आश्रम आउँदा कमल र ज्ञानजस्ता साथीहरु, आमाको स्नेह, घरको सुरक्षा, पाङ्ग्रे, बिरालो, गोरे (बाख्राको पाठो) सबैको साथ छोडियो तर छोड्नुपर्ने मेरो बानी भने मसँगसँग आयो । आश्रममा बस्दा फिल्म हेर्न पाइने कुरै भएन । तर फुर्सदमा लुकीलुकी फिल्मी कहानी सुनाएर केटाहरुको मन बहकाइ दिइसकेको थिएँ । केटाहरुसँग पैसा नहुने भएकाले मैले फिरीमै कहानी सुनाउनुप¥यो । धेरैजसोले त फिल्मको मुखै देखेका रहेनछन् । तिनले साक्षत् देवीदेवताको कथा सुनेझैं दङ्ग परेर सुने । गोकुल, शिवहरि, बाबुरामले त फिल्म हेर्नका लागि आश्रम नै छोडौंलाजस्तो गरे । फुर्सद भयो कि ‘कहानी भन न हरि’ भनेर आइहाल्थे । फिल्ममा हिरोहिरोइनले गरेका प्रेमलीला हावभावसहित सुनाइदिँदा केटाहरु त चकित भए । अझ हिरोइनको अङ्गअङ्गको वर्णन गर्दा उनीहरु भरङ्गै भए । गोकुलले भन्यो– ‘यो वर्णन त कुमारसम्भवको आठौं सर्गमा कालीदासले पार्वतीको अङ्ग–प्रत्याङ्गको वर्णन गरेभन्दा पनि बढी कामुक रैछ ।’
ंएक दिन टीकारामले गुरूजीलाई मैले फिल्मी कहानी सुनाउने गरेको कुरा भनिदिएछ । रामहरिले डराएर भन्यो– ‘मलाई तिम्रो असाध्यै माया लागिराछ र डर पनि । अब गुरूजीले तिमीलाई केके गर्ने हुन् ? हामीले गर्दा तिमीले सजायँ पाउँदै छौ । हामीलाई माफ गरिदेऊ है हरि ।’ मैले नहच्की भनें– ‘यस्ता ऋषिमुनिजस्ता गुरू त हाम्रा सिकारी हेडसरजस्ता कठोर अवश्य पनि छैनन् होला । ज्ञानी मान्छे त दयालु र क्षमाशील हुन्छन् भन्ने कुरा गुरूले पढ्ने वेदान्तको पुस्तकमा लेखिएको छ । प्रलय आउँदा नदी, समुद्र र जमिनले समेत आफ्नो मर्यादा गुमाउँछन् तर ज्ञानी मान्छेले कहिल्यै आफ्नो मर्यादा गुमाउँदैनन् भनेर नीतिमा लेखेको छ ।’
उसले आत्तिँदै भन्यो– ‘तिमीले गुरूजीलाई चिनेकै छैनौ । यिनी कठोर हुनुप¥यो भने ढुङ्गाभन्दा कठोर हुन्छन्, कोमल हुनुप¥यो भने पानीभन्दा कोमल हुन्छन् ।’ मैले हतास हुँदै भनें– ‘यो त भावना र आवेगको कुरा भयो, विचार र विवेकको हैन ।’
आफ्नो ओछ्यानमा आएर एकदम थाकेझैं पल्टिएँ । आँखा चिम्लिएर शान्त हुन खोजें । तर मनमा अनेक कुरा खेल्न थाले । म आफ्नो मर्यादामा नरहेको कुरा मामा र बाआमाले थाहा पाउनुभयो भने के होला ? गुरूजीले बोलाए भने के भन्ने होला ? कसरी कुरा गर्ने होला भनेर म कल्पनालोकमा डुब्न थालें । गुरूजीलाई आफ्नै मनमा प्रतिष्ठा गरेर मनमनै गुरूजीसँग यसरी आफैले संवाद गर्न थालें ः
म गुरूजीको सामुन्ने गुरूजीझैं ठाडो शिर लगाएर निर्धक्क उभिएको थिएँ । मेरो नाम जानेर पनि गुरूजीले कड्केर सोधे– ‘तेरो नाम के रे ?’
– ‘हरि !’
– ‘नामचैं हरि, कामचैं मनपरी ?’
– ‘सरी‘ !’
– ‘सरी भनेर हुन्छ ? सजायँ भोग्न तयार हुनुपर्छ ।’
– ‘कत्रोकत्रो अपराध त सरी भनेपछि माफ हुन्छ । मेरो त इत्रो कमिलाको टाउको जत्रो अपराध ।’
– ‘तैंले आश्रमका बटुकहरुलाई फिल्मका अश्लील कहानी सुनाएर मतिभ्रष्ट पारेको रैछस् । यो अक्षम्य अपराध हो । कमिलाको टाउको जत्रो हैन, हात्तीको टाउको जत्रो अपराध हो यो । तँलाई ठूलो सजायँ हुन्छ ।’
–‘मैले त गुरूजी भनेर पो सरी भनेको । अरुलाई भको भए त सरी पनि भन्ने थिइनँ । सरी नदिने भए म अपराध नै स्विकार्दिनँ । किनभने मैले पाप हैन, पुण्य गरेको छु ।’
– ‘तँ पशुले कसरी पुण्य गरिस्, हँ ?’
– ‘पशुले जति पुण्य त देउताले पनि गरेका छैनन् गुरूजी । मान्छेले त झन् गर्ने कुरै भएन ।’
– ‘कसरी गर्छ पशुले पुण्य ?’
– ‘मान्छेले त कहिलेकाहीँ देउता पुजेर पुण्य गर्छ । पशुले त सधैं देउतालाई बोकेर पुण्य गर्छ । जहाँ जाँदा पनि महादेवलाई बोकेर गोरूले जति पुण्य कस्ले ग¥या छ ? लक्ष्मीलाई बोकेर गाईले जति पुण्य कस्ले ग¥या छ ? दुर्गालाई सिंहले, इन्द्रलाई हात्तीले, यमराजलाई राँगोले, गणेशलाई मुसोले बोकेर उनीहरुले जति पुण्य कुन मनुवाले ग¥या छ ? हेर्नोस् गुरूजी भन्दै जाने हो भने त धेरैजसो पशुलाई देउताले बाहन बनाएका छन् । देउताको ज्यान नै पशुको हातमा छ । तेसैले बेलाबेलामा ‘मेरो ज्यानको सुरक्षा गरिदेऊ पशुदेव’ भनेर बरू देउताले नै पशुको पूजा गर्छन् होला, विश्वकर्मा दिवसको दिन मान्छेले गाडीको पूजा गरेझैं । मान्छेले देउताको पूजा गर्छन्, देउताले पशुको । त्यसैले पशु त देउताको पनि देउता भयो, महादेउता । वाहन भए पनि पशु देउताभन्दा माथि छ । तेसैले पशुलाई तेसरी नहेप्नुस् गुरूजी । पशु त पुण्यको विश्व बैंकजस्तै हो । अझ पन्छीको त कुरै ग¥या छैन ।’
– ‘तँ त पुण्यको विश्व बैंक हैन, झुन्डेको विश्व बैंक होस् । बुझिस् ? कुन दिन फुत्त खस्छस् अनि था पाउँछस् ।’
– ‘हो नि त ! झुन्डेकै विश्व बैंक हो । पृथ्वी, सूर्य, चन्द्रमा, ताराहरु त झुन्डेका छन् ब्रह्माण्डमा । एक सेकेन्ड घुम्न छोड्ने हो भने कहाँ हो कहाँ फुत्तै खस्छन् । ईश्वरले पनि टिपेर ल्याउन सक्तैनन् ! अनि झुन्डेको पृथ्वीको मान्छे नझुन्डेर के गर्छन् त ? मर्न झुन्डेको हैन, बाँच्न झुन्डेको हो । कसैले पनि नझुन्डीकन सुखै छैन पृथ्वीमा । गुरूजी पनि त झुन्डिरनुभा छ क्यारे, ईश्वरले झुन्ड्याका । आफै झुन्डियो भने मरिन्छ, ईश्वरले झुन्ड्याए भने बाँचिन्छ ।’
– ‘तैंले त बडो जान्ने भएर पुराण नै सुनाइस् त स्वाँठ ?’
– ‘हरिवंश पुराण म आफैलाई लेख्न मन थियो । मभन्दा पहिला जन्मिएर व्यास बाजेले लेखिदिइहाले । सबैले मलाई पशुपशु भनेर हेप्छन् । अब पशुपुराण लेख्छु, जुन उन्नाइसौं पुराण हुनेछ । अनि ठाउँठाउँमा अहिले वेदान्त दर्शनको प्रवचन दिँदै हिँडेझैं पछि पशुपुराणको पनि प्रवचन दिँदै हिँड्नुहोला गुरूजी । अहिले शङ्कराचार्य यसो भन्नुहुन्छ ‘भनेझैं पछि हरिवंशाचार्य यसो भन्नुहुन्छ’. भन्नुहोला !’
– ‘तैंले त मलाई समेत भड्काउन लागिस् ! विचरा ती कलिला बटुकहरु किन नभड्किऊन् त ? भन् त बजिया, किन भड्काइस् ती निर्दोष बटुकहरुलाई ?’
– ‘मैले भड्काको छैन गुरूजी, उनीहरुको दिल धड्कार, छड्काको मात्र हो । बटुकहरुको मन वर्षौंदेखि मैलिएर हेर्नै नहुनी भा रैछ, कुण्ठैकुण्ठा । फिल्मी कहानीको साबनपानीले धुँदाधुँदा अहिले त उनीहरुको मन स्टिलको थालझैं टिलिक्क टल्किने भा छ । ऐनै हेर्न मिल्छ । अहिले त केटाहरु आफ्नै मनको ऐनामा आफ्नो अनुहार हेर्दै छन् । गुरूजीले पनि सुन्नुहुन्छ भने सुनाउँछु क्यारे, फिल्मी कहानी । हजुरको मन त झन् सुनझैं टिलिक्क टल्किन्छ होला ।’
– ‘सुनलाई माझ्नुपर्दैन भन्ने कुरा था छैन तँलाई ?’
– ‘पशुपतिको सुनको गजुर त बेलाबेलामा सफा नगर्नी हो भने कस्तो लेउ लाको ढुङ्गाजस्तो मैलो देखिन्छ । तेसैले गुरूजीले त फिल्मी कहानी सुन्ने मात्र हैन, आफ्नै आँखाले फिल्म हेर्नुपर्छ । तेसपछि गुरूजी पनि फिल्मको क्रेजी फ्यान हुनुभएन भने मलाई भन्नुहोला । अझ गुरूजीले तेही फिल्मको हिरोइनजस्तै कुनै सुन्दरीलाई प्रेम गर्नुभयो भने त हजुरको सुनरूपी जीवनबाट सुगन्ध पनि आउँछ । बिहे नै गर्नुभयो भने त झन् केके आउँछ केके !’
मेरो कुरा सुनेर गुरू मुग्ध र मोहित भए । केहीबेर शान्त भएर आँखा चिम्लिए । एकाएक उनको गाला, ओठ र कानमा लाली चढ्यो । लाग्यो, कतै विश्वामित्रको ध्यान भङ्ग भएजस्तै हाम्रा गुरूको पनि ध्यान भङ्ग त भएन ? विश्वामित्रको ध्यान त मेनकाले भङ्ग गरेकी थिइन् तर हाम्रा गुरुको ध्यान त मेनकाजस्ता हिरोइनहरुको कुरैले भङ्ग भयो क्या हो ?
त्यसपछि भावुक भएर उनले भने– ‘बालक हरि ! तैंले त मेरो पनि मतिभ्रष्ट गरिदिइस् । तँ त कामदेवजस्तै सारै मायावी रैछस् । शिवजीलाई कामदेवले कामवाण हानेर वैराग्यबाट रागमा ल्याएझैं ममाथि पनि कामवाण हानेर मभित्रको वैराग्य हटाई तैंले राग जगाइदिइस् । तँ त कलीयुगको कामदेव रहेछस्, मायावी रहेछस् !’
– ‘गुरूजी ! म मायावी हैन । यो संसार नै मायावी हो । मायावी संसारमा बसेका कोही पनि मान्छे मायाबाट मुक्त हुन सक्तैनन् । कोहीकोही बुद्धजस्ता मान्छे मुक्त भए पनि भोगेर मात्र मुक्त भएका हुन् उनीहरु ।’
– ‘तेसो भए मभित्र पनि माया छ त बालक ?’
– ‘छ गुरूजी । तेसलाई तपैंले दबाएर राख्नुभको छ । कुनै दिन विष्फोट हुनसक्छ । बरू बेलैदेखि तेसको ताप र चापलाई कम गर्न पाए विष्फोट हुने थिएन कि !’
– ‘हँ‘ ! तैंले त गजब कुरा सुनाइस् त । अबदेखि टीकाराम हैन, तँ भइस् मेरो सबैभन्दा नजिकको शिष्य ।’
– ‘हजुर धन्य हुनुहुन्छ । प्रणाम गुरूजी !’
ं– ‘हरि ! तिमीलाई गुरूजीले बोलाउनुभा छ । छिट्टो जाऊ रे ।’
गोकुलको आवाजले अचानक म कल्पनालोकबाट बाहिरिएँ । कल्पनालोकमा त मैले गुरूजीलाई पनि आफ्नो विचार र तर्कले वसमा पारेको थिएँ तर यथार्थलोकमा यो सम्भव थिएन । कसरी गुरूजीको सामुन्ने पर्ने होला ? कसरी उनीसँग बोल्ने होला ? म डरले डल्लिएँ ।
गुरूजीको कक्षमा पुगेर उनको सामुन्ने उभिँदा हेडसरको सामुन्ने उभिँदाभन्दा डर लाग्यो । उनले मलाई केरकार गरे । मलाई भने मेरो मनको कागजभरि केरकार गरेजस्तो लाग्यो । मैले मौन रूपमा नै अपराध स्विकारें । कल्पनालोकमा त्यति शक्तिशाली भएको म यथार्थलोकमा एकाएक कमजोर भएँ । कल्पनामा भन्दा यथार्थमा मान्छे किन यति धेरै कमजोर हुन्छ ?
सजायँस्वरूप मैले सय पटक उठबस गर्नुप¥यो, गुरूको गोर्खे लौरी खानुप¥यो र राति नै गङ्गाको चिसो पानीमा एक घण्टासम्म चोबलिनुप¥यो, तीन दिनसम्म बाहिर बसेर खानुप¥यो र छिँडीमा सुत्नुप¥यो ।
लाग्यो, गुरूले दिने सजायँ हेडसरले दिने सजायँभन्दा पनि कडा हुँदो रहेछ । प्रत्येक सजायँ भोग्दा मैले टीकारामलाई मनमनै खुब सरापें र सङ्कल्प गरें– एक दिन तँसँग बदला लिनेछु ।
सजायँको अन्तिम दिन गुरूले गर्जेर भने– ‘अब पनि यस्ता अश्लील फिल्मी कहानी सुनाएर यहाँको पवित्र आश्रम अपवित्र बनाइस् र वटुकहरुलाई भड्काइस् भने तँलाई म सिस्नुपानी लगाएर यहाँबाट निकाल्छु ! बुझिन्
स्वाँठ ?’
मैले बुझें भनेर टाउको हल्लाएँ । लाग्यो, मैले पशुहरुको आत्मा कराएको पनि थाहा पाउने हो भने गुरूले अझ केके गर्थे होलान् मलाई ? कमसेकम योभन्दा भयानक दुर्घटनाबाट बचेकोमा मनमनै खुसी भएँ ।
साभार ः जनमञ्च
Post a Comment