0
घाँटीको क्यान्सरले थलिएर बसेका धादिङ केबलपुर–१ का लोकनाथ आचार्यलाई पोखरेली युवाले सहयोग गरेका छन् । जनआन्दोलनका घाईते लोकनाथ भूकम्पबाट समेत पूर्ण प्रभावित हुन् । श्रीमतीसमेत हातको प्यारालाईसिसले केहि गर्न सक्ने अवस्थामा छैनन् । पोखराका युवाहरुको सहयोगले परिवारलाई राहत मिलेको छ । उपचारका लागि केहि आर्थिक सहयोग मिल्यो भने दुई मध्ये जेठो नातिलाई माध्यमिक तहसम्मै पढाउन समेत आड मिलेको छ । सामाजिक सञ्जालमार्फत समाजसेवामा सक्रिय भएर लागेका मेन्स रुम रिलोडेड (एमआरआर) पोखरामा आबद्ध युवाहरुले पोखरामा सहयोग संकलन गरेर ७० हजार एक सय ५० गाउँमै पुगेर हस्तान्तरण गरे । धादिङका पत्रकार आशिष ठकुरीको पहल तथा लोकनाथ आचार्य बचाउ अभियानका संयोजकसमेत रहेकी धादिङ पोखरा पत्रकार समाजकी सदस्य सफलता आचार्यको सक्रियतामा एमआरआरका युवाहरुले पोखराका सडक सडकमा आर्थिक संकलन गरेका थिए । सूर्य तिमिल्सिना, सविन न्यौपाने, शिशिर देवकोटा, सन्देश क्षेत्री, नरेश भट्टराई, सुवास शर्मा, आशिष पुरी, प्रकाश श्रेष्ठ लगायतका युवाहरु हप्ता दिनसम्म महेन्द्रपुल, लेकसाईड, विरौटा, रामबजार क्षेत्रमा पुगेर सहयोग उठाएका थिए । आफूहरुले थालेको अभियानलाई सार्थक तुल्याउन ५८ वर्षीय लोकनाथलाई ५० वर्षकै भनेर सहयोग मागे । संयोजक सफलताले भनिन्–‘एक त पोखरा भन्दा टाढाको बुवा । भौगोलिक हिसाबले टाढा हुँदा सहयोग नउठ्ने हो कि भन्नेमा चिन्तित थियौं । तर एमआरआरका सदस्यहरुकै कारण केहि भएपनि सहयोग संकलन गर्न सक्यौं ।’ युनाईटेड क्लब पोखराले संस्थागत १० हजार सहयोग गरेको थियो । लोकनाथ दोस्रो जनआन्दोलन का घाईते समेत हुन् । यसकै कारण घाँटीको चोटले क्यान्सर भएको उनी बताउँछन् । उनका एकमात्र छोरा जनक काठमाडौंमा धागो पसलमा काम गर्छन् । मासिक आठ हजार तलबले दुई छोरा, रोगी बुबाआमा सहितको परिवार पाल्नै नसकेको अवस्थामा जेठो छोरो कुमारको शिक्षाका लागि सहयोग पनि जुट्यो । ललितपुरका स्पार्क मोक्तानले एक वर्षका लागि शैक्षिक सामाग्री, एमआरआर कोरियाका प्रतिनिधि सन्तोषकुमार राईले दुई वर्षका लागि १० हजार, कोरियाकै राजु बजगाईंले पनि १० हजार रकम पठाएका छन् । एक कक्षामा अध्ययनरत ५ वर्षीय कुमारलाई एमआरआर पोखराले सहयोग जम्मा गरेरै १० कक्षासम्म पढाउने संयोजक सुर्य तिमिल्सिनाले बताए । अहिले नयाँ पोशाक, झोलाका साथ स्कुल जान थालेपछि कुमार औधि खुशी भएका छन् । लोकनाथकी श्रीमती पदमकुमारी आचार्यले दैवले समेत नहेरेको अवस्थामा पोखराका छोराछोरीको सहयोग पाएको भन्दै हर्षको आँशु खसालिन् । यसैबीच, एमआरआर पोखराले सोहि अवसरमा धादिङकै जिवनपुर १ जिम्मलगाउँमा रहेको भुकम्प प्रभावित एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । खैरेनि निम्न माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर एमआरआर पोखराका संयोजक सूर्य तिमिल्सिनाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज सुवेदीलाई हस्तान्तरण गरे । विद्यालयको शिशु कक्षादेखि कक्षा चारसम्म अध्ययन गर्ने विद्यार्थीलाई ब्रस र टुथपेस्ट पनि प्रदान गरिएको छ ।








Post a Comment

 
Top