0
राजाराम पौडेल
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जिल्लादेखि केन्द्रसम्म अधिवेशनको रौनक छ । अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयनमा केन्द्रदेखि जिल्लासम्मका वर्तमान देखि पूर्व अध्यक्ष, पदाधिकारी र सदस्य लागिपरेका छन् । उनीहरु सबैको उद्देश्य आफ्नो पक्षमा प्रतिनिधि चयन गरी केन्द्रदेखि जिल्लासम्म हालीमुहाली गर्नुनै रहेको प्रष्टै देखिन्छ । उनीहरु सबै एउटै समूहमा भने छैनन् । जुन समुहमा छन् अधिकतम् आफ्नो पक्षको व्यक्तिलाई अवसर प्रदान गरी आफ्नो पकड राख्न तल्लिन देखिन्छन् । यसैक्रममा लोक दोहोरी गीत प्रतिष्ठान कास्कीको छैटांै अधिवेशन तथा १५औं साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाद्वारा सर्वसम्मत रुपमा कास्कीको नेतृत्व गर्ने अवसर प्रेमराज अधिकारीले पाएका छन् । यसअघि प्रथम उपाध्यक्ष रहेका अधिकारीलाई अध्यक्ष हुन् जति सहज बन्यो त्यति पदाधिकारी र कार्यसमिति सदस्यमा हुन सकेन । केहि पदाधिकारी र सदस्यमा आकांक्षा देखाएकाहरुमध्ये केहीलाई अञ्चलमा लगिने आश्वासन दिइ उम्मेदवारी फिर्ता गर्न लगाइयो । उम्मेदवारी फिर्ता लिएपछि मनोनयन दर्ता गरेको शुल्क फिर्ता पाइने भएपछि केहिले कार्यसमिति सदस्यमा चयन पनि नहुने पैसा समेत गुम्ने अवस्था देखेपछि पैसा फिर्ता पाउने विधि रोजे । एक कार्यसमिति सदस्य र सह–कोषाध्यक्ष पदमा भने गोला थुतेर निर्णय गर्न लगाइयो । यसरी जर्वजस्त रुपमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।  निर्वाचनमा पनि उम्मेदवार बन्नको लागि एकजना प्रस्तावक र एकजना समर्थक हुनपर्नेमा त्यसलाई ख्याल गरिएन । नवनिर्वाचित अध्यक्ष अधिकारीले आफूले नेतृत्व पाएमा नयाँ कलाकारको उत्पादन वृद्धिका लागि विद्यालय स्तरबाटनै दोहोरी संरक्षण गर्ने, स्मारिका निकाल्ने लगायतका योजना बनाएको बताउँछन्। वि.स. २०५४ सालबाट लोक दोहोरी क्षेत्रमा लागेका अधिकारीको स्थायी ठेगाना कास्की जिल्लाको ढिकुरपोखरी गाविस – ९, सेराचौर हो ।प्रतिष्ठानको प्रथम उपाध्यक्षमा टेक क्षेत्री, द्वितीय उपाध्यक्षमा दधी सुवेदी, सचिवमा ज्ञानेश्वर सुवेदी, सह–सचिवमा माधव चापागाई, कोषाध्यक्षमा तुलसा जिसी, सह–कोषाध्यक्षमा गंगा खनाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा दिलु लामा, सविना गुरुङ, दुर्गा क्षेत्री, पदमराज घिमिरे, प्रकाश बराल, रीता कुँवर, मधु चापागाई, गोविन्द कोइराला, आयुष परियार, नारायण सुनार, गगन गुरुङ, रमेश परियार, दिवाकर भण्डारी, पर्शुराम अधिकारी चयन भएका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय महासचिव रमेश विजीको संयोजकत्वमा अधिवक्ता दुर्गा कोइराला, प्रतिष्ठान कास्कीका संरक्षक याम गुरुङ, गण्डकी अञ्चल अध्यक्ष जीवन दाहाल र खगेन्द्र पराजुली सदस्य रहेको निर्वाचन मण्डलले पदाधिकारी चयन गरेको हो । सर्वसम्मत नेतृत्व चयन गर्न मुख्य भूमिका प्रतिष्ठानका प्रमुख संरक्षक प्रजापति पराजुलीले खेलेका थिए । उनको प्रयासलाई एकथरीले सकारात्मक भनेका थिए भने अर्काथरी उनीप्रति आक्रोशित समेत देखिन्थे । कास्कीमा ५ सय १ जना साधारण सदस्य रहेको बताइएपनि अधिवेशनको बन्दसत्रमा अत्यन्तै न्यून सदस्यको उपस्थिति देखिन्थ्यो । सचिव रामजी पौडेलले प्रस्तुत गरेको साँगठनिक प्रतिवेदनमा केहि मुख्य कार्यक्रम समावेश गर्न छुटेपनि त्यस्को पत्तो कसैले पाएनन् । उनको प्रतिवेदनमा लोकदोहोरी गीतको संरक्षण र प्रवद्धनका लागि मात्र नभएर संगठनात्मक सुदृढीकरण सम्वन्धी कुनै कुरा समावेश नगरिएपनि यस्को बारेमा कसैले केहि बोलेनन् । कार्यबाहक कोषाध्यक्ष तुलसा जिसीको प्रतिवेदनको बारेमा पनि कसैले केहि बोलेनन् । सचिवको प्रतिवेदनमा उनको नाम कार्यसमिति सदस्य भनिए पनि आर्थिक प्रतिवेदनमा उनको पद कोषाध्यक्ष लेखिएको छ । आर्थिक प्रतिवेदनमा लेखा परीक्षकद्वारा प्रमाणित पनि गरिएको छैन् ।  पछिल्लो क्रममा यो क्षेत्रमा  विकृति बढिरहेको व्यापक गुनासो आइरहेको भएपनि यो विषयमा बन्द सत्रका कुनै छलफल नभएपछि यो क्षेत्रमा विकृति झनै मौलाउने शंका बढेको छ । यसअघि अधिवेशनको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रतिष्ठान केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रमुख संरक्षक प्रजापति पराजुली, प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल, केन्द्रीय उपाध्यक्ष वद्री पंगेनी, महासचिव रमेश विजी, गण्डकी अध्यक्ष जीवन दाहाल, युके शाखा सचिव सुजन पराजुली, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष वामदेव ढुङ्गाना, लेखनाथ उद्योग वाणीज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पूर्णबहादुर ह्याल्मो, शान्ति गुरुङ, राजन कार्की, राजु गुरुङ, कास्की अध्यक्ष शिवहरी ढुङ्गाना, उपाध्यक्ष प्रेमराज अधिकारी सचिव राम्जी पौडेल लगायतले बोलेका थिए । छैटांै अधिवेशनको अवसर पारेर तीन वर्षसम्म आफ्नै आवाज, शब्द र लयमा लोक गीत सिर्जना गर्ने मध्येबाट रामजी पौडेल, प्रतिष्ठानमा आवद्धमध्ये क्रियाशिल एवं शैक्षिक योग्यता बढि भएको मध्येबाट प्रेमराज अधिकारी र लामो समयसम्म संगीत सिर्जना गर्ने मध्येबाट एक जना गरी सम्मर बहादुर गायकलाई सम्मान गरिएको थियो ।











Post a Comment

 
Top