0
विश्व एक्काइसौँ शताब्दीमा अघि बढिसक्दा पनि बालविवाह एउटा विश्वव्यापी समस्या बनिरहेको छ । विशेषगरी, दक्षिण एशियाली मुलुकहरुमा यसले नराम्ररी प्रभाव पारेको छ । नेपाल यस समस्याबाट अझैसम्म मुक्त हुन सकेको छैन । दक्षिण एशियाली मुलुकमध्ये भारत, बंगलादेश र नेपाल बालविवाह गर्ने देशमध्ये उच्च स्थानमा रहेका छन् । नेपाल अझैसम्म तेस्रो स्थानमा छ । विश्वमा बालविवाहको उच्च जोखिममा रहेका १० मुलुकमध्ये नेपाल आठौँ स्थानमा रहेको छ । नेपालका बाँके, कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, धनुषालगायतका जिल्लामा अझै पनि बालविवाह प्रथा कायमै रहेको छ । विश्वमा ५१ मिलियन किशोरीहरुको विवाह १५ देखि १९ वर्षको बीचमा नै हुने र तिनीहरुले प्रजनन्लगायतका अन्य घरेलु जिम्मेवारी निर्वाह गरिरहेको अवस्था छ । अझै गाउँमा विवाह दर्ता गर्ने प्रचलन नहुँदा बालविवाहका तथ्याङ्क पूर्ण रुपमा आउन सकेको पाइँदैन । दक्षिण एसियामा सबैभन्दा बढी ४२ प्रतिशत र भारतमा मात्रै ३३ प्रतिशत बालविवाह भएको तथ्याङ्क छ । कानुनहरु बनाएर र घोषणा गरेरमात्र हुँदैन, व्यवहारमा लागू गर्न सकेमात्रै बालविवाह न्यूनीकरण गर्न सकिन्छ । नेपालले सन् २०३० सम्म बालविवाहमुक्त देश बनाउने घोषणा गरेको छ । सामूहिक प्रयास र सहकार्य हुने हो भने यो असम्भव छैन । कानुन निर्माण भए पनि कार्यान्वयन फितलो हुँदा अनेक नाममा बालविवाह कायमै रहेको अवस्था छ । मुलुकी ऐन, २०२० को एघारौँ संशोधनबाट महिला र पुरूषको विवाह गर्ने उमेरमा समानता ल्याइए पनि व्यवहारमा लागू हुन सकिरहेको छैन । उक्त ऐनको बिहेवारीको महलमा बिहेवारी गर्दा महिला र पुरूषको उमेर संरक्षकको मञ्जुरी भए १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष नपुगी विवाह गर्न गराउन नहुने उल्लेख छ । मुलुकी ऐनमा दण्डनीय कानुनको व्यवस्था भए पनि समाजमा बालविवाह भैरहेको छ । नेपालमा १५ वर्ष नपुगी विवाह हुने किशोरीहरुको तथ्याङ्क ८३.१ प्रतिशत रहेको छ । मुस्लिम समुदायमा ७९.६ प्रतिशत र पहाडी र हिमाली क्षेत्रमा ६९.७ प्रतिशत रहेको छ । बालविवाहका पछाडि विभिन्न कारण रहेका छन् । गरिबी, अशिक्षा, कानुनप्रति अनभिज्ञता, स्वास्थ्यप्रति चेतनाको अभाव, दाइजो, घरेलु कामको स्वार्थ र परम्पराजस्ता कारण बालविवाह हुँदै आएको छ । मधेसमा बालविवाहको प्रमुख कारण दहेजलाई लिइएको छ । नेपालको कानुनले बालविवाहलाई अपराध मानेको भए पनि परम्परागत धर्म, संस्कार, सांस्कृतिक र सामाजिक मूल्यमान्यताका कारण अहिलेसम्म बालविवाह विद्यमान छ । नेपालको जनगणना सर्वेक्षण २०६८ अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ, तीमध्ये करिब साढे ५ लाख किशोरीहरु १९ वर्ष अगावै आमा बन्ने गरेका छन् । कम उमेरमा विवाह गर्नु कानुनविपरीत तथा प्रजनन् स्वास्थ्यका दृष्टिले समेत जोखिमपूर्ण मानिन्छ । त्यसैले, बालअधिकारको रक्षा गर्न र बालविवाह हटाउन सरकारी निकायबाटै अभियान चाल्नु जरूरी छ ।




Post a Comment

 
Top