0
गोल्डेन न्यूज संवाददाता
पर्यापर्यटन प्रवद्र्धन, जैविक विविधताको संरक्षण र स्थानीय समुदायको सामुहिक विकास सँग–सँगै लैजान सरोकारवाला निकायहरुले जोड दिएका छन् । कास्कीको घाचोकमा अवस्थित विश्वबाटै लोप हुने अवस्थामा पुगेका दुर्लभ पंक्षी गिद्धहरुको संरक्षणका लागि स्थापना गरिएको गिद्ध (जटायु) रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरामा रहेका पर्यापर्यटनसँग सरोकार राख्ने संघ–सस्था, पर्यटन व्यवसायी र संरक्षणकर्मीहरुले समग्र घाचोक र गिद्ध रेष्टुरेन्टको अवलोकन भ्रमण गरी त्यस क्षेत्रमा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बताए । नेपाल पंक्षी संरक्षण संघको सहयोग र गिद्ध संरक्षण तथा व्यवस्थापन समिति घाचोक र पोखरा पंक्षी समाजको आयोजनमा सम्पन्न अवलोकन भ्रमणमा पाँच प्रजातिका करिब एक सयको हाराहारीमा गिद्धहरु देखिएका थिए । विश्वमै दुर्लभ चार प्रजातिका गिद्धहरु डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्ध नेपालमै सबैभन्दा धेरै र एकै ठाउँमा घाचोकको गिद्ध रेष्टुरेन्टमा मात्र रहेको कृष्ण भुसालले बताए । यस प्रकारका दुर्लभ गिद्धहरुको संरक्षण कार्य र अवलोकनलाई प्रचार–प्रसार गरी थुप्रै पर्यटकहरु भित्र्याउन सकिने पोखरा पंक्षी समाजका संस्थापक अध्ययक्ष तथा पर्यटनकर्मी मनशान्त घिमिरेले बताए । पोखरा र यस आसपासका क्षेत्रहरुमा पछिल्लो दशकमा गिद्धकोे गुँड सख्यामा भारी गिरावट आएकोले आहार व्यवस्थापन सँगै बासस्थान संरक्षणमा समेत जोड दिनुपर्ने विगत १२ वर्षदेखि गिद्धको अनुसन्धान र संरक्षणमा क्रियाशील वैज्ञानिक रामजी गौतमले बताए । गिद्ध तथा अन्य चरा अवलोकन, ट्रेकिङ्ग, दृश्यावलोकन सँगै प्राकृतिक, सास्कृतिक र मानव निर्मित संरचनाहरुको प्रचार–प्रसार गरी पर्यटक आकृषित गर्नुपर्ने पंक्षीविद् तथा पुराना पर्यटनकर्मी हरि के.सीको तर्क छ। घाचोकको गिद्ध रेष्टुरेन्टमा गिद्ध अवलोनक घर, सूचना केन्द्र, होमस्टे संचालन, अर्गानिक कृषि आदि कार्यहरु संचालन गरिएको भएपनि पर्यापर्यटन प्रवद्र्धनमा उल्लेख्य सफलता हासिल गर्न नसकेको गिद्ध संरक्षण तथा व्यवस्थापन समिति घाचोकका अध्ययक्ष राजाराम पौडेलले बताए । हाल घाचकोमा २४ वटा हामस्टे संचानमा रहेपनि पर्याप्त पाहुना नआउँदा समस्या भएको व्यवस्थापक क्रान्तिरमण पोख्रेलको भनाई छ । नेपालमा घाचोकका अलावा नवलपरासीको कावासोती, रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजोरी, कैलालीको खुटीया र सुनसरीको रामधुनीमा अवस्थित छन । यिनको प्रमुख उद्देश्य लोपोन्मुख अवस्थामा पुगेका गिद्धहरुलाई त्यहाका स्थानीय जनसमुदायसँग मिली शुद्ध विषादी रहित खाना प्रदान गर्नु हो भने अर्कातिर पर्यटकलाई आकषर्ण गरी पर्यापर्यटनको विकास गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पु¥याउनु हो । गिद्ध (जटायु) रेष्टुरेन्टमा गौरक्षा केन्द्रहरु छन् जहाँ बृद्ध, अशक्त र बेकामी गाई वस्तुहरु संकलन गरी पालनपोषण गरिन्छ । खाँसमा गौरक्षा केन्द्र पशुहरुको वृद्धाश्रम हो । तिनीहरुको प्राकृतिक मृत्यु पश्चात निश्चित स्थानमा गिद्धहरुको आहाराका लागि राखिन्छ र गिद्धहरु आई खान्छन् । त्यहाँ गिद्धको आनीबानी हेर्ने पर्यटक अवलोकन घर पनि छन्, जहाँबाट आगन्तुकहरुले अतिसकंटापन्न गिद्धहरुको विभिन्न अवस्था र क्रियाकलापको नजिकबाट अध्य्यन गर्नुका साथै मनोरञ्जन पनि लिन सक्दछन् । ‘प्रकृतिको कुचिकार’ भनेर चिनिने लोपोन्मुख पन्क्षी गिद्धको पर्यावरणीय चक्र र खाद्यश्रृङ्खला सन्तुलित र गतिशिल राख्न महत्वपूर्ण भूमिका हुन्छ । आफै सिकार नगरी मरेका जनावरको सिनो मात्रखाने गिद्धहरु प्रदुषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राखी विभिन्न