मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएको दुई हप्ता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। लामो समयसम्म मन्त्रालयहरु मन्त्रीबिहीन हुने स्थिति कायम रहनु उपयुक्त होइन। सत्तारुढ दलहरु सुशासन र विकासप्रति गम्भीर भएको वा नभएको मापन गर्ने सवाल पनि हो यो विषय । राज्य सञ्चालनलाई जिम्मेवार, भरपर्दो र पारदर्शी बनाउने हो भने यस्ता प्रवृत्तिहरु अन्त्य हुन जरुरी छ। प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा भएका गल्ती कमजोरीबाट शिक्षा लिएर काम गर्ने शैलीमा केही नयाापनको आभाष दिन खोज्नुभएको छ। यसका लागि पुराना सोचाइ र मान्यतामा परिवर्तन गर्ने काम सजिलो नभएको सरकार विस्तारमा देखिएको सकसपूर्ण स्थितिले प्रष्ट पार्छ। राजनीति गर्नुको उद्देश्य सत्ता प्राप्त गर्नु हो भन्ने विषयमा अब धेरै ठूलो विवाद नहोला। हिजोको जस्तो त्याग, तपस्या, बलिदान वा जेल, नेल, संघर्ष गर्नुपर्ने स्थिति अहिले छैन। राजनीति गर्ने र सत्ता प्राप्त गर्ने पनि ठूलो विषय अब रहेन। मूल कुरा सत्ता वा सरकारमा पुगेर के गर्ने भन्ने नै हो। सत्तामा पुगेर देश र जनताको सेवा गर्ने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने काम अवश्यै कठिन छ। यस विपरीत धन कमाउन, आसेपासेहलाई पोस्न, आफन्त र कार्यकर्तालाई जागिर खुवाउन सजिलो छ। हाम्रो परम्परा र मनोविज्ञान नै गलत बसिरहेको छ। त्यसैले होला, मन्त्री बन्नकै लागि यति ठूलो मरिहत्ते छ। चालिस–साठीको भागबण्डाको आधारमा चल्दै आएको कांग्रेसी राजनीति महाअधिवेशन पछि त्यो परम्पराबाट मुक्त हुने आशा गरिएपनि त्यस्तो सम्भावना न्यून हुँदैछ। रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरुको चाहना भागबण्डा नै देखिन्छ। अब देश बनाउने र पार्टी चलाउने चाहना भन्दा गुट बलियो पार्ने मनसाय प्रकट हुँदैछ। त्यसैले पार्टी सभापति शेरबहादुर देउवालाई मन्त्री छान्न गाह्रो भइरहेको छ। माओवादी पार्टीका वरिष्ठ नेताहले अलग पार्टी खोलिसकेकाले यहाा भागबण्डाको अवस्था छैन । तर नेताहरुको महत्वाकांक्षा चुलिएको छ। बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई सुम्पनुको पछाडि केही कारण अवश्यै होलान्। जोगी बन्नका लागि कसैले राजनीति गर्दैन। नेपालमा यो भनाइ बारम्बार प्रचलनमा आइरहेको छ। कतिपय नेताहरु यस्तै जवाफ दिएर उम्कने प्रयत्न गर्दछन्। प्राचीन युनानका दार्शनिक प्लेटोले नेताहरुले धनसम्पत्ति राख्न नहुने सिद्वान्त प्रतिपादन गरेका थिए। प्लेटोको यस्तो साम्यवादी अवधारणलाई आफूलाई माक्र्स–लेनिनका अनुयायी भन्नेहरुले नै पछ्याउन सकिरहेका छैनन् भने अरुलाई के भन्नु ? मूल्य मान्यता, सिद्वान्त, निष्ठा र आदर्शको राजनीति कहाँ छ र ? बत्ती बालेर खोज्नुपर्ने अवस्था आइसकेको छ। राजनीति गरेर धन कमाउने चाहना भएकाहरुले राजनीति छोडेर अन्य पेशा व्यवसाय रोज्न सक्छन्। संविधानले यस्तो गर्नबाट कसैलाई रोकेको छैन। पार्टी भनेका कम्पनी होइनन्। यसो भन्नुको अर्थ राजनीतिक महत्वाकांक्षा राख्नै हुन्न, मन्त्री बन्ने चाहना राख्नु नै अपराध हो भन्न खोजेको होइन। मन्त्री बन्नकै लागि मरिहत्ते गर्ने, नेतृत्वमाथि नचाहिँदो दबाब दिने, मैले रोजेकै मन्त्रालय हुनुपर्छ भनेर अड्डी कस्ने प्रवृत्ति भने निसन्देह गलत हो। विषय विज्ञताको ख्यालै नगरेर आफ्नो अनुकूलतामा मन्त्री नियुक्ति गर्ने प्रवृत्ति विगतदेखि नै हावी भएकाले मन्त्री बन्ने महत्वाकांक्षा बढेको छ। यसको व्यवस्थापन गर्न नेतृत्वलाई अप्ठ्यारो पर्नु अस्वाभाविक होइन। तर कुनै पनि बहानामा सरकारलाई पूर्णता दिन विलम्बन गर्नुहुँदैन। राज्य सञ्चालन गर्ने विषयलाई गम्भीरतापूर्वक लिन र बुझ्न जरुरी छ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment