0
१९ औं शताब्दीदेखि एउटा छुट्टै विधाको रुपमा विकसित हुँदै गएको आधुनिक नेपाली कथाले एउटा निश्चित सिद्धान्त र गोरेटोबाट हिंड्दै प्रयोग र शिल्पका दृष्टिले आज निकै विस्तृत स्वरुप पाइसकेको छ । वर्तमान समयमा जीवन जति–जति जटिल र व्यस्त हुँदै गइरहेको छ त्यति नै कथा, लघु कथा (तथा सूत्र कथा पनि) निकै लोकप्रिय विधाका रुपमा स्थापित भइरहेको छ । नेपालको सन्दर्भमा हेर्दा कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’
(विसं. १९९२) बाट थालनी भएको नेपालको आधुनिक कथा–यात्रा पुष्कर शमशेर, रुपनारायण सिंह, तारिणीप्रसाद कोइराला, दौलतविक्रम विष्ट, विपि कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’, मदनमणि दीक्षित, भवानी भिक्षु, रमेश विकल, इन्द्रबहादुर राई, डा. ध्रुवचन्द्र गौतम, पोषण पाण्डे हुँदै पारिजात, परशु प्रधान, सनत रेग्मी, गोपाल पराजुली, अशेष मल्ल, खगेन्द्र संग्रौला, राजव, नारायण ढकाल, मञ्जु का‘चुली, वेदकुमारी न्यौपाने, सीता पाण्डे, माया ठकुरी, मधुवन पौडेल, ध्रुव मधिकर्मी, ध्रुव सापकोटा, भाउ पन्थी, गोविन्द गिरी ‘प्रेरणा’, उत्तमकृष्ण मजगैया‘, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, नरेन्द्रराज पौडेल, महेशविक्रम शाह, आमोद भट्टराईसम्म आइपुगेको छ । यस्ता नामहरुको एउटा लामै सूची बन्न सक्छ । राजधानी र मोफसलका गरी अहिले पनि सयौं कथा–लेखक पूर्ण सीप र खिपका साथ सिर्जनरत छन् । डा. धु्रवचन्द्र गौतम, गोपाल पराजुली, ध्रुव मधिकर्मीलगायत कतिपय साधकहरुले नवीन प्रयोगद्वारा यस विधालाई थप गति प्रदान गरेका छन् । देश बाहिरका नेपाली कथाकारहरुले पनि सार्थक योगदान दिएकै छन् । यसरी हेर्दा नेपाली कथा साहित्य निकै समृद्ध रहेको छ भन्नुपर्छ ।
लोककथा र गीति लोककथा (थारु, मगर र ब्राह्मण–शास्त्रीय नीतिकथा) क्षेत्रमा दाङ समृद्ध नै रहेको छ । यिनै लोककथाहरुको आधारभूमिमा आधुनिक कथाको जग बसेको हो भन्न सकिन्छ । दाङको आधुनिक कथासन्दर्भमा हेर्दा निकै थोरै लेखकहरुले मात्र यस विधामा कलम चलाएको पाइन्छ । वनारसबाट प्रकाशित उदय पत्रिका (वर्ष १४, अंक १२, २००८) मा प्रकाशित मीन दङाली (मीनकेतन शर्मा घिमिरे) को ‘विरहीको पत्र’ शीर्षकको कथालाई नै दाङको पहिलो प्रकाशित कथाको रुपमा लिन सकिन्छ । त्यसपछि उदय, सन्देश (२०१४), ज्योत्स्ना (२०१५) जस्ता पत्रिकाहरु प्रकाशित हुँदै गर्दा कविता र निबन्ध विधाका साथै लेखकहरुले कथाको प्रकाशनतिर पनि रुचि लिएको पाइन्छ । तर पूर्ववर्ती लेखकहरुले यसलाई निरन्तरता नदिएको र पुस्तक प्रकाशनतिर पनि कुनै चासो दिएको पाइन्न । उत्तरवर्ती केही लेखकहरुले भने कथामा थोरै–थोरै कलम चलाएका छन् तथा पत्रपत्रिकामा पनि फुट्कर रचना प्रकाशन गर्नुका साथै केही कृतिहरु पनि प्रकाशन गर्ने जमर्को गरेका छन् । कथा विधाको पहिलो प्रकाशित कृति भने नित्यानन्द शर्माको ‘बाँच्ने रहर’– (२०४५) नै हो । यसपछि मात्रै अन्य केही स्रष्टाहरुले आफ्नो कथाकृति प्रकाशनतिर चासो दिएको देखिन्छ । दुर्गाप्रसाद लामिछानेको ‘अपराधी को ?’