0
गोल्डेन न्यूज संवाददाता
मेलमिलाप अनुगमन समिति कास्कीले साविक कृस्ति नाच्नेचौर र भरतपोखरी गाविसमा रहेको मेलमिलाप केन्द्रको अनुगमन गरेको छ । मेलमिलाप अनुगमन समिति कास्कीका अध्यक्ष समेत रहेका जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो । टोलीमा जिल्ला न्यायाधीश अनन्त राज डुम्रे र विष्णु प्रसाद गौतम, कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, मेलमिलाप अनुगमन समिति कास्कीको सदस्य अनिता गुरुङ रहेका थिए । सामुदायिक मेलमिलाप केन्द्रको अवस्था, यसको प्रभावकारिता, मेलमिलाप र विवाद समाधान गर्ने सम्बन्धमा मेलमिलापकर्ता वा सम्बन्धित निकायले अवलम्बन गरेको प्रक्रिया तथा मेलमिलाप केन्द्रलाइ कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने उद्धेश्य अनुगमनको रहेको समितिका अध्यक्ष पौडेलले बताए । मेलमिलाप समिति कृस्तिका संयोजक हर्क बहादुर रेग्मीले यो आर्थिक वर्षमा १८ वटा विवाद मेलमिलाप केन्द्रमा दर्ता भएकोमा १७ वटा विवाद मेलमिलाप भएको अनुगमन टोलीलाई जानकारी दिए । वेला–वेलामा मेलमिलापकर्तालाई पुनःताजगी तालिम दिनुपर्नेमा उनको जोड थियो । राजनीतिक दलको दवावका कारण मिल्न सक्ने विवादहरु पनि मिल्न नसकेको अनुभव सुनाए । कहिले काहि अनावश्यक रुपमा मेलमिलाप केन्द्रमा भिँड बढ्दा असुरक्षित महशुस हुने गरेको उनले बताए । पोखरा उप–महानगरपालिका वडा नं. २४ कृस्तिका सचिव प्रजापति बरालले कतिपय विवाद दर्ता हुदाँकै दिनमा मिलाइएको जानकारी दिए । आर्थिक अवस्थाका कारण लेनदेन सम्बन्धि विवाद मेलमिलापकेन्द्रबाट समाधान भएपनि कार्यान्वयन नहुँदा पुनः मेलमिलापकेन्द्रमा आएको अनुभव उनले सुनाए । मेलमिलापकर्ता शशिधर सुवेदीले मेलमिलापकर्ताको तालिममा सिकाए अनुसार प्रक्रिया पु¥याएर विवाद मिलाउने गरेको बताए । मेलमिलाप केन्द्रलाइ व्यवस्थित बनाउन एक जना कर्मचारीको व्यवस्था गर्न सके सहज हुने उनको सुझाव थियो ।

Post a Comment

 
Top