0
सन्दर्भ ः २०५३ सालतिरको कुरा हो । विद्यालय तहमा अध्ययन गर्दा विवाहका विभिन्न प्रकारबारे एउटा पाठ अध्ययन गरिएको थियो । एक दिन ठट्टै ठट्टामा साथीभाइसँग कुराकानी गर्दा ‘मैले त भाउजु व्यहोर्ने विवाह गर्ने हो’ भनेर ठट्टा गरेको थिए । यो सन्दर्भलाई आज दामोदर पुडासैनी किशोरकृत ‘मायालु हुम्ला’
(२०७१) नियात्रा कृतिले सम्झाइदियो । केही वर्ष पहिला पोखरामा नियात्रा साहित्यमाथिकै पहिलो कार्यपत्र प्रस्तुत गर्ने सन्दर्भ पङ्क्तिकार मिलेको थियो । सो सन्दर्भ भन्दा अगाडि र पछाडि हालसम्म नियात्रा साहित्यका बारेमा भने पोखरामा कुनै चर्चा हुन सकिरहेको छैन । यस्तो सुन्दर संयोजनको अवसरमा पुडासैनी नै परेका थिए । उनकै पहिलो नियात्रा कृति ‘यात्राका प्रेमिल तरङ्गहरू’ कृतिमाथि पङ्क्तिकारले झण्डै पाँच हजार शब्दको कार्यपत्र प्रस्तुत गरेको थियो ।
नियात्रा साहित्यको अध्ययन गर्दा हुम्लाको सन्दर्भमा देवीचन्द्र श्रेष्ठको ‘हुम्ला बोल्छ मानसरोवरमा’ (२०३७) र श्रीकृष्ण गौतमको ‘घुम्टोभित्रको सयरङ्गी अनुहार हुम्ला’ (२०४२) पङ्क्तिकार जन्मनु पहिल्यै प्रकाशन भएका कृति हुन् । यसै क्रममा पछिल्लो समय किशोरको ‘मायालु हुम्ला’ बजारमा आएको छ । हुम्लालाई राम्ररी चिन्नका लागि एक पटक पढ्नै पर्ने पुस्तक हो ‘मायालु हुम्ला’ भन्दा दुई मत रहदैन भन्ने लागेको छ सोहीकारण अक्षरमार्फत स्पर्श गर्दाको हुम्लाको अर्गानिक स्वादलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
विषयप्रवेश ः दामोदर पुडासैनी किशोर को हो ? के गर्छ ? के लेख्छ ? अब चिनाइरहनुपर्ने नाम होइन । यसर्थ फलाना, फलाना र फलाना भनिरहनु आवश्यक छैन । उनको पछिल्लो ‘मायालु हुम्ला’ नियात्रा कृतिका बारेमा थोरबहुत चर्चा गर्नु नै प्रस्तुत आलेखको मुख्य उद्देश्य हो । प्रस्तुत कृति कस्ती होलिन् हँ हुम्ला ? कुतुहलताको पर्दा भित्रैबाट अगाडि बढेको छ । धेरै पटकका अर्धविरामले धेरै कुतुहलता पैदा गराउँदै गएर फरक–फरक १८ वटा उपशीर्षकमा मायालु हुम्लाको अर्गानिक स्वादलाई किशोरले सोचे जस्तो होइन जीवन भन्दै पूर्णविराम लगाएका छन् ।
२०६५ साल भदौको महिना किशोरको यात्रा काठमाडौंबाट हुम्लाका लागि शुरु भएको छ । उनी काठमाडौंबाट उडेपछि राँझा विमानस्थल पुगेर नेपालगञ्जको ताज होटलमा बास बस्दासम्मको कुतुहलतामा उनले पहिलो अर्धबिराम लगाएका छन् । उनको पहिलो अर्धबिरामबाटै जीवनका विविध रूप रङगलाई समेटेका छन् । चाहे जीवन यात्राका हुन्, चाहे नेपालको शासन पद्धति र संस्कार । यस कृतिमा लेखक हुम्लाका सिमकोट, छिप्रा, तोर्पा, लिमाटाङ, रल्लिङ, लाङ्दुकलगायतका स्थानमा बसेर एक महिनाको अवधिमा त्यहाँको परिवेश, संस्कार, संस्कृति, भाषा, भेष र जीवनका आयामलाई तत्स्थानीय अनुभूतिजन्यात्मक शैलीमा प्रस्तुत गर्न सफल भएका छन् । चाहे स्वदेशका कुरा हुन् चाहे विदेशका त्यहाँको परिवेश र जनजीवनका सकारात्मक र नकारात्मक पक्षलाई जस्ताको तस्तै प्रस्तुत गर्नु नै किशोरको वाङ्मयिक यात्राको सवल पक्ष हो । सोही कारण उनका नियात्रा आम पाठकका लागि रुचिकर बनेका छन् । किशोरले नेपाली माटोमा हिँडेको बाटो बिर्सेका छैनन् । किनकि मान्छे जन्मेपछि जन्मदाता र जन्मभूमिप्रति ऋणि हुन्छ ।
त्यो सबैलाई थाहा भएको कुरा हो । थाहा हुँदा–हुँदै कतिले थाहा नै नपाए जस्तो गर्दछन् तर किशोर जन्मदाता र जन्मभूमिप्रति सधै श्रद्धा राख्ने स्रष्टा हुन् सोही कारण उनले हुम्लालाई आम नेपालीका माझ उतारे । उनको उताराइमा एउटा यायावरीय जीवनको प्रदर्शन मात्रै छैन । एउटा कारुणिक कथा र कहानी प्रस्तुत भएको छ । २१ औं शताब्दीका हामी गर्वका साथ भन्छौं ७५ जिल्लामध्ये हुम्ला अति विकट जिल्ला भनेर । हामीलाई त्यो बाहेक अरु केही थाहा छैन । जुन ठाउँमा विद्यमान देवी, देवता, धामी, मस्टो जस्ता दैवीशक्तिलाई पुजेर जीवन धराशायी बनाइरहेका मान्छेहरूको जीवन गाथा कति कारुणिक छ । धर्मभिरु जहाँ पनि छन्, उनीहरू धर्मका नाममा सधै शोषण गरिरहे झै हुम्लामा पनि शोषण गरिरहेका छन् । शिव मन्दिरमा पूजा गर्ने पुजारी महिला अधिकृतलाई छामछुम पारेपछि त्यहाँबाट निकालिएर खार्पुनाथ मन्दिरको पुजारी बन्न पुग्छन्, गाई पालेर दुधको व्यापार गर्छन् । पुजारी मात्रै होइन, धामीहरू न्याय दिने नाममा मानिसलाई पशुवत् व्यवहार गरिरहेका छन् । धर्मका नाममा गरिएको शोषणको चरमता हुम्लामा छ । जहाँ न्याय माग्दा मुखमा घाँस च्यापेर चार हातखुट्टा टेकेर धामीसमक्ष प्रस्तुत हुनुपर्छ ।
धामी रिसाए देउता रिसाउछन्, देउता रिसाए अनिष्ठ हुन्छ भनेर उनीहरूलाई भ्रम छरिएको छ । स्वास्थ्य, खेती र जनावर बिग्रेको लट्टा फुकाएर पूजा गरेपछि निको हुने भ्रमले उनीहरूलाई जाँगेको छ । पाहुनालाई पूर्णीमाको परिकार नल खानका लागि भाग लगाइएको छ । नेपालगञ्जबाट झण्डै एक महिना र सर्खेतबाट १८÷२० दिनमा पुग्न सकिने हुम्ला अन्य चेतनाले जति थलिएको छ तर राजनीतिक चेतनाप्रति अलिअलि चासो देखिन्छ, त्यसैले महालेखा भनेको माले हो कि, एमाले पार्टीको हो भनेर प्रश्न गर्दछन् । यो मात्रै होइन, कर्मचारीतन्त्र र राजनीतिक दबदबाले जनतामाथि भइरहेको शोषणलाई उनले उदाङ्ग पारेका छन् । चिलगाडी चढ्नका लागि पाइने दुःख, राँझा विमानस्थल वरिपरिका व्यापारीको चलाखी, विमानस्थलका कर्मचारीको कालोबजारी, लाग्ने भाडाभन्दा १० हजार बढी तिरेर जाने हुम्लीको कथा, काठमाडौंमा पाँच सयमा पाइने सिमेन्ट हुम्ला पुग्दा १० हजार पुग्नु र त्यही सिमेन्टले सोलिङ गरिनु, जनयुद्धको नाममा शान्ति प्रक्रियामा आउने बेलामा कर्णालीको पूल भत्कँइदिँदा हुम्लीले व्यहोर्नु परेको दर्दनाक पीडा, टुइनमा चर्को शुल्क तिरेर ज्यानको बाजी राख्नु परेको पीडा लेखक आफैले भोगेका छन् र ज्यानको आस मारेर परिवार सम्झेका छन् ।
किशोरको ‘मायालु हुम्ला’मा गरिबी, अशिक्षा, रोग, भोक, शोक र अज्ञानताले थलिएका हुम्लीको दुरावस्था छ । द्वन्द्वको दोहोरो मारमा परेर नयाँ मान्छे देख्ने बित्तिकै खुर्मुरिदै ज्यानको आस मारेर दौडने हुम्लीको दर्दनाक परिस्थितिलाई चित्रण गरिएको छ । बहुपति प्रथाले परेको असरलाई किशारले किशोर शैलीमा प्रस्तुत गरेका छन् । कृति अध्ययन गर्दै जाँदा कतै यस्तो पनि छ है मेरो देशमा ? भनेर आम पाठकलाई उदेक लाग्छ । किनकि हाम्रै विकट भेगका बुबाआमा, दाजुभाइ, दिदीबहिनी एउटा क्यामेरा, टेलिभिजन, मोवाइल लेख्दा भगवान् सम्झन्छन् । टिभीमा नेता, कार्यकर्ता र भगवान्का तस्विर देख्दा श्रद्धाले नमन गर्दछन् । क्यामेराले फोटो खिचेर तत्काल हेर्न पाउँदा उनीहरू चित पर्दछन् । भाउजु व्यहोर्ने प्रथा, जारी प्रर्था, स्थानीय हुन् वा सरकारी कर्मचारी जनावरका लागि बनाइएको लागु पदार्थ झिङ्गिनले हुम्लीको जीवन नास गराउनु दर्दनाक परिस्थिति हो । अझै घर वरिपरि दिसैदिसाका सन्दर्भमा लादेवाडाका एक हुम्लीको गर्भिलो तर्क ‘जसका जहानले धेरै खर्च लड्काउन पाउन्या, छन् उनकै वरिपरि त हुन्छ गुहु, खानै नपाउनेले के हगुन् त ?’ छ ।
यसरी किशोरले हिमाली ग्रामीण समाजको वास्तविक रूपलाई जस्ताको तस्तै देखाएर व्यङ्ग्य गरेका छन्, नेपाललाई स्वीजरल्याण्ड बनाउछौं भन्नेहरूलाई । सत्ताका लागि मरिहत्ये गर्नेहरू हो ! समुन्नत नेपाल बनाउछौं भन्नेहरू ! तिमीहरू बिऊँझ । एक पटक बिऊझेर आफ्नै हुम्लालाई स्पर्श गरेर हेर त ! हाम्रा दाजुभाइ दिदीबहिनी एक छाक भात खानका लागि कति दुःख गरेका छन् ? ठूला टाउके, नेतागिरी र दादागिरी गर्नेहरूको जहाँ पनि दबदबा रहेको छ । सरकारको नुनपानी खाएकाहरू बसुन्जेल ढुक्कले बस्न पाउनुप¥यो भनेर कोहीलाई ४० किलो, कोहीलाई पाँच किलो र कोहीलाई रित्तो हात फ¥काई रहेको असमान व्यवहार, आवत–जावत गर्नका लागि बाटो, घाटो, पुल पुलेसो नभएर कति दुःख पाएका छन् भनेर आक्रोश पोख्दै किशारले प्रस्तुत कृतिमा हुम्लीहरूको विपन्नता र विद्रुपताको अर्गानिक स्वादलाई विश्व मानचित्र सामु पु¥याउने ध्ययेले प्रस्तुत गरेका छन् । किशोरले प्रस्तुत कृतिमा हुम्ली संस्कार, संस्कृतिका बारेमा पनि चर्चा गरेका छन् । उनीहरूको महान पर्व अनन्ते पूर्णिमा र पूर्णीमाका सन्दर्भमा लोहासूर मन्दिरमा मेला भर्न जानेका कथा । मेलामा गाउने डेउडाको चर्चा पनि उनले गरेका छन् । प्रस्तुत कृतिमा हुम्लाको आर्थिक, सांस्कृतिक, राजनीतिक पक्षलाई जस्ताको तस्तै प्रस्तुत गरेका किशारले सोझासाझा जनताले यातना पाएका कुुरालाई सरल भाषाशैलीमा प्रस्तुत गरेका छन् । सरल कथावस्तु पढ्दा उदेक लाग्छ । करूणाको भाव जागेर आउछ । उनी हुम्लाको वातावरण अनुभुत गराउन सफल भएका छन् यसर्थ उनको यो कदम स्वागत योग्य छ । किशोरको लेखनको शिल्प, नियात्राका हरेक थुँगाथुँगाको गुँथाइका बारेमा बोलिरहनु आवश्यक छैन । नेपाली जनजीवनका झर्रा शब्दको जस्ताको तस्तै प्रयोग, भाषिकागत भेदले पारेको प्रभाव उनको लेखनमा पाइन्छ ।
निष्कर्ष ः दामोदर पुडासैनी किशोर सदासर्वदा विकृति र विसङ्गति विरुद्ध छाती खोलेर विवेकको मसी खर्चेर लड्ने श्रष्टा हुन् । हिजोको शासन पद्धति विरुद्ध लडेका दशरथ, धर्मभक्त, गंगालाल र शुक्रराजको लडाइ भन्दा कम छैन किशोरको लडाई । यसर्थ किशोर तिम्रो प्रस्तुत कृति नियात्रा साहित्यमा एउटा कोशेढुंगा सावित भइसकेको छ । साच्चै लेखन कलाको सही मूल्याङ्कन हुँदो हो भने प्रस्तुत कृति सर्वोत्कृष्ट ठानिएका पुरस्कारले विभुषित गरिनुपर्ने कृति हो । विडम्बना हामी कहाँ त्यो संस्कारको विकास हुन सकेको छैन । साम, दाम, दण्ड, भेद अपनाएर शिरको टोपी झिकेर जुत्ता पुच्छ पुग्ने गैह्र साहित्यिकहरू यो देशका नामुद साहित्यकार टोपलिन्छन् र त उदेक लाग्छ । तर किशोर तिमी हार नखाऊ आम पाठकले दिएका यिनै पुरस्कार तिम्रा जीवनका ऐतिहासिक धरोहर हुन् यसर्थ निरन्तर साधनामा लाग तिमीलाई सतत् शुभकामना ।







Post a Comment

 
Top