0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको बताएका छन् । राप्रपा नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्दै उनले भने–‘आयोगले प्रतिवेदन दिनुको मात्रै ढिलोचाँडो हो । सरकार चुनाव गराउन तयार छ ।’ स्थानीय तह पुनसंरचना आयोगसँग प्रधानमन्त्रीले नै भदौभित्र प्रतिवेदन माग गरिसकेको अवस्थामा मंसिरमा निर्वाचन गराउन सम्भव हुने उनले बताए । ‘संविधान निर्माणका अगुवा दलहरूले नै पार्टीगत स्वार्थका कारण चुनावका लागि आनाकानी गरिरहेको अवस्था छ’, उनले भने,–‘तर, उनीहरूको मागअनुसार स्थानीय तहको सञ्जाल बनाएर पनि चुनावमा जान सकिन्छ । केही राजनीतिक दलले स्थानीय निकायको चुनावलाई आलटाल गरेर पछाडि धकेल्ने खेल खेलिरहेको भन्दैै मन्त्री थापाले निर्वाचन आयोगले मिति तय गरेको खण्डमा मंसिरमानै स्थानीय निकायको चुनाव सम्पन्न हुने बताए । संविधान कार्यान्वयन गराउनका लागि राजनीतिक विवाद थाँती राखेर अघि बढ्नुको विकल्प नभएको भनाइ उनको थियो । ‘जनताको मुहारमा हाँसो र उज्यालो दिन सकिएन भने कुनैपनि परिवर्तन लामो समय टिक्दैनन्’, उनले भने,–‘आर्थिक समृद्धि, स्थिर सरकार र शान्ति सुरक्षाका लागि संविधानको कार्यान्वयन जरुरी छ ।’ यसको चरण स्थानीय निकायको निर्वाचनबाट अघि बढ्ने उनले बताए । उनले भने–‘संविधान बनाउन लागि परेका प्रमुख दलकै भूमिका चुनाव गराउनमा पनि रहन्छ । सरकार सल्लाहअनुसार समन्वय गरेर अघि बढ्छ । संविधान कार्यान्वयन गर्नका लागि सम्पूर्ण राजनीतिक दलहरु एकजुट हुनुको विकल्प नरहेको थापाले बताए। आफूहरुले संविधानको विपक्षमा मतदान गरेको भएतापनि यो संविधानले सम्पूर्ण जनताको भावनालाई समेटेर आएकोले यसलाई कार्यान्वयन गर्नका लागि सम्पूर्ण राजनीतिक दलहरु एकजुट हुनुको विकल्प नरहेको उनको भनाइ थियो । केही राजनीतिक दलले संविधान जारी गर्दा सहमति जनाएको भएतापनि अहिले संविधान जारी गर्न आलटाल गरिरहेको बताउँदै थापाले संविधान प्रति असन्तुष्ट रहेका दलहरुलाई समेत समेटेर संविधान जारीमा लाग्नुपर्नेमा जोड दिए । हिन्दूराष्ट्रको पक्षमा राप्रपा नेपाल सदैव अडिग रहेको बताउँदै उनले मुलुकमा हिन्दूराष्ट्रको अपरिहार्य रहेको बताए । ०६२÷६३ को जनआन्दोलनपछि आफूहरू जस्ता फरक मत भएकाहरूलाई समेटेर अघि बढ्न राप्रपा नेपालको गठन भएको बताएका उनले ०६४ को भन्दा २०७० को चुनावले लोकप्रियता बढाएको दाबी गरे । ‘अहिलेको संविधानमा आफ्ना एजेण्डा स्थापित गराउन कसैले पनि जंगल जानुपर्दैन, सीमानामा बसेर ढुंगा हान्नुपर्दैन, त्यस्तो व्यवस्था गरेको छ’, उनले भने,–‘आफ्ना एजेण्डा जनतामा स्थापित गराउनुपर्छ, सिद्धान्त हुने पार्टीका लागि एउटा चुनाव हार्दैमा सिद्धान्त हार्दैैन ।’ संविधानले दलमाथि प्रतिबन्ध नलाग्ने गरेको व्यवस्थालाई पार्टीहरूले समयसापेक्ष उपयोग गरेर जनतामाझ पुग्न सक्नुपर्ने भनाइ उनको थियो । मलाई अहिले पनि लाग्छ नेपाली जनताको अभिमतको सम्मान भएको छैन’, उनले भने,–‘हिन्दूराष्ट्र राख्ने की नराख्ने भनेर जनमत संग्रह गरे ८० प्रतिशत मत राख्ने पक्षमा आउँछ ।’ यो बारेमा प्रमुख दलका नेताहरू कुन शक्तिसँग डराएको हो भन्ने आफूले नबुझेको उनले बताए ।

को बन्ला राप्रपा नेपाल कास्कीको अध्यक्ष ?

