0
पोखरादेखि लगभग ११÷१२ कि.मि. उत्तर–पश्चिम हालको कास्कीकोट गा.वि.स मौलामा पर्ने यो पुरानो कास्कीकोट दरबारको आफ्नै छुट्टै पहिचान रहेको छ । पोखरादेखि केहि टाढाको दुरीमा र प्रचार–प्रसारको अभावले गर्दा यो दरबार त्यति साहै्र आगाडि आउन सकिरहेको छैन । सर्वप्रथम त यहाँको नाम कसरी कास्की रहन गयो भन्ने विषयमा इतिहासकार बताउछन् कि परापूर्वकालमा यहाँ कस्यप ऋषिले तपस्या गरेको भूमि भएको हुँदा ठाउको नाम कास्की रहन गएको हो । कस्यप ऋषि पछाडि यहाँ मगरहरुले शासन गरेको पाइन्छ । मगरहरु पछाडि घलेहरु यानकी गुरुङ्हरुले शासन गरेको पाइन्छ । मगरहरुका अन्तिम राजा कमान सिंह थिए भन्ने कुरा सुन्नमा आएको छ । घलेहरुका पालामा २ दाजुभाई थिए जसमा ब्रह्रम घले र अर्को साम्य घले । ब्रह्रम घले राजा थिए अर्थात दाई पर्थे भने साम्य घले भाई थिए । त्यो बेला अहिलेको यो कास्कीकोट कालिका मन्दिर अर्थात् पुरानो दरबार देखि करिब २÷३ कि.मि. पूर्वमा पर्ने खड्ग गाउँमा मगरहरुलाई हराउनुपूर्व घलेहरुको सानो राज्य थियो । मगरहरुलाई हराएपछडि यो कोटमा आएर घलेहरुले आफ्नो किल्ला निर्माण गर्न थाले ।
मगरहरु रुष्ट हुनु र घलेहरुको जनसंख्या अति नै कमजोर हुनु जस्ता मौकारुहको सदुपयोग गर्दै जगदि खाँड १२४ जना सैनिक भएको आफैंमा एक कुशल राजा, खड्ग सिंह कुँवर, सुशरण पराजुली, शिव शरण त्रिपाठी, विगुले भट्टे दमाईहरु, मगरहरुका अन्तिम राजा कमान सिंह र मगरका सन्तानहरुसंग मितेरी साइनो लगाई नाका–नाकाबाट हमला गरी ब्रह्रम घले र साम्य घलेलाई हराउदै वि.स. १११३ वैशाख २४ गते यो कास्कीमा खाँड राजाहरुको उदय भएको पाइन्छ । खाँड राजाहरुको पालामा यो राज्य खासै ठुलो थिएन । पुर्वमा चापाकोट, पश्चिममा पाउँदुर कोट, ढिकुर–पोखरी र सराङकोट सम्म फैलिएको थियो, त्यसैगरी उत्तरमा हेम्जाको खोलो सम्म मात्रै थियो । त्यो बेला खासै विकास हुन नसकेको अवस्था थियो । अति उच्चत्तम ठाउँ र रमणिय भएकाले खाँडहरुले आफ्नो दरबार यहाँ बनाएका थिए भन्ने कुरा इतिहासले बताएको छ । त्यो बेला यहाँ भद्रकालि देविको पूजा हुन्थ्यो । यो ठाउँ वास्तवमा एउटा हात–हतियार राख्ने कोत यियो जसको पछाडि अपभ्रंश भइ कोट हुन पुगेको हो । त्यो बेला राज्य सञ्चालन गर्दा गुरुङहरुले मन्त्र सिद्धि गरेर, खड्गहरुलाई सिद्धि गराई शत्रुहरुलाई ढाल्ने काम गरिन्थ्यो । खाँडहरुले यहाँ पुजा गरिरहे । त्यो बेला यहाँ पुजा गर्ने पुजारीहरुमा पराजुली, अधिकारी, त्रिपाठी र पछि आएर तिमिल्सना र बरालहरु, घर्ति खवासहरु, कोतवाले मगरहरु थिए जसले मन्दिर भित्र पुजा गर्थे । तिनै पुजा पाठ गर्ने पुजारीहरुलाई विभिन्न जिम्मा दिएर यो राज्य धर्मको आधारमा चलेको थियो र तिनै पुजारीहरु राज्य सञ्चालन लागि मन्त्री, ज्योतिष र सल्लाहकार पनि बनाइए र त्यसको छेटौं अथवा सातौं पुस्तापछाडि मात्र राजा कुल मण्डल शाहको उदय भयो । रोचक कुरा त के छ भनेनी कुल मण्डलशाह पनि खाँड वंशकै सन्तान हुन् । अहिलेसम्म जगदि खाँडलाई कास्कीको पहिलो राजा मानिन्छ । उनि पछाडि यहाँ हिंरणय खान, योत्नविर खान, रत्नविर खान, विश्राम खान, नयन खान, रणविर खान, धर्म खान, मित्र खान र विचित्र खानले करिब १११३ देखि राज्य सञ्चालन गर्दै आएका थिए । अर्को अचम्मको कुरा के छ भन्दा यो पढिरहदा खान त मुस्लिमहरु हुन् मुगल वंशका हुन्छन् कसरी यिनिहरु यहाँ हिन्दुहरुको मन्दिर वा दरबारमा आए त? वास्तविक कुरा के हो भने यिनिहरु खाँड नै हुन् यहाँ वस्ने मगरहरुले ‘खाँड’ लाई खान भनि उच्चारण गरिदिनाले पछाडि यी खाँडहरुले आफ्नो थर खान लेखेका हुन् । यी खानहरु कोहि पनि मुस्लिम हैनन् बरु यिनिहरु भारतबाट लडाइ गर्दै÷गर्दैै यहां छिरेका हुन्् भन्ने किंवदन्ति रहि आएको छ । राजा कुल मण्डल शाहले वि.स. १५३०–१५५२ सम्म यहाँ शासन गरे । उनका समयमा यहाँ धेरै विकाश पनि भयो र सिमाना पनि विस्तार भयो । उनले उत्तरपट्टि हेम्जाकोटलाई पराजित गर्दै माछापुच्छर्«े हिमालको फेदीसम्म पु¥याए र पूर्वमा राजाको चौतारा (कालिका गा.वि.स.) डदुवा खर्क अहिलेको गण्डकी पारि सम्म पुग्यो र अर्को पनि यहाँ रोचक प्रसङ्ग के छ भने राजा कुल मण्डल खान कसरी शाह बने त ? धार्मिक भ्रमण गर्ने उद्देश्यले राजा कुल मण्डल भारतको बद्रि केदार, प्रयाग, कुरुक्षेत्र जाँदा मुलक औषधिमूलक जडिबुटीहरु बोकेर यात्रामा निस्किए । त्यहाँ पुग्दा दिल्लीमा मुगलहरुको शासन थियो । अचानक त्यहाँकी एक रानी विरामी भइछन् । कुल मण्डलले आफूसँग भएको जडिबुटि रानीलाई खान दिए उनले खाइन् र आफू सम्पूर्ण यात्रा पुरा गरि दिल्ली आँदा आउँदा रानीको स्वास्थ्य ठिक भई सकेको थियो । कुल मण्डलले दिएको औषधि खाइ रानीलाई ठिक भएको हुँदा त्यहाँका मुगल राजा÷रानीले आफ्नो सबैभन्दा ठूलो पदवि ‘शाहले’ उनलाई सम्मान गरियो र फलस्वरुप दिल्लीबाट कास्की फर्किए पछाडि उनले खानलाई हटाएर शाह लेख्न सुरु गरेका हुन् । कुल मण्डल शाहका पालामा लमजुङ्मा मगरहरु, खड्काहरु र गुरुङ्हरुले राज्य गर्थे त्यहाँ राम्रोसंग राज्य सञ्चालन भइ रहेको थिएन । त्यसकारण लमजुङ्बाट दुरा जातिका एक खजे नामका राजा कास्की आए । कुल मण्डल शाहका ७ भाइ छोरा थिए । खजे राजाले कुल मण्डल शाहसंग