0
विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनले भगवद्गीता पढेपछि पूर्वीय सभ्यताप्रति आपूm चिरऋणी भएको र भगवद्गीता उत्प्रेरणाको स्रोत भएको दाबी गरे । विश्वचर्चित महापुरूष थोरोले ‘आपूm प्रत्येक उषाकाल गीताको ज्ञानामृतले स्नान गर्ने कुरा स्वीकारे । प्रसिद्ध ब्रिटिस कवि टी. एस. इलियटले श्रीमद्भगवद्गीताको गहन अध्ययन गरिसकेपछि ठोस निष्कर्ष निकाले, ‘पूर्वीय दार्शनिकका सामु पश्चिमी दार्श्निकहरु भर्खरै स्कुल जाने उमेर भएका बच्चाजस्ता प्रतीत हुन्छन् । गीताको मुक्तकण्ठले प्रशंसा गर्नेहरुको सूची लामो छ । पाश्चात्य मनीषीहरुद्वारा यतिविघ्न प्रशंसित गीता हाम्रो भूमिमा आइपुग्दा ‘भिल्लको देशमा मणि’भैmँ भएको छ । अभैm पनि गाउँघरमा कहावत छ, ‘गीता पढे बौलाइन्छ ।’ न गीता उपदेश गर्ने जोगी हुन्, न सुन्ने जोगी हुन् । ‘गीता पढे जोगी नै भइन्छ’ भन्ने अफवाह यति हुँदाहुँदै पनि विद्यमान छ । वेदव्यासकै भनाइमा सारा उपनिषद्हरु गाई हुन्, कृष्ण दुहुनेवाला, गीता दूध र अर्जुन पिउनेवाला हुन् । गीताको महासागरमा पसेर मोती निकाल्नु निःसन्देह अप्ठ्यारो काम हो । अझ, त्यो विरासत सही ढङ्गले सजाएर बाँड्नु अर्को खुबी हो । ‘सुदृढ मन, सुन्दर जीवन’ का लेखक आचार्य लक्ष्मण भण्डारी त्यो खुबीका मालिकका रुपमा देखा परेका छन् ।विषादग्रस्त अर्जुनलाई भगवान् श्रीकृष्णले उपदेश गरेको गीता अनेकौँ टीकाटिप्पणी र भाष्यले सुशोभित छ । आचार्य लक्ष्मण भण्डारीले गीताको टीका गरेका छैनन्, अपितु गीतावृक्षका केही कलिला पालुवा टिपेर जडीबुटी बनाएका छन् ।अनमोल दृष्टान्त, सनातन जीवनदर्शन, जीवनमूल्य, हामी हाँसे संसार हाँस्छ र संसार जित्ने सूत्रका प्रणेता भण्डारी ‘सुदृढ मन, सुन्दर जीवन’ लिएर उपस्थित भएका छन् । २२३ पृष्ठको पुस्तकमा २६ वटा अलग शीर्षकका अध्यायहरु छन् । तिनैमा पुस्तक विस्तारिएको छ । अध्यायहरुमा भण्डारी ब्युँझाउँछन्, ‘जीवन अप्ठ्याराहरुदेखि भाग्नुको नाम होइन, लड्नुको अर्को नाम हो ।’ यसलाई प्रस्ट पार्न भण्डारीले चारवटा मैनबत्तीको सन्दर्भ सापटी मागेका छन् । अर्को अध्याय बोल्छ ः ‘मृत्युभन्दा मृत्युको भय खतरनाक हुन्छ । ओशोको ‘मेँ मृत्यु सिखाता हुँ’ को स्टायलमा । शान्तिका लागि संशय छोडेर, समर्पणको बाटो रोज्ने आग्रह छ, भण्डारीको । छैटौँ अध्यायमा आस्तिकता र नास्तिकताको विशद विश्लेषण गरेर भण्डारी निष्कर्ष निकाल्छन्, ‘नास्तिकता अहङ्कारको दर्शन हो भने आस्तिकता स्वीकारको दर्शन हो ।’