– (२०४८), शेरबहादुर चौधरीको ‘टुक्रिएको जिन्दगी’– (२०४८), बलदेव मजगैयाँको ‘संकल्प’– (२०५३), बासुदेव भण्डारीको ‘परिवेश’– (२०५५), सूर्यनाथ सापकोटाको ‘घायल मुुटु’– (२०५६) र ‘फुल्दै झर्दै, झर्दै फुल्दै’ (सूत्रकथा– २०६०), मेदिनीकुमार केवलको ‘पि.ए.को बिहे’–(२०५८), उत्तमकृष्ण मजगैयाँको ‘बेंसीतिर’– (२०५९) कृष्ण सर्वहारीको ‘मामा–भाञ्जा’–
(लोककथा संग्रह–२०६०) र ‘सुख्ली’– (बालकथा संग्रह–२०६२), गोविन्द कुसुमको ‘तन्द्राभित्रको अतीत’– (२०६०), सूर्य विसीको ‘ठूल्दाइको सपना’–(२०६०) र ‘जोजोले जोगायो’– (बाल कथासंग्रह २०६२), सविन प्रियासनको ‘सपनाभित्रको सपना’–(२०६२) पद्मप्रसाद शर्माको ‘उपहार’–(२०६२), के.एल. पीडितको ‘झोला र सपनाहरु’– (२०६२), सरला रेग्मीको ‘चुँडाल्दै बन्धनहरु’– (२०६४), सुनिल पोखे्रलको ‘नेपाली विज्ञान कथासंग्रह’– (सम्पादन–२०६७), गुरुप्रसाद शर्मा रेग्मीको ‘मनका पाइलाहरु’–
(२०६८), छविकिरण वलीको ‘धुवाँमा रुमल्लिएको कोठा’– (२०६९), राधा गौतमको ‘यात्रा’– (२०७१) जस्ता केही कृतिहरु प्रकाशित रहेका देखिन्छन् । रमेश क्षितिज, शरद देवकोटा, इन्द्र विवश डिसी, लेनिन बञ्जाडे, महेन्द्र महक, दिल महरा, नारायण विवश, दीपक घिमिरे, विष्णु आर्ट, सौगात आचार्य, सहदेव श्रेष्ठ, बसन्त विवश आचार्य, खिमु केसीलगायत कतिपय स्रष्टाहरुका पनि फुट्कररुपमा कथा प्रकाशित भएका पाइन्छन् । अधिकांश कथाकारका रचनाहरुमा शैल्पिक उचाइ र नवीन प्रयोगको प्रायः अभाव पाइन्छ । तर नयाँ पुस्ताका लेनिन बञ्जाडे, महेन्द्र महक, दिल महरा, दीपक घिमिरे, बसन्त विवश आचार्य, खिमु केसीलगायत केही स्रष्टाहरु भने प्रशस्त सुखद् सम्भावना र नयाँ सीप बोकेर आएको आभास हुन्छ । यति पूर्व–चर्चापछि अब मूल विषय अर्थात् नित्यानन्द शर्माको ‘बाँच्ने रहर’ नामक कथासंग्रहमै केन्द्रित रहन चाहन्छु । प्रायः गीत र फुट्कर कविता लेखेर प्रशस्त चर्चा पाइसकेका दाङका साहित्यकार नित्यानन्द शर्मा (२००९) ले सर्वप्रथम २०४५ सालमा ‘बाँच्ने रहर’ कथासंग्रह प्रकाशन गरेर दङाली कथा साहित्यको प्रथम कृतिकारका रुपमा आफ्नो पहिचान दिन सफल भएका छन् । विभिन्न सामाजिक विषयवस्तुमा संरचित प्रायः लघु–मध्यम स्वरुपका जम्मा १६ थान कथाहरु यसमा संकलित रहेका छन् । यस आलेखमा उनको यही संग्रहभित्रका कथाबारे चर्चा गर्ने केही जमर्को गरिएको छ ।
