कपा एमाले सत्ताच्युत भएको धेरै दिन भएको छैन । तर, त्यस पार्टीका अध्यक्ष एवम् पूर्वप्रम केपी शर्मा ओलीले आफ्नो पार्टीका कार्यकर्ताहरुलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् । समयमा चुनाव नहुने र संविधान पनि कार्यान्वयन नहुने आशंका बढेकाले ओलीले आक्रोशित मुद्रामा आन्दोलनका लागि तयार रहन राजधानीमा गत शनिबार आयोजित कार्यकर्ता भेलामा उक्त विचार व्यक्त गरेका हुन् । तर, तटस्थ नागरिकको आँखाले हेर्ने हो भने अहिलेको समय आन्दोलनको नभएर पुनःनिर्माण र गरिबी निवारणको समय हो । आफू अल्पमतमा परेर सत्ताबाट बाहिरिनासाथ समस्याका पहाडहरु देखेका पूर्वप्रम ओलीले आफ्नो नौ महिने कार्यकालमा के त्यस्तो महत्वपूर्ण काम गरे ? जनतालाई भने त्यस्तो कुनै हेक्का रहेको छैन । आफू सत्तामा रहँदा सबै ठीक र सत्ताबाट बाहिरिँदा सबै बेठीक देख्ने ओलीको दृष्टिदोषलाई गैरएमालेहरुले बुझ्नुपर्ने भएको छ । अहिले पनि भूकम्प प्रभावित १४ जिल्लाका जनताले घर बनाउन सरकारी अनुदान नपाएपछि दोस्रो वर्षा पनि त्रिपालमुनि दिन र रात कटाउन बाध्य भएका छन् । यदि ओलीले आन्दोलनको सट्टा भूकम्पपीडित परिवारलाई तत्काल अनुदान र राहत सामग्री वितरण गर्न सरकारलाई घचघच्याएको भए त्यो सान्दर्भिक र समसामयिक विषय ठहरिन सक्नेथियो । तर, ओलीको ध्यान त्यता नगएर जनतालाई अनाहकमा सडकमा उतार्ने आशयसहितको आन्दोलनको धम्कीको त्यति औचित्य र महत्व प्रमाणित हुन सकेको छैन । विरोध गर्नु प्रतिपक्षी दलको भूमिका नै हो भन्ने सम्झिएर यदि पूर्वप्रम ओलीले आन्दोलन गर्न खोजेका हुन् भने त्यसलाई ठिकै मान्नुपर्ला । नयाँ संविधानले पनि शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार नेपाली जनतालाई दिएको छ । सधैँ सत्तामा बस्ने अधिकार कुनै पनि दललाई हुँदैन भन्ने कुरा केपी ओलीजस्ता पुराना राजनीतिज्ञले बुझेको हुनुपर्छ । नेपालको राजनीति धर्म, इमान र नैतिकताबाट क्रमशः टाढिँदै गएको अनुभव हुन थालेको छ । स्वार्थकेन्द्रित राजनीतिले आफ्नो आकार र स्वरुप बढाउँदै गएको छ । राजनीतिमा पनि इमान, धर्म र आचारसंहिताको ख्याल गर्नुपर्छ भन्ने कुरालाई धेरैले बिर्सन थालेका छन् । मूल्य र मान्यताको राजनीतिमा यसरी क्षयीकरण हुन थालेपछि आदर्शका कुरा हलुका गफमा मात्र सीमित हुन थालेपछि यसरी सर्वत्र चिन्ता बढ्न थालेको हो । सत्ताबाहिर रहेर पनि समाज र देशको सेवा गर्न सकिन्छ भन्ने कुराका लागि विश्वमा धेरै उदाहरणहरु हामी पाउन सक्छौँ । तर, हामी आफैँ भने सत्ताभन्दा बाहिर रहनै नसक्ने मानवीय कमजोरीबाट क्रमशः पीडित हुँदै आएका छौँ । ओलीको आन्दोलनको धम्कीभित्र यस्तै कुण्ठा, आक्रोश र आत्मपीडा देख्न पाइन्छ । राजनीतिक संस्कार भएको व्यक्ति वा पार्टीले अरुलाई पनि सम्मान गर्न र सहयोग गर्न सक्नुपर्छ । अब नेपाली आन्दोलन होइन, शान्तिको पक्षमा रहेका छन् भन्ने कुरा राजनीतिक दलहरुले बुझ्नु जरूरी भएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment