नेपाली समाजमा आदर्श, निष्ठा, नैतिकता, सदाचार र अनुशासनका प्रतिमूर्ति बनिसकेका डा. गोविन्द केसीमाथि अहिले सिंगो अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र उनका मतियारहरुले निकृष्ट शैलीमा उत्रिएर मानमर्दन हुनेगरी गालीगलौज गरेका छन् । डा. केसीले अख्तियार प्रमुखद्वारा नियम कानुन मिचेर आफ्नो पदको दुरूपयोग गरेको भन्दै उनीमाथि महाभियोग लगाउनु पर्ने माग गरेका थिए । त्यसको प्रत्युत्तरमा कार्की र उनका मतियारहरुले डा. केसी मानसिक रोगी भएकाले उनलाई उपचार गराउन सरकारसँग माग गरेका थिए । क्षुद्रताको हद नाघेर र मानवीय मर्यादाविरूद्ध गरिएको यो प्रहारलाई केही राजनीतिक दलका युवानेताहरुले आपत्ति प्रकट गर्दै डा. केसीको पक्षमा आफूहरु पनि लाग्ने बताएका छन् । डा. केसीले अख्तियार प्रमुख कार्कीविरूद्ध महाभियोग प्रस्ताव संसदमा नल्याइएमा आफू सत्यको खोजीका लागि आग्रह गर्दै त्यसो नभएमा अब आठौँपटक आमरण अनशन बस्ने घोषणासमेत गरिसकेका छन् । अन्याय र अत्याचारको विरूद्ध लामो समयदेखि सरकार र दोषी व्यक्तिहरुप्रति कडा कारबाहीको माग गर्दै आएका डा.केसीलाई प्रबुद्ध नेपाली समाजले आदर्शपुरूषका रुपमा चिन्ने गरेको छ । तर, अहिले उनले कमाएको सम्पूर्ण मान, इज्जत र प्रतिष्ठासमेतको कुनै ख्याल नगरी ‘मानसिक रोगी’ को उपाधि दिनु कुन हदसम्म न्यायसंगत हुन सक्छ ? यो एक गम्भीर चुनौतीको विषय बनेको छ । यो आरोपविरूद्ध कांग्रेसका सांसद् धनराज गुरूङ तथा एमालेका सचिव योगेश भट्टराई र रवीन्द्र अधिकारी तथा कांग्रेसकै युवा नेता विश्वप्रकाश शर्मालगायत अन्य केही सांसद्हरुले पनि डा. केसीको पक्षमा उभिने घोषणा गरेका छन् । आखिर समयले एक न एक दिन सत्यलाई विजयी गराएरै छाड्छ भन्ने कुरा यो घटनाले पनि पुष्टि गर्नेछ । पञ्चायतकालमा पञ्चायती व्यवस्थाका कडा पक्षपोषक भएकै कारण लोकमानसिंह कार्कीका पिता भूपालमानसिंह कार्कीको वैशाखी चढेर लोकमान शक्तिकेन्द्रको नजिक घुलमिल हुन अभ्यस्त भएका हुन् । भाग्य भनौँ वा संयोग, गणतान्त्रिक सरकारले समेत पञ्चायतका कट्टर हिमायती लोकमानलाई नै योग्य देख्यो । यो घटनालाई हामीले विधिको विडम्बना भनेर पनि चित्त बुझाउनु पर्ने स्थिति उत्पन्न भएको छ । सर्वप्रथम कार्कीको पृष्ठभूमि र नियुक्ति प्रक्रिया नै गलत थियो, अर्थात् उनको छनोट गर्ने प्रक्रिया नै गलत थियो । गणतान्त्रिक नेपालमा उनीबाहेक अरु योग्य व्यक्तिहरु पनि खोज्न सकिन्थ्यो । तर, त्यस्तो प्रयास त्यतिबेला नहुनु नै हामी नेपालीको दुर्भाग्य हो । उनको नियुक्ति भएको समय ताका प्रशस्त विरोध पनि भएको हो । तर, कालखण्डमा सबै कुरा सेलाएर जाने प्रकृतिको नियमजस्तै कार्कीको प्रसंगमा पनि त्यही कुरा लागू भयो । अहिले डा. गोविन्द केसीजस्ता समाजका अगुवा, त्यागी र आदरणीय व्यक्तित्वविरूद्ध विष वमन गर्ने नैतिक अधिकार लोकमानसिंहजस्ता कालो पृष्ठभूमि भएका व्यक्तिलाई अवश्य पनि छैन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment