गोल्डेन न्यूज संवाददाता
देशको दोश्रो ठूलो शहर राजधानीको प्रमुख रंगशाला पोखरा रङ्गशाला । ३ सय १५ रोपनीमा फैलिएको । रंगशालामा प्रायः जसो गतिविधि नभएको दिन नै हुँदैनन । मुख्य मैदान कहिलै खाली देखिन्न । त्यसको अलवा रंगशालाभित्र रहेका मार्सल आर्ट, व्याडमिन्टनको कर्भड हल, लनटेनिस, आर्चरीको व्यवस्थित खेल मैदान, निर्माणाधिन कर्भडहल। निर्माणाधिन ह्याण्डबल को मैदान, फुटबल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान । सवै चिज छ, एउटा छैन, त्यो हो पानी र शौचालय। रङ्गशालामा खेलाडीलाई मात्र होइन आगन्तुकलाई समेत नभइन नहुने पानी नै हो । कुनैबेला पर्खाल समेत नभएर गाइ चरणकोरुपमा प्रख्यात पोखरा रंगशाला २०६१ सालमा नेपाल भूतपूर्व खेलाडी मञ्चको पहलमा पर्खाल निर्माण कार्य सम्पन्न भयो । मंचले पर्खाल निर्माणबाट जोगिएको रकमले १५ लाख खर्चेर पानीको व्यवस्था समेत ग¥यो । तर सबै बेहाल भयो । जिल्ला खेलकुद कास्कीले लाखांै खर्चेर बनाएको पानीको व्यवस्थापनलाई संरक्षण गर्न सकेन । राष्ट्रिय खेलकुद परिषदले त्यही वोरिङ्गका लागि लाखौं खर्चेर १ लाख ५० हजार रुपैयाँ लिटरको ट्याकीं समेत बनायो । हस्तान्तरणको वर्ष दिन नबित्दै वोरिङ्गबाट निकालिएको पानी समेत बन्द भयो । बिजुलीको विल धेरै आउने भएपछि जिल्ला खेलकुद विकास समितिले वोरिङ्ग चलाउन छोड्यो । पानी स्वतः सुक्यो । अनि पोखरा रंगशाला काकाकुलको स्थितिमा फर्कियो । जनताबाट उठाएर बनाइएको वोरिङ्ग यति बेला मर्मतको पर्खाइमा छ ।
२०६१ सालमा पर्खाल निर्माण समितिले १५ लाख रुपैयाँ खर्चेेर बनाएको वोरिङ्ग सुकेको अवस्थामा छ । ‘नेपाल खानेपानी संस्थानले खेलकुदमा दिएको पानीले पुग्दैन, संरचना धेरै छन् पानी आवश्यक छ तर कहाँबाट कसरी ल्याउने ? फ्याट्ट भन्ने अवस्था नै छैन’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । पोखरामा १३ औं साग र अवको दुई वर्षपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना समेत गर्न पोखराले अवसर पाउने भएको छ । तर खेलकुदको राजधानीको रुपमा रहेको रंगशालामा एक–एक थोपा पानीका लागि खेलाडी तडपिनुको विकल्प छैन । धेरै पानी आवश्यक पर्ने फुटबल मैदान, किक्रेट मैदान, आर्चरी, लनटेनिस, व्याडमिन्टन लगायत अन्य महत्वपूर्ण संरचना बेहाल भएका छन् । लन टेनिसले मात्रै महिनामा १५ देखि २० हजारको पानी किन्छ भने फुटबल र क्रिकेटको अवस्था समेत त्यस्तै छ । सहारा क्लवले हरेक वर्ष आयोजना गर्ने आहाराराका गोल्डकपका लागि डेढ देखि २ लाख रुपैयाँको पानी किन्ने गरेको कलवका अध्यक्ष वीरभद्र थापाले बताए । उता एन्फाको संरक्षणमा रहेको फुटवल मैदानका लागि एन्फा कास्कीले पनि उत्तिकै रकम खर्च गर्छ । तर पानी कहाँबाट कसले र कसरी ल्याउने ? भन्ने कुरामा कसैको पनि जवाफ नै छैन । सबैको एउटै जवाफ छ–‘त्यो खेलकुदले नै व्यवस्था गर्नु पर्छ ।’ यता, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष याम गुरुङ्गले पानी भन्दा पनि रंगशाला भित्रको सडक पिच गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । ‘धुलोले हैरान पारेको छ, म अब फुटबल मैदानसम्म पुग्ने सडक पिच गराउन तिर लाग्छु’–गुरुङ्गले भने । पानीको योजना आफूले दोश्रोमा राखेको उनको भनाई थियो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पानी पहिलो प्राथमिकता रहेको बताए । क्षेत्रीय खेलकुदले रंगशाला परिसरमा निर्माण सम्पन्न गर्न लागेको शौचालय पानी पर्याप्त नहुँदासम्म बन्द गरिने उनले बताए । ‘हामी यस विषमा एकदमै संवेदनशिल छौं’ उनले भने–‘नयाँ वोरिङ्ग गर्न १८ देखि २० लाख खर्च लाग्ने रहेछ, हामीले केही रकम र बाँकी लनटेनिस, फुटबल र क्रिकेट संघसंग सहयोग माग्ने सोंच बनाएका छौं ।’ वोरिङ्ग संचालनमा आएको केहि समयमानै विग्रिएपछि पानीको समस्या भएको हो ।
राष्ट्रिय खेलकुदले निर्माण सम्पन्न गर्न लागेको शौचालय अभावमा बन्द हुनु र रंगशालामा खेल हेर्ने दर्शकहरु खुल्ला शौचमा जानु भनेको पोखरा जस्तो विकसित नगरका लागि लाजमर्दो कुरा के होला ? अधिकांशको प्रश्न छ । ‘कास्की खुल्ला दिशा–पिसाव मुक्त क्षेत्र हो’ ‘तर सुरक्षाका लागि खटिने प्रहरी र पुरुष दर्शकहरु ह्वार शौचका लागि रंगशालाको पर्खाल र सेती नदीको डिलतिर सोझिन्छन, महिलाहरुका लागि त झनै अप्ठ्यारो छ’ खेल प्रेमी डिवी गुरुङ्ग भन्छन–‘पानी र शौचालयको राम्रो प्रवन्ध नभएकोले महिलाहरु खेल हेर्नबाट समेत वञ्चित छन् भने महिला खेलाडीलाई समेत एकदमै समस्या छ ।’ ‘रंगशालाको पर्खाल तिर फर्केर पिसाव फेरेको देख्दा हामीलाई पोखरेली हुँ भन्न पनि लाज लाग्छ, ठूलो शहरका हामी मान्छे खोइ के भन्ने’ फुटवल सिक्न आएका सुरज थापा भन्छन । पोखरा रंगशालामा पानीको उचित व्यवस्था गर्न नसक्नु दोष कस्को भन्ने बारे जवाफ कसैसंग छैन। ४ नं. प्रदेशको केन्द्र पोखराको रंगशालाको यो वेहाल हुँदा समेत स्थानीय निकाय पोखरा उप–महानगरपालिका, खुल्ला दिशा मुक्तको वोर्ड टाँस्ने जिल्ला विकास समिति कास्की, जिल्ला प्रशासन, क्षेत्रीय प्रशासन र खेलकुदको प्रमुख जिम्मेवारी निकाय क्षेत्रीय खेलकुद र जिल्ला खेलकुद सवै बेखबर छन् । २० लाख रुपैयाँ नभएर रंगशालामा पानी नभएको हो त ?’ त्यो पनि होइन भन्छन नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ्ग। उनी भन्छन्–‘‘पोखरेली हरुको हृदय ठूलो छ हरेका निर्माण कार्यमा पोखरेलीहरुले एक जुट भएर सहयोग गरेका छन रकम ठूलो होइन खेलकुदको नेतृत्वको इच्छाशक्तिको कुरा हो ।’ जनताकै सहयोगबाट पर्खाल निर्माण सम्पन्न भएको हो । तर जे जस्तो भए पनि यति बेला खेलाडी पानी–पानी भन्दै रंगशाला चर्हादै छन् भने जिल्ला खेलकुदले भाडामा दिएको क्यान्टिनबाट महंगो मिनरल वाटर किनेर पानी पिउन र प्रयोग गर्न बाध्य छन् ।
Post a Comment