0
गोल्डेन न्यूज संवाददाता
सडक सुरक्षा तथा प्राथमिक उपचार पूनःताजगी तालिम पोखरा–१० मा सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजना, उपशाखा १०÷११ को व्यवस्थापन र बेल्जियम रेडक्रसको सहयोगमा उक्त कार्यक्रम भएको हो । तालिमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका मन्त्री कृष्णप्रसाद तिमिल्सिनाले रेडक्रसले अरु केही दिन नसके पनि मानवताको जीवन बचाउन अग्रसर हुने बताए । उनले  भारत जस्तो मुलुकमा रगत परीक्षण नगर्दा लाखौंको संख्यामा एचआइभी एड्स लगायत विभिन्न रोग लागेको अवस्थामा नेपालमा रेडक्रसले विभिन्न माध्यमबाट उक्त परीक्षण गरी त्यस्ता रोग लाग्न र सर्नबाट बचाउन समेत रेडक्रस सफल भएको स्पष्ट पारे । तालिममा उपशाखा १०÷११ लाई सशक्त बनाउन फस्टएडका सामाग्री समेत हस्तान्तरण गरिएको थियो । तालिममा रामबजार सोसाइटी युकेका संस्थापक अध्यक्ष रामबहादुर गुरुङ, सडक सुरक्षा तथा प्राथमिक उपचार महाशाखाका कार्यक्रम अधिकृत टिकाराज पौडेल लगायतले रेडक्रस घरबारविहिन भएका परिवारलाई खान, बस्न र त्रिपालको व्यवस्थापन गरी स्वास्थ्य उपचारमा समेत सक्रिय रहेकोमा भन्दै विश्वमा एक वर्षमा एक लाखभन्दा बढी मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने र नेपालमा दैनिक ५ जनाको ज्यान जाने, ३० जनाभन्दा बढीको अंगभंग हुने गरेकाले त्यसलाई न्युनिकरण गर्न तालिम फलदायी हुने बताएका थिए । तालिममा रेडक्रस कास्कीका प्रशासन अधिकृत मोहनसिंह खड्का, कार्यक्रम व्यवस्थापन प्रशासक शुक्रराज सुवेदी, सडक सुरक्षा कार्यक्रम अधिकृत प्रतिभा सापकोटा, नवराज भण्डारी, सुवास सापकोटा लगायतले दक्ष प्रशिक्षार्थी उत्पादन गरी सडक दुर्घटना कमी गराउनुपर्नैमा जोड दिएका थिए । उनीहरुले चालक, बालबालिका, सवारीसाधन र पैदल यात्रीलाई अचानक दुर्घटना हुँदा छिटो भन्दा छिटो अस्पतालसम्म पु¥याउन र त्यसभन्दा पहिले दुर्घटनास्थलमै प्राथमिक उपचार गर्न सक्षम बनाउन तालिम आवश्यक रहेको बताएका थिए । उपशाखा १०, ११, उपशाखा १२, १३ र उपशाखा १४ का गरी २० जनाको सहभागिता रहेको तालिममा सहभागीको तर्फबाट उपशाखा १४ का सचिव पदम कार्की र उपशाखा १०, ११ का शान्ति सुवेदीले सिकेका कुरा व्यवहारमा लागूगर्ने प्रतिवद्धता जनाएका थिए ।
नेरोसो उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको तालिममा कार्यक्रममा संस्थाका सह–सचिव कलावती शर्मा र सह–कोषाध्यक्ष जीवन श्रेष्ठले पनि बोलेका थिए । तालिममा उपशाखा १०, ११ ले प्रत्येक हप्ताको शुक्रबारको दिन अमरसिंहचोकमा बेलुकी ५ देखि ६ बजेसम्म जेब्राक्रसिङ सम्बन्धी पैदल यात्रीहरुलाई बाटो काट्न सिकाउने कार्य गर्दैआइरहेको सचिव सूर्यबहादुर बानियाँले बताए ।




Post a Comment

 
Top