0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १९ घार्मीमा रहेको ऐतिहासिक राम्चे पोखरीको पुनः निर्माण शुरु भएको छ । झण्डै दुइ शताब्दी पुरानो ऐतिहासिक पोखरी पछिल्लो समय पुरिएर लोप हुने अवस्थामा पुगेपछि त्यसको पुर्ननिर्माण गरी संरक्षण गर्ने उद्देश्यले काम शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव पौडेलले बताए । पर्यटकीय क्षेत्रको रुपमा रहेको त्यस क्षेत्रलाई थप आर्कषण बनाउन र पर्यटकीय गतिविधिलाई बढाबा दिन पनि पोखरीको आवश्यकता महसूस भएको उपाध्यक्ष टंकनाथ पौडेलको भनाई छ । पुनःनिर्माणका लागि करिब ५ लाख ५० हजारको लागत अनुमान गरिएपनि पोखरा उप–महानगरपालिकाले पहिलो चरण अन्र्तगत १ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । सोही रकमबाट हाल पोखरीको पिपिसी निर्माण, जग खन्ने र सोलिङ्गको काम भैरहेको सचिव प्रेम भुजेलले जानकारी दिए । नगरपालिकाको वातावरण संरक्षण आयोजना अन्तर्गत निर्माण भैरहेको पोखरी ८० मिटर लम्बाइ र चौडाइको हुने छ । पोखरी निर्माणका लागि उपभोक्ता समिति सहित स्थानीयले जनश्रमदान समेत गरेका छन् ।  आगामी असार मसान्त भित्र पहिलो चरणको काम सम्पन्न गरिसक्नु पर्ने र त्यस पछि मात्र दोस्रो चरण अन्र्तगत अन्य निर्माणको काम शुरु हुने समितिले जनाएको छ । यसअघि पनि पोखरी पुनःनिर्माणका लागि पहल गरिएपनि आर्थिक अभावका कारण त्यत्तिकै अलपत्र परेको थियो । नगरपालिकाको सहयोग पछि भने पोखरीको निर्माण कार्यले गति लिने भएको छ ।

Post a Comment

 
Top