0
पूर्वराजा ज्ञानेन्द्रले गत बिहीबार राजधानीमा आयोजित हिन्दु सम्मेलनको उद्घाटनका क्रममा व्यक्त गरेका विचारहरुले गणतन्त्रका संवाहक राजनीतिक दलहरुलाई घुमाउरो भाषामा चेतावनी दिएको अनुभूति गरिएको छ । झन्डै एक दशक पुराना यी पूर्वराजाले आफू बहुमत नेपाली जनताको मत प्राप्त गरेको संसद्बाट पदच्युत गरिएको तीतो यथार्थलाई बिर्सनु भएन । उनी अहिले सामान्य नागरिक मात्र हुन् । यदि राजनीति नै गर्ने इच्छा भएमा निर्वाचन आयोगमा दल दर्ता गरेर खुला मैदानमा उत्रनु वाञ्छनीय हुनेछ । यसअघि यदि राजनीतिक दलहरुलाई गाली नै गर्नुछ भने त्यसअघि आफ्नो नेतृत्वको शासनकाल कति सफल र कति असफल रह्यो भनेर इतिहासको कठघरामा उभिँदै त्यसको समीक्षा गर्नुपर्ने हुन्छ । अरुलाई गाली गर्दैमा आफू लोकप्रिय हुन्छु भन्ने भ्रमबाट मुक्त हुन ज्ञानेन्द्रलाई अब धेरै ढिलो भएको छ । नेपालको संविधानले नेपाललाई धर्म्निरपेक्ष राष्ट्र घोषणा गरेको कुरा अब पुरानो भैसकेको छ । यहाँ सबैलाई आफ्नो इच्छा र आस्थाअनुकूलको धर्म मान्ने र स्वतन्त्रतापूर्वक आफूले रूचाएको राजनीतिक पार्टीमा आबद्ध भएर राजनीति गर्ने छूट पनि संविधानले दिएको छ । यो अर्कै कुरा हो कि गणतन्त्र स्थापनापछि जनताले चाहेको जस्तो भौतिक विकास र आर्थिक समृद्धिको अनुभूति नेपाली जनताले गर्न पाएका छैनन् । यसको अर्थ नेपालमा गणतन्त्र असफल भएको मान्नु कदापि हुँदैन । हजारौँ जनताले रगत र पसिना बगाएपछि मात्र गणतन्त्र स्थापना भएको हो र यो ज्ञानेन्द्रले आरोप लगाएजस्तो निषेधको राजनीतिमाथि कदापि विश्वास गर्दैन र राजनीतिक आस्थाका आधारमा कसैलाई यातना दिनेजस्ता घृणित काम पनि गर्दैन । ज्ञानेन्द्रले आफ्नो नेतृत्वको शासनकाल जनताको नजरमा कति लोकप्रिय थियो र पञ्चायत व्यवस्था आफैँमा कति लोकप्रिय थियो भन्ने कुरा थाहा पाउन विगत १० वर्षअघिको राजनीतिक इतिहासलाई राम्ररी अध्ययन गरेमा स्वतः स्पष्ट हुनेछ । अन्यथा, हिन्दुधर्मको आडमा पुनः राजनीतिमा आउने इच्छा यदि ज्ञानेन्द्रले राखेका हुन् भने त्यस्तो दिवास्वप्न नदेख्दा राम्रो हुनेछ । बिपनामा परिणत हुन नसकेका तमाम् सपनाहरुले मानिसलाई कुण्ठित पार्छ र असफलताको कारण आत्महत्या गर्नसमेत बाध्य पार्छ । ज्ञानेन्द्रले आफूलाई नेपालको राजनीतिक इतिहासमा शाहवंशको अन्तिम राजा हुन पाएकोमा गर्व गर्दा पनि हुन्छ । किनभने, राजा वीरेन्द्रको वंश विनाश नगरिएको भए उनलाई त्यो सौभाग्य पनि प्राप्त हुने थिएन भन्ने कुरा पुष्टि गर्न थप कुनै प्रमाणको आवश्यकता पर्दैन । सारांशमा भन्नुपर्दा यदि ज्ञानेन्द्रमा नेपाल र नेपाली जनताप्रति माया र मोह छ भने भाषण गरेर होइन, खुला राजनीतिक प्रतिस्पर्धामा उत्रेर देखाउनु उचित हुने हामी ठान्दछौँ । नेपालको माया गर्ने हक सबै नेपालीलाई छ । ज्ञानेन्द्रले पनि यदि त्यस्तै हक खोजेका हुन् भने त्यसमा कसैले आपत्ति प्रकट गर्नु आवश्यक छैन ।









Post a Comment

 
Top