0
यस वर्षको एसएलसीमा ग्रेड प्रणाली अपनाइयो। भर्खरै रिजल्ट भयो। एसएलसी पछि के विषय पढ्ने भनेर उत्तीर्ण विद्यार्थी र तिनका आभिभावकले अब निधो गर्नुपर्ने होला। उच्च माध्यमिक शिक्षा परिषदले कुल र विषयगत ग्रेड अंकका आधारमा विद्यार्थीले कुन विषय पढ्न पाउने या नपाउने बारेमा मापदण्ड नै तोकेको छ। जस्तो गणित, विज्ञान र प्राविधिक विषयका लागि विज्ञान र गणितमा उच्च ग्रेड अनिवार्य छ। तर, विज्ञान र गणितमा उच्च ग्रेडमा उत्तीर्ण विद्यार्थीले मानविकी या व्यवस्थापन पढ्न नपाउने भन्ने कुरा भने होइन। यद्यपि, यो मापदण्डले जेहेन्दार विद्यार्थीका लागि कुन विषय उपयुक्त भन्ने मान्यता विद्यार्थी या अभिभावक को दिमागमा नजानिँदो तवरले घुसाइदिने जोखिम भने छ। माध्यमिक शिक्षापछिको उच्च शिक्षामा कुनै विद्यार्थीका लागि कुन संकाय उपयुक्त हो भन्ने कुरामा परामर्श दिनु आफैंमा एक विशेषज्ञ सेवा हो। प्रभावकारी शिक्षा प्रणाली भएका देशहरुका विद्यालयमा विद्यार्थीलाई उच्च अध्यनको संकाय छनौटमा परामर्श दिन छुट्टै विशेषज्ञ शिक्षकको व्यवस्था हुन्छ। नेपालमै पनि केही राम्रा निजी विद्यालयहरुले विद्यार्थीलाई परामर्श दिने गरका छन्। तर अधिकांश विद्यार्थीहरुले उच्च शिक्षाका संकायहरुको बारेको पूर्ण सूचनाबिना समाजमा चलिआएको ट्रेण्ड या अभिभावकहरु को इच्छा बमोजिम विषयहरुको छनौट गर्ने प्रवृत्ति बढी हावी देखिन्छ। उच्च शिक्षाको विषय छनौटमा परामर्श दिने यो पंक्तिकारको विज्ञता होइन। न त म शिक्षाविद् नै हुँ। परन्तु, यो लेखमा मेरा नितान्त निजी अनुभूतिका आधारमा उच्च शिक्षाको विषय छनौट बारेमा केही कुराहरु उठान गर्ने जमर्को गरेको छु। २०३५ सालको एसएलसी उत्तीर्ण गरेपछि म अमृत क्याम्पसमा विज्ञान संकाय अन्तर्गत भौतिकशास्त्र समूहमा भर्ना भएको थिएँ। त्यो बेला उच्च प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण हुनेले अमृत क्याम्पसमा आईएस्सी पढ्ने ‘ट्रेण्ड’ थियो। त्यसको मुल कारण मेडिकल, इन्जिनियरिङ, बन, कृषि लगायतका प्राविधिक विषयमा विदेशबाट आउने छात्रवृत्ति थियो। आईएस्सीका भौतिक र जीवविज्ञान समूहका अधिकांश उत्तीर्ण विद्यार्थीहरुले कुनै न कुनै प्राविधिक विषयमा विदेशको छात्रवृत्ति पाउककथे। कोलोम्बो प्लान अन्तर्गत भारतबाट सिभिल इन्जिनियरिङको अध्ययन पूरा गरी नेपाल फर्केपछि नेपालको निजामती सेवामा सिभिल इन्जिनियरको रुपमा काम गर्ने मौका मिल्यो। देशभित्रै इन्जिनियरिङको स्नातक तहको पढाइ भर्खर सुरु भएको अवस्थामा इन्जिनियरिङ शिक्षाको महत्व टड्कारो रुपमा नै देखिन्थ्यो। तर निजामती सेवामा कार्यरत रहँदा विकास या सरकारी निकायका अन्य कामका लागि प्रशासन, कानुन, व्यवस्थापन लगायतका पेशागत सीप र ज्ञानको महत्व पनि स्पष्ट देखिन्थ्यो। आईएस्सी पढ्दै गर्दा या विदेशी छात्रवृत्तिमा इन्जिनियरिङ पढ्दैगर्दा सरकारी कामकाजका लागि प्रशासन, कानुन, व्यवस्थापन विषयको यो हदको भूमिका होला भन्ने आँकलन गरिएको थिएन। सम्भवतः प्राविधिक विषयमा विदेशी