0
राजाराम पौडेल÷गोल्डेन
लोकदोहोरी प्रतियोगिता आयोजना हुने क्रम घटेकोमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल समिति गण्डकीका सचिव सुरेन्द्र गुरुङ चिन्तित छन् । अब पुनः दोहोरी प्रतियोगिता गर्ने माहोल बनाउन सबै कलाकार जुट्नुपर्नेमा उनको जोड छ । ‘अग्रज कलाकारले अग्रज कलाकारसँग र नयाँ कलाकारले नयाँ कलाकारसँग दोहोरी गाउँदै प्रतियोगीता आयोजना गर्ने माहोल बनाउनुपर्ने आवश्यता छ’–उनले भने । त्यति मात्र नभएर मेला र महोत्सवको आयोजना गर्नेहरुले आर्थीक फाइदालाई मात्र हेर्ने गरेको कारण प्रतियोगीता धरापमा परेको उनको बुझाइ छ ।  ‘हेर्न नहुने विकृति भएका गीत झनै बढीले हेर्ने र सुन्ने गर्छन्’ उनी थप्छन्–‘आयोजकले पनि त्यस्तै कलाकार बोलाउँदा टिकट बिकाउन सहज हुन्छ भन्दै स्थान दिन खोज्छन् ।’
यसरी विकृति भएका गीतलाई प्राथमिकता दिदाँ लोक संस्कृतीको जगेर्ना गर्ने प्रतियोगिता लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । यस्को लागि दोहोरी गीत प्रतिष्ठानले बारम्बार दवाव दिएपनि दवाव पर्याप्त हुन नसकेको उनले बताए । अहिले पैसा भएपछि एल्बम जसले पनि निकाल्ने परिपाटि बस्न थालेकोमा समेत उनी चिन्तित छन् । ‘ठेट लोक दोहोरी गीत आउन छाडे, प्रविधिको फाइदा लिनेहरु बढ्दै छन्, सकि नसकि गीत गाउने, पप हो की दोहोरी थाहै हुदैन’–उनले गुनासो गरे । सरकारले लोक दोहोरी बोर्ड स्थापना गरी सेन्सर गरिदिने व्यवस्था गरेमा मात्र यसको अन्त्य हुने उनको दावी छ । कास्की जिल्लाको दाङसिङ गाउँ विकास समिति वडा नं. ५, विरेठाटीमा वि.स.२०४६ मंसिर ४ गते जन्मेका गुरुङ लोक दोहोरी क्षेत्रमा देखिएका यस्ता विकृति अन्त्य गर्न सक्रिय बनेको बताउँछन् । बुबा मेख बहादुर र आमा चेलीमाया गुरुङको कान्छो सन्तानको रुपमा जन्मिएका उनको बाल्यकाल भने भारतको कलकत्तामा बित्यो । बुबा इण्डियन आर्मीमा भर्ती भएकोले उनले प्राथमिक शिक्षा समेत आर्मी स्कुलमा लिए । त्यहाँ पढ्दा आर्मी सम्बन्धी एमसिसी कोर्ष पुरा गरे । कक्षा १० उत्तिर्ण पश्चात सोतः आर्मीमा  भर्ती हुने अवसर भएपनि उनले यो अवसरलाई खेर फाले । आमा विरामी भएको कारण आमासँगै वि.स.२०५९ मा नेपाल फर्किएका उनी विरेठाँटी माविमा कक्षा ७ मा भर्ना भए । त्यसो त कलकत्तामा पढ्ने क्रममा साँगीतिक कार्यक्रममा उनले सहभागिता जनाउथे । नेपाल आउँदा उनलाइ पुरा नेपालीमा बोल्न आउँदैनथ्यो । हिन्दी र नेपाली भाषा मिसाउँदै उनी कुरा गर्थे । विस्तारै उनले नेपाली भाषमानै कुरा गर्न सक्ने भए । उनको लगाव गुरुङ संस्कृतिप्रति देखिन थाल्यो । गाउँमानै क्लवमा आवद्ध हुदै साँस्कृतिक कार्यक्रममा सहभागिता मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय बन्न थाले । रोधीमा आफ्नो प्रस्तुति सुनाउन थाले । रोधी र अन्य गाउँमा आयोजना हुने कार्यक्रमले उनको प्रस्तुतीमा निखारता प्रदान गर्दै लग्यो । एक्यापले आयोजना गरेको वातावरण संरक्षण सम्बन्धी कार्यक्रममा चेतनामूलक गीतमात्र नभएर स्कुलस्तरीय र गाविस स्तरीय कार्यक्रममा भाग लिइ पुरस्कार जित्न थाले । यसले उनमा उत्साह थपिदियो । वि.