0
गोल्डेन न्यूज संवाददाता
अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमलाबाट मारिएका १२ नेपालीको शव नेपाल वायु सेवा निगमको जहाजबाट बुधबार स्वदेश ल्याइएको छ । मृतकसँगै क्यानेडाली दुतावासमा सेक्युरिटी गार्डका रुपमा कार्यरत २४ नेपाली पनि सोही विमानबाट फर्केका छन् । मृतकप्रति श्रद्धान्जली व्यक्त गर्न विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिइरहँदा मृतकका आफन्तहरुको चर्को रुवाईले मौनता छाएको थियो । प्रधानमन्त्री ओलीले घटनालाई कायरताको संज्ञा दिँदै भने, ‘यसबाट सिंगो नेपाल दुस्खी बनेको छ । मृतकका आफन्तलाई १२ नबज्दै शव बुझ्नका निम्ति विमानस्थल डाकिएपनि काबुलबाट उडेको नेपाल बायुसेवा निगमको विमान दुई बजेर चालिस मिनेटमा मात्रै अवतरण गरेको थियो । सिम सिम झरीमा रुझ्दै बसेका शोकाकुल आफन्तहरुले विमानस्थल को वातावरण उराठ बनेको थियो । अधिकांश मृतक परिवारसँग उस्तै दुस्ख, बेदना र रोदनका कथा थिए । मृतकको सम्झनाले उनीहरु भावुक त देखिन्थे नै, कतिखेर विमान आउँला र शव बुझन् पाइएला भन्ने अधैयर्ताले उनीहरु छटपटाईरहेका थिए । कफिन आइसकेपछि मृतक परिवार र आफन्तबिच चर्को रुवावासी चलेको थियो । शव बुझ्न परिवारका सदस्यसँग स–साना काखे बाबुनानी सहित बुढ्यौलीको उपल्लो विन्दुमा पुगेका समेत उपस्थित थिए । मृतकको नाम र पासपोर्टको फोटो टासिएको कफिनमा कोही अंगालो हाल्दै रोइरहेका थिए भने काही आफैलाई थाम्न नसकेर ढलिरहेका थिए ।  स्याङ्जाका शुकबहादुर गुरुङकी पत्नी बारम्बार बेहोस भईरहेकी थिईन भने उनका आफन्तहरुले पानी छम्किरहेका थिए । मृतकका अन्य आफन्तको पनि आँखा सुक्खा थिएनन् । कसैका आँखा रुँदा रुँदै रातो बनेका थिए भने कोही रुदा रुदै थाकेर आफैलाई सम्हाल्न सकिरहेका थिएनन् ।
प्रत्येक मृतकका घरमा आ– आफ्नै दुःख र शोकका अनेकन व्यथाहरु थिए । गत १२ बैशाखको भुकम्पमा घर भत्केर एक छोरा र एक छोरी गुमाएका नुवाकोट कल्याणपुरका मधुसुदन कोइरालादेखि, कान्छी पत्नीबाट जन्मेको १६ दिनको दुधेबालक छोडेर अफगानिस्तान पुगेका बुटवलका जीतेन्द्रसिंह थापासम्म मृतकको सूचीमा थिए । मृतकका आफन्तहरु मृतकसँग गासिएको सम्झना, पछिल्लो कुराकानीका सन्दर्भ र घरका सम्भावित दुस्खहरु सञ्चारकर्मीसँग सकी नसकी सुनाइरहेका थिए । मृतकमध्ये अधिकांश सैनिक पृष्ठभूमिका थिए भने धेरैजसो बषौदेखि अफगानिस्तान जाने आउने गरिरहेका थिए । नुवाकोट कल्याणपुरका डम्बरबहादुर र बुटवलका जीतेन्द्रसँग त प्रतिबन्धित इराकमा समेत काम गरेर फर्किसकेको विगत छ । कतिले मृत्युपूर्वका संयोगले भरिएका घटना सुनाइरहेका थिए भने कतिले भाग्यमै यस्तो रैछ भनेर जर्बजस्ती मन बुझाउने प्रयत्न गरिरहेका थिए । मृतक जीेतेन्द्रको कान्छी श्रीमती सन्जिता लामाकी भदई आफन्त सरु लामाले त्यस्तै संयोग सुनाइन् । उनका अनुसार जीतेन्द्र प्रत्येक विहान पहिलो लटको गाडीमा पाँच नबज्दै दुतावास पृुग्थे । तर घटनाको दिन भने उनी विहान अबेरसम्म निदाएका कारण दोस्रो लटको गाडीमा चढ्न पुगेका थिए । सरुले भनिन्,–‘त्यस्तो दसा लेख्या रैछ ।’ दुई बर्ष अघी मात्रै जितेन्द्रले महोत्तरी, गौशालाकी सन्जितालाई कान्छी श्रीमतीका रुपमा भित्र्याएका थिए । उनकी जेठी श्रीमती भने बुटवलमा दुई छोरासँग बस्छिन् । नुवाकोट कल्याणपुरका डम्बरबहादुर तामाङ दुई महिनाअघि मात्रै बाबु बितेर घर फर्केका थिए । काजकिरिया सकेर काममा फर्केका उनको विस्फोटमा परी मृत्यु भयो । यसअघि पनि डम्बरबहादृुरले बर्षौसम्म द्वन्द्वग्रस्त देश इराकमा बिताईसकेका थिए । उनका छिमेकी सिंहराज लामाले सुनाए,–‘ईराक हत्याकाण्डका बेला पनि डम्बर त्यही थिए । उक्त घटनाको १८ महिनापछि नेपाल फर्केका उनी लामो समय घरमा अडिएनन् ।’ डम्बरका दाई मानबहादुर पनि सात बर्ष अफगानिस्तानमै बसेर फर्केको एक बर्ष मात्रै भयो । सिंहका अनुसार उनको गाउका मात्रै करिब २० जना अहिले पनि अफगानिस्तानको विभिन्न क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत छन् । दाई मधुसुदन कोइरालालाई गुमाएका नरहरीले सुस्तरी सुनाए, ‘गरिबी र अभाव हुन्नथ्यो भने को जान्थ्यो र त्यस्तो देशमा ।’ दाहसंस्कारका लागि सात शवलाई मृतकको गृह जिल्ला पठाउने व्यवस्था सरकारले मिलाएको थियो भने अन्य पाँचको दाहसंस्कार पशुपती आर्यघाटमा सम्पन्न भयो । श्रृद्धान्जलीका लागि परराष्ट्रमन्त्री कमल थापाका अलवा श्रम तथा रोजगार मन्त्रालयका सरकारी अधिकारीहरु पनि पुगेका थिए ।







Post a Comment

 
Top