छात्रवृत्तिको आकर्षणले गर्दा निकै पहिलेदेखि नै एसएलसीमा राम्रो अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीले विज्ञान संकाय पढ्ने ‘ट्रेण्ड’ चल्यो। मेडिसिन, इन्जिनियरिङ, बन र कृषिमा प्रमाणपत्र तह (अहिलेको प्लस टु तह) को अध्ययन सुरु भएपछि यी विषयहरुले पनि एसएलसीका उच्च अंकका विद्यार्थी आकर्षण गरे। यसले गर्दा विज्ञान र प्राविधिक विषयबाहेकका संकायले प्रायस् औसत या औसतभन्दा पनि कमजोर विद्यार्थीमात्र पाए। विस्तारै यो सामाजिक ट्रेण्डकै रुपमा स्थापित भयो। एसएलसीमा उच्च प्रतिशत ल्याएर गैरप्रविधिक विषय रोज्ने विद्यार्थी अपवादमा पर्दथे। तर, यस्तो अपवादको छनौट गर्नेहरुले कालान्तरमा शैक्षिक या पेशागत हिसाबले उल्लेख्य सफलता हासिल गरेका दृष्टान्त हाम्रासामु छन्। अझै पनि हाम्रो समाजमा गणित र विज्ञानमा राम्रा विद्यार्थीका लागि प्राविधिक विषय उपयुक्त हुने भन्ने आम बुझाई रहेको देखिन्छ। यसका आफ्नै कारण छन्। पहिलेकोजस्तो विदेशी छात्रवृत्तिको आकर्षण नभए पनि देशभित्र र बाहिर रोजगारीको राम्रो सम्भावनाले गर्दा लागि प्राविधिक विषय धेरैको रोजाई भएको छ। दोस्रो, गणित र विज्ञानमा राम्रो ग्रेड हुनेले कानुन या मानविकी पढ्दा उनीहरुको गणीतरविज्ञानको ज्ञान उचित सदुपयोग नभएर खेर जाने हो कि भन्ने गलत बुझाई पनि व्याप्त छ। तेस्रो, विज्ञानरप्रविधि विषयका शिक्षण संस्थाको गुणस्तर मानविकी र व्यवस्थापन विषयको तुलनामा राम्रो हुनु या देखिनुले विषयको छनौटमा प्रभाव पारेको छ। चौथो, विद्यालय शिक्षादेखि नै सामाजिक र मानविकी सम्बन्धी विषयहरुको शिक्षण र सिकाई एकदमै निम्छरो किसिमको छ। यो पंक्तिकार जापानको टोकियोमा कार्यरत रहँदा एक इन्टरनेसनल स्कुलको शिक्षक–अभिभावक मिटिङमा सहभागी हुनुपरेको थियो। उच्च माध्यामिक तहको चार वर्षे कोर्षको पहिलो वर्ष (कक्षा ९) को यो सत्रमा दिनभरिजस्तो सबै अभिभावकलाई कक्षा कोठामा राखी हरेक विषयको पाठ्यक्रम र शिक्षण प्रक्रिया बारेमा सम्बन्धित शिक्षकले व्याख्या गर्थे। हरेक शिक्षकको व्याख्यामा विषयउपर उनीहरुको दखल र शिक्षण पेशामा उनीहरुको लगाव स्पष्ट झल्किन्थ्यो। पालो इतिहास विषयको आयो। मेरो आफ्नो स्कुले अनुभवमा परीक्षाका लागि पात्रका नाम र घटनाका मिति घोक्नैपर्ने इतिहास सबैभन्दा ‘झुर’ विषयमा गनिन्थ्यो। मेरो अपेक्षाविपरीत यो इन्टरनेसनल स्कुलका इतिहासका शिक्षकले सुरुमै इतिहास विषयको महिमा गजबले वर्णन गरे।  विभिन्न पेशाहरुको सूची र ती पेशाहरुका लागि इतिहासको अध्ययन र विश्लेषण विधि किन महत्वपूर्ण छ भन्ने टिपोटसहितको ५–६ पेजको फोटोकपी बाँडे र छोटकरीमा व्याख्या पनि गरे। प्राविधिकलगायत हरेक पेशाका लागि इतिहास विषयको महत्व यस्तो रसिलो र सरल भाषामा बुझ्न पाएको भए स्कुले जीवनमा यो विषय पक्कै स्वाद मानेर पढिन्थ्यो होला। वास्तवमा हाम्रो विद्यालयस्तरमा मानविकी र सामाजिक शिक्षा विषयहरुको महत्व दर्शाउने गरी पढाउने गरिएको छैन। पट्यारलाग्दा पाठ्यपुस्तक र परीक्षाका सम्भाव्य प्रश्नहरुको