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीको शुक्रबार हुने भनिएको चुनाव समय अभावका कारण  स्थगित भएको छ । चुनाव आज शनिबार पार्टी कार्यालयमै हुने बताइएको छ । राप्रपा नेपाल कास्कीमा २५८ जना मतदाता रहेका छन् । चुनावबाट अध्यक्ष सहित २२ जना जिल्ला सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार मतदान कार्य बिहान ११ बजे शुरु हुनेछ । राप्रपा नेपाल कास्कीको आगामी नेतृत्व लिनका लागि वर्तमान जिल्ला अध्यक्ष जयलाल पुन, युवा नेता नारायण गुरुङका साथै नेताहरु शिवकुमार बाँस्तोला, अर्जुन बस्नेत र भोलाजंग सुवेदीले समेत उम्मेदवारी दिएका छन् भने २२ सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको सदस्य पदका एक उम्मेदवार कृष्ण कुमार तिवारीले बताए । स्रोतका अनुसार अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा भने वर्तमान अध्यक्ष जयलाल पुन र युवा नेता नारायण गुरुङबीच हुनेछ । सकेसम्म सहमति नभए मतदानबाटै भएपनि अध्यक्ष बन्ने लक्ष्यमा जयलाल र गुरुङ दुवै लागेका छन् । अध्यक्षका यी दुवै उम्मेदवारले आफूले जित्ने ९९ प्रतिशत निश्चित भएको दावी गरेका छन् । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै अध्यक्ष पदका उम्मेदवार एवं वर्तमान अध्यक्ष जयलाल पुनले कास्कीको ४ क्षेत्रमध्ये ३ क्षेत्रबाट शतप्रतिशत र १ क्षेत्रबाट ५० प्रतिशत मत आफ्नो पक्षमा आउने दावी गरेका छन् । उनले केन्द्रीय अध्यक्ष कमल थापाले आफैलाई अध्यक्ष बन्न आग्रह गरेको र केही नेताहरुलाई समेत मेरो पक्षमा समर्थन गर्न भन्नुभएको बताए । लामो समय राप्रपामा काम गरिसकेका पुन फेरि अध्यक्ष बन्न इच्छुक थिएनन् । तर पार्टी कार्यकर्ता र केन्द्रीय अध्यक्ष थापाको चाहना बमोजिम पुनः अध्यक्षमा लड्न लागेको उनले जानकारी दिए । ‘म फेरि नेतृत्व गर्ने पक्षमा थिइन । तर पार्टीका नेता तथा कार्यकर्ताले मलाई छोड्न दिएनन् । त्यसैले फेरि अध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ उनले भने–‘म फेरि अध्यक्ष बन्ने पक्का–पक्की भएको छ ।’
यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार नारायण गुरुङले पनि आफू लामो समयदेखि राप्रपा नेपालमा लागेकाले कास्कीको नेतृत्व अब आफूले गर्ने बताए । उनले भने–‘म राप्रपा नेपालकै लागि जन्मिएको हुँ । मेरो रगतमा राप्रपा नेपाल नै छ । म जन्मजात राप्रपा नेपाल नै भएकाले यो पटक जसरी भएपनि चुनाव जित्छु ।’ गुरुङ राष्ट्रिय उद्योग वाणिज्य संघको वर्तमान जिल्ला अध्यक्ष, युवक संघको केन्द्रीय उपाध्यक्षका साथै पोखरा–१३ का वडा अध्यक्ष समेत भएर काम गरिसकेका छन् । उनी तत्कालिन राजा वीरेन्द्रबाट गोर्खा दक्षिणवाहु पदकबाट समेत विभूषित भएका थिए । उनले मतदान भएपनि कूल मतदाता २५८  मध्ये १५० जना बढीले आफूलाई समर्थन गर्ने दावी गरे ।





Post a Comment

 
Top