0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारितसँगै राष्ट्रिय सहमतिले मूर्त रूप लिने बताएका छन्।  प्रेस सेन्टर नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानको कार्यान्वयन, विद्यमान समस्याको समाधान, पुनःनिर्माण आदिका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए । राष्ट्रिय सहमतिमा नै आफूले जोड दिँदै आएको चर्चा गर्दै अध्यक्ष दाहालले नेकपा एमालेसँग पनि नीति तथा कार्यक्रम र बजेट पारित भएपछि राष्ट्रिय सहमतिको सरकार बनाउने कुरामा सहमति भएको बताए । नौ बुँदे सहमति भएको सबैलाई थाहा भए पनि त्यसभित्र सरकार परिवर्तनको विषय रहेको कुरा पनि अहिले चर्चाको विषय बनेको उल्लेख गर्दै उनले भद्र सहमतिको कार्यान्वयन एकापसको समझदारीका आधारमा हुने बताए । उनले आफूलाई बहुमतीय सरकारको प्रधानमन्त्री हुने हतारो नभएको समेत स्पष्ट पारे । ‘अहिले राष्ट्रिय सरकारको आवश्यकता छ,’ अध्यक्ष दाहालले भने–‘सबै पार्टी मिलेर सहमतिको सरकार बनाउनु नै पहिलो प्राथमिकता हो । उनले संसदबाट बजेट पारित भएलगत्तै राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुबीच तीव्र छलफल हुने बताए । उनले कुनै बहुमतीय सरकारको प्रधानमन्त्री बन्न हतारो र इच्छा नभएको बताए । अध्यक्ष दाहालले कसै पनि राष्ट्रिय सहमति नभएमा भने आफू नेतृत्वका लागि बढ्ने संकेत गरेका छन् । तर, आफूले सहमति बाहेकको अवस्थामा सरकारको नेतृत्व नलिने भने भन्न छुटाएनन् । उनले नेकपा एमाले र तत्कालिन एकीकृत नेकपा माओवादीका बीच भएको भनिएको भद्र सहमतिका विषयमा बढ्ता चर्चा गर्न जरुरी नरहेको बताए । सरकार परिवर्तनका विषयमा भएको भनिएको भद्र सहमतिका विषयमा सत्ता साझेदार दलका नेतहरुका बीचमा वाक युद्ध चलिरहेका बेला उनले भद्र सहमति भद्र नै हुने विश्वास व्यक्त गरे । जेन्टलमेन्ट एग्रिमेन्ट जेन्टलमेन’ हरूबीच हुने उल्लेख गर्दै उनले भने–“जेन्टलमेन्ट एग्रिमेन्ट सम्बन्धमा म जेन्टलमेन नै छु, केपीजी पनि जेन्टलमेन नै रहनुहुन्छ भन्ने मेरो विश्वास हो । आफूलाई बहुमतीय प्रधानमन्त्री बन्ने हतारो नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सहमति जसका नाममा जुट्छ उसैले सरकारको नेतृत्व गर्ने बताए ।   संविधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको र मधेस आन्दोलनलगायतका समस्याको समाधानका लागि राष्ट्रिय सहमतिको विकल्प नभएको बताए । माओवादी पार्टीबीचको एकतासँगै पार्टी अझै सशक्त भएर जाने बताउँदै उनले अन्य नेता तथा दलबीच पनि एकता गर्दै पार्टीलाई थप मजबुत बनाउने उल्लेख गरे । “विगतमा पनि आफूले राष्टिूय सहमति र एकताका लागि जोड दिँदै आएको छु”, उनले भने–“दलहरूबीच समझदारी भएमा जसले नेतृत्व गरे पनि त्यसमा हामी तयार छौँ । उनले विगतमा मूख्य दलहरुका बीचमा १६ बुँदे सहमति हुँदा पनि भद्र सहमति भएको चर्चा गर्दै भद्र सहमति कार्यन्वयन नभए अभद्र हुने उल्लेख गरे । भूकम्प गए पश्चात नै आफ्नो पार्टीले राष्ट्रिय सहमतिको वकालत गरेको र सहमति भएर पनि बीचमा परिस्थिति बदलिएको उनको भनाइ थियो । ‘हिजो १६ बुँदे सहमति हुँदा पनि भद्र सहमति भएका हुन्, ति सहमति कार्यन्वयन नहुँदा अभद्र बने,’ उनले भने,–‘पुननिर्माण, संविधानको कार्यन्वयन र मधेशवादी दल लगाएतका असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता छ ।’ पार्टी एकिकरणका बारेमा उनले भने ‘हामी फूट्दा पनि सानदार तरिकाले १०÷१२ टुक्रा भयौं र जुट्दा पनि सानदार ढंगले १० पार्टी मिलेका छौं ।’ पार्टि प्रशिक्षणका लागि अध्यक्ष दाहाल सहित माओवादी केन्द्रका नेताहरु पोखरा आएका छन् । पार्टी एकीकरणपछि पहिलो पटक पोखरा आएका प्रचण्डसंग नेता कृष्णबहादुर महरा समेत सहभागी थिए । प्रेस सेन्टर नेपाल कास्कीका संयोजक दीपक परियारको अध्यक्षतामा सम्मेलन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।



Post a Comment

 
Top