0
क्रिस प्याटेन
मेरो सम्पूर्ण राजनीतिक जीवन ‘पश्चिम’ भनिने जगत्मा बितेको छ । यो ठ्याक्कै पश्चिमै चाहिँ हैन । यसको मुख्य भूमि पश्चिम युरोप र अमेरिका हुन् भने दूरपूर्वका मुलुकहरू अस्ट्रेलिया र जापान पनि यसमा समावेश गरिएका छन् । यथार्थमा यो पश्चिम भन्ने समान मूल्य र आशा भएको एउटा समुदाय हो । दोस्रो विश्वयुद्धपछि अमेरिकी विश्व नेतृत्वको प्रतिविम्बका रूपमा पश्चिमको रक्षा अमेरिकाको सैन्य शक्ति र ज्ञान भण्डारबाट भएको थियो । र, यो संसारको सबैभन्दा शान्त र समृद्ध ठाउँ थियो । पश्चिमले सायद अहिलेसम्म प्रचलित व्यवस्थामध्ये सबैभन्दा सफल विश्व व्यवस्थाको आधार प्रदान गरेको थियो । अमेरिकाको नेतृत्वमा पश्चिमले अन्तर्रा्ष्ट्रिय संस्थाहरू, सहयोगका व्यवस्था र समान समस्याका लागि समान धारणजस्ता विषयको सिर्जना, निर्धारण र सञ्चालन गरेको थियो । विश्वका अधिकांश स्थानमा पश्चिमले शान्ति कायम राख्न र समृद्धि बढाउन सहयोग गरेकाले यसका अवधारणा र सिद्धान्तले लाखौं अनुयायीलाई आकर्षित गरेको थियो ।  अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको निर्वाचनले भने यो सम्पूर्ण प्रणालीमै चुनौती उपस्थित भएको छ । ट्रम्पले आफ्नो अशिष्ट र कपटपूर्ण चुनावी अभियानमा वाचा गरेका कुरा पदमा पुगेपछि पूरा गर्न खोजे भने अर्बौं मानिस लाभान्वित भएका र विकास हुन दशकौं लागेको अत्यन्त उच्च कोटीका उपलब्धिहरू ध्वस्त पार्न सक्नेछन् । अमेरिकीहरूसँगै यसबाट लाभान्वित हामी पनि यसमा धुकधुकी छँदैमा यसको प्रतिरक्षामा उभिनुपर्छ । ट्रम्पले कार्यान्वयन गर्न नहुने एउटा चुनाबी प्रतिज्ञा व्यापारको संरक्षणवाद हो । स्वतन्त्र व्यापार सम्झौता भंग गर्ने र नयाँ वार्ता नगर्ने अवधारणा अमेरिकी कामदार वर्गलाई पछाडि पार्ने आर्थिक असमानता बढाउने कारण विश्वव्यापीकरण हो भन्ने ठानेर बनाइएको हो । अमेरिकी कामदार वर्गको आर्थिक कष्टको वास्तविक कारण भने प्राविधिक विकास र कर तथा खर्च बढाउने धनीहरूलाई बढी फाइदा पुग्ने नीतिहरू हुन् । ट्रम्पले मेक्सिको र क्यानाडासँगको नर्थ अमेरिकन फ्री ट्रड एग्रिमेन्ट (नाफ्टा) बाट बाहिरिए, प्यासिफिक पार साझेदारी (ट्रान्स प्यासिफिक पार्टनरसिप) बाट विमुख भए र विश्व व्यापार संगठनलाई चुनौती दिए भने उनले आफूलाई मत दिने जनतालाई नै मर्कामा पार्नेछन् । अनि, विदेशमा मित्र र प्रभाव दुवै गुमाउनेछन् । नाटोका साथै जापान र दक्षिण कोरियासँगको सुरक्षा व्यवस्थाबाट पछि हट्नु ट्रम्पले अपनाउन सक्ने अर्को डरलाग्दो नीति हुनसक्छ । ट्रम्पको पूर्वाग्रही दृष्टिकोणअनुसार अमेरिकाले मित्र राष्ट्रहरूलाई सित्तैमा सुरक्षा प्रदान गर्नु हुँदैन र उनीहरूलाई आफ्नो रक्षा आफैँ गर्नका लागि छाडिदिनुपर्छ । व्यवहारमा यस्तो अडान अत्यन्त अस्थिरताजनक हुनसक्छ । पूर्वी युरोप र बाल्टिक राज्यहरू रुसको दयामा निर्भर हुनेछन् । र, एसिया तथा मध्यपूर्व आणविक विस्तारको जोखिममा पर्नेछ । अमेरिकाको आड नपाएपछि मुलुकहरूले आ–आफ्नै आणविक हतियार विकास हुनसक्छ । ट्रम्पले त यस्तो अवस्था पनि स्वीकार्य हुनेछ भनिसकेका छन् । इरानसँगको आणविक सम्झौता भंग गर्ने ट्रम्पको आह्वानकै उदाहरण लिऊँ । इरानले आणविक कार्यक्रम फेरि सुरु गर्यो भने साउदी अरेयिबा चुप लागेर बस्छ भनेर कसैले सोच्न सक्छ ? अमेरिकाका राष्ट्रपति बाराक ओबामाको एउटा प्रमुख उपलब्धि इरानसँगको सम्झौताको आलोचनाले ट्रम्पलाई चुनावी अभियानका क्रममा त फाइदै भयो होला तर त्यो सम्झौता साँच्चै नै भंग गर्दा त्यसले संसारलाई धेरै बढी खतरनाक बनाउनसक्छ । ट्रम्पको जलवायु परिवर्तन सम्बन्धी दृष्टिकोण अर्को समस्यामूलक छ । उनले ग्रिनहाउस ग्यास प्रदूषण कम गर्न र विनाशकारी जलवायु परिवर्तनमा छेकबार लगाउने पेरिस जलवायु सम्झौताबाट बाहिरिने इरादा व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनका विषयको मुखर विरोधी मेरोन इबेललाई अमेरिकी वातावरण संरक्षण निकायको सुपरिवेक्षणको जिम्मेवारी सुमिपसकेका छन् ।
