0
अमेरिकाको राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा भारतमा हिन्दुवादीहरूले ट्रम्पको विजयका लागि पूजाअर्चना गरेका समाचारहरू आए। ट्रम्प स्वयंले पनि आफू हिन्दू धर्म र मोदीको ‘फ्यान’ भएको बताइरहेकै थिए। हिन्दू अतिवादीको ट्रम्प प्रेम र ट्रम्पको हिन्दुत्व मोह संयोगमात्र नहोलान्। यी दुई प्रवृत्तिमा केही रोचक समानता छन्। दुई वर्षअघि नरेन्द्र मोदी भारी मतले भारतको प्रधानमन्त्री चयन हुँदा समकालिन विश्वको एउटा जबरजस्त प्रवृत्ति मुखरित भएको हो। ‘पुरानो’ अभ्यास र परम्परा फेर्ने, आर्थिक समृद्धिलाई सर्वोपरी लक्ष्य बनाउने, सामाजिक संरचनाका जटिलतामा नभुल्ने र विकास वा समृद्धिको लक्ष्यमा अवरोध गर्नेहरूलाई नियन्त्रण गर्ने वाचाहरूमा मोदीले जनमत आफ्नो पक्षमा पारे। विकासको लोभलाग्दो सपनाको मूल्यमा भारतको गौरवका रूपमा स्थापित परस्पर सम्मान, भाइचारा, सहिष्णुता, समावेशिता र सामाजिक सुरक्षा ओझेलमा परे। सामाजिक, साँस्कृतिक वा आर्थिक सबै क्षेत्रमा जटिल विविधताले भरिएको मुलुकका जनता ती सबैलाई बिर्सेर मोदीको देशलाई धनी बनाउने नाराको पछि लागे। मोदीले चुनाव जिते। भारत सीमित धनाढ्यको चङ्गुलमा पुग्यो। निर्वाचित भएपछि भारतले कष्टपूर्वक दशकौँ लगाएर आर्जन गरेका सभ्यता र संस्कृतिका धरोहरलाई मोदीले एकपछि अर्को गर्दै आक्रमण गरे। सामाजिक सुरक्षा सरकारको प्राथमिकतामा परेन। गरिब किसान, श्रमिक, आदिवासी र महिलाको सुरक्षामा राज्य गम्भीर भएन। आफूलाई चुनौती दिने विपक्षी र संसदका प्रतिपक्षीमाथि सरकार असहिष्णु बन्यो। सरकारका कमी कमजोरी केलाउने र सचेत गराउने प्रेसलाई सरकारले कि त दबाबमा राखेको छ कि त किनिदिएको छ। उनका महत्वाकांक्षी वाचाहरू ‘जुमला’ मात्र भएको आरोप विपक्षीहरूले सानो तर सशक्त रूपमा लगाइरहेका छन्। बहुसंख्यक हिन्दुको मन जित्न मोदीले आयोजना गरेको योगा दिवस वा विदेशीलाई गीता उपहार दिएको समाचार मिडियामा छाइरहँदा किसान, आदिवासी, दलित, महिला, मुसलमान र अल्पसंख्यक समुदायले खेपिरहेको बढ्दो असुरक्षा र अवहेलना चर्चाको विषयवस्तु बन्दैन। हिन्दू अतिवादीहरूद्वारा गाई खाएको आरोपमा मुस्लिममाथि भएका आक्रमण वा दलित महिलामाथि बढ्दो रूपमा हुने गरेका बलात्कारका घटनालाई योगा र गीताका समाचारले ढपक्कै ढाकिदिएका छन्।
मोदीले घरमात्र बिगारेका छैनन्। छिमेकसँगको सम्बन्धमा पनि आगो लगाएका छन्। नेपालले भोगेको अमानवीय नाकाबन्दी त सानो उदाहरणमात्र होला। नजिकका छिमेकी पाकिस्तान र बंगालादेश सँगको भारतको सम्बन्ध रसातलमा पुगेको छ। मोदी भारतका लागि सही नेता होइनन् भन्ने सचेत र बुद्धिजीवी भारतवासीलाई चुनावको समयमा थाहा नभएको होइन। यद्यपी, लोकतान्त्रिक मुलुकहरूमा एउटा गजबको तर खतरनाक प्रवृत्तिले जरा गाडिरहेको छ। आपसी सद्भाव, सहिष्णुता, समावेशिता र सामाजिक सुरक्षाप्रति आम मानिसको चासो र विश्वास घटेको छ। मानिसहरू आफ्नो रोजगारी, आफ्नो सामाजिक सुरक्षा, आफ्नो सम्मान चाहन्छन्।
