0
खुला समाजका बारेमा कुरा गर्दा त्यसका मुख्यतः तीन महत्वपूर्ण पक्ष छन्–नागरिक समाज, राजनीतिक दल र विश्वविद्यालय। म यी तीनमध्ये राजनीतिक दल र विश्वविद्यालयबारे छोटकरीमा चर्चा गर्नेछु। तर सबैभन्दा पहिले खुलापनको अवधारणालाई हेरौं। खुला समाज भनेको गतिहीन अवस्था होइन, गतिशील र निरन्तर चलिरहने प्रक्रिया हो। वास्तवमा खुला समाजको अवधारणा निकै पुरानो हो। ब्रिटिस दार्श्निक कार्ल पोपरले ‘ओपन सोसाइटी’ शीर्षकमा एउटा मोटो किताब नै लेखेका छन्। उक्त पुस्तकमा उनले खुला समाजको अवधारणा इसापूर्वअघि नै आएको मानेका छन्। एथेन्सको डेमोक्रेसीमा खुला समाजको अवधारणा थियो। समाजमा स्वतन्त्रता हुनुपर्छ, आफ्नो कुरा भन्न पाउनुपर्छ, विचार अभिव्यक्त गर्न पाउनुपर्छ र त्यसका लागि समाजले स्पेश दिनुपर्छ भन्ने खुला समाजको मान्यता हो।
कार्ल पोपरका अनुसार समाजमा दुई किसिमको प्रवृत्ति हुन्छन्। एकातिर ‘ट्राइब्यालिज्म’ हुन्छ, जुन बन्द समाजको द्योत्तक हो। त्यसका आफ्नै मूल्य, मान्यता र परम्परा हुन्छन् र त्यसैअनुसार समाज चलाउन खोज्छ। त्यहाँ सहिष्णुताको कमी हुन्छ। अर्कोतर्फ शुद्ध व्यक्तिवादी प्रवृत्ति हुन्छ। म र मेरो, मैले जे गरे पनि हुन्छ भन्ने मान्यता हुन्छ। यो एक प्रकारको ‘अराजकता’ हो। न ‘ट्राइबलिज्म’ले न त अराजकताले समाजलाई सन्तुलन प्रदान गर्छ। यी दुईबीचमा एउटा यस्तो अवधारणा हुनु आवश्यक छ जसले समाजलाई अघि पनि बढाओस् र सन्तुलन पनि कायम गरोस्। त्यो नै खुला समाजको अवधारणा हो भन्ने पोपरको भनाइ  छ। खुला समाजको अवधारणा जटिल पनि छ। खुला समाज भनेको परम्परामाथि आलोचनात्मक दृष्टिकोण राख्ने, सहिष्णु र लचक हुने, विभिन्न कुरामा झुक्ने, पारदर्शी हुने, स्वतन्त्रलाई धेरै महत्व दिने, मानव अधिकारमा आधारित लोकतन्त्र अभ्यास गर्ने र विधिको शासनलाई मान्ने समाज हो भन्ने पोपरको व्याख्या छ। बन्द समाजमा परम्परा र संस्कारले निश्चित सत्य र यथार्थता तपाईंमाथि थोपरेको हुन्छ। खुला समाजमाचाहिँ तपाईंले ती संस्कार र परम्परामाथि प्रश्न गर्न गर्नु सक्नुहुन्छ। आलोचनात्मक दृष्टिकोण राख्न र सिक्न सक्नुहुन्छ।
 सर्वसत्तावादविरुद्ध खडा भएको समाज नै खुला समाज हो भन्ने खुला समाजको मुलमन्त्रका रूपमा संसारभरि फैलिरहेको छ। हामीले पनि त्यसैअनुसार खुला समाजको कुरा गर्छौं। त्यसैले खुला समाज एक किसिमको प्रतिक्रिया पनि हो। परम्परावद्ध समाजमा प्रतिक्रियास्वरुप खुला समाजको अवधारणा निर्माण हुन्छ। यो अवधारणा अन्तर्गत मान्छेले आफू भित्रको सम्भावनालाई धेरैभन्दा धेरै उजागर गर्न सकोस् भन्ने ठानिन्छ। यसका केही विचारधारात्मक सम्बन्ध पनि छन्। यसले खुला बजारको नैतिक समर्थन गर्छ। कुनै पनि प्रकारको ‘कलेक्टिभिज्म’ को विरोध गर्छ। सरकारको भूमिका सीमित गर्नु पर्ने र व्यक्तिगत स्वतन्त्रता बढाउने पक्षमा उभिन्छ। आफ्नो स्वतन्त्रतालाई अरुको स्वतन्त्रतामा आँच नपुगेसम्म बिस्तार गर्न सकिन्छ भन्ने कुरा खुला समाजको अवधारणाले मानेको छ। सन् १९७४ मा नोबेल पुरस्कार पाएका अर्थाशास्त्री फ्रेडरिक हायेकले आफ्नो पुस्तक ‘द रोड टु सर्फडम’मा समाजवादमाथि ठूलो आलोचना गरेका छन्। उनले योजनावद्धताको विरोध गरेका छन्। बजार नै खुला समाजको आधारभूत सर्त हो भन्ने उनको मान्यता छ। बजारमा आधारित समाज नै सर्वोत्कृष्ट समाज हो र त्यस्तो समाजले मात्र व्यक्तिको स्वतन्त्रता ग्यारेन्टी गर्न सक्छ भन्ने उनको सोच छ। बिसौं शताब्दीको नवउदारवादी लोकतन्त्र नै खुला समाजको उदाहरण हो भन्ने प्रस्तुत हुँदै आउन थाल्यो। स्वतन्त्रता, हिंसा विना नै सत्ता परिवर्तन, प्रतिष्पर्धी बजार, बजार निष्पक्ष हुन्छ भन्ने विश्वास र  सबैलाई एकै प्रकारको न्याय प्रदान गर्नुपर्छ भन्ने मान्यता नै नवउदारवादी लोकतन्त्रका विशेषता हुन।
तर जब नवउदारवादी लोकतन्त्र नै खुला समाज हो भन्न थालियो त्यसको पनि विरोध पनि भयो। जोन राल्ज भन्ने अमेरिकी लेखेकले ‘अ थ्योरी अफ जस्टिस’ भन्ने पुस्तकमार्फत् त्यसको विरोध गरे। एउटा सभ्य समाजलाई स्वतन्त्रताको रूपमा मात्र होइन, न्याय र निष्पक्षताका रुपमा पनि हेरिनुपर्छ भन्ने उनको तर्क थियो। उनको सिद्धान्त हो–समाजमा असमानता त्यो हदसम्म मात्र लागु गर्न पाइन्छ जुन हदसम्म सबैभन्दा कमजोर सदस्यले फाइदा पाउन सक्छ। यदि समाजको सबैभन्दा कमजोर सदस्यले फाइदा पाउँदैन भने न्यायको मापदण्ड त्रुटीपूर्ण हुन्छ । यसरी उनले स्वतन्त्रतासँग मात्रै जोडेर गरिएको खुला समाजको व्याख्याको आलोचना गरे। खुला समाजको अर्को पक्ष भनेको त्यसका सकारात्मक पक्षका बारेमा मात्र प्रचार भयो, त्यसको नकारात्मक पाटो बारे छलफल भएन। त्यसको नकारात्मक पाटो हो–‘ओपननेस’ले नै ‘क्लोजनेस’ जन्माउँछ। अर्थात् खुला समाजमा बन्द समाजका प्रवृत्तिहरू हुन्छन्।
प्रत्येक मान्छेले अवसर पाउनुपर्छ भन्ने खुला समाजको आधारभूत प्रस्तावना हो। खुला समाजमा आफ्नो स्थानका निम्ति व्यक्तिले प्रतिष्पर्धा गर्छ । धनी व्यक्ति अझै धनी हुन चाहन्छ। समाजमा विद्यमान असमानता र संरचनागत कारणले कारणले धनी र गरीबबीचको खाडल फराकिलो हुँदै जान्छ। त्यसबाट वर्ग संघर्ष वास्तविक भएर आउँछ। युरोप र अमेरिकाकै कुरा गर्दा करिब ६० प्रतिशत धनीका बाबु पनि धनी थिए। धनीहरू झन् धनी हुँदै जाने र गरीब झन् गरीब हुँदै जाने स्थिति भयो। खुला समाजले त स्वतन्त्रता एउटा वर्गका लागि मात्र हो भनेर कल्पना गरेको थिएन। सबैले स्वतन्त्रता र न्याय प्राप्त गर्छन् भन्ने अपेक्षा थियो। त्यसैकारणले खुला समाजले बन्द समाजलाई पनि जन्म दिन्छ। खुला समाजभित्र बन्द समाज लुकेको हुन्छ। हामी इन्टरनेटलाई हेरौं। इन्टरनेटलाई हामी खुला माध्यम भन्छौं। त्यहाँ प्रोग्राम खुला हुन्छ र त्यसलाई तपाईंले मजासँग प्रयोग गर्न सक्नुहुन्छ। तर, प्रोग्रामलाई नै चैं तपाईँले परिवर्तन गर्न सक्नुहुन्न। किनकी त्यसको ‘कोड’ खुला छैन। यसरी खुलापनसँगै बन्दपन विकास हुँदै आउँछ। सहकार्य, सामुहिक सहभागिता र पारदर्शिता भएन भने खुला समाज बलियो हुन् सक्दैन। अहिले विकिपिडिया सहभागिता मूलक लोकतन्त्रको सबैभन्दा ज्वलन्त उदाहरण हो। त्यहाँ गएर तपाईंले जे कुरा पनि सम्पादन गर्न सक्नुहुन्छ र सच्याउन सक्नुहुन्छ। खुला भन्ने तर ‘सोर्स कोड’ खुला नगर्ने हो भने त्यो बन्द समाजको विशेषता हो। सहकार्य, सामुहिक सहभागिता र पारदर्शिता हुनुपर्छ। यो नयाँ प्रकारको विचार हो र त्यसमा बहस भइरहेको छ।
खुलापन केका लागि र कसका लागि?