शिक्षा पुरस्कार (२०३९ र २०४५), यादव प्रतिभा पुरस्कार (२०५०), वम–शंकर पुरस्कार (२०५६)बाट सम्मानित भइसकेका शर्मा विभिन्न सामाजिक तथा साहित्यिक संघसंस्थासित आवद्ध छन् । यिनले ज्योत्स्ना, राप्तीदूत, प.नि. स्मारिका, गंगालगायत केही पत्रपत्रिका र ‘राप्तीका गीत’ एवं केही स्मृतिग्रन्थको सम्पादन पनि गरेका छन् । पछिल्लो समयमा यिनी दङाली पर्यटकीय क्षेत्रहरुको विशेष अध्ययन–लेखन र बालकविता रचनामा बढी एकोहोरिएका देखिन्छन् र यिनको ‘जूनमामा’–(बाल कवितासंग्रह–२०६३) पनि प्रकाशित रहेको छ । तर यिनको विशेष साहित्यिक प्राप्ति र पहिचान भने ‘बाँच्ने रहर’ नामक यही कथासंग्रह नै बनेको छ । यिनको कृतित्व र व्यक्तित्वको विषयमा कान्ति भुसालले २०६९ मा शोधपत्र तयार गरिसकेकी छन् ।
‘बाँच्ने रहर’ मा संकलित कथाहरुमध्ये आख्यान तत्व र रस, भावका दृष्टिले बाँच्ने रहर, प्रतीक्षा, विवशता, कति बोकेर हिंड्ने रित्तो जीवन शीर्षकका कथाहरु सापेक्षतामा राम्रा छन् । लेखकद्वारा ‘रहरमै लेखिएका’ भनिए पनि सामाजिक विषयवस्तु, सरल र सुबोध शैली तथा कथ्यको रोचकताका कारण पठनीय बनेका छन् । यी कथाहरु मौलिक र सुन्दर छन् तथा आफ्नै वरिपरिको परिवेशमा भएका, आफू परिचित रहेका, देखे–भोगेका जस्ता यथार्थपरक र विश्वसनीय लाग्छन् । प्रायः गुरुप्रसाद मैनालीकै परम्परा पछ्याएझैं लाग्ने यिनका कथाहरुको अध्ययन गर्दा यिनी एक आदर्शोन्मुख कथाकारका रुपमा देखिन्छन् । एक अनुकरणीय सामाजिक व्यक्तित्व प्राप्त गर्न सफल शर्माका कथा पनि सुधारात्मक पक्षतिर बढी केन्द्रित रहेका देखिन्छन् भने कतै–कतै उपदेश जस्ता पनि लाग्छन् । तर पढ्दा पट्यार लाग्ने, बोझिलो र निरस भने छैनन् ।
कथाकार नित्यानन्द शर्माले आफ्नै गाउँ–परिवेश र आफ्नै भोगाइ तथा आफू बसे–भिजेको समाजको सुख–दुखात्मक स्थिति र अवस्थालाई नै कथाको विषयवस्तु बनाई रोचकताका साथ प्रस्तुत गरेका छन् । त्यसैले पनि यी कथाहरु प्रायः यथार्थकै सन्निकट रहेका छन् भन्नुपर्छ । कथाका अधिकांश पात्र–पात्राहरु ग्रामीण परिवेशबाटै सिर्जित छन् भने त्यहा‘को झगडा र मेल, साहुको ऋणबाट आक्रान्त सोझो निमुखो व्यक्ति र लाहुरे–विवशता, चरम आर्थिक विपन्नता र जीवन–संघर्ष देख्न सकिन्छ । तर निराशा र उद्वेगका बीचमा पनि जुझेरै बा‘च्ने रहर एवं जीवन र जगतप्रतिको आस्था र सकारात्मक धारणा रहेको देख्न पाइन्छ यी कथाका पात्रहरुमा । यस्तो पात्रले दुःख र अभावका कारण परदेशमा हेलिनु परेको लाहुरेको चिठी पढी वाची सुनाउ‘छ उसकी विरहिणी–गर्भिणी पत्नीलाई, अनि उसका आँसु टिपेर पत्र लेखी प्रेषित गरिदिन्छ उसको विवश लाहुरे पतिलाई । यही क्रममै करुण कथा आफै विकसित भई पाठकको मनलाई छोएर उसको मथिङ्गल मथ्न थाल्छ । पाठक केही क्षुब्ध, केही आक्रोशित र केही संवेदित बन्न बाध्य हुन्छ ।
