0
गोल्डेन न्यूज संवाददाता
पर्वत जिल्ला बाजुङ घर भई हाल पोखरा–२ मोहरियाटोलमा बस्दै आएका दुर्गा गुरुङ मिलन सहित उनका परिवारले पोखरा वृद्धाश्रममा फर्निचर, लत्ताकपडा, भोजन तथा फलफूल सहयोग गरेको छ । आफ्ना बुबा नरबहादुर गुरुङको स्मृतिमा उनकी धर्मपत्नी सावित्री गुरुङ, छोरा दुर्गा गुरुङ मिलन छोरीहरु कृष्णमाया, ओममाया, देउमाया, लक्ष्मी, विनिता, ज्योति लगायत परिवारका सदस्यहरुले करिब १ लाख ६ हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेका हुन् । खाना खाने टेवल तथा बेन्च ३ सेटको कूल ६७ हजार ५ सय रुपैयाँ, करिब ३० हजार रुपैयाँ बराबरको कपडा तथा भोजनका लागि १० हजार रुपैयाँ एक कार्यक्रमका बीच पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै मिलन फाउण्डेशनका संरक्षक एवं मिलन डिजी इन्टरनेशनलका अधयक्ष दुर्गा गुरुङ (मिलन)ले आफ्ना बुबाको स्मृतिमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई पनि आफ्नै बाबाजस्तै सम्झेर सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत सहयोग गर्दै जाने उल्लेख गरे । पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले आफ्ना दिवगंत आफन्तको सम्झनामा वृद्ध वृद्धालाई सहयोग प्रदान गरेकोमा स्वं.नरबहादुर गुरुङका परिवारजन प्रति आभार प्रकट गरे । मलन फाउण्डेशन अध्यक्ष गंगा गुरुङले आफ्नो संस्था असहाय बालबालिका, ज्येष्ठ नागरिक तथा विभिन्न विद्यालय तथा आफ्नै गाउँ बाजुङमा सामाजिक काममा आर्थिक तथा भौतिक सामग्री सहयोगमा क्रियाशील रहेको बताए । पोखरा वृद्धाश्रममा हाल १४ जिल्लाका विभिन्न जाति समुदायका ६५ जना ज्येष्ठ नागरिक आश्रित छन् ।




Post a Comment

 
Top