खुलापनले समाजको एउटा तप्कालाई मात्र फाइदा पु¥याउँछ भने त्यसलाई खुला समाज भन्न मिल्छ ? कि त्यसले समाजका सबै तप्कालाई उत्तिकै पहुँच पु¥याउन सक्नुपर्छ? खुलापनलाई वर्गको अवधारणामा हेर्नुपर्छ। कुन वर्गले त्यसबाट फाइदा उठाउन सक्छ, कुन वर्गले सक्दैन भन्ने विचार गर्नुपर्छ। खुलापन वकालत गर्नेहरूले त्यसलाइ वेवास्ता गरिरहेका छन्। तर समाजमा बढ्दो असमानताले त्यसलाई नै जबर्जस्त रूपमा अगाडि ल्याइरहेको छ। लापनको नाममा कस्तो बन्दपन आयो भन्ने थाहा पाउन हामी डोनाल्ड ट्रम्पलाई हेरौं। खुलापनकै आधारमा प्रगति गरेको अमेरिकी समाजलाई उनी पुरै बन्द राख्न चाहन्छन्। इटालीमा, फ्रान्समा, बेलायतमै पनि विभिन्न पार्टीहरुको जन्म भयो जसले खुलापनको नाममा बन्दपनको वकालत गरिरहेका छन्। त्यसले गर्दा जुन बहस त्यहाँ सुरु भयो त्यो एकदमै सान्दर्भिक छ। अब नेपालको कुरा गरौं। खुलापनको विचार कहाँबाट जन्मन्छ र कहाँ हुर्कन्छ भनेर हेर्दा यसको मुख्य तीन वटा पक्ष हेरौं, नागरिक समाज, राजनीतिक दल र विश्वविद्यालय। यहाँ म राजनीतिक दल र विश्वविद्यालय बारे चर्चा गर्छु। खुलापनको चुनौती राजनीतिक दल र विश्वविद्यालयको कार्यशैलीमा प्रष्ट रूपले देखिन्छ भन्ने मलाई लाग्छ। उनीहरूले कसरी काम गरिरहेका छन् त? सामाजिकीकरण कसरी गरिरहेका छन्? खुला समाजका मूल्य र मान्यतालाई कसरी व्यवहारमा उतार्न मद्धत गरिरहेका छन ? कुनै पनि कुरालाई आलोचनात्मक दृष्टिकोणले हेर्ने कुरालाई उनीहरु कसरी आत्मसात् गर्छन्? काममा मात्रै होइन, उनीहरु विचार आदानप्रदानमा, आर्थिक लेनदेन, राजनीतिक लेनदेनमा कति पारदर्शी छन्? कति स्वतन्त्रताका साथ आफ्नो विचार अभिव्यक्त गर्न पाउनुहुन्छ ? अर्काको दृष्टिकोणसँग तपाईं कति ‘इन्गेज’ हुनुहुन्छ? हामी एकअर्कालाई कति धैर्यका साथ सुन्छौं? खुला समाजमा त एकअर्कासँग कुरा गर्नुप¥यो। तपार्ईंलाई चित्त बुझ्दैन, उसको विचार तपाईंलाई ठ्याम्मै मन परिरहेको छैन भने पनि  त्यो विचारलाई बुझेर आफ्नो धारणा राख्नुपर्छ। हामी कानुनी राजको नै कुरा गरौं। मलाईचाहिँ कानुन नलाग्ने अर्कोलाई चाहिँ लाग्ने हुन्छ? मानौं म पुलिसको हाकिम हुँ, मैले नियम मिचे, मलाईचाहिँ पुलिसले नसमात्ने अर्कालाईचाहिँ समात्ने हुन्छ? ‘रुल अफ ल’लाई राजनीतिक दल र विश्वविद्यालय भित्र कसरी मान्छौं? यी खुलापनलाई जाँच्ने कुराहरु हुन्।
अर्को पक्ष छ, समावेशी पनि हेरौं । अहिले प्रचण्डजीको मुक्तिकामी पार्टीको केन्द्रीय समितिदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिसम्म हेरौं। मैले गनेको त छैन, तर त्यसमा ६५ प्रतिशतसम्म सदस्य एउटै जातका होलान्। अझ उनीहरु कुन वर्गबाट आएका छन् भनेर हे¥यौं भने सबै मध्यम वर्गका छन्। चाहे माओवादी पार्टी होस्, चाहे कांग्रेस होस् वा एमाले। उनीहरु एउटै वर्ग छ। खुला समाजले विविधतालाई सम्मान गर्नुपर्छ। तर त्यस्तो भएन।
