपर्छ । तर, मैले गहुँत खाने मेरो संस्कार बहुसंख्यकको संस्कार हो । म गाई पुज्छु, संस्कार अनुसार बेलाबेला गाईको गहुँत पनि पिउँछु । यसो गर्दा कसैको अधिकार हनन हुँदैन, मैले सबैले गाईको गोबरले लिपौं, गहुँत पिऔं र जनै लगाऔं पनि भन्दिनँ । तर,मलाई होच्याएर कसैले तैंले ‘मूत‘ खाने गाई मैले काटेरै खान्छु भन्छ भने त्यो बेला मैले प्रतिरोध गर्छु र गर्नुपर्छ । यसो गर्दा मलाई कसैले बाहुन मान्छ भने मैले भन्नै पर्छस् हो महाशय, म बाहुन नै हो । यस अर्थमा मलाई बाहुनवादी माने हुन्छ ।
राष्ट्रिय बहसको मुद्दा ः अचेल इन्टरनेटको सामाजिक सञ्जालमा कहिले गैंडा त कहिले घोड़ा राष्ट्रिय जनावर बनाऔं, हामीले खाने गाई–गोरुलाई किन राष्ट्रिय जनावर बनाएको भनेर ताता र छाडा बहस पनि हुन थालेका छन् । गाई भनेको नेपालको सन्दर्भमा बहुसंख्यकको आस्थाको धरोहर हो, पवित्रताको प्रतीक हो । अनि त्यस्तो पवित्रताको प्रतीक छाडेर किन भैंसी, बाख्रा या गैंडा राष्ट्रिय जनावर बनाउने ? सुँगुरलाई घृणा गरिने हुनाले मुसलमान बाहुल्य देशमा सुँगुर काटिंदैन,छोइँदैन । अमेरिकामा घोडा र कुकुरको मासु काट्न प्रतिबन्ध लगाइएको छ । तर, त्यही घोडा कुनै मिडल इस्ट देशमा मासुको मुख्य स्रोत हो । तर, मलाई के लाग्छ भने नेपालमा कसैले यतिविघ्न सम्मान गर्ने गाई–गोरु नखाए पनि आकाश खस्दैन, बरु सामाजिक सम्बन्ध बलियो हुन्छ । अझ सकिन्छ भने सबै साकाहारी बनौं, अरुको मासु मान्छेले खाने चिज नै होइन । अझ गाई–गोरुको मासु खान पाउने कुरालाई पहिचानसँग नजोडौं । यदि कसैले कसैको हत्या गरी खान पाउनुपर्छ भन्ने कुरालाई आफ्नो बटमलाइन नै मान्छ भने म त्यसको विरोधी हुँ । त्यसबेला मलाई बाहुन भने हुन्छ । हो, यस अर्थमा म बाहुनवादी हो । मेरो छिमेकमा अचेल भाषाको पनि त्यस्तै बिजोग छ । आफूलाई अब्बल लेखक मान्नेहरुले जुन भाषामा लेखेर बिहान–साँझ आफ्नो चुह्लो बालिरहेका छन्, जुन भाषा बोलेर चाकरी–चाप्लुसी गरिरहेका छन्, त्यही भाषालाई मूलधारको भाषा होइन भनेर दुत्कारिरहेका छन् । खासमा उनीहरु स्वयं आफैं आफ्नो भाषा बोल्न जान्दैनन् !  आफ्नो भाषाको उत्थान त सबैभन्दा पहिले आफैंले पो गर्नुपर्छ । घरमा छोराछोरीलाई हिन्दी च्यानलमा झुम्याएर बाहिर नेपाली भाषालाई शासकहरुको भाषा भनेर फलाक्नु राम्रो होइन ! आफ्नो संस्कार र आफ्नो भाषा त सबैभन्दा ठूलो सम्पत्ति हो, त्यसलाई बचाउने सबैभन्दा पहिले आफूले र त्यसपछि राज्यले हो । सम्पर्क भाषाको रुपमा बहुसंख्यकले बोल्ने भाषा पनि शासकहरुकै भाषा भन्ने स्वाँठहरुको विद्वता पनि मैले बुझ्न सकेको छैन । सबै भाषाको एकैचोटि उठान त हुनै सक्दैन । हिजो संस्कृतलाई बुर्जुवा भाषा भनेर बन्देज गर्नेहरुले अहिले त्यही भाषालाई जननी भाषा मानेका कुरा बुझेरै होला ।