ट्रम्पले मानवीय कारणबाट जलवायु परिवर्तनमा प्रभाव परेको धारणा चीनले अमेरिकी उद्योगहरूलाई कम प्रतिस्पर्धात्मक बनाउन फैलाएको हल्ला हो भन्ने तर्कहीन विश्वासमा आधारित छ । यो ट्रम्पले चीनमाथि लगाएको सामान्य आरोपमात्र हैन । विशेषगरी, व्यापारका हकमा चीनप्रति उनको विद्वेषपूर्ण दृष्टिकोणले अहिले नै तनावपूर्ण रहेको दुई पक्षीय सम्बन्धमा थप हानि हुनेछ र त्यसले बहुराष्ट्रिय अमेरिकी कम्पनी एवं अमेरिकाका मित्रहरूलाई उत्तिकै हानि पुर्याउँछ । ट्रम्पको राष्ट्रपतित्वले एक प्रकारको अस्तित्वमै संकट उत्पन्न पनि गर्दैछ । मुस्लिम, मेक्सिकन, महिला र अपाङ्गता भएका व्यक्तिहरूजस्ता पछाडि पारिएका समूहप्रति उनको अपमानजनक टिप्पणी अमेरिकाको मौलिक परिचय र विश्वमा स्थान तथा पश्चिमी मुलुकहरूलाई आबद्ध गर्ने मूल्यविपरीत हो ।
अमेरिकी नेतृत्व समाप्त भयो भने सन् १९४५ पछिको विश्व व्यवस्थाको अन्त्य हुनेछ भन्ने जर्मन चान्सलर एन्जला मर्केल सबैभन्दा पहिले बुझेको देखिन्छ । ट्रम्पको विजयप्रति उनको प्रतिक्रिया सशक्त र प्रखर रहेको छ – ‘जर्मनी र अमेरिका लोकतान्त्रिक मूल्यहरू, स्वतन्त्रता, कानुनको पालना र उत्पत्ति, छालाको रंग, धर्म, लिंग, यौनिक उत्प्रेरण वा राजनीतिक विचारमा भेदभाव नगर्ने मानवीय मर्यादाको सम्मानमा आधारित छ । ’ यिनै मूल्यमा आधारित रहेर ट्रम्पसँग सहकार्य गर्ने उनले घोषणा गरेकी छन् । अमेरिकाका सबै सहयोगी र मित्रहरूले सम्बोधन गर्नुपर्ने यसरी नै हो । मर्केलले जसरी नै हामी सबैले पश्चिमको मूल्य मान्यता र उपलब्धिका बारेमा दृढतापूर्वक उभिनुपर्छ । ट्रम्पले विधिको शासन र खुला समाजविरुद्ध कुनै क्रियाकलाप गरेमा त्यसको निन्दा गर्नुपर्छ । हामी मानवीयतालाई दूरगामी लाभ पुर्याउने खुला व्यापारका पक्षमा उभिनु  पनि पर्छ । र, हामीले इरानसँगको आणविक सम्झौता कायमै राख्ने र संसारमा आणविक अप्रसारका पक्षमा पनि संघर्ष गर्नैपर्छ । पूर्वी र मध्य युरोपमा रुसको दुस्साहसवादविरुद्ध दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याउनु पनि उत्तिकै आवश्यक छ । खासगरी, नर्थ एटलान्टिक ट्रिटीको धारा ५ लिथुवानिया, ल्याटविया, एस्टोनिया र पोल्यान्डलगायत अमेरिकाले अझै नेतृत्व गर्दैआएको सैनिक गठबन्धनका सबै सदस्यमाथि लागु हुन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ । ( यसमा वर्षौँदेखि हाम्रो सामूहिक प्रतिरक्षा गर्नुपर्ने योगदानबाट विमुख हुँदै गएका नाटोका युरोपेली सदस्यहरूले उनीहरूको योगदान बढाए भने यसबाट सहयोग पुग्नेछ ।) अन्त्यमा, हामी पश्चिमेलीहरू चीनको बनिया प्रवृत्ति र आन्तरिकरूपमा दमनकारी नीतिसँग हाम्रो असहमति जनाउन पछि हट्न हुँदैन तर साथै हामी चीनलाई पन्छाउने र हेप्ने हैन सहकार्य गर्न चाहन्छौँ भन्ने पनि स्पष्ट पार्नुपर्छ ।यो ‘पश्चिमी’ अवधारणा अमेरिकाको सबैभन्दा उत्तम उपलब्धिमध्ये एउटा हो (यद्यपि, अरू धेरै मुलुकको पनि यसमा योगदान छ ।) अमेरिकाले यो उपयुक्त, व्यावहारिक र पे्ररक उपलब्धिलाई इतिहासको रद्दीको टोकरीमा फाल्यो भने त्यो विश्वका निम्ति अमेरिकाले गरेको आत्मघातपूर्ण विध्वंश सिद्ध हुनेछ ।
(अक्स्फोर्ड विश्वविद्यालयका कुलपति )



Post a Comment

 
Top