0
गोल्डेन न्यूज संवाददाता
फेवाताल किनारमा रहेको पूर्वराजपरिवारको दरबार रत्न मन्दिर असारको दोस्रो सातादेखि पर्यटक एवं सार्वसाधारणका लागि खुला गरिने भएको छ । नेपाल ट्रष्टको कार्यालयले गत वैशाख ८ गते रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेसँगै त्यहाँ पर्यटकलाई प्रवेश गराउन अत्यावश्यकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको थियो । नेपाल ट्रष्टको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार पर्यटकका लागि शौचालय, सिसि क्यामेरा जडान, टिकट घर जस्ता पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको छ । आगामी असारको दोस्रो सातादेखि रत्न मन्दिर सर्वसाधारणले अवलोकन गर्न पाउने गरी व्यस्थापनको तयारी गरेका छौं,” उनले भने–“पूर्वाधार निर्माणका साथै प्रवेश टिकट छपाउने काम भइरहेको छ ।” ट्रष्टले रत्न मन्दिर अवलोकन गर्नका लागि विदेशी पर्यटकका लागि एक हजार रुपैयाँ, नेपाली नगरिकका लागि एक सय रुपैयाँ र ज्येष्ठ नागरिक एवम् विद्यार्थीका लागि ५० रुपैयाँ टिकट दर कायम गरेको छ । फेवातालको किनारमा प्यागोडा शैलीमा बनाइएको उक्त दरवारको भित्री संरचना ढुङ्गामा कँुदिएका आकर्षक कलाले सजाइएको छ । फेवातालसहित रानीवनको संरक्षण समेतको लक्ष्य राखी तत्कालीन राजा महेन्द्रले उक्त क्षेत्रका स्थानीयवासीसँग २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नको नाममा यो दरबार निर्माण गरेका थिए । विगतमा पूर्वराजाहरूको पोखरा भ्रमणका क्रममा बस्ने गरिएको सो दरबार नेपाली कलाकृति झल्काउने संरचनाले युक्त रहेका कारण प्राचीन कलाकृतिको अवलोकनका लागि समेत बहुउपयोगी हुने विश्वास गरिएको छ । ऐतिहासिक सम्पदाका रूपमा रहेको सो दरबार पर्यटकका लागि खुला गरिनु महत्वपूर्ण कुरा भएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई बताउछन् । पर्यावरणीय संरक्षणका साथै फेवातालको जलाधार क्षेत्र संरक्षण गर्नु अपरिहार्य भएको र रत्न मन्दिर नजिकैको हिमा गृहलाई विदेशी राष्ट्र प्रमुखहरूको नेपाल भ्रमणको समयका लागि आवास गृहका साथै राष्ट्रको उच्चस्तरीय बैठक कक्षका रूपमा विकास गर्न उपयुक्त हुने उनको भनाइ छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पर्यटकको बसाइँ लम्ब्याउन मन्दिर खुला गरिनु जरुरी भएको बताउछन्। सरकारले गणतन्त्र स्थापनालगत्तै पूर्वराजा र राजपरिवारको नाममा रहेका चलअचल सम्पत्तिलाई आफ्नो मातहतमा ल्याउने क्रममा रत्न मन्दिरलाई पनि नेपाल ट्रष्टअन्तर्गत समेटेको थियो ।








Post a Comment

 
Top