राजनीतिक दलले विचारलाई प्रवाहित गर्छ, ‘भिजन’ निर्माण गर्छन्। त्यही भिजनका वरिपरि मान्छेहरुलाई परिचालित गर्छ। लोकतान्त्रिक दलले केही मापदण्ड पुरा गर्नुपर्छ–आफ्नो सबै सदस्यलाई पार्टीका सबै आन्तरिक काममा सहभागी गराउने, प्रत्येक मान्छेले आफ्नो विचार राख्न पाउने, समूह सहभागी हुन पाउने, अरुको विचारप्रति सहिष्णु हुने, नियम कानुन पालन गर्ने, पारदर्शी रूपमा काम गर्ने, नेतृत्वले साधारण सदस्यलाई पनि सम्मान गर्ने। यसआधारमा हेर्ने हो भने हाम्रा राजनीतिक दलमा एउटा नियम लागु हुन्छ–‘आइरन ल अफ ओलीगार्की।’ जर्मन समाजशास्त्री रर्बट मिसेलले यो नियमको कुरा गरेका थिए। ठूला र जटिल संस्थामा शक्ति केही व्यक्तिमा सीमित हुन्छ। हामीकहाँ पनि अहिले त्यस्तै भइरहेको छ। खुला समाजमा हामी के चाहन्छौं भने प्रत्येक राजनीतिक दल र अरु संगठनले पनि आफूलाई नियन्त्रण गर्ने नियम बनाउन र त्यसलाई लागु गरून्। खुलापनसँगै नेपालमा संस्थाहरू खुले र नियन्त्रणात्मक निकाय पनि बने। तर त्यसले सिन्डिकेट जन्मायो। खुलापनले बन्दपन सृजना गर्यो। आज शिक्षा, यातायात, स्वास्थ्य लगायत प्रायः सबै क्षेत्रमा सिन्डिकेट छ। हामीले खुलापनका नाममा सिन्डिकेट निर्माण गर्यौं। राजनीतिक दलले त्यसको संरक्षण गरे।
तपाईंले भनेअनुसार मात्रै चल्ने, तपाईंको विचार अन्तर्गत चल्ने, तपाईंले भनेका मानिस मात्रै भित्र हुने, तपाईंले भनेका मानिसले मात्रै पुरस्कार पाउने, अरुचाहिँ तिरस्कृत र बाहिर हुनुपर्ने परम्परा राजनीतिक दलहरुले निर्माण गरे। खुलापनका नाममा बन्दपन हावी भइरहेको छ। राजनीतिक दल र विश्वविद्यालयमा भएको त्यही हो। अब विश्वविद्यालयका कुरा गरौं। 
खुला समाजका निर्माणका लागि हाम्रा विश्वविद्यालयले नयाँ पुस्तालाई कसरी तयार पारिरहेका छन्? यो अत्यन्तै महत्वपूर्ण प्रश्न हो।
हाम्रा विश्वविद्यालयले पढाउने काममा आफ्नो भूमिका निर्वाह गरेका होलान्। तर उनीहरु सृजनात्मक छन् त ? विद्यार्थीको सिक्ने जुन क्षमता छ, त्यसलाई प्रोत्साहित गरेका छन् वा सिमित गरेका छन्?
हामीले हेर्नुपर्छ, विश्वविद्यालयहरू परम्परामाथि प्रश्न उठाइरहेका छन् कि छैनन्? उनीहरूले खुला समाजको अवधारणाको रक्षा गरिरहेका छन् कि छैनन् ? उनीहरूले सहभागिता, सहकार्य र पारदर्शिताको पक्षमा के गरिरहेका गरेका छन्?
यी प्रश्नको जवाफ भनिरहनु नपर्ला। किनकि जवाफ तपाईं हामी सबैलाई थाहा छ। विश्वविद्यालयका गतिविधिले समाजलाई खुला बनाउँदै लैजाने वा अझ बन्द समाज बनाउँदै लैजाने भन्ने निर्धारण गर्छ। राजनीतिक दलका गतिविधि र विश्वविद्यालयको भूमिकालाई हे¥यौं भने हामी खुलापनबाट बन्दपनतर्फ गइरहेका छौं भन्ने देख्छौं।
(मार्टिन चौतारीले आयोजना गरेको लोकतन्त्र र खुला समाजका चुनौती विषयक अन्तरक्रियामा डा.शर्माले राखेको मन्तव्यको सम्पादित अंश)



Post a Comment

 
Top