0
गोल्डेन न्यूज संवाददाता
नेपालका तीनवटै स्ट्राइकर नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेपछि नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबारको खेलमा ब्रुनईलाई ३–० गोलअन्तगरले पराजित गरेको छ। यो जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। मलेसियाको कोचिङस्थित सरावाक रंगशालामा भएको खेलमा नेपालले १० वर्षअघि एएफसी च्यालेन्ज कपमा ब्रुनाईबाट भोगेकोे पराजयको बदला पनि लियो। सन् २००६ मा बंगलादेशमा आयोजना भएको च्यालेन्ज कपमा नेपाल २–१ ले ब्रुनाईसँग पराजित भएको थियो। समूह ‘ए’ मा नेपाललाई पहिलो जित दिलाउन स्ट्राइकर त्रेय नवयुग, भरत र विमलले उत्कृष्ट प्रदर्शन गरे। आजको खेलमा मिडफिल्डमा नायक हेमन गुरुङ पनि थिए। डिफेन्डर अनन्त तामाङको खेल पनि आज स्तरिय थियो। नेपाली खेलाडी टिमोर लेस्टेविरूद्धको खेलमा भन्दा आज मैदानमा निकै सक्रिय देखिन्थे। नेपालले पहिलो हाफमा गोलको निश्चित २ वटा अवसर गुमाएको थियो। तर, पहिलो हाफको निर्धारित ४५ मिनेटपछि थप गरिएको अतिरिक्त २ मिनेटको समयमा स्टार स्ट्राइकर नवयुगले गोल गर्दै नेपाललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। बाँकी दुई गोल ७२ मिनेटमा भरत र ८० मिनेटमा विमल घर्तीमगरले गरे। यी दुई स्टार खेलाडीले ८ मिनेट भित्र गोल गरेपछि ब्रुनईका खेलाडी स्तब्ध बनेका थिए। नेपाली मिडफिल्डर हेमन गुरुङले आफ्ना सहयोगीसँग बलको ‘पोसेसन’ लाई दुरुस्त गरेपछि नेपालले पहिलो गोलको अवसर प्राप्त गरेको थियो। उनले डिबक्स बाहिरबाट गरेको प्रहार ब््रुनईका मिडफिल्डर हाइरोल अजामनले डिबक्स भित्र ‘क्लियर’ गर्न नसक्दा त्यही उभिएका नवयुगले गोलमा परिणत गरेका थिए। यो गोल नेपाली खेलाडीले एकअर्काबीच ‘८ टच’ खेलेपछि भएको थियो। दोस्रो हाफमा केही सक्रियता देखाएको ब्रुनाईविरूद्ध तीन जनै स्ट्राइकरले राम्रो तालमेल देखाएका थिए। ७२ मिनेटमा विमलको कर्नर किकमा डिबक्स भित्र उभिएका मिडफिल्डर सुजल श्रेष्ठले हेडिङ पास मिलाइदिएपछि भरतले उत्कृष्ट गोल गरेका थिए। भरतलाई आजको खेलमा सुरुदेखि नै टिममा स्थान दिइएको थियो। टिमोरविरूद्धको खेलमा उनी दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए। खेलको ८० मिनेटमा नेपाललाई पेनाल्टीको अवसर जुरेको थियो, जब ब्रुनईका दुई डिफेन्डरले विमललाई डिबक्स भित्र लडाए। भरतले अगाडि बढाएको बललाई नवयुगले डिबक्सभित्र बसेका विमललाई गोलका लागि पास मिलाएका थिए। तर, उनलाई डिबक्समै ब्रुनाईका डिफेन्डरले पछारेपछि नेपालले गोलको अवसर पाएको थियो। जसलाई विमलले उत्कृष्ट ढंगले गोलमा परिणत गरे। नेपाली गोलरक्षक किरण चेम्जोङले दुईवटा उत्कृष्ट बचाउ गरे। नेपालले ब्रुनईलाई ३–० ले पराजित गर्यो। तर पनि ब्रुनई गोलअन्तरका आधारमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। ब्रुनईले पहिलो खेलमा टिमोर लेस्टेलाई ४–० गोलले हराएको थियो। नेपाललाई भने टिमोरले गोलरहित बराबरीमा रोकेको थियो।






Post a Comment

 
Top