भण्डारीको अघिल्लो पुस्तक ‘संसार जित्ने सूत्र’मा संसार जित्न आफ्नै मन जित्नुपर्ने कुरा अघि सारिएको थियो । पाठकहरुलाई लाग्दो हो, भण्डारीले मन जित्ने तरिका चाहिँ भन्न बिर्से । त्यसको क्षतिपूर्ति सातौँ अध्यायमा गर्दै गीताको पङ्क्ति अघि सारिएको छ, ‘अभ्यासेन तु वैराग्येन च गृह्यते ।’आठौँ अध्यायमा कार्लमाक्र्सको द्वन्द्वात्मक भौतिकवादको र गीताको साम्यवादको साम्य वैषम्यको तुलना गरिएको छ । भारतका सुप्रतिष्ठित सन्त करपात्रीजी महाराजले ‘माक्र्सवाद और रामराज्य’मा लेखेका छन्, ‘माक्र्सवादमे दोदो‘.नहीँनहीँ’ होता है, रामराज्यमे लोलो‘.नहीँनहीँ’ होती है । भण्डारीले जड र चेतनको भेदभावसमेत निराकरण गरेका छन् । सर्वत्र उपस्थित भएको परमात्माको दर्शन नहुनुमा विश्वासको अभावलाई कारणको रुपमा दर्साएको छ, नवौँ अध्यायले । यसलाई पढेपछि सारा पढिन्छ, त्यो नपढेसम्म पढ्नुको अर्थ भण्डारी देख्दैनन् । भण्डारीको बुझाइमा जागरण खहरेको आवाज होइन, समुद्रको गहिराइ हो । गीताकै भाषामा भन्दा ‘स्थितप्रज्ञता’ हो । गीताको लक्ष्य मुक्ति हो, कर्म होइन । अझ भनूँ भने कर्मबाट पनि मुक्ति त होला, तर बाटो नहिँडी सगरमाथा चुमिँदैन । कर्महीनताको अर्को नाम नैष्कम्र्यता होइन । भण्डारी अध्यायहरुमा गीताका ज्ञान उभाउँदै बाँड्दै गर्छन् । कर्मको महत्ताको निरुपणमा भण्डारीले ४ अध्याय खर्चेका छन् । जीवनको अन्तिम कालमा लिइएको मति नै जीवनको आगामी गतिको निर्धारक हुन्छ’–यो गीताको उद्घोष हो । तर, अन्तकाल मङ्सिर हो, पूरा जीवन असार–साउन–भदौ–असोज–कात्तिक हो । असारमा असल बीउ रोपिएन भने मङ्सिर सुखदायी नहुने भण्डारीको जिकिर छ । दार्श्निक सुकरात भन्दछन् ः ‘जो प्रेमले सुध्रिन सक्दैन, ऊ कुनै पनि उपायबाट सुध्रिन सक्दैन । भण्डारी त्यसमा थप्छन्, ‘प्रेम आकर्षणको अर्काे नाम होइन । प्रेम भन्नु त समर्पण हो । देवर्षि नारद भने ‘नारद भक्तिसूत्र’मा त्यही परम प्रेम नै भक्ति हो भन्दछन् । ईश्वर साकार छन् कि निराकार ? यसको उत्तरमा भण्डारी ‘दुवै’ भन्न रूचाउँछन् । गुणबाट गुणातीत अथवा सगुणबाट निर्गुणतिर उन्मुख भक्तियात्रा भण्डारीको ठम्याइमा सही हो । ‘सनत्सजातीयम’मा सनत्कुमार भन्छन् ः ‘प्रमाद नै मृत्यु हो ।’ भण्डारी एक्काइसौँ अध्यायमा भन्छन्, ‘सार्थक जीवन नै अमरता हो ।’ क्षणभङ्गुर र पीडादायी आसुरी सम्पत्तिलाई त्यागेर दैवी सम्पत्ति कमाई धनी बन्न भण्डारी घच्घच्याउँछन् । धनी बन्ने तरिका चाहिँ तेइसौँ र चौबिसौँ अध्यायमा उल्लिखित छन् ।तमोगुण हुँदै रजोगुण र सत्वगुणको यात्रामा हिँड्न सुरूवात भोजनबाट गर्नुपर्ने भण्डारीको मत छ, किनकि पवित्र भोजन नै पवित्र जीवनको जनक हो भन्ने कुरा लक्ष्मण भण्डारीलाई राम्रोसँग थाहा छ । अतिवाद’ त्यागेर मध्यमार्ग अपनाउनु पर्ने सन्देश दिँदै परिणाम सुखदायी हुने कार्य आरम्भमा सुख हुने कार्यभन्दा बढी महत्वपूर्ण हुने जनाउँदै त्यो सुख तामस भएको जानकारी लेखकले अन्तिम अध्यायमा दिएका छन् । नेपालको तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा जन्मेका वेदव्यासले रचेको महाभारत भीष्मपर्वमा ‘श्रीमद्भगवद्गीता’ समाविष्ट छ । गीता संसारका लागि नेपालले दिएको उपहार हो । युगौँपहिले गरिएको गीताको उपदेश आज आइपुग्दा असान्दर्भिक बनेको भने छैन । भण्डारीको अन्तर्मन बोल्छ, ‘मैदान फेरिएला, पात्रहरु फेरिएलान्, हामीले गर्ने काम र सङ्घर्षको रुप फेरिएला, तर गर्ने त जहाँ गए पनि सङ्घर्ष नै हो, युद्ध नै हो ।’ नेपाली पाठकले चाहेका थिए, ‘ब्मबmुक ब्उउभि’ जस्तो गीता एकपटक त पढी हेरुँ । बहुलाइएला कि नबहुलाइएला ? जोगी भइएला कि नभइएला ? लक्ष्मण भण्डारीले त्यो प्यासको तृप्तिका निम्ति धेरथोर यत्न गरेका छन् । गीतादर्शनमा आधारित ‘सुदृढ मन, सुन्दर जीवन’ पाठकहरुले प्रथमतः पढून् । यो पुस्तकले जन्माएको कुतकुती मेट्न ‘गीता’ नै पढून् । अनि पाठकले थाहा पाऊन्, ‘गीता पढेर मान्छे जोगी हुँदैन, बरू जोगिन सक्ने हुन्छ अप्ठ्याराहरुका बीचमा पनि, संसारको हिलोमैलोमा पनि । भण्डारी संस्कृत, नेपाली र अङ्ग्रेजीका आचार्य हुन् । कवि हुन् । रेडियोमा भण्डारीका प्रवचन बज्दछन् । अखबारमा छापिन्छन् । बहुआयामिक प्रतिभा भण्डारीका ‘फ्यान’मात्र छैनन्, फलोअर्स पनि उत्तिकै छन् । अघिल्ला दुई जुम्ल्याहा पुस्तक स्वतन्त्र प्रवचनजस्ता थिए भने यो पुस्तक गीताको ‘लिक’मा चक्का राखेर वरपर चियाउँदै हिँडेको रेल हो । कृतिका फेन्टेसी र फ्याक्ट दुई पक्ष हुन्छन् । भण्डारीका अघिल्ला पुस्तकमा दृष्टान्तले फेन्टेसीको काम गर्थे र फ्याक्टलाई बग्न मद्दत पुग्थ्यो । यस कृतिमा भने फ्याक्टपट्टि गहिरिँदा पाठक हृदयले खोज्ने फेन्टेसीपट्टि भण्डारीले ध्यान नदिएको देखिन्छ । नेपाली भाषाको सर्वसम्मत मानकीकरण नभैसकेको परिस्थितिको छनक पुस्तकमा प्रतिबिम्बित हुने भैहाल्यो, तापनि पुस्तक मोटा खाले अशुद्धिबाट लगभग मुक्त छ । पुस्तकमा भण्डारी अध्यात्मिक चेत भएका साहित्यकार नभएर साहित्यशील्प बोकेका अध्यात्म चिन्तक बनेका छन् । साहित्य र अध्यात्मको अन्तरसम्बन्धको मीमांसा यो समयमा लक्ष्मण भण्डारीहरुबाटै हुने देखिन्छ ।यो पुस्तकका लक्षित वर्ग संस्कृतका प्रकाण्ड विद्वान् होइनन्, न त भण्डारीको उद्देश्य नै तदनुकूल छ । यसका खास पाठक जीवनको कुरूक्षेत्रमा लडिरहेका अर्जुनहरु हुन् । विषादग्रस्त अर्जुनहरुले यस कृतिलाई सारथि श्रीकृष्णका रुपमा पाऊन् । भण्डारीको मसी अविरल रुपमा पाठकले चाख्न पाऊन् । अस्तु ।





Post a Comment

 
Top