आख्यानकार शर्माका कथाहरुमा आफ्नै वन–मेलापात, आफ्नै खोला–खर्क, आफ्नै खेत–खलिहान र आफ्नै मन–माटोका शब्द–चित्र भेटिन्छन् । साँच्चिकै आफ्नो माटोप्रतिको मोह र माया पाइन्छ भने संघर्ष, युद्ध र द्वन्द्वका बीच पनि निद्र्वन्द्व बाँच्ने चाहना र जीजिविषा देखिन्छ । समग्रमा ‘बाँच्ने रहर’को सारभूत तत्व पनि यही हो जसले पुस्तकको शीर्षकलाई पूर्ण सार्थकता प्रदान गरेको छ । यी कथाभित्रका अधिकांश सत्पात्रहरु खलपात्रहरुबाट सताइएका, नंग्य्राइएका, चपाइएका क्षतिग्रस्त मानसिकताका छन् तर चाडपर्व, विवाह वा यस्तै कुनै खास अवसरमा ऋण काढेरै भए पनि पुनः टाउको उठाएर गाउन नाच्न थालिहाल्छन् मादल ठोक्दै । जस्तोसुकै निराशाका बीच पनि आशामुखी बन्दै एकछिन भए पनि कति छिट्टै भारमुक्त अनुभव गर्न सक्छन् यी सरल हृदयका गाउँले बन्धुहरु ! यिनका निष्कपट र निश्छल व्यवहार यथार्थ परिवेशमा पनि र नित्यानन्द शर्माका कथाभित्र पनि सहज अनुभव गर्न सकिन्छ । त्यसैले पनि यिनका कथाहरु ‘बाँच्ने जीजिविषा र असहज परिस्थिति बीचको संघर्षगाथा नै हुन्’ भन्न सकिन्छ । यिनका पात्रहरुले डुब्दा–डुब्दैको घामलाई पनि आशामुखी भएर भोलि हुने सूर्योदयको सापेक्षतामा हेर्ने गर्छन् । बरु दुःखसँग पौंठेजोरी खेल्छन्, जीवन हार्दैनन् ।
कथाकार शर्माले आफ्ना केही कथामा प्रेम र यौनलाई पनि स्थान दिएका छन् । यस्ता कथाहरु विशेष वर्ग र खास आयु समूहका पाठकहरुद्वारा बढी पढिन्छन् र रुचाइन्छन् पनि । खासगरी प्रेम र वियोगका यी कथाहरु युवा र किशोरवयका विद्यार्थी–पाठकहरुबीच बढी लोकप्रिय बनेका पनि पाइएका छन् । तर अल्लारे बैंसमा यदि होश राखिएन भने त्यसको परिणाम नकारात्मक हुन सक्छ भन्ने सन्देश र चेतावनीका साथ कथाकारले सुधारवादी दृष्टिकोण राखेको पनि पाइन्छ । यसरी यिनका कथाले खास उमेर समूहका पाठकहरुलाई सचेत तुल्याउँदै मार्गदर्शन पनि गरेका छन् ।
आख्यानकार शर्मा गीतकार पनि भएकाले यिनका केही कथामा बीच–बीचमा गीतका बोल पनि राखिएको पाइन्छ । जस्तैः
‘जति रोए पनि मनको बह पोखिदैन’
(अधुरो रेखा– पृष्ठ १६)
‘जहा‘सुकै गए पनि फगत तिम्रै रहनेछु
जति दुःख गरे पनि तिम्रै साथ रहनेछु ।’
(विछोड– पृष्ठ १०)
‘सम्झे कहिलेकाहीं बाडुकी बनी आउने छु ।’
(स्मृतिका पानाहरु– पृष्ठ ४५)
लेखकको प्रशंसामा मात्र सीमित नरही कथामा रहेका केही कमीकमजोरी पनि औंल्याइदिएमा लेखकका लागि राम्रै होला भन्ने धारणा राख्दै यहाँ केही कमजोर पक्षतिर पनि दृष्टि दिने प्रयास गरिएको छ । कथाकार शर्माको आफ्नै निजी र विशिष्ट शैली छ । तर विषयवस्तु र भाषा शैलीमा नया‘पन र प्रयोगको भने प्रायः अभाव रहेको छ । आख्यानमा विचार–अभिव्यक्तिका लागि संवादको निकै