जवाफ घोकाउने शिक्षण शैलीले गर्दा राम्रा विद्यार्थीहरुमा यी विषयप्रति बिल्कुलै आकर्षण हुँदैन। विद्यालयको गुणस्तर नराम्रै भए पनि गणित र विज्ञानजस्ता विषय राम्रा विद्यार्थीका लागि चाखलाग्दा हुन्छन्। थोरै सैद्धान्तिक पक्षको ज्ञान हुनेबित्तिकै राम्रा विद्यार्थीले कतिपय प्रश्न आँफैले हल गर्न सक्छन्। नेपालको विद्यालय तहमा राम्रा विद्यार्थीको विज्ञान र गणित विषयमा गहिरो चाख र मोह पलाएको हुन्छ।
वास्तवमा जेसुकै कारणले भए पनि एसएलसीका राम्रो ग्रेडका विद्यार्थीहरुको ठूलो अनुपातले विज्ञान या प्राविधिक विषयमात्र छान्नु हाम्रो समाज र स्वयं विद्यार्थीको हितमा समेत छैन। सरकार र समाजलाई आवश्यक हरेक क्षेत्रको जनशक्ति उच्च ज्ञान र दक्षताको हुन जरुरी छ। यसका लागि हाम्रा उत्तम दर्जाका युवा विद्यार्थीहरुलाई उच्च शिक्षाका सवै संकायहरुमा समानुपातिक हिसाबले वितरण गर्न जरुरी छ। एसएलसीमा गणितरविज्ञानको उच्च अंकले विद्यार्थीको रुची प्रविधिक विषयमा नै हुन्छ भन्ने ग्यारेण्टी छैन। हाम्रो विद्यालयस्तरको शिक्षण र मूल्याङ्कन विधिले गर्दा जेहेन्दार विद्यार्थीले गणितरविज्ञानमा स्वतः बढी अंक ल्याउँछन्। यसको मतलव उनीहरु कानुन, व्यवस्थापन र मानविकीमा कमजोर छन भन्ने कुरा होइन। फेरि गणितरविज्ञानको ज्ञान यी गैरप्राविधिक विषयका लागि पनि उतिकै उपयोगी हुन्छ। सामान्यतः पढाइमा राम्रा विद्यार्थीहरुका लागि सबै विषयमा  रोजगारी र पेशागत विकासको उतिकै सम्भावना हुन्छ। मुख्य कुरा विद्यार्थीको चाख र रुची के हो भन्ने कुरा यकिन गर्न सक्नु पर्दछ। समाजको ट्रेण्ड र त्यसैको आधारमा सिर्जित पारिवारीक दबाब युवा विद्यार्थीको शैक्षिक र पेशागत उपलब्धिका लागि प्रत्युत्पादक हुन सक्छ। कमसे कम उच्च शिक्षाका विभिन्न संकायहरुमा आवश्यक आधारभूत ज्ञान र त्यससँग सम्बन्धित पेशाको कामको प्रकृतिका बारेमा विद्यार्थीलाई सुसूचित गराउन जरुरी हुन्छ। अनिमात्र विद्यार्थीले आफ्नो खास रुची अनुसारको विषय पहिल्याउन सक्छन्।
यस संन्दर्भमा सबैभन्दा पहिले गैरप्राविधिक विषयभन्दा प्राविधिक विषय ‘राम्रा’ भन्ने भ्रम समाज र परिवारले हटाउन जरुरी छ। तर स्थापित ट्रेण्ड सहजै हट्न मुस्किल हुन्छ। यसका लागि सरकारले नीतिगत पहल गर्न पनि जरुरी छ। धेरै देशहरुमा बहुविश्वविद्यालय प्रणाली छ। सयौं या हजारौंको संख्यामा विश्वविद्यालयहरु सञ्चालनमा छन् र विश्व विद्यालयहरुको गुणस्तरको क्रम पनि बजारले निर्धारण गरेको हुन्छ। यी देशहरुमा विद्यार्थीहरुले उच्च शिक्षाको विषयभन्दा पनि अब्बल दर्जाका विश्वविद्यालय पहिले छान्दछन्। उत्कृष्ट विश्वविद्यालयको प्रवेश परीक्षा उत्तीर्ण भएपछि प्राप्ताङ्कका आधारमा पाउनसक्ने संकायमध्येबाट आफ्नो रुचीको संकाय छान्दछन्। यस्तो पद्धतिले गर्दा उच्च शिक्षाका सबै संकायहरुमा अब्बल शैक्षिक क्षमताका विद्यार्थीको समानुपातिक वितरण हुन्छ। नेपालमा भने त्रिभुवन विश्वविद्यालयजस्तो एउटै भीमकाय केन्द्रिकृत विश्वविद्यालय भएको हुनाले विद्यार्थीहरुलाई