स.२०६१ सालमा शितल साँस्किृतिक कला केन्द्रको आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा आयोजित लोकदोहोरी प्रतियोगितामा भाग लिन उनलाई मन लाग्यो । उनले साथी अञ्जु रामदामसँग सल्लाह गरे । प्रतियोगीतामा भाग लिन दुवै सहमत त भए तर साथमा १० रुपैयाँ मात्र । टिम दर्ता गर्न ३ सय रुपैयाँ चाहिने । घरमा मागेर पैसा पाउन सहज थिएन । अनी अञ्जु रामदामले घरमा पालेको कुखुराको पोथी र गुरुङले घरमा भएको एक पाथी कोदो चोरेर ल्याएर कुल ३ सय रुपैयाँ जम्मा गरी टिम दर्ता गराए । २१ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा उनीहरु उपविजेता बनेका थिए । यसले सुरेन्द्रमा केहि गर्न सक्छु भन्ने आत्मबल बढेर गयो । अनि दाङसिङ गाविसको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा भाग लिइ पुरस्कार जिते ।
वि.स. २०६४ सालमा उच्च शिक्षा अध्ययनका लागि उनी पोखराको पृथ्वीनारायण क्याम्पस भर्ना भए । क्याम्पसमा आयोजना हुने साँगीतिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुन थाले । उनले जनजाति विद्यार्थी महासंघको सदस्य हुँदै कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्ष भएर काम गरे । फलस्वरुप कलाकारिता क्षेत्रका व्यक्तिहरुसँगको चिनजानमा वृद्धि भयो । विभिन्न कार्यक्रममा अवसर पाउन थाले । उनी वि.स.२०६५ मा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु तर्फबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु कार्यसमितिको सदस्य चुनिए । साँगीतिक क्षेत्र र राजनीतिक दुवै क्षेत्रमा क्रियाशिलताका साथ उनी लागे। आफ्नो प्रस्तुतिमा परिपक्कता ल्याउन केही समय डा.मितु पाल र दिलिप गायकसँग संगीत पनि सिके । प्रतियोगिता भाग लिने क्रम बढ्दै गयो। यहि क्रममा लोकदोहोरी कलाकार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, माया गिरी प्रतिष्ठानमा आवद्ध  हुन उनलाई आग्रह गरे । उनीहरुको आग्रह स्वीकार्दै वि.सं.२०६४ मा लोकदोहोरी गीत प्रतिष्ठान कास्कीको सदस्यता लिएका उनी वि.स.२०६६ मा प्रतिष्ठान गण्डकीको मनोनित सदस्य बने । प्रतिष्ठान गण्डकीको सह–सचिव हुँदै हाल सचिव रहेका उनी अब हुने अधिवेशनमा महासचिवमा आफ्नो दावेदारी प्रस्तुत गर्दैछन् । वि.स.२०६६ सालमा ‘नाँच नाँच भन्छौं नि कान्छी’ तीजको गीतमा आवाज भरेर औपचारिक यात्रा उनले तय गरे । शब्द र लय राम्जी पौडेलले सिर्जना गरेको यो गीतमा आवाज सुरेन्दको अलावा रामजी पौडेल, चोलेन्द्र पौडेल, सीता केसी र कृष्णा गुरुङले भरेका थिए ।
