0
वर्तमान समयमा परदेशमा बसेर घरदेशलाई माया गर्ने व्यक्ति पाउन निकै मुस्किल भएको छ। किनकि यायावरिय जीवन आफैँमा घरदेशको माया गर्ने परिवेशमा हुँदैन। आफ्ना यावद सन्दर्भले व्यक्ति स्वयम्लाई दौडाइरहेको हुन्छ। यसरी जीवन बिताइरहेका मध्ये थोरैले मात्र आफूलाई सचेत र स्वाभिमानी व्यक्तिका रूपमा चिनाउने जमर्को गरिरहेका हुन्छन्। पछिल्लो समय देखिएको अभ्यासलाई हेर्ने हो भने यायावरीय जीवनमा घरदेशको चिन्ता गर्नु अभिशाप जस्तै हुन थालेको छ। यस्तो अवस्थामा त्यसको विपरित भएर निस्केका छन्, पर्वतेली स्रष्टा शंकर लामिछाने। सोहीकारण एका दुई चामलमा बियाँ निस्के झँै निस्कनेमध्येका एक स्रष्टा हुन् लामिछाने भन्दा दुई मत नहोला। पर्वतमा जन्मेका लामिछाने कहिले कोरिया, त कहिले अष्टे«लिया हुँदै जीवन मात्रै बिताएका छैनन्। स्वदेशी संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लागिरहेका छन्। एक दशक अगाडिबाट वाङ्मयिक यात्रामा लागेका स्रष्टा एक सचेत साधक हुन्, सफल लेखक, नायक र सङ्कलक हुन्। त्यसैले उनी स्वदेशलाई माया गर्दछन्। कहिले सन्देशमूलक लघुचलचित्र लेख्छन्। कहिले आफूलाई मन परेका कथालाई निर्देशन गरेर चलचित्रको पर्दामा उतार्छन्, त कहिले नेपाली संस्कार र संस्कृति झल्कने पर्व तीजलाई सम्झेर गीत लेख्छन्। बहुआयामिक प्रतिभाका धनी लामिछानेको २०६९ सालमा बजारमा आएको ‘ए नेपाली हो’ लघुचलचित्र निकै चर्चामा रहेको चलचित्र हो। ग्रामीण समाजमा राजनीतिक प्रभावबाट भएका नकरात्मक पक्षलाई उनले चलचित्रमा देखाएका छन्। घर जलेर खरानी हुँदा कसैको बिल्लीबाठ भइरहेको छ, एक सचेत नेपाली गुहार मागिरहेको छ। तर अर्को नेपाली हाम्रो पाटीको होइन, त्यसको घर जलेर पो भयो हामीलाई ? कुचाले गर्ने काम बतासले ग¥यो भन्ने ओठे जवाफ दिने गरेको सन्दर्भ चलचित्रमा छ। हुन पनि हो, हाम्रो समाज रमी, रक्सी र रण्डीबाजीमा मस्त छ। जसका कारण धेरैको जनजीवन वर्बाद भएको छ। यसरी जीवन वर्बाद गराउने उदण्ड संस्कारलाई राजनीतिले प्रशय दिइरहेको छ भनेर नेपाली समाजमा राजनीतिले पारेको नकरात्मक प्रभावलाई देखाइएको उक्त चलचित्रले लामिछानेलाई एक सफल वाङ्मयिक साधकका रूपमा चिनाउन सफल भयो। यसरी सफलता बटुल्दै आएका लामिछानेले बोक्सी, किन लाग्छ माया, गहराइलगाएतका सामाजिक सन्देशमूलक लघु चलचित्र लेखन, निर्देशन तथा अभियन गरिसकेका छन्। पछिल्लो समय लामिछाने महिलाहरूको महान चाड हरितालिका तीजलाई केन्द्रित गरेर तीजेगीत लेखनमा क्रियाशिल रहँदै आएका छन्। उनी कहिले राष्ट्रप्रेम, मातृप्रेम त कहिले अगाध सांस्कृतिक प्रेमले प्रताडित हुन्छन्, अनि लेख्छन् आफ्नो माछापुच्छे«लाई सम्झेर यसरी राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतः
माछापुच्छे« शिरमा आहा घाम लाग्यो घमाइलो
साथीसँग भेट हुँदा झनै भा’छ रमाइलो
गाउँदै बजाउँदै छमछमी नाचौन,
हो बारुले कम्मर घुमाउँदै, मर्काउँदै भाचौन।
प्रस्तुत गीतका हरफ आफै बोलेका छन्। हामीले केही भनिरहन आवश्यक छैन। महिलाहरूको महान चाड हरितालिकाका अवसरमा नेपाल र नेपाली संस्कृतिको संरक्षण गर्नुपर्छ भन्दै निरन्तर साधनारत लामिछाने आफ्नो पाँचौ तीजको कोसेलीमा गाएको प्रस्तुत गीतले आफै बोल्छ उनलाई नेपाल र नेपालीको माया कति छ भन्ने कुरा। योजना पुरी र हरी दुलालको स्वरमा रहेको प्रस्तुत गीत २०७३ सालको तीजलाई लक्षित गरेर निकालिएको ‘हितैको डार्लिङसँग’ एल्बममा समावेश छ। युटुवमार्फत सार्वजनिक गरिएको उनको प्रस्तुत गीतमा मात्रै लामिछानेले नेपाल र नेपालीलाई माया गरेका छैनन्। उनका यसभन्दा अगाडिका मिस नेपाल, यो मनको चाहना, अहिलेको तीजमा, नाच्न मन लाको छलगायतका तीजगीतको सन्देश पनि यस्तै रहेको पाइन्छ। यस्तै लामिछानेको २०६९ सालमा देवी घर्तीको स्वरमा निस्केको गीत पनि उत्तिकै ह्दयस्पर्शी छ। दिदीबहिनीलाई भेट भएका बेलामा रमाइलो गर्नुपर्छ भन्दै उनले भनेका छ्न,
दिदी र बहिनी भेट भा’को बेला छमछम नाच्ने हो
वर्ष र दिनको तीज हो आज कहिलेलाई साच्ने हो
झ्यामझ्याम बजाउन सङ्गिनी तीज आएको छ,
गाउन, नाच्न मन साह्रै लाको छ।
यसो त उनले गाउन र नाच्नका लागि मात्रै आग्रह गरेका छैनन्। आफ्नो २०७१ सालमा निस्केको मिस नेपाल एल्बममा आम चेलीलाई मन खोल्नुपर्छ। मन खोलिएन भने विष्फोट हुन्छ। जसका कारण दुर्घटना निम्तिन्छ भन्दै आफ्ना दुःख र वेदनालाई खोल्न आग्रह गर्दै भन्छन्,
चाहनालाई लुकाएर नबसौं ए सँगी
तीज आयो दिल खोलेर नाचौ न बेसरी।
छमछम अहिलेको तीजमा ढल्की नाच्ने हो
घुमेर नाच्ने हे, झुमेर नाच्ने हो छमछम
अहिलेको तीजमा छमछम नाच्ने हो।
हो, साच्चै आम व्यक्तिका फरक–फरक इच्छा, आकाङ्क्षा र चाहना हुन्छन्। ती सबैलाई लुकाएर होइन फुकाएर जुन मार्गबाट समाधान गर्न सकिन्छ त्यही मार्गमा लाग्नु महानता हो भन्ने सन्देश उनले गीतमा दिएका छन्। यस्तै उनले यो मनको चाहना गीतमा यसरी सम्बोधन गर्दछन्,
साथी है सँगी भेट भा’को बेलामा
गाउँदै बजाउँदै झुम्दै यही तीजको बेलामा
घाम, पानी, तारा, जुन र तारालाई
छमछम नाचेर देखाउछु संसारलाई
यस्तै आफू पनि नाचिन्छ गीतलाई साधना सरगमको स्वर भरेर बजारमा ल्याएका लामिछानेले दिदीबहिनीलाई मन खोल्न मात्रै होइन भेट हुँदा दिदीबहिनीले गरेका अनुभूतीलाई पनि यसरी प्रस्तुत गरेका छन्,
वर्ष दिनमा आउने यो मिठो तीजमा
खुशी छौ दिदी हामी माइलीको माझमा
के होला कसो होला आउने अर्को सालमा
गाउँदै बजाउँदै बिन्दास तालमा
आफू पनि नाचिन्छ अरुलाई नी नचाइन्छ
अहिलेको तीजमा धुम मञ्चाइन्छ।
मानवको जिन्दगीको दुई दिनको भनिन्छ, त्यसैले आजको दिन ढुक्कले प्रितसँग बाँच्नुपर्छ भन्ने अभ्यास लामिछानेले जीवनको पाठशालामा राम्ररी पढेका छन् र भन्छन्,
