0
गोल्डेन न्यूज संवाददाता
पोखराको नागढुङ्गामा मंगलबार बेहोस अवस्थामा भेटिएकी युवतिको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार विहान बेहोस् अवस्थामा अर्धनग्न भेटिएकी स्मृति गुरुङको मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार विहान ७ बजे मृत्यु भएको हो । गोरखा घर भई नागढुङ्गामा भाडामा बस्दै आएकी स्मृति बेहोस् अवस्थामा अर्धनग्न भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरी थप उपचारको लागि मनिपाल लगेको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने बेहोस् भेटिएकी उनको नाक र कानबाट रगत बगिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । आफू बस्ने घरदेखि करिब एक सय पचास मिटर नजिकैको तितेपातीको झ्याङमा स्मृतिको शव थियो । उनको कम्मर भन्दा माथिल्लो भाग नग्न अवस्थामा थियो भने हाफ प्यान्ट खोलिएको अवस्थामा थियो । यद्यपि बलात्कार नभएको प्रहरीको भनाई छ । शारीरिक परीक्षणमा पनि बलात्कारको कुनै प्रमाण नभेटिएको र अनुहार तथा शरीरमा कुनै दाग वा चोट नभएकाले बलात्कार नभएको पुष्टी हुने प्रहरीको भनाइ छ । मृतक युवतीको पोष्टमार्टम हुन भने बाँकी छ । गोर्खाबाट आफन्त आउन ढिला भएकाले उनको शव मनिपालमै राखिएको छ । आफन्त पोखरा आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले स्मृतिको हत्या भएको आशंका गरेको छ । टाउकोमा गम्भीर चोट लागेकाले हत्या भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर गणेश वमले बताए । स्मृतिको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । इन्स्पेक्टर वमका अनुसार उनीहरुमाथी अनुसन्धान भईरहेको छ । यद्यपि उनीहरुले हत्या गरेको स्वीकारेका भने गरेका छैनन् । वमले भने–‘स्मृतिको हत्या भएको हाम्रो आशंका हो, हत्याको आशंकामा ३ जनालाई पक्राऊ गरेका छौं, अनुसन्धानपछि थप खुल्नेछ, पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ ।’ आशंकाको आधारमा नियन्त्रणमा लिएकाले उनीहरुको थप खुलाउन नमिल्ने भन्दै उनले अनुसन्धान पछि थप भन्न मिल्ने बताए । उनलाई रिसिइबी वा प्रतिशोधका कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । स्मृतिको आमा गोर्खामा छिन् भने उनको बुबाले करिब २ वर्षअघि पोखराको नागढुङ्गामै आत्महत्या गरेको स्थानीयले बताएका छन् ।


Post a Comment

 
Top