वि.स. २०६७ मा ‘मरक्कै कम्मर’ एल्बममा उनले आवाज भरे । रामजी पौडेल सँगको संयुक्त प्रस्ुतति रहेको यो गीतमा शब्द र लय सिर्जना पौडेलको थियो भने आवाजमा सीता केसी र माया गुरुङको साथ उनीहरुलाई थियो । वि.स. २०६८ मा सुरेन्द्र गुरुङ र माया गुरुङको आवाजमा ‘मेरो जीवन साथी’ गीत बजारमा आयो । शब्द सिर्जना प्रेमसागर पौडेलको रहेको यो गीतमा लय संकलन राज कार्कीको थियो । यो गीतले उनलाई दर्शक श्रोताको मायासँगै स्टेज कार्यक्रममा सहभागिता जनाउने अवसर मिलाइदियो । वि.स. २०६९ मा ‘मायाको भोको छु’ गीत सुरेन्द्र र देवी घर्तीको आवजमा बजारमा आयो । गीतको लय र शब्द सिर्जना विष्णु खत्रीले गरेका थिए । सुरेन्द्र गुरुङ र सविना गुरुङको आवाजमा वि.स.२०७० मा ‘तिम्रै छ तिर्सना’ गीत श्रोतामाझ आयो । शब्द सिर्जना रमेश विजिको रहेको यो गीतमा लय संकलन विक्रम गुरुङले गरेका थिए । वि.स.२०७२ मा शिरिष देवकोटाको लय र शब्दमा सुरेन्द्र गुरुङ र देवी घर्तीको आवाजमा ‘रुवायौ साइलादाइ’ गीत बजारमा आयो । यतिवेला  राजु गुरुङको लय तथा शब्दमा सुरेन्द्र र सर्मीला गुरुङको आवाजमा सालैजो गीत आउने तयारीमा छ । यसैगरी शिव हमालको शब्द र लय सिर्जनामा जुना श्रीषले आवाजमा सुरेन्द्रलाई साथ दिएको दोहोरी गीत आउने तयारीमा छ । आफ्नै सिर्जनामा गाउँका गीत र आमा सम्बन्धि गीत ल्याउने योजना उनको छ ।
उनी ओम फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटि कास्की, बहुउद्देशीय सचेतना समाज, नेकपा एमाले क्षेत्र नं.४ कास्की, रुविना फाउन्डेसन, हाम्रो दोहोरी साँझमा आवद्ध छन् । उनले हरेक साँझ हाम्रो दोहोरी साँझमा प्रस्ुतुती राख्छन् । हालसम्म अविवाहित सुरेन्द्र विवाह तीन वर्ष पछि गर्ने योजनामा छन् । ‘विवाह वर्षैपिच्छे गर्ने कुरा होइन, परिपक्क हँुदै छुँ, तीन वर्ष पछि गर्छू’–उनले भने । साँगीतिक र राजनीतिक दुवै तर्फको चाजोपाजो मिलाउन सक्ने खालको जीवन साथीको खोजीमा आफू रहेको भने उनले स्वीकारे । उनलाई प्रतिष्ठान केन्दले उत्कृष्ट कार्य गरेको भन्दै र प्रतिष्ठान गण्डकीले उत्कृष्ट कार्यसमिति सदस्य भन्दै सम्मान गरिसकेको छ । पछिल्लो क्रममा मेला महोत्सवका कार्यक्रम र प्रतिष्ठानका कार्यक्रममा उनी व्यस्त छन् । उनले नेपालका विभिन्न जिल्लाका अलावा हङकङ, श्रीलंका, भारत, म्यानमार, बंगलादेशमा पुगी आफ्नो प्रस्ुतति राखिसकेका छन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm





Post a Comment

 
Top