एउटा छोरालाई लमजुङमा राजा बन्नका लागि बडो अनुरोध गरे । कुल मण्डल शाहका माइला छोरालाई राजा बनाउने भनेर लमजुङ लगियो । दुःखको कुरा त्यी माइला छोरा एकदिन शिकार खेल्न जाँदा शोषन्त नाम गरेका एक व्यक्तिले उनलाई मारिदिए र खजे राजा फेरी कास्की आइ कुल मण्डल शाह संग बाकी छ जना दाजुभाई मध्ये एक कसैलाई पठाइदिन आग्रह गर्दा कुल मण्डल शाहले अस्विकार गरे । फजेले रोएर हुन्छ कि खुट्टा मोलेर हुन्छ कि कसरी हुन्छ कुल मण्डल शाहलाई फकाए र राजा कुल मण्डलले अन्तिममा केहि नलागेपछि सुन ! खजे एउटा परीक्षणमा मात्र म मेरो छोरालाई लमजुङ पठाउँछु । सुत्दा जुन छोराको सिरानी वढि माथितिर अर्थात् उत्तरतर्फ ढल्किन्छ उनै लमजुङ जाने  भन्ने भयो र यो परिक्षणमा सबैभन्दा कान्छा छोरा यशोब्रह्रम शाह माथि पुगेछन् र उनलाई लमजुङ राजा हुन लगियो । यशोब्रह्म शाहले लमजुङमा राम्रो संग शासन गरे । उनिबाट २ छोराहरुको जन्म भयो । एक नरहरी शाह (लमजुङका राजा) अर्को द्रव्य शाह (गोर्खाका राजा) यि सबै एकिकरण पुर्वका घटनाहरु हुन् । जब गोर्खामा पृथ्वीनारायण शाहको उदय भयो उनको नेपाल एकिकरण यात्रामा उनले कास्कीमाथि कुनैपनि हमला गरेनन् । किनकी यो आफ्ना भाई भारदारहरुको भूमि थियो ।कुल मण्डल शाह एक विकाशमुखि राजा थिए । त्यस बेला कास्की क्षेत्री, बाहुन, मगर, गुरुङ, सार्की, दमाई र गन्धर्वहरु आपसमा मिलेर वसेको पाइन्छ ।  अहिले करोडौं लगानी गरेर निर्माण गर्न नसकिने पोखरीहरु उनैले निर्माण गरे । राज्यको सारा ढुकुटीको पैसा लगेर ढिकुरपोखरीको टापुमा खनाएर ढिकुरपोखरीको राम्रो विकाश भयो । लामाचौरमा वावियो बेरेर सालका काठ राखि पुल निर्माण गरियो अझैपनि बुढापाकाहरु त्यो ठाउँलाई वावियोको तरा भनेर चिन्छन् । कुल मण्डलले लामाचौरमा बस्नेतकी छोरी विवाह गरेका थिए । उनी गर्मिमा कास्की वस्थे र जाडोमा लामाचौर बस्दथे । कुल मण्डल शाहका पालामा कुँवरहरुलाई सेनासम्बन्धि जिम्मा दिइएको थियो । उनीहरु ढाल–तरवार लिएर लड्नुपथ्र्यो । अझै पनि सरुन नाच प्रत्येक वर्षको फुलपातिमा यहाँका कुँवरहरुले गर्दै आइरहेका छन् । भट्टराईहरुलाई राज सल्लाहकार र पौडेल जातिहरुलाई खड्ग गाउँको जिम्मा दिएर जातियताका आधारमा सञ्चालन हुने गरेको पाइन्छ । कमान सिंहका कलकहरु कोतवाले मगरहरु हतियारका नायक थिए । गुप्ताकालिकाको पुजा गर्ने त्रिपाठीहरु थिए, राज्यका पुरोहितहरु अधिकारी थिए, बराल र तिमिल्सनाहरुलाई पछाडि ल्याइयो । कास्की राज्यका मित्रहरुमा भारतको दिल्लीमा अवस्थित मुगल जातिका मान्छेहरु, पश्चिममा तनहँुका ढोरकाइ राजाहरु थिए । कास्की राज्यमा कुल मण्डल शाह पछाडि राज शाह, नारायण शाह, जिदन शाह, प्रताप शाह र सिद्धिनारायण शाहले राज्य सञ्चालन गरेको पाइन्छ । सिद्धिनारायण शाह नै कास्कीका अन्तिम राजा थिए । पृथ्वीनारायण शाहले किन आफ्नो गोत्र परिवर्तन गरे भन्ने विषयमा एउटा रोचक जानकारी छ उनले नेपाल एकिकरण ताका आफ्ना भाईभारदारहरुलाई मारेका हुनाले त्यसलाई एउटा गोत्र हत्या सम्झि उनी भारतको कांशि गई कस्यप गोत्रबाट भारध्वज गोत्रमा परिवर्तित भएका थिए । बाइस, चौबीस अथवा वाइसे, चौबिसे राज्यका पालामा कास्कीमा कृर्षिको राम्रो विकाश भएको थियो । किसानहरु ३ खेति गर्थे । फाटमा उनिहरु धान रोप्थे र पाको खेति उनीहरु माथि डांडामा गर्थे । त्यो बेला पाखामा पानी हालेर धान रोप्नेलाई कारवाही हुन्थ्यो । त्यसता मानिसलाई पोला भनिन्थ्यो र गाउँबाटै निकाला गरिन्थ्यो । शिक्षा क्षेत्रमा पनि कास्की धेरै अगाडि थियो । भारतबाट विद्ववानहरु ल्याएर प्रवचन चलाउने चलन थियो । १८ पुराण एकैपटक चलाइएको हुनाले पुराणाकास्की भनिन्थ्यो । अझैपनि कतैकतै हाम्रा पुराना तम्सुकहरुमा पुराना कास्की लेखेको पाइन्छ त्यो पुराणाकास्की हो । भू–संरक्षणका लागि जिम्मा जलारीहरुलाई दिइएको थियो । जलारी र मगरले वाहेक अरुले खोलामा माछा मार्न प्रतिवन्ध थियो । सालका रुखहरु अनियमित रुपमा काट्न पाइदैनथ्यो । एउटा समय सम्बन्धित उखान कास्कीमा प्रसिद्ध बनेको थियो–“तिवारीको खरि, देवकोटाको घडि र चँुइको थरि” । यसबाट थाहा हुन्छ कि समयको पालनामा कस्केली राजाहरु वडो चलाख थिए । गोर्खा कालि र कास्कीकोट कालिका मन्दिरको तान्त्रिक विधि एउटै रहेको छ । यहाँका कर्मचारीहरुको एउटै गुनासो छ राजाहरुका पालामा प्रत्येक वर्ष ३८ हजार वजेट आउथ्यो तर आजभोलि देश गणतन्त्रमा परिवर्तन भएपछि मात्र १० हजार आउँछ जुन प्रयाप्त छैन । यति ठूलो इतिहास वोकेको कास्कीकोट दरबारलाई विश्व सम्पदा सुचिमा सुचिकृत गनुपर्ने सम्पूर्ण कास्कीकोट वसिन्दाहरुको माग रहि आएको छ । उनीहरु यो माग धेरै सभाषद्को घरमा पुगे तर उनीहरुको यो कुरालाई कसैले पनि नसुन्दा सारा कास्कीकोट वासीहरु निराश भएका छन् । नेपाल सरकार पुरातात्विक विभाग र नेपाल पर्यटन वोर्डले यस्ता ऐतिहासिक ठाउँहरुको पहिचान गरि यिनको संरक्षणमा विशेष जोड दिनुपर्छ । स्रोतः ‘कास्की राज्यको ईतिहास र नेपालको एकिकरणमा कास्की राज्यको भूमिका’ विषयमा वि.स.२०७०÷०९÷२४ गतेका दिन डम्बर राज पौडेलले कास्कीकोट ईतिहासका जानकार ठाकुर प्रसाद त्रिपाठीसँग लिएको अन्तर्वार्ता ।


Post a Comment

 
Top