विश्वविद्यालय छान्ने कुरा सान्दर्भिक भएन। त्यसैले, ‘राम्रा’ विषय छान्ने ट्रेण्ड बस्यो। उच्च शिक्षामा व्यप्त राजनीति र दलिय भागभण्डाले अहिले त विश्वविद्यालयहरुको गुणस्तर झनै खस्किएको छ। विश्वविद्यालय स्तरको पढाईको लागि विदेशिने क्रम बढ्दो छ। यी सबै मुद्दाको प्रभावकारी संबोधनकालागि सरकारले अब बहु–विश्वविद्यालयको अबधारणामा जान अनिवार्य छ। साथै सरकारले सबै संकाय भएको एक उत्कृष्ठ विश्वविद्यालयको स्थापना गर्न जरुरी छ। यस्तो विश्वविद्यालयका सवै संकायहरुमा अन्तराष्ट्रिय स्तरको गुणस्तरको सुनिस्चितता गर्नु जरुरी हुन्छ। अध्यापन र अनुसन्धानकालागि बिदेशि प्राध्यापकहरुको संलग्नता समेत अवस्यकता हुन सक्छ। उच्च गुणस्तरको यस्तो विश्वविद्यालयको सबै संकायहरुले राम्रा बिद्यार्थिलाई सहजै आकर्षण गर्न सक्छन। परिणाम स्वरुप राज्य र समाजलाई चाहिने सबै क्षेत्रमा अब्बल दर्जाको जनशक्ति उत्पादन हुन सक्छ। यसका साथै माध्यमिक तहको अब हुने पुनःसंरचनामा गहन अध्ययनपछि मात्र पाठ्यक्रमको निर्धारण गर्नु पर्दछ। प्लस टु तहको हालको जस्तो विज्ञान या व्यवस्थापनका नाममा साँघुरो दायराको समूहकृत गर्नु उपयुक्त हुँदैन। जुनै समूहको भए पनि सबै विषयको न्यूनतम पाठ्यक्रम समावेश हुन जरुरी छ, ताकि विश्वविद्यालय तहमा विद्यार्थीका लागि विषय छनौटको फराकिलो दायरा उपलब्ध होस्।
यी त भए सरकारले उपयुक्त नीति अख्तियार गरेमा हाम्रा विद्यार्थीका लागि भविष्यमा हुने छनौटका अवसर। तर तत्कालका लागि के गर्ने त? वास्तवमा हालको प्लस टु को प्रणाली अन्तरगत गैरविज्ञान समूहको निम्छरो गुणस्तर हेर्दा एसएलसीमा उच्च ग्रेड ल्याउने विद्यार्थीले विज्ञान विषय छान्नु अनुपयुक्त होइन। तर प्लस टु मा विज्ञान विषयको छनौटले विश्वविद्यालय तहमा प्राविधिक विषय या विज्ञान नै छान्नुपर्ने भन्ने कुरा सही होइन। प्लस टु को विज्ञान समूहमा अध्ययन गरिने सबै विषयहरु व्यवस्थापन, कानुन या मानविकी विषयको अध्ययनका लागि पनि उत्तिकै उपयोगी हुन्छन्। त्यसैले एसएलसी पछिको विषय छनौटका आधारमा विद्यार्थीको चाख र रुचीलाई कुण्ठित नगरौं। राम्रो ग्रेडका विद्यार्थी प्लस टु तहमा विज्ञान समूहमै भर्ना भए पनि उनीहरुलाई विश्वविद्यालयमा गैरप्रविधिक विषय पनि उतिकै सान्दर्भिक हुनसक्ने कुरामा सूचित गरौं। पाठ्यक्रमभन्दा बाहिरका पुस्तक र नियमित रुपमा स्तरीय अखबारहरु पठ्न विद्यार्थीलाई उत्साहित गरौं। व्यवस्थापन र मानविकी समूहका विद्यार्थीलाई समेत गणित र तथ्याङशास्त्र जस्ता वस्तुगत विश्लेषणमा अनिवार्य हुने विषयको महत्व दर्शाउँ। स्नातक तहमा प्राविधिक विषयमा अध्ययन गरे पनि आफ्नो रुचीअनुसार स्नातकोत्तर तहमा कानुन, व्यवस्थापन, जनप्रशासनजस्ता विषयमा विशेषज्ञता हासिल गर्न उपयुक्त हुने कुरा विद्यार्थीलाई सम्झाऔं। विश्वविद्यालय तहमा सबै संकायका बारेमा पूर्ण सूचित भएर आफ्नो रुची अनुसारको विषय विद्यार्थीले छान्नका लागि समाज र परिवार सहयोगी बनौं।
स्रोत ः सेतोपाटी

Post a Comment

 
Top