राजाको सक्रिय नेतृत्वमा सञ्चालित निरंकुश पञ्चायती व्यवस्थामा त सहिदको पूजा नै हुन्थ्यो । राज्यले औपचारिकरूपमा माघ १० देखि एक साता सहिद सप्ताह मानाउँथ्यो भने प्रतिबन्धित राजनीतिक दलहरूले पनि आआफ्नै शैलीमा सहिद दिवस मनाउँथे । सायद, त्रिभुवनलाई सहिद मनाएर भए पनि कतै न कतै सहिदप्रति सम्मान व्यक्त गर्नु राज्यले नै गौरवको विषय मान्थ्यो । जे भए पनि सहिद सप्ताहमा श्रद्धेय स्वनामधन्य वीरहरूको स्मरण गरिन्थ्यो । राज्यले सम्मान पाउनुपर्ने सबैलाई सहिदको सम्मान दिएको थिएन तै पनि सहिद मानिएकाहरू चारै जनाप्रति सबैले श्रद्धा गर्थे । उनीहरूको बलिदानमा कसैको विमति वा सन्देह थिएन । सायद, यसैले त्यति बेला सहिदको सम्झना राष्ट्रिय उत्सव थियो र प्रेरणाको दिन हुन्थ्यो । विडम्बना, देशबाट निरंकुश शासन र त्यसको प्रतीक मानिएको राजतन्त्रको अन्त्य भइसकेका बेलामा समेत सहिदको सम्झना गर्न लगभग छाडिएको छ भने यस दिवसको महत्ता निकै खस्केको छ । बृहत् नेपाली शब्दकोष अनुसार सहिद शब्दको अर्थ हुन्छ– ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति ।’ पछिल्ला दिनमा विशेषगरी २०६२÷६३ को परिवर्तनपछि सहिद शब्दकै अपमान हुने गरी अर्थ लगाइएको छ । सामान्य जनताले चोर, डाँका, हत्यारा, अपहरणकारी जस्ता जघन्य अपराधी ठानेका व्यक्तिहरूलाई समेत सहिदको दर्जा दिइएकाले पनि जनसाधारणमा सहिद शब्दप्रति नै आकर्षण घटेको र वितृष्णा उत्पन्न भएको हुनुपर्छ । अर्कातिर, पछिल्लो दशकमा सहादतको गरिमालाई पैसामा तौलिन थालियो । राज्यको ढुकुटीबाट दसौं लाख रुपियाँ दोहन गर्नैका लागि सहिदको मान्यता खोज्ने र दिलाउने गरियो । यस अवस्थामा सामान्य जनतामा सहिद शब्दप्रति नै वितृष्णा उत्पन्न हुनु अस्वाभाविक पनि त हैन । सहिद शब्दलाई नेपालमा जति सस्तो सम्भवतः संसारका अरू कुनै मुलुकमा पनि बनाइएको छैन । बनाउन पनि हुँदैन । सहिदहरू त राष्ट्रका गौरव हुन्, प्रेरणाका स्रोत हुन् । स्वतन्त्रता र राष्ट्रियताको रक्षामा आत्मोत्सर्ग गर्नेहरूलाई मात्र सहिद मान्न सकिन्छ । दल विशेष वा दलका नेताका संरक्षणमा रहेका गुण्डाहरू अकालमा मारिए पनि सरकारले सहिदको मान्यता दिने गर्नु यथार्थमा सहिद शब्दकै अपमान हो र साँचा सहिदहरूको अवज्ञा हो । अहिलेको राजनीतिक नेतृत्वबाट सहिदहरूप्रति सम्मानको अपेक्षा गर्नु पनि मूर्खता हुन्छ । तर, कुनै न कुनै दिन सहिद शब्दको अनर्थ नहुने र सहादतको सम्मान गर्ने प्रयास पक्कै गरिनेछ । मिथ्याको जगमा भविष्यको महल बन्दैन । हृदयदेखि नै श्रद्धा नलाग्ने व्यक्तिलाई श्रद्धाञ्जली कसैले पनि दिँदैन । यसैले सही अर्थमा सहिद मान्न सकिनेबाहेक पैसा अशुल्न बनाइएका सहिदलाई सूचीबाट हटाउने कार्य कुनै न कुनै दिन हुने निश्चित छ । प्रहरी वा राज्यको कुनै अंगको ज्यादतिबाट ज्यान गुमाउनेहरूका लागि क्षतिपूर्ति माग गर्नु वा दिनु स्वाभाविक होला तर तिनलाई सहिद भन्नु न्यायोचित हुँदैन । आशा गरौँ, कुनै न कुनै दिन सके निकट भविष्यमै देशमा पुनर्जागरणको लहर आउनेछ र सत्य स्थापित हुनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment