0
डा. मित्र परियार
प्रोफेसर एड्रियन हेस्टिङ्सले सन् १९९७ को आफ्नो पुस्तकमा लेखेका छन्, ‘पहिचान’ भन्ने विषय विश्वभरी मुलतः चार अन्तर सम्बन्धित सवालहरूसंग गाँसिएका हुन्छन्स् जाती, राष्ट्र, राष्ट्रवाद र धर्म। दक्षिण एसियाको विषेश परिस्थितिमा उल्लेखित सबै बिषयसंग जोडिएको विषय हो ’कास्ट’, अर्थात् जात। र उनीहरूको राजनैतिक अडान जेजस्तो भएपनि नेपालमा पहिचानको लडाईं लड्नेहरू सैद्धान्तिक र व्यवाहारिक दुवै रुपमा जातीय संरचनाबाट अलग छैनन्। जातीय, सांस्कृतिक र क्षेत्रीय पहिचानको पेचिलो बिषयमा राजनीतिक रस्साकस्सी चलिरहँदा एकपटक आफ्नो अनुहार ऐनामा हेरेर आँफैलाई सोध्न मन लाग्छस् मेरो पहिचान के हो? के होइन?
 
पहिचान दुई थरी हुुन् व्यक्तिगत र सामुहिक। मजस्ता कथित ‘तल्लो जात’ वा दलितको पहिचानको सवाल उठाउन मिल्छ या मिल्दैन?   हालसालै दमाई जातिका अगुवाले राजधानिमा एक पञ्चेबाजा महोत्सव आयोजना गरे। विभिन्न दलका भातृसंगठन, गैरसरकारी संस्थाहरूका अगुवाहरु यसमा सक्रिय रहे। म सोच्छु–के यो हाम्रो जातिको साँस्कृतिक पहिचानको वकालत थियो? खास गरी नेपाली लोक गीतसंगीतको ताज मानिने पञ्चे र नौमती बाजा ‘दमाई बाजा’को नामले पनि परिचित छ। यो मेरो समुदायको पहिचान गर्वको बिषय हो या त्याज्य? म त्यस्तै उत्तर खोजिरहेछु, जसरी दक्षिण भारतका परैयार जातिले आफूले बजाउने ड्रमका बारे खोजिरहेछन्। बाजा निश्चय पनि लोकप्रिय छ, नेपाली साँस्कृतिक धरोहर मानिन्छ। तर यहिसँग टाँसिएर आएको ‘स्टिग्मा’ले हामीलाई विषालु साँपले झैँ डस्छ। युगौँदेखि धेरै हिसाबले हामीलाई अपांग बनाएको छ। त्यसैले त अहिले धेरै दमाई युवा पञ्चेबाजा वा नौमती बाजा छुँदैनन्। बरु भारी बोकेर, बारी खनेर, खोरिया फाडेर, खाडीमा हाड घोटेर जिविका गर्छन्। विष्टको विवाह वा अन्य मंगल अवसरमा बाजा बजाएर दुइचार पैसा त आउला, मिठो मसिनो खाने अवसर पनि मिल्ला। तर पञ्चेबाजाको रागले जंगबहादुरको मुलुकी ऐनको भूत बिउँताउँछ। अलग्गै बसेर खानु पर्छ। झुक्केर अरुको खानापानी छोइयो भने बाजा भाचिन्छन, साधकहरू कुटिन्छन। मैले बालाकालमा आफ्नो गाउँमा यो प्रत्यक्ष देखेको छु । तीन दशकपछि पनि कतिपय गाउँशहरमा यो थिति, यो थिचोमिचो यथावतै छ। जुन पेशाले सम्मान होइन अपमान दिन्छ, जुन चिज छुँदा आफू झनै अछुत कहलिन्छ, जुन साधना गर्दा शरीरक र मानसिक यातना चुपचाप सहनु पर्छ–त्यही चिजलाई हामी कसरी आफ्नो पहिचानको साधन मान्ने?
आफ्नो आत्मसम्मानको मलामी आँफै कसरी जानू?
 
पहिला म जात ढाँट्ने दलितहरूप्रति रुष्ट हुन्थेँ। दलित मुक्तिको निम्ति राजनीति गर्नेहरू, एनजिओ खोल्नेहरू समेतले बाहुन क्षेत्रीको थर सापटी लिएर काठमाडौंमा डेरा लिनु कायरता ठान्दथे। अझै यस्तो धारणा राख्ने दलित र गैरदलितको धेरै छन्। तर आफ्नो थरले खासै फरक पार्ने थिएन भने किन त्यसलाई परिवर्तन गर्थे र सचेत मानिसहरू? अर्थात, पञ्चेबाजामा मात्र होइन, लुगा सिउने पेसामा मात्रै पनि होइन, स्वयम मेरै थरमा समेत समस्या छ। मेरो पहिचानले मलाई निरन्तर खेदिरहेको हुन्छ। मेरै जातीय पहिचान मलाई संभावित अपमानको र उस्तै परे हिंसाको जोखिममा पुर्याउँछ। अझै पनि धेरै नेपाली भूभागमा मैले खाएको चियाको गिलास मलाई नै मझाउँछन्। हुन त जात एक ’सोसल कन्स्ट्रक्ट’ हो। हाम्रो समाजमा जातजातिलाई अत्यन्तै ठूलो महत्व दिइन्छ, परन्तु यसको वैज्ञानिक  आधार छैन। जात त फगत् कृत्रिम कुरो हो, धर्मको आडमा राजनीति गर्दै निश्चित समूह वा समुदायलाई युगौँसम्म दास बनाइराख्ने प्रपञ्च हो। मानिस सबै एकै प्रजाति हुन्। यदि जात भनेको गाई र भैंसी भनेजस्तो फरक जन्तु हुन्थे भने अन्तरजातीय विवाह गर्नेहरुको कुनै बालच्चा संभव हुँदैन थियो।  मेरो डिएनए चेक गराएर मेरा सन्तान मेरै हुन् कि होइनन् भन्ने खोट्याउन सकिन्छ, तर जात छुट्ट्याउन सकिन्न। झट्ट हेर्दा म आर्य मुलका जुन जात भनेर पनि सजिलै ’पास’ हुनेछु। शिक्षित मान्छे पनि हुँ। देशविदेश घुमेको पनि छु। तर, चियापसलको साहुनीलाई मेरो व्यक्तिगत परिचयको खासै सरोकार हुँदैन। उनलाई त मतलब हुन्छ, कि म नेपालको परम्परागत जातीय भ¥याङ्मा मेरो स्थान कहाँनेर छ। यो कुरो पत्तो लगाउने सजिलो उपाय भनेको मेरो थर सोध्नु हो। शायद, यही रोगबाट केहि मुक्ति मिलोस् भनेर नै होला दक्षिण भारतका तामिल समुदायका मानिस आफ्नो थर जात अनुसार राख्दैनन्। बरु आफ्नो नामको पछाडि बाउबाजेका अघिल्लो नाम थप्दै लान्छन्। तर नेपालमा सुपरिचित नभएका थर कमै होलान्। र हामी यति जातिवादी भएका छौँ कि नयाँ मान्छे भेट्नेबित्तिकै पुरै नाम नसोधेर ‘तपाइको थर के पर्यो’ भन्छौँ।   चियापसलामा, कतिपय देवालयमा, निजी घरमा मैले बढो सिद्धान्तवादी भएर सत्य बोलुँ वा व्यवहारिक बनेर आफ्नो जात ढाटुँ? पहिचानको जगेर्ना गर्ने निहुँमा जिउधनको जोखिम मोल्ने कि तत्कालका निम्ति पहिचान लुकाएर संभावित खतराहरूबाट मुक्त हुने?  अर्थात, मलाई समाजले, धर्मले, राजनीतिले ठेलेर यस्तो ठाउँमा पुर्याइदिएको छ कि आफ्नो पहिचान आँफैलाई विषवृक्ष बनेको छ। यसलाई मैले जगेर्ना गरौँ कि भाँचेर मिल्काउँ? कतिपय दलित मभन्दा धेरै अगाडि छन् र आफ्नो बाटो रोजिसकेका छन्। कसैले आफ्नो थर ’ट्विक’ गरेर कथित उच्च जातको परिचय लिएका छन्। दमाईहरूबीच पनि अचेल ‘घले’, ’कार्की’, ‘गौतम’ हरू प्रशस्तै भेटिन थालेका छन्। चाहे यसलाई मानिसले जुनसुकै रुपमा बुझुन, यो अत्यन्तै विवेधकारी समाजंसग जुध्ने एक हतियार हो। अझ कति दलितले हिन्दु धर्म त्यागेर इसाई धर्मतिर लागेका छन्। जुन धर्ममा पूजा गर्न मन्दिर छिर्न पाइदैन, जुन धर्मका पुरोहित आफ्नो आँगनमा टेक्दैनन्, जुन धर्मले वर्णव्यवस्था गरेर मान्छे मान्छे बीच ठूला पर्खाल निर्माण गरेको छ–त्यसलाई त्याग्नु कुनै आश्चर्यको बिषय भएन। हुन त बाइबल स्वयंमा पनि मान्छेबीच खाडल निर्माण गरिएको छ। इसाईहरूको पनि विश्वभरि मानवसंहार गरेको रक्तरन्जित इतिहास छ। परन्तु त्यो सामान्य दलितलाई यी सारा कुरा के थाहा? न उसले वेद पढेको थियो, न त बाइबल नै पढेर आफ्नो धारणा बनाउन सक्छ। तर पादरीहरूको कुराले आकर्षित हुन्छ। मन्दिरमा जस्तो चर्चामा तँ यो जात होस्, त्यसैले बाहिरै बस् वा यो चिज नछो भनिँदैन। परियारको पहिचानले पोल्न नछाडेपछि  पिटरमा रुपान्तरित भएर शायद उनीहरूले केहि खुकुलो महसुस गरेका छन्। अवश्य पनि, फगत पैसाको लोभमा फस्नेहरु पनि केहि होलान्।  तर, धेरै जसो दलितको सवालमा मूलतस् आत्मसम्मानको लोभ हो। यसो भनेर मैले धर्म परिवर्तनको वकालत गरिराखेको छैन। तर यो लहर रोक्ने हो भने दलितले पनि आफ्नो पहिचानबाट सधैं भागी हिंड्न पर्ने परिस्थिती अन्त्य गर्ने तर्फ सबैले सोच्नुपर्छ। अन्त्यमा, मेरो आग्रह के हो भने पहिचान भन्ने चिज सोचेभन्दा निक्कै जटिल हुन्छ। चर्को स्वरमा चिच्याउनेहरूको मात्रै पहिचान महत्वपूर्ण हुने होइन। नयाँ नेपालका दलितले ससम्मान आफ्नो धार्मिक–साँस्कृतिक पहिचान बचाउने ठाउँ पाउने छन् कि त्यसलाई परिवर्तन गर्न वाध्य हुने छन? यतातर्फ पनि ध्यान जाओस!
सिड्नी, अस्ट्रेलिया




Post a Comment

 
Top