यो प्रवृत्तिलाई राम्ररी बुझेका अवसरवादी नेता जनमत आफ्नो पक्षमा पार्न सफल हुँदै गएका छन्। चुनावको बेला त झन् संख्याको गणनामा विवेक पराजित बन्दै गएको छ। डोनाल्ड ट्रम्प पछिल्लो उदाहरण हुन सक्छन्।
अमेरिकाका समस्या र त्यहाँका मानिसको मनोदशा नेपालमा बसेर अनुमान गर्न सजिलो छैन। डोनाल्ड ट्रम्पमाथि अमेरिकी जनताले देखाएको विश्वासका निश्चित आधार अवश्य छन्। यद्यपि अल्पसंख्यक धार्मिक समुदाय, आप्रवासी र महिलाप्रति ट्रम्पका दृष्टिकोणले उनको नेतृत्वमा अमेरिकाको सुखद् र सन्तुलित भविष्यको संकेत गर्दैनन्।
ट्रम्पको विजय लोकतान्त्रिक पद्दतिका निम्ति एउटा चुनौती पनि हो। राज्य र नाफामूलक कम्पनीका बीचमा तात्विक भिन्नता छ। नाफामूलक कम्पनीको ध्येय नाफा कमाउने र व्यवसाय विस्तार गर्ने हो। राज्यको उद्देश्य आर्थिक समृद्धि बढाउने मात्र होइन –समृद्धिको प्रतिफल सबैले समान रूपमा पाऊन् भन्ने सुनिश्चित गर्ने पनि हो। जुन राज्यले कमजोर, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको सुरक्षालाई आफ्नो मूल उद्देश्यभित्र समाहित गर्दैन र शक्तिशाली वा बहुसंख्यकको चासोलाई मात्र संरक्षण गर्न चाहन्छ त्यस्तो राज्यलाई लोकतान्त्रिक भन्न मिल्दैन। देश र जनसंख्या ठूलो भएपछि जिडिपीको आकार त्यसै पनि ठूलो हुन्छ। बढ्दै पनि जान्छ। राज्यको ढुकुटी ठूलो भएपछि सरकारले १÷२ सय ठूला हाइवे बनाउँछ, लडाकु विमान किन्छ, छिमेकीमाथि धावा बोल्छ र आम मानिसलाई देश धनी र बलियो भएको आभाष दिन खोज्छ।
यद्यपी देश धनी वा बलियो त्यो बेलामा हुन्छ जब त्यहाँका मानिसले समान रूपमा अवसर र सुरक्षा पाउँछन्। ट्रम्प वा मोदीको राजनीतिक आदर्श्भित्र अल्पसंख्यक प्रतिको सम्मान र उनीहरूको सुरक्षाका लागि कुनै ठाउँ छैन।
आफ्नो मुलुकभित्रका निश्चित वर्ग वा समुदायको हितलाई केन्द्रमा राख्ने डोनाल्ड ट्रम्पको नेतृत्वका नकारात्मक प्रभाव विश्वस्तरमा पनि देखिनसक्ने बलियो सम्भावना छ।
आजको विश्वका चुनौती कुनै एक देशका सीमानाभित्र कैद छैनन्। जसरी जलवायु परिवर्तनका कारण र परिणामले देशका सीमाना चिन्दैनन् त्यसैगरी आर्थिक सामाजिक असमानताका संरचना पनि देशका सीमाना पार गरेर फैलिएका छन्। तसर्थ, देश बलियो र धनी बनाउँछु भन्ने विकसित देशका मुलुकको नेतृत्वको अन्तर्राष्ट्रिय स्तरमा पनि निश्चित जिम्मेवारी छ।
जिम्मेवारीको प्रकृति वा यसको व्यवस्थापनको शैली नेता अनुसार फरक होला, तर विकसित देशका नेताले ‘मलाई विश्वको चासो छैन, आफ्नो देशलाई बलियो बनाउँछु” भन्नु गैरजिम्मेवारी र बेइमानी हो। यही सोच हाबी हुन जाँदा बहुसंख्यक बेलायती जनताले जनमत संग्रहमा युरोपेली संघबाट बाहिर निस्किने पक्षमा मत हाले। डोनाल्ड ट्रम्पले सुरक्षा र विकास सहयोगका नाममा विदेश जाने पैसा देशभित्र खर्च गर्ने संकल्प गरिसकेका छन्। जलवायु परिवर्तनको प्रभावलाई त ट्रम्पले ‘हावा गफ’ भनिसकेका छन्। बीसौँ शताब्दीसम्म राज्य व्यवस्थालाई चित्रण गर्ने क्रममा निरंकुशता र लोकतन्त्र भन्ने परस्पर विरोधी दुई शब्दहरूको सहारा लिने चलन थियो। एक्काइसौँ शताब्दीको पहिलो दशक बित्न लाग्दा यी शब्दहरू एकाएक अपर्याप्त बन्दैछन्। समकालीन अनुभवले के देखाइरहेको छ भने हामीले लोकतन्त्र भनेर सम्मान गरेको पद्दति त थाहै नपाई निरंकुश हुन सक्ने रहेछ, निरंकुश त त्यसै निरंकुश भइहाले। माक्र्सवाद वा त्यसमा आस्था राख्ने समाजशास्त्रीहरू भन्ने गर्छन् नेतृत्व व्यक्ति मात्र होइन। निश्चित सामाजिक धरातल वा भौतिक वस्तुस्थितिमा निश्चित नेतृत्वको जन्म हुन्छ। वास्तवमा मोदी वा ट्रम्पको उदयका पछाडि समकालीन विश्वका निश्चित परिस्थितिहरू जिम्मेवार छन्। यस्ता परिस्थितिको सम्बोधन गर्न लोकतान्त्रिक संस्था वा नेतृत्त्व सफल हुन सकेनन्। परिणामस्वरूप मोदी वा ट्रम्पको नेतृत्व हावी हुनपुग्यो। यो रोग नेपालमा पनि नसर्ला भन्न सकिन्न।
मोदी वा ट्रम्प कै शैलीमा नयाँ आभूषणमा सजिएका केही पुराना र असफल नेता ‘अरू कुरा छोडौँ, विकासका कुरा गरौँ’ भनेर जनमत आफ्नो पक्षमा पार्ने दाउमा छन्। विकासलाई सर्वोपरी लक्ष्य बनाउने लोभलाग्दो सर्तमा आफूलाई नयाँ खालको शक्ति भनेर दाबी गर्नेहरूले विकासलाई निजी कम्पनीको व्यवसाय जस्तो गरेर व्याख्या गरिरहेका छन्। सुरक्षा वा समृद्धिलाई राजनीतिबाट अलग्याउने भारत र अमेरिकामा सल्केको रोग नेपालमा पनि फैलन सक्छ। सबै होसियार हुन आवश्यक छ। हिजो नेपालस्थित अमेरिकी दूतावासले सभामुख ओनसरी घर्तीलगायत केही नेपालीहरूलाई बोलाएर अमेरिकामा भइरहेको मतगणनाको प्रसारण देखायो। उसको उद्देश्य त अमेरिकाको लोकतान्त्रिक निर्वाचनका बारेमा नेपालीलाई जानकार गराउने थियो । तर, प्रत्यक्ष प्रसारण हेर्नेहरूले भने सम्भवत त्यहाँ लोकतान्त्रिक प्रक्रियाबाटै लोकतन्त्रका मूलभूत मान्यता र आदर्श पराजित भएको देखे। डोनाल्ड ट्रम्पको विजयले लोकतन्त्र र लोकतान्त्रिक निर्वाचनप्रति आम मानिसको वितृष्णा पैदा नगरोस्। अहिलेलाई हामी सबैलाई यही शुभकामना!

Post a Comment

 
Top