बेतुकका कुरा
मेरो वरिपरि अचेल विभेदको पनि कुरा उठिरहेको छ । मैले जानेबुझे अनुसार संविधानले तोकेरै कसैलाई दमन गर्नुपर्छ भनेर भनेको छैन । जाति जनजाति भएकै कारणले हेप्नु र हेपिनुपर्छ भनेर लेखेको कतै पनि देखेको छैन । पहिचानवादीहरुले कहाँ(कहाँ विभेदको पहिचान गरे, त्यो मलाई थाहा छैन । हिजो केही तत्व र ठूलाठालुहरुले जात र धर्मको आधारमा गरेको विभेदलाई आज तिनै जातको कारणले गर्दा मेरो पहिचान गुम्यो भन्नु कति जायजÞ हो ? सीमित जातका मान्छेहरुले सत्तामा गरेको रजाइँलाई बाहुनवाद सँग जोडेर मलाई समेत शासक बनाइन्छ भने हो, म बाहुन नै हो र बाहुनवादी हो । मलाई सम्झना छ । मैले हात्तीछाप चप्पलमा कपडाको तुनो हालेर, पछाडितिर फाटेको घुँडे कट्टुलाई भोटोले छोपेर स्कूल जाँदै गर्दा बाटैबाट भागेर कोही माछा मार्न जान्थे । कोही हाफ छुट्टीमा भागेर चलचित्र हेर्न पुग्थे । तिनीहरु नै आज राजनीतिमा नेता र आरक्षणको कोटामा हाकिम भइरहेको देख्दा यो पहिचान भन्ने शब्द पनि मलाई हास्यास्पद लागेको छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाहुनको कुलमा जन्मनुमा मेरो के दोष ?
बाहुन–क्षेत्री कहाँको..... विदेशको
आजभोलि बाहुन–क्षेत्रीलाई शरणार्थी भन्नेहरु सामाजिक सञ्जालमा बग्रेल्ती भेटिन्छन् । प्रविधिले सारा विश्व एकै ठाउँ ल्याइदिँदा सयौं वर्षसम्म समाजमा सँगै बसेकाहरु कसैको प्रायोजित नारामा शरणार्थी बनाइँदा आरोप लगाउनेहरु कुन बेला त्यहीँको धर्ती धाँजा फाटेको बेला फुत्त निस्केका हुन्, जान्न पाए हुन्थ्यो ! अनि फेरि ती धर्तीपुत्रहरुले आफ्नै शरणमा आएका शरणार्थीहरुलाई किन ‘शेर‘ बन्न दिएका होलान् त ? हो, बाहुन भएकै आधारमा म कसैलाई भेदभाव गर्दिनँ । सबैले बाहुनले जस्तै जनै लगाउनुपर्छ म भन्दिनँ । कसैको जात, पेशा र स्तर हेरेर मैले भेदभाव गर्न हुन्न र गर्दिनँ । मैले कसैको भाग हडपेको पनि छैन, हडप्नेको म धुवाँधार विरोध गर्छु । तर,बाहुनको नश्लमा पैदा हुँदैमा म कसरी शासक भएँ, शरणार्थी भएँ र एलिट भएँ ? के सत्तासीन मेरो जातका मान्छे भएकै आधारमा मैले त्यसको क्षतिपूर्ति दिनुपर्ने ?  हुरी चल्यो भन्दैमा धुरीलाई सराप्ने कि धुरी बलियो बनाउने ?