ठूलो भूमिका रहन्छ तर यिनका कथामा संवादको प्रायः कमी नै रहेको छ । कथामा लेखक स्वयं आफै बोलेका छन् । वर्णनात्मक–विवरणात्मक शैलीले रोचकतामा केही कमी ल्याएको छ भने कथाका विषयवस्तुमा पनि खासै त्यति भिन्नता र विविधता नभएकैले एकसार वा एकरसता पाइन्छ । यस्तै, कथाहरुमा कौतुहलता र उत्सुकताको पनि प्रायः अभाव नै देखिन्छ । भाषा र मुद्रणमा पनि असावधानीवश केही त्रुटि र असुद्धि रहन गएको छ । प्रायः सबै कथाले कलाको टड्कारो आग्रह गर्दछन् भने चरमोत्कर्षको पनि प्रायः अभाव देखिन्छ । धेरैजसो कथाहरुको अन्त्य पाठकले पहिले नै अनुमान गर्न सक्छन् । वास्तवमा कथा चरम अवस्था (ऋथिmभह) मा पुगेर मात्रै एकाएक टुंगिनुपर्छ । कथामा घटनाक्रम क्रमशः विकसित हु‘दै चरमोत्कर्षको जुन सीमानेर पुगेर त्यसको प्रभाव सकिन्छ त्यहींनेर कथा पनि टुंगिन्छ, टुंगिनुपर्छ । यस्तो अवस्थामा पाठक स्तब्ध बन्छ, हतप्रभ या विस्मित संमोहित हु‘दै आनन्दातिरेकले रोमाञ्चित हुन्छ । कहिलेकाहीं त भावातिरेकले रुन्छ वा हा‘स्छ पनि । कथाको प्रभावले उत्तेजित बनेको पाठकको मस्तिष्क एकछिन अडेर केही सोच्न बाध्य बन्छ र आफ्नो केही स्वतन्त्र विचार बनाउन थाल्छ । यसरी सुन्दर र प्रभावकारी कथाले पाठकको हृदयलाई पगाल्छ भने उसको चेतना–ब्रह्मलाई पनि झक्झक्याइदिन्छ । आफ्ना कथामा यस्तो उत्कृष्ट प्रभाव उत्पन्न गर्न कथाकार शर्माले अझै थप अभ्यास गर्नुपर्ने देखिन्छ ।
कथा जीवनको नौलो सृष्टि हो, त्यसको पुनर्जन्म हो । उपन्यासमा रहेझैं कथामा वास्तविक जीवनका सम्पूर्ण कुराहरु हुँदैनन् बरु त्यसको एउटा प्रभाव मात्र उपस्थित रहन्छ । तर जीवनको अर्थ वा सारको झलक भने यसमा रहन्छ । आख्यानकार नित्यानन्द शर्माका कथामा पनि पाठकलाई जीवनको यही सार–तत्व वा अर्थको अन्तर्बोध हुन्छ । देवकोटाको कथन जस्तै यिनले पनि कथारुपी अ‘ाखिझ्यालबाटै आफ्नो समाज र आफू बा‘चेको समयलाई चियाएका छन् । जीवन र जगतको सार्थक रुप निर्माण गर्नु नै कथा लेख्नुको मुख्य उद्देश्य रहे जस्तै यिनका कथा पनि समयसापेक्ष र समाजसापेक्ष रहेका छन् भन्न सकिन्छ । सुन्दर र सार्थक कथा लेख्न अभ्यस्त भइसकेका कथाकार नित्यानन्द शर्मा आफ्ना पछिल्ला दिनमा कथा–लेखन तथा प्रकाशनमा त्यति सक्रिय देखिएका छैनन् । बालगीत वा बालकविता लेखनमै प्रायः एकोहोरिएका शर्माले कथा–लेखनलाई पनि निरन्तरता दिनैपर्छ किनभने दाङको साहित्यिक फा‘टमा स्पष्ट पहिचानसहित यिनको सवल उपस्थितिका साक्षी भनेका यिनका यिनै कथाहरु नै हुन् । बरु म यिनको कथा–शिल्प अरु खारियोस् र राष्ट्रियरुपमै यिनको स्पष्ट पहिचान बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
            साभार ः नव युगवोधबाट





Post a Comment

 
Top