अर्को साल के हुन्छ खै भाग्यलाई नै थाहा’छ
मरेपछि का जाने हो को फर्केर आ’छ
अहिलेको तिजमा सबै नाचौं है
आउने साल तिजमा मरिन्छ कि बाचिन्छ
छम, छम, छम, अहिलेको तीजमा सबै नाचौं है
घुमेर नाँच्ने हो झुमेर नाच्ने हो छमछम
अहिलेको तीजमा ढल्की नाच्ने हो ।
यसरी साधनामा लागेर नेपाली संस्कृतिको संरक्षणमा क्रियाशील लामिछानेको जति चर्चा, परिचर्चा हुनुपर्ने हो त्यो हुन सकेको छैन। लाखौं खर्च गरेर बजारमा पठाएका चलचित्र र गीतहरू अरुलाई सुनाउन र हेराउनका लागि उल्टो विज्ञापन गर्न परिरहेको अवस्था छ। जसबाट हुने कमाई र आम्दानी भनेको पाठक र श्रोताको माया नै हो। आज लामिछानेले जति गरेका छन् यो उनको अतुलनीय योगदान हो। जसलाई कहिल्यै पनि धन पैसासँग तुलना गरेर सकिदैन। उनले त्यो तुलना गरेर नसकिने अथाह सम्पत्ति कमाएका छन्। त्यो भनेको पाठकको मन हो, आज देखभेट नै नभएका स्रष्टा साधकका बारेमा म लेखिरहेको छु, यही हो उनको सबैभन्दा ठूलो कमाई। यसैलाई उनले महान सम्झेको हुनुपर्छ र यसैमा उनको सफलता पनि अडेको छ।
 
पछिल्लो समय तीजेगीतका नाममा रत्यौली र दोहोरी गाउन थालिएका छन्। आफ्ना गीत र आफूलाई सेलिब्रेटी बनाउने नाममा कथाले माग्दै नमागेका ठाउँमा गायक–गायिका नायक–नायिका संस्कृतिका नाममा विकीनी प्रदर्शन गरेर विकृति निम्त्याइरहेका छन्। तीजेगीत घर–परिवार, आफन्त, इष्टमित्रसँगै बसेर हेर्न लाज लाग्ने बनाइरहेका छन्। यस्तो जर्जर अवस्थामा लामिछाने आफ्ना गीतका म्युजिक भिडियोहरूमा हाम्रा मौलिक भेषभुषामा स्वदेशी तथा विदेशी आमा, दिदीबहिनीलाई छमछमी नचाएर मौलिकताको रक्षार्थ लागि परेका छन्। यो उनको अर्को सफलताको पाटो हो। लामिछाने आफ्नो साधना र निरन्तरताका सन्दर्भमा भन्छन्, ‘म जहाँ बसे पनि नेपाली मन र माया पाउनका लागि धेरै कुर्वानी गरेको छु। यसपटक नयाँ गीत लिएर आएको छु सुनेर प्रतिक्रिया दिनुहोला।’ हो, साच्चै लामिछानेले धेरै कुर्वानी गरेका छन्। नेपाल सरकारको उच्च तहको जागिर खाने कर्मचारी बेतलबी विदामा परदेश गएर उतै हराएका छन्। अघाद राष्ट्रप्रेमका गीत गाउने गायक गायिका सांगीतिक प्रस्तुतिका लागि परदेश गएर उतै लुकेर रेस्टुरेन्टमा टेबुल पुछेका छन्। हामी सेवा गछौं भनेर लायन्सवादलाई अङ्गाल्नेहरू भ्रमणका लागि निस्केर नेपालमा रहेका आफन्तलाई कहिले द्वन्द्वपीडित त कहिले भूकम्पपीडितका नक्कली काजगात बनाउन लगाएर शरणार्थी जीवन बिताइरहेका छन्। यस्तो मानसिकताले ग्रस्त बनेका नेपाली दाजुभाइ, दिदीबहिनीका बीचमा लामिछाने एउटा वाङ्मयिक साधक बनेर यसरी निस्केका छन्। यही नै उनको सफलता हो। उनले यही नेर बाजी मारेका छन्। यसर्थ उनको यो साधनालाई सलाम गर्दै बाँकी जीवनको सफलताको शुभकामना !



Post a Comment

 
Top