गोल्डेन न्यूज संवाददाता
पर्यटकीय नगरी पोखराको नजिकै रहेर पनि राज्यको खासै ध्यान पुग्न नसकेकोकास्कीको एक सामुदायिक वन समूहले विगत लामो समयदेखि विकास निर्माणका कार्यमा आफूलाई समर्पण गर्दै आएको छ । लेखनाथ नगरपालिका–१८ स्थित सित्तुम कस्यारी तथा सिम्सार पातलेस्वारा जुकेपानी सामुदायिक वन उपभोक्ता समूहले वनको आम्दानीबाट यस क्षेत्रमा विकास निर्माणका कार्यमा लगानी गरेर संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आएको हो । वन पैदावार बिक्रीबाट भएको आम्दानीलाई शिक्षा, खानेपानी, बाटो लगायतका विभिन्न भौतिक पूर्वाधार निर्माणमा लगानी गर्दै आएको समूहका अध्यक्ष हरिप्रसाद गोर्खालीले जानकारी दिए । उनका अनुसार समूहले वनको संरक्षण, संवद्र्धन र उपयोगका साथै यस आर्थिक वर्षमा वन समूहसँग सम्बन्धित १० वटा विभिन्न संघ–संस्थालाई १५ हजारका दरले एक लाख ५० हजार नगद आर्थिक सहयोग प्रदान गरेको छ । सो वन २०५९ सालमा गणेशमान सामुदायिक वन तेस्रो पुरस्कारबाट पुरस्कृत भइसकेको छ । सामुदायिक वनको आम्दानी मध्येबाट सो क्षेत्रको विकास निर्माणका साथै समूहमा आबद्ध विपन्न वर्गको उत्थानका लागि विभिन्न उत्पादमूलक कार्यक्रम सञ्चालन गर्न पाँच लाखभन्दा बढी लगानी गरेको सचिव ओमप्रसाद भण्डारी बताउछन् । कुल एक सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन समूहलाई ६ वटा ब्लकमा विभाजन गरी दैनिक पाँच जनाका दरले घर लौरो गरेर संरक्षण गर्दै आएको सहकोषाध्यक्ष रामकान्त आचार्य बताउछन् । पन्चान्नब्बे हेक्टरमा सालधारी रहेको उक्त वनमा एक सय ८५ घरधुरी उपभोक्ता रहेका छन् । आन्तरिक र बाह्य अतिक्रमणका कारण वन खोरिया फाँडेजस्तै गरी उजाड भएपछि २०४२ सालदेखि स्थानीयवासीको सक्रियतामा उक्त वनको संरक्षण सुरु गरिएको हो ।
जिल्ला वन कार्यालय कास्कीद्वारा २०४८ सालमा त्यसलाई स्थानीय समूहमा हस्तान्तरण गरिएको हो । अर्का पूर्वअध्यक्ष चन्द्रकान्त आचार्यका अनुसार कठिन अवस्थामा पनि स्थानीय बासिन्दाले खाइनखाई संरक्षण गरेको सामुदायिक वनको आम्दानीले यतिखेर यस क्षेत्रको विकासमा सहयोगी बन्न सकेको बताए । वन हराभरा भएपछि चितुवा, बाँदर जस्ता जङ्गली जनावरले दःुखसमेत दिन थालेका छन् । व्यवस्थापिका–संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले उक्त सामुदायिक वनको रजत महोत्सव समारोहको उद्घाटन समारोहमा समाजका ज्येष्ठ नागरिक बैकुण्ठनाथ उपाध्याय, पार्वती आचार्य र धनञ्जय आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरे । मुलुकको सामाजिक एवम् भौतिक विकास निर्माणका साथै वातावरण संरक्षणमा सामुदायिक वनले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउँदै उक्त वन समूहका उपभोक्तासमेत रहेका अधिकारी भन्छन्–‘समृद्धिका लागि वन पैदावारमा आधारित उद्योग सञ्चालन अपरिहार्य छ ।’ विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका महानायक गौतम बुद्धको देशका रुपमा चिनिएको नेपाल पछिल्लो समयमा सामुदायिक वनको देशका रुपमा परिचित भए पनि राज्यका तर्पmबाट उचित ध्यान पुग्न नसकेको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष कालीदास सुवेदी बताछन् । प्राकृतिक एवं सांस्कृतिक महत्व बोकेको सो क्षेत्रका बारेमा प्रचारप्रसार गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्नुपर्ने क्षेत्रीय वन निर्देशक धनञ्जय पौडेलको धारणा रहेको छ । जिल्ला वन कार्यालयले कास्की जिल्लामा चार सय ८५ सामुदायिक वन प्रक्रिया मिलाएर समूहलाई हस्तान्तरण गरिसकेको छ । सुशासन, आर्थिक पारदर्शिता र समानुपातिक वितरणका आधारमा यस वनलाई भने बैज्ञानिक वनका रुपमा विकास गर्न लागिएको छ ।
Post a Comment