महामारी सरुवा रोगहरु हैजा, रेबिज, प्लेग, एन्थ्राक्स फैलनबाट रोक्छन। यसर्थ गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो। हालैको प्रतिवेदन अनुसार दक्षिण एशियामा पाइने ९ मध्ये ९ प्रजातिकै गिद्धहरु नेपालमा पाइन्छन तीमध्ये ६ प्रजातिका गिद्धहरु नेपालमै गुँड बनाई बच्चा कोरल्छन भने २ प्रजाति हिउँदे आगन्तुकको रुपमा आउने गर्छन । दशक अघिसम्म हाम्रो देशको हिमालदेखि तराई सम्मका विभिन्न स्थानमा सयाँै गिद्धका समूहहरु देख्न सकिन्थ्यो तर आजत्यो दृश्यदुर्लभ भएको छ र यत्रतत्र सर्वत्र पाईने गिद्धहरु पृथ्वीबाटै लोप हुने खतरामा छन्। विगत दश बर्ष यता नेपाललगायत दक्षिण एशियामा गिद्धको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेको विभिन्न अध्ययनहरुले देखाएका छन । सन् १९९० को दशकमा नेपालमा पाँच लाखको हाराहारीमा गिद्ध भएको र हाल त्यो संख्या पाँच हजारमा झरेको बताइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आई.यु.सि.एन) को सङ्कटापन्न प्रजातिको सुचि रेड डाटा लिस्टले नेपालमा पाइने सानो खैरो, डङ्गर र सुन गिद्धलाई अतिसङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सुचिमा सुचिकृत गरेको छ। अति सङ्ककटापन्न सुचीमा परेका प्रजाति १०वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ । यसर्थ यी लोपोन्मुख पंक्षीको जीवन संरक्षणका लागि जटायु रेष्टुरेन्टको अवधारणा ल्याइएको हो । विभिन्न वैज्ञानिक प्रयोगहरुबाट गिद्धको संख्या यसरी अप्राकृतिक र नाटकीय रुपमा घटनुको प्रमुख कारण घर पालुवा पशु उपचारमा प्रयोग गरिने औषधि ‘डाइक्लोफेनेक’ भएको पत्ता लागेको छ। सुन्निएको र दुःखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका जनावर मरेपछि तिनको सिनोखाने गिद्धको मृगौलामा ‘युरिक एसिड’ जमि काम गर्न छाड्छ फलस्वरुप गिद्ध केहि दिनमै मर्छ। गिद्धहरु समूहमा खाने हुँदा डाइकलोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठूलो संख्यामा मर्छन। अत गिद्ध रेष्टुरेन्ट डाईक्लोफेनेक र अन्य विषादिमुक्त उचित आहाराको व्यवस्था गरिएका स्थानहरु हुन् । नेपाल विश्वको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गर्दा यी गिद्ध सुरक्षित आहार केन्द्र (रेष्टुरेन्ट) हरु नेपालका आकर्षक पर्यटकीय क्षेत्र बन्न सक्दछन् । पोखराबाट करिब १३ किमिमा रहेको घाचोक गिद्ध रेष्टुरेन्ट पर्यटकीय नगरी पोखरा र माछापुच्छ«ेको आगँनमै अवस्थित छ,जहाँबाट माछापुच्छ«े हिमश्रृङ्खला र सेतीनदीको सुन्दर प्राकृतिक खोचको नजिकैबाट स्पर्श गर्न सकिन्छ । जैविक र सांस्कृतिक विविधताको खानी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस रेष्टुरेन्टमा हिमाल देखि तराईसम्मका गिद्धहरुको जमघट देख्न पाईन्छ । नेपाल पंक्षी संरक्षण संघले अन्य साझेदार संस्थाहरु सँग हातेमालो गर्दै जटायु रेष्टुरेन्टलाई दिगो व्यवस्थापन गरी गिद्ध लगायत अरु जैविक विविधताको संरक्षण गर्न र पर्यटन विकासका लागि स्थानीय समुदायमा विभिन्न सीप विकासका तालिमहरु, होम स्टे व्यवस्थापन र नेचर गाईड तालिम पनि संचालन गरिरहेको छ । समग्रमा यी जटायु रेष्टुरेन्टहरु स्थानीय समुदाय सँगको सहकार्यमा पर्यावरण सन्तुलन, गिद्धको दिगो संरक्षण र पर्यावरणीय पर्यटन विकासमा उदारणीय, सह्रानीय र कोसे ढुङ्गा सावित भएका छन् । पर्यावरणीय पर्यटन अब सेताम्य हिमाल अवलोकन, जगंल सफारी, ट्रेकिङ्गमा मात्र सीमित छैन, लोपोन्मुख अतिसंकटापन्न प्रजातिको अवलोकन, अध्ययन र संरक्षणमा पनि छ । नेपालमा पर्यटन व्यवसाय फस्टाउँदै गहिरहको अवस्थामा यी बहुआयामिक क्षेत्रलाई पनि समेटन सके सुनमा सुगन्ध हुने भनाई गिद्ध अनुसन्धाता हेमन्त ढकालको छ।








Post a Comment

 
Top