हो, म बाहुन हो ः म बाहुनको संस्कार अनुसार लगाउनैपर्ने जनै लगाउँछु, यो मेरो पहिचान हो । अरुको पहिचान कÞायम गर्न मैले मेरो जनै फालेर या नफालेर अरुको जायज या नाजायज आन्दोलनको समर्थन या विरोध पनि गर्नु छैन । जनै मेरो विश्वास हो, अनुशासन हो, संस्कार हो । यसको लाज बचाउन म सधैं प्रयासरत हुन्छु र हुनुपर्छ । तर, मैले जनै धारण गरेकै आधारमा मैले अरुलाई सानो जात र वर्ण भनेर भेदभाव गरेकै छैन, गर्नेलाई पनि मन पराउँदिनँ । जनै धारण गरेर मेरा पिता–पुर्खाले कसैलाई गरेको भेदभावको लागि म क्षमा माग्छु । तर, मैले लगाएको जनै देखेर कसैले गिज्याउँछ भने म गर्वका साथ भन्छु, म बाहुन हो ! मेरा पिता–पुर्खाले जानेर–नजानेर गरेको गल्तीको मैले क्षमा माग्दा पनि मलाई अझै होच्याइन्छ भने हो, म बाहुनवादी नै हो ।
मेरो विश्वास
बाहुन भएकै आधारमा कुनै दलितलाई म मन्दिर पस्न दिनु हुन्न भनेर अयी कस्दिनँ । उसले छोएको पानी पिउन हुन्न भनेर नाराबाजी गर्दिनँ । मान्छेलाई पशुलाई भन्दा तल्लो व्यवहार गर्ने जातीय प्रथाको म घोर निन्दा गर्छु । तर, मैले समावेशी हुनैपर्छ भनेर गोरुको मासु, सुँगुरको मासु र भैंसीको मासु वा खसीबोकाकै मासु खानुपर्छ भन्ने केही छैन ।
हिन्दु संस्कारका नराम्रा पक्षलाई बोकेर म कसैमाथि दमन गर्दिनँ । तर, मेरो राम्रो र कसैलाई हानि नगर्ने संस्कार, मेरो विश्वास र मेरो भगवानलाई कसैले ‘किन मान्छस्, छाड्दे‘ भन्छ भने मैले दृढताका साथ भन्नै पर्छ, हो म बाहुन हो र बाहुनवादी नै हो । मैले बाहुनवादलाई दमन, भेदभाव र कपटको रुपमा हैन,विद्वता, परोपकारिता र मानव कल्याणको रुपमा लिन्छु । मैले अरुको धर्मको विरोध नगरी आफ्नो धर्मको सुन्दर पक्षलाई आत्मसात् गर्दा मलाई बाहुनवादी कसैले भन्छ भने हो, म बाहुन हो । मलाई बाहुन भएकोमा गर्व छ । संविधानले अधिकार मात्रै होइन, कर्त्तव्य पनि दिएको छ । म आफ्नो अधिकार प्राप्तिका लागि कसैको खुसीलाई बलि चढाउँदिनँ । तर, कसैले मेरो र बहुसंख्यकको अधिकारमाथि जबर्जस्ती धावा बोल्न खोज्छ भने मैले दृढतापूर्वक भन्नैपर्छ, हो म बाहुन हो र यसलाई अनर्थ लगाइन्छ भने म बाहुनवादी नै हो ।
मेरो निष्कर्ष
मेरो बुझाइमा पहिचान त अब गरिबी, अशिक्षा, बेरोजगारी,अन्याय र अत्याचारको गर्नुपरेको छ । विश्वले चन्द्रमा चुमेको यतिका वर्ष हुँदा हामी चाहिँ जात र भातको बखेडा निकालेर,क्षेत्रको बबन्डर मच्चाएर, एकले अर्कालाई दोषारोपण गरेर टिकिरहेका छौं । समाजको विकासको बाधक बनेको जाति प्रथालाई झन् बल्झिने गरी कडा हैन, बरु मैले जस्तै नरम व्यवहार गरेर सबैले सबैको धर्मको सम्मान गरे पो समृद्धिको चुचुरो चुम्न सकिएला । नत्र त खोइ कुन्नि !
स्रोतः अनलाइन खबर



Post a Comment

 
Top