0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल बिहीबार पोखरा फर्किएको छ । टोली सुन्दर पोखरालाई देशका अन्य भागमा प्रवद्र्धन गर्ने तथा व्यवसायिक सम्भावनाका नयाँ आयामहरुको खोजी गर्नका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भ्रमणमा गएको थियो । संघका अध्यक्ष विन्दुकुमार थापाको नेतृत्वमा निस्केको प्रतिनिधि मण्डलले नेपालगञ्ज, बुटवल, कालिकोट, सुर्खेत उद्योग वाणिज्य संघहरु तथा स्याङ्जा उद्योग वाणिज्य संघको इकाई गल्याङसँग निजी क्षेत्रको साझा धारणा निर्माण लगायतका विविध विषयहरुका गहन छलफल तथा अनुभव आदान–प्रदान गरेको छ ।
संघका महासचिव रवीन्द्र बहादुर प्रजुका अनुसार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर प्रजु, कार्यसमिति सदस्यहरु नारायण कोइराला, दामु अधिकारी, ईश्वर कर्माचार्य, पवनकुमार प्रजापति, अर्जुन पोखरेल, बलराम आचार्य, मोहनबाबु खड्का, संघका कार्यकारी निर्देशक टोपबहादुर थापा र संघको मुखपत्र व्यापार पत्रिकाका सम्पादक वाशुदेव मिश्र सहभागी थिए । प्रतिनिधिमण्डलले पोखराको पर्यटनलाई सुदूरपश्चिमाञ्चलसँग जोड्नका लागि रारा तालसम्मको यात्रा तय गरेको थियो । मुगु जिल्लामा रहेको रारा तालको स्वच्छता देखेपछि अध्यक्ष थापाले पोखराका तालहरु संरक्षणको लागि ढिला भई सकेको प्रतिक्रिया दिए । स्वच्छ र सुन्दर भएर पनि रारामा पर्यटक पुग्न नसक्नु र पोखराको फेवा लगायतका तालहरु प्रदुषण अनि मानवीय अतिक्रमणमा पर्नु घातक भएको उनको भनाई थियो । त्यसको लगत्तै कालिकोट उद्योग वाणिज्य संघसँग भएको अन्तरक्रिया कार्यक्रममा उहाँले कर्णाली अञ्चल पर्यटकीय सम्भावनाले भरपुर रहेकोले त्यसको उपयोगको लागि सहकार्यको प्रस्ताव समेत गरेका थिए । जवाफमा कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले आफ्नो क्षेत्रको प्रचार गर्न तथा सो क्षेत्रको पर्यटन र जडिबुटीको क्षेत्रमा लगानी गर्न भ्रमण टोलीलाई आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले सो क्षेत्रमा अब संयुक्त लगानीमा जडिबुटी र पर्यटनको क्षेत्रमा लगानी बढाउन व्यवसायीहरुलाई सुझाव दिए। संघका महासचिव रवीन्द्रबहादुर प्रजुले भौगोलिक रुपले बिकट रहेको क्षेत्रका व्यवसायीहरु सँग निकटता बढाउने उद्देश्यमा आफूहरु सफल भएको बताए । रारा नेपालकै ठूलो ताल हो । फेवा र बेगनाससहित ८ वटा तालको सहर पोखरा आउने पर्यटकलाई रारा पठाउने तथा रारा क्षेत्र जाने पर्यटकलाई पोखरा अनि अन्नपूर्ण पदयात्रा मार्गमा ल्याउन सके नेपालको सबै भागको पर्यटन प्रवद्र्धन हुने उनको भनाइ रहेको छ ।  ८ हजार ९१ मिटर उचाई रहेको संसारकै १० औँ अग्लो हिमाल अन्नपूर्णको काखमा रहेको पोखरा  हिमाली सुन्दरताको दृष्यावलोकन, आरोहण र पदयात्राको लागि चर्चित रहेको छ ।
भ्रमणको पहिलो दिन गल्याङ उद्योग वाणिज्य संघ र सुर्खेत उद्योग वाणिज्य संघसँग छलफल कार्यक्रम सम्पन्न भएको थियो । यी उद्योग वाणिज्य संघ लगायत कालिकोट, नेपालगञ्ज र बुटवल उद्योग वाणिज्य संघमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पोखराको विकास अभियानमा संघले निभाएको भूमिका, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि अन्तर्राष्ट्रिय सहरको स्वरुपमा बदलिने पोखराका सम्भावनाहरुबारे चर्चा गरेका थिए। उनले संघीय संरचनापछि नेपाल उद्योग वाणिज्य महासंघको भूमिका तथा महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई हेर्ने दृष्टिकोण बारे जिल्ला नगर उद्योग वाणिज्य संघहरुको समान धारणा हुनुपर्नेमा जोड दिए । उनले जलविद्युत लगायतका क्षेत्रमा सामूहिक लगानी गर्न सकिने सम्भावना पनि औंल्याए । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले एउटा सहरमा उत्पादित बस्तु अर्को सहरमामा उपलब्ध गराउन द्विपक्षीय सम्बन्ध उपयोग गर्न सकिने स्पष्ट पारे । देशको पाँचौँ औद्योगिक नगरी नेपालगंजले पोखरासँग उद्योग लगायत व्यापारका हरेक क्षेत्रमा सहकार्य गर्न सक्ने उनको भनाइ थियोे ।
एचडब्लुके माइन्ज जर्मनीको सहयोगमा भएको च्याम्बर पार्टनरसीप कार्यक्रमका बेला नेपालगंज र पोखराको सम्बन्ध सुमुधुर रहेको चर्चा गर्दै अब सम्बन्धलाई नयाँ उचाई दिनुपर्नेमा जोड दिए । बुटवलमा भएको कार्यक्रममा पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य शंकर श्रेष्ठ र ज्ञानेन्द्र कंसजु र जीवन ओझाले  पोखरादेखि  लुम्बिनी सम्मको बाटोलाई च्याम्बर मार्ग घोषणा गरी सो राजमार्गलाई सो क्षेत्रमा रहेका उद्योग वाणिज्य संघहरुले मर्मत संहार जोड्ने प्रस्ताव लगायत, कालिगण्डकी करिडरको निर्माण, लुम्बिनी र पोखरा प्रवद्र्धनमा साझा अभियान लगायतका विषयमा चर्चा भएको थियो ।
भ्रमण टोलीसँग सुर्खेतमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी, कालिकोटमा अध्यक्ष सूर्यबहादुर शाही, निवर्तमान अध्यक्ष कर्णबहादुर बिष्ट, बरिष्ठ उपाध्यक्ष तीर्थबहादुर शाही सहितको कार्यसमिति, नेपालगंजमा नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको सिँगो संघ परिवार, बुटवलमा कार्यवाहक अध्यक्ष अनिल श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य तथा बुटवलका पूर्व अध्यक्ष  शंकर श्रेष्ठ, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र कंसजु, जीवनप्रसाद ओझा र गल्याङमा अध्यक्ष लेखनाथ भट्टराई अनि निवर्तमान अध्यक्षमहेन्द्र सहितको टोली द्विपक्षीय छलफलमा सामेल भएका थिए ।






Post a Comment

 
Top